कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

ओलीलाई नायक बन्ने विकल्प 

ओलीले अपमानित भएर बालुवाटार छाड्नुभन्दा यो ऐतिहासिक अवसरलाई दोस्रो पुस्तामा सरकारको नेतृत्व हस्तान्तरणमा प्रयोग गर्नुपर्छ ।
मुमाराम खनाल

प्रधानमन्त्री केपी शर्मा ओलीले जारी गरेका दुइटा अध्यादेश, त्यसमाथि उत्पन्न भएका प्रतिक्रिया र त्यसको फिर्ती प्रकरणले एकैपटक ओली, नेकपाको नेतृत्व र सिङ्गो मुलुकलाई तरंगित तुल्याएको छ ।

ओलीलाई नायक बन्ने विकल्प 

र, त्यसको बाछिटाले मुलुकवासीलाई कुनै न कुनै रूपमा लछप्पै भिजाएको छ । विकसित घटनाक्रमको नाभिमा नेकपा भए पनि यसबाट निःसृत राजनीतिक जोड-घटाउले प्रतिपक्ष, स-साना दल र नागरिक समाजको चियो र चासोलाई समेत ह्वात्तै बढाइदिएको छ । मुलुक, नेकपा र त्यसको नेतृत्वको प्रश्नलाई आज उसको निजी राजनीतिक मामिला ठानेर सरक्क पन्छिन मिल्ने स्थिति छैन पनि ।

अध्यादेश प्रकरणले भ्रष्टाचार र अकर्मण्यताले खिइँदै गरेको सरकारको वैधतालाई रसातलमा पुर्‍याएपछि ओली अवतरणको परिणामबारे चर्चा-परिचर्चा आरम्भ भएको हो । प्रायः राजनीतिक संकटमा सकारात्मक परिवर्तन र अवसरका सम्भावना पनि हुन्छन् ।

मात्र आवश्यक हुन्छ— संकटसँगै नारिएर आएका सम्भावनालाई चिन्नु र आवश्यकतानुसार आकार दिनु । नागरिकको भरोसा, विश्वास र सपनालाई सत्तासीन भएको अल्पावधिमै गुमाउन पुगेको सरकारको निकासका बाटाहरू कस्ताकस्ता होलान् भन्ने बहसको वरिपरि रहेर नेकपा र प्रधानमन्त्री ओलीका विकल्पहरूबारे चर्चा गर्नु प्रासंगिक हुनेछ ।

रूपान्तरकारी अर्थात् उत्तम निकास

नेकपाको विवादमा जसरी विग्रह, चिन्ता र अस्थिरता देखिन्छ, यसको समाधानको उपाय त्यति नै एकता, उत्साह र स्थिरतामा खोज्न सकिन्छ ? मलाई लाग्छ, नेकपाले आजको संकटलाई सकारात्मक र सिर्जनशील तरिकाले समाधान गर्दै मुलुक र पार्टी दुवैतिर नयाँ रक्तसञ्चार गराउन सक्छ । तर यसका लागि प्रधानमन्त्री एवं पार्टीको शीर्ष र दोस्रो तहको नेतृत्वमा विजयी बन्ने उदात्त सोचको आवश्यकता छ ।

अहिले चर्को आलोचना भए पनि नेकपाले निर्वाचनमा सफलता प्राप्त गर्नुमा ओलीको योगदान सबैभन्दा माथि थियो । अर्कातिर समान इतिहास बोकेका, योगदान गरेका र उस्तै माथिल्लो जिम्मेवारीमा रहेका चार-पाँच शीर्ष नेताको फराकिलो सोचबिना पार्टी एकता हुनै सक्तैनथ्यो । पार्टी एकता नभएको भए नेकपाले आजको हैसियत प्राप्त गर्ने थिएन ।

नेकपाका दोस्रो पुस्ताका नेताहरूको प्रभाव र इतिहास पनि कम महत्त्वपूर्ण छैन । राजनीतिक परिपक्वता र सुझबुझ भएका दोस्रो पुस्ताका नेताहरूको उल्लेख्य संख्या नेकपामा छ । हो, यही अवसरलाई प्रयोग गरेर नेकपाले उकुसमुकुसपूर्ण वर्तमान राजनीतिक वातावरणलाई सहज र सकारात्मक निकास दिन सक्छ ।

