कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

कोरोनाकालमा सरकारको संकट

ओलीको मुख्य उद्देश्य आफू 'पछि’ का नेकपा अध्यक्ष प्रचण्डलाई किनारा लगाउने देखिन्छ । जुन काम ज्ञानेन्द्रले गर्न सकेनन्, गिरिजाप्रसाद कोइरालाका लागि सम्भव भएन, त्यो काम ओलीले गरे भने त्यो उनको विजय मानिएला
किशोर नेपाल

कारोना महामारीको उखरमाउलो समयमा सत्ता राजनीति अचानक अलग मोडमा आइपुग्यो । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिलाई यो मोडमा आउनबाट रोक्न सक्थिन् । 

कोरोनाकालमा सरकारको संकट

देशमा मानव अधिकारको वास्तविक अवस्था खस्किँदो छ । प्रेसमाथिको नियन्त्रण कसिँदै गएको छ । निजामती सेवाको उच्च तहमा सेवा पुर्‍याएर निवृत्त भएका राष्ट्रसेवकलाई सामाजिक सञ्जाल प्रयोग गरेकै आधारमा थुनामा राखिएको छ । कोरोना महामारी नियन्त्रणका लागि खरिद गरिएका सामानमा समेत भ्रष्टाचार गरिएको छ ।

सरकारको पगपगमा उब्जिने भ्रष्टाचारको त कुरै नगरौं । राष्ट्रपतिले देशमा व्याप्त बेथितिका विरुद्ध सरकारलाई सजग र सचेत गराउने चासो कहिल्यै देखाइनन् । चेतावनीको कुरा त अर्कै अध्यायमा पर्‍यो । राष्ट्रपतिले स्वविवेकको प्रयोग गरेको भए सरकार अलिकति हच्किन पनि सक्थ्यो ।

राष्ट्रपतिले ठीक गरेको ठानिन् होला । नत्र भने, आफ्नो स्वीकृतिका लागि सार्वभौम संसद्को दुईतिहाइ बहुमतबाट चुनिएका सर्वशक्तिमान प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले पठाएका दुई अध्यादेश एक छिन पनि नरोकी किन स्वीकृत गर्थिन् र !

दल विभाजनको विषय आकर्षित गर्ने र संवैधानिक परिषद्मा प्रमुख प्रतिपक्षी दलको प्रतिनिधित्व गराउन नपर्ने, दुई उद्देश्यसहितका प्रावधान संयोजित गरेर तयार पारिएका ती दुई अध्यादेश जारी हुनासाथै राजनीतिमा भद्रगोल सुरु भयो । राष्ट्रपतिलाई यो भद्रगोलको पूर्वाभास पक्कै थियो । यो मामिलामा उनी विवेकको प्रयोग नगर्न अभिशप्त थिइन् ।

नेपालको गणतान्त्रिक संविधानमा राष्ट्रपतिको काम, कर्तव्य र अधिकार ‘अक्षरशः’ सीमित छ । राष्ट्रपतिले कानुनमा किटानी भएको कार्यबाहेक सम्पादन गर्नुपर्ने जुनसुकै कार्य मन्त्रिपरिषद्को सिफारिस र सम्मतिबाट हुने उल्लेख गरिएको छ । त्यसमा पनि त्यस्तो सिफारिस र सम्मति प्रधानमन्त्रीले नै पेस गर्नुपर्नेछ ।

नेपालका जनप्रतिनिधिहरूले एक दशक लगाएर तयार पारेको तथा संविधानसभाबाट अनुमोदित वर्तमान संविधानमा त्रुटि देखाउने हैसियत कसैको पनि छैन होला । यो संविधानलाई छुन सांसदहरू पनि हच्किन्छन् । सांसद प्रदीप गिरि जनताद्वारा निर्वाचित सांसदलाई उसको कामका आधारमा कायम राख्ने वा प्रत्याह्वान गर्ने विषयमा संवैधानिक व्यवस्थाको पक्षमा छन् ।

तर, उनको कुरा सुनिएको छैन । संविधानमा यस्तो होस् भन्ने चाहनाका कुरा धेरै नै होलान् । तर, सबैमा त्यस्ता अभिव्यक्तिका लागि आवश्यक क्षमता र निर्भीकता हुँदैन । २०१५ सालको नेपालको संविधानको निर्माणमा बेलायतका संविधानविद् सर आइवर जेनिङ्सले सघाएका थिए । त्यो संविधान चलेन भन्ने हामी सबैलाई थाहा छ ।

त्यसपछि, २०४७ सालको संविधान निर्माणका समयमा संविधान आयोगका सदस्यहरूले बेलायती संविधानका लेखक वाल्टर बेगहटका विचार र प्रयोगलाई सन्दर्भमा लिएका थिए । यो पटकको संविधान निर्माण त जनताको सहमतिबिना नै टुंगियो । तीव्र गतिको चक्करमा संविधानका मस्यौदा जनताको आँगनमा पुर्‍याउने प्रयत्न नै भएन ।

