जनता समाजवादीका चुनौती

दुई पार्टी एकै ठाउँमा आइसकेपछि केन्द्रीय तहका नेताहरूको भीडभाडलाई तह लगाउन सम्भवतः एक चमत्कारकै आवश्यकता पर्छ ।
मल्ल के. सुन्दर

राजनीति अवसरको खेल हो, यो सरल रेखामा यात्रा गर्दैन । बेलायतीहरू ठान्छन्, ‘राजनीति भनेको प्रतिपक्षको चाहनामाथि तिकडमको प्रक्रिया हो ।’ 

जनता समाजवादीका चुनौती

सबैतिर हामी यस्तै पाउँछौं । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीचको हालैको एकता पनि यस्तै एक दृष्टान्त हो । दल विभाजनसम्बन्धी अध्यादेश, राष्ट्रिय जनता पार्टीका केही सांसदबाट दल विभाजनका लागि भएको गोप्य चलखेल, प्रधानमन्त्रीको निर्देशनमा तिनीहरूलाई रातारात राजधानी ल्याउन गरिएको कसरत र त्यसको प्रतिक्रियास्वरूप दुई पार्टीबीच भएको एकीकरण राजनीतिमा हुने तिकडमका नमुना हुन् ।

समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीचको यो एकता अप्रत्याशित भने होइन । यी दुई राजनीतिक शक्तिबीच एकताको प्रयास चल्दै आएको थियो । अनेकन प्राविधिक तथा व्यावहारिक अप्ठ्याराले त्यसले मूर्तरूप लिएको थिएन । निरन्तरका वार्ता तथा भेटघाटमा पार्टी एकताबारे सैद्धान्तिक सहमति बनिसकेको थियो ।

नयाँ संविधान जारी भएपछि विशेषतः मधेस र आदिवासी जनजातिका सवाल, समावेशिता, समानुपातिक प्रतिनिधित्वदेखि पहिचानसहितको संघीयताका मामिलामा यी दुवै राजनीतिक दलले शक्ति सञ्चय गर्नुपर्ने र समान धारणा भएकाहरूबीच सशक्त राजनीतिक मोर्चा बनाउनुपर्ने आवश्यकता महसुस गर्दै आएका थिए । साथै, नेपालका संस्थापित राजनीतिक शक्तिहरूमा देखिएको सैद्धान्तिक विचलन र उत्पीडित समुदायका मुद्दाप्रतिको उदासीनताका कारण एउटा तेस्रो राजनीतिक शक्ति निर्माणको खोजी भइरहेको थियो ।

त्यही भएर अहिले आकस्मिक तथा अप्रत्याशित रूपमा दुई पार्टीको एकता भए पनि यसलाई नेपाली समाजले सकारात्मक घटनाको रूपमा लिएको छ र प्रतीक्षित वैकल्पिक राजनीतिक शक्तिका रूपमा एकीकृत दलले भूमिका निर्वाह गरोस् भन्ने अपेक्षा राखेको छ । एकीकृत दलका नेताहरूले त अहिले नै आफूहरूलाई नेपालको वैकल्पिक राजनीतिक शक्तिको रूपमा मात्र नभई भावी प्रमुख शक्ति हुने प्रक्षेपणसमेत गरिरहेका छन् ।

चुनौतीका चाङ

पार्टी एकताको औपचारिकता पूरा भइसकेको छ । जनता समाजवादी पार्टीका रूपमा एकीकृत यस राजनीतिक शक्ति अब कुन गति र दिशामा अघि बढ्ला भन्नेमा आम नेपालीको चासो छ । एकातिर फरक राजनीतिक धार र पृष्ठभूमिबाट आएका छन् अर्कोतिर मूलतः मधेसी मुद्दामा केन्द्रित बेग्लै संस्कार संस्कृति बोकेका विभिन्न राजनीतिक दलका नेता छन् । भाषा, सामाजिक संरचना, रैथाने व्यवहार मात्रै फरकफरक होइन, राजनीतिक संस्कारसमेत आ-आफ्नै खालका छन् ।

एकातिर, सिद्धान्त र विचारमा विवादका छिद्र खोजी गर्दै पार्टी विभाजनमा अभ्यस्त पूर्ववामपन्थीहरू अर्कोतिर अवसर र आत्मसम्मानको नाउँमा पृथक् हुनमा रमाउने मधेसकेन्द्रित राजनीतिकर्मीहरू !