अहिले एकातिर ओलीले आफ्ना समकालीन नेताहरूका लागि सजिलोसँग प्रधानमन्त्रीको कुर्सी छोड्न चाहेका छैनन्, अर्कातिर विपक्षीहरूले जुनसुकै हालतमा उनलाई सत्ताच्युत गर्ने कसम खाएका छन् । यस्तो अवस्थामा ओलीले आफू अपमानित भएर बालुवाटारबाट बहिर्गमन हुनुभन्दा यो ऐतिहासिक अवसरलाई दोस्रो पुस्तामा सरकारको नेतृत्व हस्तान्तरणमा प्रयोग गर्नुपर्छ ।

सबैभन्दा पहिले ओलीको भूमिकाबारे चर्चा गरौं । अहिले निर्णायक भूमिका खेल्ने हो भने उनी नेकपाको मात्र होइन, सम्पूर्ण नेपाली राजनीतिको नायक बन्न सक्छन् । यसका लागि उनले दोस्रो पुस्ताका बीस-पच्चीस प्रभावकारी नेताहरूलाई तहगत जिम्मेवारी दिएर सामूहिक नेतृत्व प्रणाली स्थापित गर्ने प्रस्ताव गर्न सक्छन् ।

सरकार र पार्टी दुवैतिर यस्तो सामूहिक नेतृत्व प्रणाली स्थापित गर्न सक्दाको प्रभाव नेकपामा मात्र सीमित रहन्न । अन्य दललाई समेत त्यसले ठूलो दबाब सिर्जना गर्नेछ । उनले आफूसहित शीर्षपंक्तिको नेतृत्वलाई पार्टीको संरक्षक बनाएर अहिलेको सम्पूर्ण विवादलाई अभूतपूर्व एकतामा रूपान्तरण गर्न सक्छन् । उनका लागि सम्मानजनक विकल्प यही हुन सक्छ ।

दोस्रो, पुष्पकमल दाहाल, माधव नेपाल र झलनाथ खनालको भूमिकालाई लिऔं । केपी ओलीको राजनीतिलाई डसेर उनीहरूको भविष्य पनि सन्तोषजनक बन्ने सम्भावना छैन । र, ओलीमाथि अन्याय गरेर उनीहरूले न्याय पाउने सम्भावना पनि छैन ।

एकातिर उनीहरूले ओलीलाई प्रधानमन्त्रीबाट हटाउन सक्ने कुरा नै अनिश्चित छ, अर्कातिर हटाउन सफल भए पनि त्यसका प्रभावहरू प्रीतिकर हुनेछैनन् । त्यसैले, ओलीले सामूहिक नेतृत्वको प्रस्ताव नगरे पनि दोस्रो तहका नेताहरूलाई विश्वासमा लिएर यिनै शीर्ष नेताहरूले यस्तो प्रस्ताव गर्न सक्छन् । यसो हुँदा नेताहरूको मात्र होइन, नेपाली राजनीतिकै इज्जत र सम्मान बढ्छ ।

बाँकी कुरा गरौं, दोस्रो पुस्ताका नेताहरूको । नेकपाभित्र दोस्रो पुस्ताका प्रभावशाली नेताहरू उल्लेख्य छन् । शीर्ष नेताहरूको छायामा परेर उनीहरूको क्षमता देखिनै पाएको छैन । र, दोस्रो पुस्ताका अधिकांश नेताले असफल शीर्ष नेताहरूको चाकरी गरेर मात्र पार्टीको जिम्मेवारी र भूमिका पाउने अवस्था छ ।

असफल प्रधानमन्त्रीको ‘सफल’ मन्त्री हुने आशामा उनीहरू स्खलित भएका प्रौढ नेताको दौराको फेर समात्नमै व्यस्त छन् । अहिले पार्टीमा देखिएको संकट समाधान गर्न उनीहरू एक ठाउँमा उभिने ऐतिहासिक अवसर जुरेको छ । साथै शीर्ष नेताहरूलाई सम्मानपूर्वक बिदा गरेर उनीहरूलाई ठीक ठाउँमा राख्ने मौका पनि छ । यस्तो अनुकूल अवसरमा पनि राष्ट्रिय राजनीतिको बागडोर लिन नसक्ने हो भने इतिहासमा नेकपाको दोस्रो पुस्ता पहिलो पुस्ताभन्दा पनि असफल साबित हुनेछ ।