सरकार बनाउने दल नेपाल कम्युनिस्ट पार्टीकै राजनीतिलाई यति विघ्न गिजोल्ने काम राष्ट्रपतिबाट अहिले जारी भएको अध्यादेशले नै गरेको हो । यसमा शंका रहेन । भर्खरै अन्त्य भएको प्रतिनिधिसभाको हिउँदे अधिवेशनपछि आएको अध्यादेशको गर्हित उद्देश्य थियो । होइन भने, यसलाई संसद्बाटै पारित गराउन सकिन्थ्यो ।

प्रधानमन्त्री ओली त्यसका लागि तयार थिएनन् । संसद्मा प्रस्तुत हुनेबित्तिकै त्यहाँ नानाथरीका राजनीतिक प्रतिक्रिया उत्पन्न हुन्थे । सजिलोका लागि उनले मन्त्रिपरिषद्को बैठकबाट ‘गुपचुप’ अध्यादेश पारित गराएर हाताहात राष्ट्रपतिसमक्ष पुर्‍याए । जुन द्रुत गतिले अध्यादेश राष्ट्रपति कार्यालयमा प्राप्त भएको थियो त्यही द्रुत गतिमा राष्ट्रपतिबाट अध्यादेश जारी भयो । अध्यादेश जारी हुनासाथै देशको राजनीतिक वृत्तमा भुइँचालोले जोडदार धक्का लगायो । त्यसको प्रभावले सरकार मज्जैसँग थर्कियो ।

त्यसो त देशका लागि यो नयाँ अनुभव थिएन । २०३८ सालमा राजाद्वारा मनोनीत प्रधानमन्त्री सूर्यबहादुर थापाले निर्दलीय राजनीतिमा दलीय अभ्यास गरिसकेका थिए । राष्ट्रिय पञ्चायतमा आफूलाई भोट हाल्ने जम्मा सत्र भाइ रापंसलाई लिएर उनी ग्यालरी बैठकबाट बाहिरिएका थिए ।

तत्कालीन परिस्थितिमा थापाको अभ्यास साहसिक मानियो । राजाको सत्तावृत्तबाटै उनका मान्यतालाई चुनौती दिनु सहज पक्कै थिएन । २०४६ सालपछि, नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आफ्नो सुविधाजनक बहुमतको सरकार आफैं ढाल्ने उपक्रम गरिसकेका थिए ।

केही दिनअघिसम्म, प्रधानमन्त्री ओलीसँग ‘सुविधाजनक’ होइन, पूरै दुईतिहाइ बहुमत थियो । नेपालको जान्ने-बुझ्नेको समाजमा ‘दुईतिहाइ बहुमत’ शब्द गाढा राजनीतिक दम्भको रङमा पूरै रंगिइसकेको थियो । यो शब्दको प्रभावमा मुग्ध रहेका प्रधानमन्त्री ओलीको मनस्थिति पार्टीको विभाजन गरेर भए पनि सत्ता लम्ब्याउने थियो । तर, उनले केही गर्नुभन्दा पहिले नै नेपाल कम्युनिस्ट पार्टीका गुट-उपगुट जागृत भए ।

त्यसपछि सुरु भएको जात्रा केही समय लम्बिने देखिन्छ । यसै बेला प्रधानमन्त्री ओलीले जारी अध्यादेशको प्रयोग गर्ने ठाने । समाजवादी पार्टीका नेता उपेन्द्र यादवसँग उनको खटपट थियो । उपेन्द्र संविधान संशोधनको कुरा उठाउँथे । त्यो सुन्नेबित्तिकै प्रधानमन्त्री ओली रिसाउँथे । उपेन्द्र मन्त्रीको अनुशासनमा बसेनन् । प्रतिक्रियामा, प्रधानमन्त्री ओलीले यादवलाई मन्त्रिपरिषद्बाट हटाए ।

सरकारले पाएको दुईतिहाइ बहुमत खण्डित भयो । समाजवादी उपेन्द्र यादवको विकल्पमा प्रधानमन्त्री ओलीले राष्ट्रिय जनता पार्टीका राजेन्द्र महतो लगायतका नेताहरूलाई नयाँ समीकरणअन्तर्गत मन्त्रिपरिषद्मा भर्ती गर्ने उपक्रम थालेका थिए । तर, अध्यादेश जारी भएपछि अपहरणका नाटक मञ्चित भए । प्रधानमन्त्री ओलीको सरकार सोच्दै नसोचेको संकटमा पर्‍यो । कोरोना महामारी नियन्त्रण गर्नका लागि घोषित तालाबन्दी (लकडाउन) रातारात शिथिल भयो ।