विगतलाई फर्केर हेर्दा यी दुवै खेमाका नेता-कार्यकर्ताहरूमा स्थिरताको अभाव देखिन्छ । विशेषतः मधेसकेन्द्रित दलहरू हिजो गजेन्द्रनारायण सिंहले सुरु गरेको सद्भावना पार्टीको राजनीतिक अभियानबाट छरपस्ट हुँदै दर्जनौंको संख्यामा देखिए । कतिपय त केवल सत्तामा पुग्न र मन्त्री बन्नकै लागि पनि उछिट्टिएका थिए ।

दुई पार्टी एकै ठाउँमा आइसकेपछि केन्द्रीय तहका नेताहरूको भीडभाडलाई तह लगाउन सम्भवतः एक चमत्कारकै आवश्यकता पर्छ । किनभने, समाजवादी पार्टीमा २५ पदाधिकारी र ४ सय ३१ केन्द्रीय सदस्य अनि राष्ट्रिय जनता पार्टीमा पालैपालो अध्यक्षता गर्दै आएका ६ नेता, १ सय ३५ पदाधिकारी तथा ७ सय ९८ केन्द्रीय सदस्य छन् । स-सानो झुन्डमा बसेर ठालुको हैसियत बनाएकाहरूमा संयुक्त शक्तिमा रूपान्तरण भइसक्दा पनि महत्त्वाकांक्षा मत्थर भइसकेको हुँदैन । पार्टीहरूको एकीकरणमा अति जटिल प्रक्रिया भनेकै यस खाले व्यक्तिकेन्द्रित राजनीति हो । त्यसमा पनि दुवै दलका अधिकांश केन्द्रीय तहका नेताहरूले सत्ताको स्वाद चाखिसकेका छन्, उनीहरूलाई सुख-सयल र सुविधाको मोहले पिरोल्ने त्यत्तिकै खतरा छ ।

महत्त्वपूर्ण विषय भनेको दललाई निर्दिष्ट गर्ने राजनीतिक सिद्धान्त, कार्यदिशा, रणनीतिक योजना र संहिता हुन् । शासकीय स्वरूप र निर्वाचन प्रणालीलाई लिएर दुवै दलका बुझाइ फरकफरक छन् । समाजवादी पार्टीले अंगीकार गर्दै आएको संघीयतासहित उन्नत समाजवादभन्दा भिन्न खाले राजनीतिक पद्धति राष्ट्रिय जनता पार्टीको छ । यद्यपि, एकीकृत एकता महाधिवेशनबाट यी सबै मुद्दा टुंगो लगाउन दुवै दलले सहमति गरेका छन् । समयमै यी जटिल पक्षमा समझदारी बनेन भने एकता केवल औंपचारिकतामा सीमित रही सिंगो दल नै क्रियाशील हुन नसक्ने अवस्थामा पुग्न सक्छ ।

ऐन मौकामा, राष्ट्रिय संकटका बेलामा लैनचौरतिर भौंतारिने र उतैको कानेखुसीमा आफूलाई डोर्‍याउने जुन विसंगति केही दलमा हिजो देखिएको थियो तिनीहरू पनि यो राजनीतिक समीकरणमा समावेश छन् । फेरि पनि यस्तो प्रवृत्तिको पुनरावृत्ति भएमा त्यो स्वयं दलका लागि धमिरासरह हुनेछ ।