संशोधित अर्थात् मध्यम निकास

प्रधानमन्त्रीका रूपमा ओलीको घट्दो लोकप्रियता, पार्टीभित्र बहुमतको दबाब र नागरिकको चर्को आलोचनाले गर्दा उनले कुर्सी जोगाइरहन सम्भव देखिन्न । कदाचित् अहिलेलाई जोगाउन सकेछन् भने पनि अझ जटिल समस्याले उनलाई पछ्याउन छोड्नेछैन । उत्तम निकासमा जान नसक्ने हो भने प्रधानमन्त्री र नेकपालाई मध्यम निकासको बाटो पनि छ ।

यस्तो संशोधित विकल्प हो- प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख । यद्यपि तत्कालको परिस्थितिमा यस्तो विकल्प संवैधानिक जटिलता र राजनीतिक समझदारीको कोणबाट दुरूह देखिन्छ, तथापि हामीले के भुल्न हुन्न भने, राजनीतिक संकट र त्यसको जटिलताले नै समाधानको बाटो पनि खोल्छ ।

एकपटक स्मरण गरौं, अस्थिर राजनीतिक वातावरणमा स्थिर सरकार नेपाली नागरिकको सर्वाधिक लोकप्रिय चाहना थियो । यही चाहनाको काखमा बसेर पूर्वएमाले र एमाओवादीको पार्टी एकता र निर्वाचनको नारासमेत तय भयो । नागरिकको नाडी छामेर न्वारान गरिएकाले नेकपा अत्यधिक बहुमतले विजयी पनि भयो । तर सत्ता सम्हालेको छोटो समयमै नेकपाको अवस्था किन यस्तो भयो ? किन एउटै पार्टीले अत्यधिक बहुमतसहित सत्ता सञ्चालन गर्दा पनि सापेक्षिक स्थिरता प्राप्त गर्न सकिएन ? किन शीर्ष नेतृत्वले पार्टी र नागरिकको मनोविज्ञानलाई सम्मान गर्न सकेन ?

माथि उल्लिखित सरल प्रश्नहरूले राजनीतिको जटिल गाँठो फुकाउन सक्ने उत्तर खोजेका छन् । यसैले गर्दा संविधानमा शान्तसँग बसेको शासकीय स्वरूपको प्रश्नलाई उप्काउनुपर्ने आवश्यकता परेको हो । आज संसद् आफैं संकट बनेर टक्क रोकिएको छ । नागरिकमा विवेक, कर्तव्य र चेतनाको कमी भएर यस्तो भएको होइन । उनीहरूले नेकपालाई अधिकतम विश्वास मात्र गरेनन्, सहनशीलता र धैर्यको उच्चतम प्रदर्शन पनि गरे ।

तर नेताहरूको विवेक, इमानदारी र निर्णय क्षमतामा बिर्को लागेपछि यस्तो अवस्था आइलाग्यो । एउटै दल बहुमतसहित सत्तामा जाँदा पनि संसदीय व्यवस्थाको स्थिरतामाथि उठिरहने प्रश्नहरूले स्थायी समाधानको तथ्यगत उत्तर खोजेका छन् । यो कोणबाट विचार गर्ने हो भने यस्तो अस्थिरताको प्रश्न नेकपाको थाप्लामा मात्रै हालेर उम्किन सकिन्न । बरु नेपाली समाजको आधारभूत चरित्रसँग ‘वेस्टमिन्स्टर’ प्रणालीको तालमेल हुन नसक्ने रहेछ कि भन्ने कोणबाट पनि बहस हुनु आवश्यक छ ।

नागरिकको भावनालाई संसद्ले बोक्न नसके संसदीय प्रणालीले प्रभावकारी काम गर्न सक्तैन । जुनसुकै अराजनीतिक हतकण्डा प्रयोग गरेर जीवनभरि कब्जा गरेको निजी संसदीय निर्वाचन क्षेत्रबाट विजयी भएको व्यक्ति मुलुकभरि अलोकप्रिय हुँदा पनि उसको वैधताको मापन विजयी सांसदका रूपमा हुन्छ । तर उसले मुलुकभरिका नागरिकको समष्टिगत मनोभावनालाई बोक्न सक्तैन । मुलुकको एकीकृत मनोभावनालाई बोक्न नसक्ने नेतृत्व प्राविधिक मात्र हुन्छ ।