नेपाल कम्युनिस्ट पार्टीको राजनीतिमा ठूलो कचिंगल उत्पन्न भइहाल्यो । अन्ततः राजेन्द्र महतो र उनका साथीहरूले मन्त्री पदको शपथ लिनुभन्दा पहिले नै सरकार पालुंगोको साग गलेझैं लल्याकलुलुक भयो ।

अहिले राजनीतिक परिवेशमा जेजति घटना भएका छन् वा बनाइएका छन्, तिनको महत्त्व रामरमिताका लागि होला । तर, राजनीतिक विज्ञानका हिसाबले त्यसको तात्त्विक महत्त्व देखिँदैन ।

किनभने, जुन नाटक मञ्चनका उद्देश्यले अध्यादेशको पृष्ठभूमि तयार पारिएको थियो, त्यसको सान्दर्भिकता सकिइसकेको थियो । तैपनि, प्रधानमन्त्री ओलीले पार्टीभित्र आफ्नो ‘निमेसिस’ ठहर्‍याएका आफूजत्तिकै महत्त्वपूर्ण नेता माधवकुमार नेपालसँग छलफल गरिरहेका छन् । आफू ‘पछि’ का पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि लोलोपोतो गरिरहेका छन् ।

अहिले नेकपाभित्र एमालेकै दुई पक्षबीच बढी द्वन्द्व देखिएको छ । दुई वर्षअघि माओवादी जोडिएपछि नेपाल कम्युनिस्ट पार्टी बनेको पार्टीको संस्थागत एकता भएको राजनीतिक पर्यवेक्षकहरू स्वीकार गर्दैनन् । माओवादीलाई ‘भाउ’ नदिएर वा भाउ दिए पनि उपयोगिताका आधारमा प्रयोग गर्ने नीतिमा ओली र नेपाल दुवै गुटको नीति उस्तै छ ।

प्रधानमन्त्री ओलीलाई आफू ‘पछि’ का पार्टी अध्यक्ष प्रचण्डको राजनीतिक गति र क्षमताको ज्ञान छ । चीन र भारतका नेताहरूसँग उनको सम्बन्ध राम्रो छ । चिनियाँ राष्ट्रपतिको छोटकरी भ्रमणकालमा प्रचण्डले पाएको महत्त्व सम्झिन लायक छ । प्रचण्डको मिलनसार स्वभाव भए पनि भारतका नेताहरूसँग उनको त्यति घनिष्ठ सम्बन्ध र बसउठ देखिँदैन ।

भारतमा पनि उनका मित्रशक्ति यथेष्ट छन् । समकालीन भारतीय नेताहरूका लागि प्रचण्ड विस्मयकारी हैसियतमा रहेका देखिन्छन् । उनको विश्वसनीयताका सम्बन्धमा धेरै भारतीय पत्रकार पनि मौन देखिन्छन् ।

प्रधानमन्त्री ओलीको मुख्य उद्देश्य आफू ‘पछि’ का नेकपा अध्यक्ष प्रचण्डलाई किनारा लगाउने देखिन्छ । यो त्यति सजिलो विषय होइन । नेपालको राजनीतिमा प्रचण्ड नै यस्ता व्यक्ति हुन्, जसलाई बन्धनमा बाँधेर राख्न त्यो आकारको ठाउँ नै छैन । जुन काम पूर्वराजा ज्ञानेन्द्रले गर्न सकेनन्, नेपाली कांग्रेसका सभापति तथा नेता गिरिजाप्रसाद कोइरालाका लागि सम्भव भएन, त्यो काम प्रधानमन्त्री ओलीले गरे भने त्यो उनको विजय मानिएला । प्रधानमन्त्री ओली अहिले त्यही काममा लागेका छन् ।

सुदूरपश्चिम प्रदेशमा माओवादीका तर्फबाट नेकपाका प्रभावशाली नेता लेखराज भट्टको वक्तव्य त्यसैको ‘प्रमाण प्रमेय’ हो । प्रधानमन्त्री ओलीले पहिलेका माओवादी नेताहरूको मर्ममा ताकेर प्रहार गरिरहेका छन् । भन्नुपर्दैन, सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँगको उनको भेट त्यसैको एउटा पाटो हो ।

प्रधानमन्त्री ओली संसद्को दुईतिहाइ बहुमतले चुनिएर त्यसबाट पाएको आनन्दबाट वञ्चित हुन चाहँदैनन् । आफ्नो नेतृत्वको सरकार जोगाउन उनी माओवादीमा आपसी अविश्वास उत्पन्न गराउन सक्छन् । आफ्ना पार्टीका नेताहरूलाई भौतिक सुखमा चुर्लुम्म डुबाइदिन सक्छन् । उस्तै अवस्था आइपर्‍यो भने प्रतिपक्षी नेता शेरबहादुर देउवासँग गठबन्धनका लागि हारगुहार गर्न पनि बेर लगाउँदैनन् । राजनीति आखिरमा सम्भावनाकै खेल न हो !

प्रकाशित : वैशाख १८, २०७७ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?