अवसर र भविष्य

सहभागिताका दृष्टिले नवगठित जनता समाजवादी पार्टीले सिंगो तराई मधेसको ठूलो समुदायलाई प्रतिनिधित्व गर्छ । देशको कुल जनसंख्याको ३७ प्रतिशतभन्दा बढी आदिवासी जनजातिका पक्षधर पनि यसको नेतृत्वमा छन् । नेपाली समाजमा लामो समयसम्म दमित अवस्थामा राखिएका दलित/शिल्पी वर्गका नेताहरूले, सीमान्तकृत अवस्थामा रहेका कर्णाली तथा सुदूरपश्चिमका खस तथा अन्यका प्रतिनिधि पनि नेतृत्व तहमा देखिन्छन् । बाहुल्यमा रहेका बाहुन, क्षत्री त छँदै छन् । नेपालको सामाजिक बहुलता र विविधताको झलक यसभित्र भेटिन्छ ।

सामाजिक बहुलता मात्र होइन जीवनस्तर र चेतनाका तहमा पनि विविधता छ, नेपाली समाजमा ।लामो समयदेखि यसखाले विविधता र बहुलता राज्यसत्ता तहबाट गरिने असमानता, पक्षपात, निषेधीकरण र सीमान्तीकरणका कारण भइरहेका छन् । नेपाली समाजको मुक्तिका लागि यी सबै खाले विभेद, पक्षपात र असमानताको स्थिति अन्त्य हुनुपर्छ । समावेशी तथा पूर्ण समानुपातिक प्रतिनिधित्वसहितको राज्य व्यवस्था मात्र यसको निरूपण हो ।

क्षेत्रीय, सामाजिक, भाषिक तथा धार्मिक विभेदबाट समाज सदियौंदेखि गाँजिएको छ । समुदायगत, भाषागत, सांस्कृतिक विशेषताहरू लोपोन्मुख छन् । सांस्कृतिक, भाषिक, ऐतिहासिक बहुलताको संरक्षण र समृद्धिका लागि विशिष्ट पहिचानसहितको संघीय पुनःसंरचनाको आवश्यकता छ । आजसम्म नेपालका राजनीतिक दलहरूले यी मुद्दाबारे सही सम्बोधन गरेका छैनन् ।

नयाँ संविधान जारीको बेलामा यी समस्या समाधानका लागि संवेदनशीलता देखाइएन । संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना र नयाँ संविधान क्रियाशील भइसकेको अवस्थामा पनि नेपालका दलित, मधेसी, मुस्लिम, आदिवासी जनजाति, भाषाभाषी, गैरहिन्दु धर्मावलम्बी, महिला आदिले राज्यमा आफ्नो प्रतिनिधित्व भएको अनुभूत गरेका छैनन् । यस्ता वर्ग, समुदायलाई गोलबन्द गरेर उनीहरूको मुद्दाप्रति संवेदनशील बन्दै नेपाली समाजका ठूलो कित्ताको मुद्दा र मर्मलाई आफ्नो राजनीतिक अभीष्टको रूपमा सँगाल्न सकेमा निश्चित छ- जनता समाजवादी पार्टी नेपालको वैकल्पिक राजनीतिक शक्ति बन्न सक्नेछ ।

पार्टीको नाउँ, नेतृत्व गर्ने व्यक्ति अनि राजनीतिक घोषणा वा निर्णयभन्दा महत्त्वपूर्ण पक्ष व्यावहारिक रूपमा कत्तिको खरो उत्रिने भन्ने हो । राजनीतिक पार्टीलाई केवल लेनदेन र सत्ताआरोहणको माध्यम मात्र बनाउने हो भने जोसुकैले नेतृत्व गरेको र जतिसुकै जनआधार र समर्थन प्राप्त गरेको संगठन किन नहोस्, त्यो अन्ततः जनताका लागि हर्ष न विस्मातको विषय बन्नेछ । राजनीतिक दलको भीडमा फेरि एउटा अर्को विद्रूपको उपस्थिति मात्र ठहरिनेछ । अपेक्षा राखौं- ‘एक मूर्ख एकल मूर्ख हुन्, दुई मूर्ख दुई जना मूर्ख हुन्, हजारौंको मूर्ख भनेको राजनीति पार्टी हो’ भनेर फ्रान्ज काफ्काले भनेजस्तो अनुभूति नहोस् ।

प्रकाशित : वैशाख १६, २०७७ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?