त्यसैले शासकीय स्वरूपको पक्षमा रहेको दलीय समीकरणको हिसाबले पनि त्यहाँ जान त्यति असहज छैन । नेकपामा समाहित दुवै घटक र भर्खरै एकताबद्ध भएको जनता समाजवादी पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको पक्षमा बहस गर्दै आएका हुन् । झिनो मत नै भए पनि नेपाली कांग्रेसभित्र यसको पक्षमा वकालत गर्ने प्रभावशाली नेतृत्व पंक्ति पनि छ । यसलाई एउटा राष्ट्रिय मुद्दाका रूपमा लिई सहमति जुटाउन सकिने अवसर छ । यसका लागि सहमतिमा संसद्लाई एकै छिन शीतलनिवासमा आकस्मिक अवतरण गराएर समाधान खोज्न सकिन्छ ।

सनातनी अर्थात् अधम निकास

कुनै पनि समस्याको सनातनी निकास कामचलाउ र सर्वाधिक सजिलो हुन्छ । यसरी सोचिने निकासले एकै छिनका लागि समस्या समाधान भएजस्तो देखिए पनि वास्तविक समाधान गरेको हुँदैन । बरु यस प्रकारको परम्परागत निकासले केही समयका लागि समाधान गर्ने प्रयासमा दीर्घकालीन रूपमा अझ बढी समस्या थपिरहेको हुन्छ । अर्को शब्दमा भन्ने हो, कुनै पनि निकास नहुनु भनेको परम्पराको निर्वाह वा सनातनी कर्म हो ।

अहिलेसम्म प्रधानमन्त्री ओली, उनको समूह र पार्टीको बाँकी शीर्ष नेतृत्वले सोचेको र सोच्न सक्ने एक मात्र विकल्प यही हो । त्यति मात्र होइन, लेखक, पत्रकार र विश्लेषकहरूले समेत यसै विकल्पका वरिपरि मात्र विषयलाई संकुचित गरेको देखिन्छ । यस्तो विमर्शको केन्द्रमा नेकपाका केही शीर्ष नेता र उनीहरूको व्यक्तिवादी महत्त्वाकांक्षाको विद्रूप कथा मात्र छ । मानौं, नेकपा भनेकै यिनै चार-पाँच नेता र उनीहरूको स्वार्थ समीकरण मात्र हो ।

नेकपाले स्थापनाकालदेखि लोकतन्त्रका लागि गरेका ऐतिहासिक आन्दोलनहरू, त्यसमा जोडिएका हजारौं नेता-कार्यकर्ता र लाखौं पार्टी समर्थक केही होइनन् । र, उनीहरूको बलिदान, संघर्ष र त्याग आफ्ना मुखिया नेताहरूको कहिल्यै नसल्टिने लम्पट स्वार्थ समीकरणका लागि थियो । सनातनी निकासको केन्द्रमा रहेको व्यक्तिवाद र गुटको व्यवस्थापनले नेकपालाई पुनर्जीवित गर्नुको सट्टा अर्को समस्याको भुमरीमा जाक्नेछ । र, आगामी निर्वाचनमा पत्तासाफ हुने स्थिति आउनेछ ।

सनातनी निकासको विमर्शमा बारम्बार असफल भएका केही शीर्ष पात्रहरूको जिम्मेवारीको हेराफेरी मात्र छ । प्रधानमन्त्री ओलीको ठाउँमा माधव नेपाल वा पुष्पकमल दाहाल, पार्टी अध्यक्षद्वयको ठाउँमा गरिने सामान्य फेरबदल वा प्रधानमन्त्री र पार्टी अध्यक्षको शक्ति सन्तुलनमा गरिने शीर्ष पात्रहरूको परिवर्तनले समाधान दिने युगको धेरै पहिले अन्त्य भइसकेको छ ।

नेकपाले यस्तो असफलतालाई हजारपटक दोहोर्‍यायो भने पनि असफलता नै हात पार्नेछ । समयले नेकपालाई संकटको चौबाटोमा उभ्याइदिएको छ । अवसरपूर्ण वा संकटपूर्णमध्ये कुन बाटो छान्ने भन्ने कुराले नेकपाको गन्तव्य निर्धारण गर्नेछ ।

प्रकाशित : वैशाख १७, २०७७ ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?