कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

कोरोनाविरुद्ध साझा उपायको खोजी

मानव शरीर जुन माटोले बन्यो, त्यहीँको औषधि उपयोगी हुन्छ ।
पहाडेलाई मधेसमा औलो लाग्यो । थारूले पचायो । थारूलाई लाग्ने सिकलसेलले अरूलाई असर पारेन । किन भनेर चिकित्सकहरू घोत्लिएनौं । वंशानुगत भनेर पन्छियौं । वंशानुगत हो भने थारू र पहाडेलाई किन एउटै औषधि दिन्छौं त ?
विद्यानाथ कोइराला

औषधि विज्ञानको आधार : तीन कुराको संयोग हो मान्छे । वैदिक पुर्खाले त्यसै भने । पदार्थले देखिने बनायो । मनले चलाउने बनायो । चैतन्यले जीवित बनायो । तिनै तीन कुरामा टेकेर औषधि बन्छन् । बनाइन्छन् । पदार्थ टेक्नेले शरीरको औषधि बनायो । मन टेक्नेले मानसिक औषधि बनायो । चैतन्य टेक्नले यौगिक औष्धि बनायो । भारतका पद्मश्री पुरस्कारप्राप्त चिकित्सक बीएम हेगडेका शब्दमा एलोप्याथिक डाक्टरले यो कुरा बुझेनौं ।

कोरोनाविरुद्ध साझा उपायको खोजी

बुझाएनौं । त्यसैले औषधिमा जोड दियौं । शरीर आफैं रोगविरुद्ध लड्न सक्छ भन्ने कुरा बिर्सियौं । चैतन्यको चिन्तन त हामीसँगै रहेन । त्यसैले हामी औषधि व्यवसायीको चंगुलमा फस्यौं । फसाइयौं । हेगडेको बुझाइले भन्छ— शरीरलाई रोगविरुद्ध लड्न सघाए हुन्छ । यो लेखको उठान यहीँबाट हुन्छ । अन्त्य चाहिं साझा उपायका लागि योजकको खोजीमा हुन्छ ।

रोग लाग्ने कारण

एलोप्याथी चिकित्सकले रोग लाग्ने मूलत: तीन कारण भन्ने गर्छन् । यो रोग ब्याक्टेरियल हो । यो भाइरल हो । यो फंगल हो । तिनका शब्दमा पाकेको घाउ ब्याक्टेरियल हो । रुघा, खोकी तथा ज्वरो भाइरल हो । एलर्जी फंगल हो । आयुर्वेदी चिकित्सकले पनि तीनै कारणले रोग लाग्छ भन्छन् । तिनका लागि रुघाखोकी कफप्रधान हो । ग्यास्टिक वातप्रधान हो । जन्डिस पित्तप्रधान हो । मुद्रा चिकित्सकले पाँच कुराले रोग लाग्छ भन्छन् । पृथ्वी तत्त्व असन्तुलित भए उदासी तथा अपच हुन्छ । जल तत्त्व असन्तुलित भए रुघाखोकी लाग्छ । पिसाबसम्बन्धी समस्या हुन्छ । अग्नि तत्त्वको असन्तुलन भए ज्वरो आउँछ । अम्लपित्त बढ्छ । मधुमेह हुन्छ । मानसिक असन्तुलन हुन्छ । वायु तत्त्वको असन्तुलनले हृदयरोग हुन्छ । आकाश तत्त्वको असन्तुलन भए खोकी र थाइराइड हुन्छ । प्राकृतिक चिकित्सकले भन्छन्— मान्छे र प्रकृतिको अगाध सम्बन्ध हुन्छ । बाह्य वस्तु वा विषैलो पदार्थ (टक्सिन) को प्रवेश वा उत्पादनले शरीरमा रोग लाग्छ । होमियोप्याथी चिकित्सकले भन्ने गर्छन्— शारीरिक, मानसिक तथा संवेगात्मक स्थितिको असन्तुलनले रोग लाग्छ । यस्तै विभिन्न औषधि प्रणालीका चिकित्सकहरूले रोग लाग्ने अनेक आधार पहिल्याएका छन् ।

अलमल कि बेमेलका चिकित्सक

कोरोनाका सन्दर्भमा कुरा गर्दा माथिका सबै औषधि प्रणाली एकै ठाउँमा आएको देखिन्छ । सबैले मान्छन्— कोरोनाको औषधि छैन । रुघाको पनि औषधि छैन । सार्सको छैन । स्वाइनफ्लुको औष्धि छैन । कोरोनाको पनि औषधि छैन । त्यसैले रुघा लाग्दा एलोप्याथीका चिकित्सक भन्छन्— यो औषधि खानुस्, सात दिनमा रुघा ठीक हुन्छ । नभए तातो पानी खानुस् र आराम गर्नुस्, एक हप्ता लाग्छ । यसको अर्थ हो— भाइरल रोगको औषधि छैन । हुन्न । त्यसको औषधि भनेकै शरीरमा रोगविरुद्ध लड्ने क्षमता बढाउनु हो ।

कोरोना रुघाभन्दा पन्ध्र गुणा बलियो छ । यो तथ्यलाई ध्यान दिने हो भने रुघा लाग्दा जे औषधि खाइन्छ वा खुवाइन्छ, त्यसैले यसमा काम गर्छ । सिद्धान्तत: गर्नु पनि पर्छ । मान्छेलाई ज्वरो आउँदा खुवाउने सिटामोलको मात्रा बढाएर पशुलाई खुवाएमा उसको पनि ज्वरो बिसेक हुन्छ । पशुचिकित्सकका त्यस्ता अनुभव छन् । यसको अर्थ हो— रोगविरुद्ध लड्ने हाम्रा उपायहरूमा साझा तरिका खोज्नु आवश्यक छ । त्यो खोजीमा केही विमति हुन सक्छन् ।

विमतिका उत्तरहरू प्राकृतिक चिकित्सकले दिन्छन् । तिनकै शब्द हुन्— जुन माटोले बन्यो, त्यहींको औषधि उपयोगी हुन्छ । आयुर्वेद चिकित्सकले दिन्छन् । तिनका शब्द हुन्— जुन औषधिमा अभ्यस्त भयो, शरीरलाई त्यसैले काम गर्छ । यसको अर्थ हो— एलोप्याथी चिकित्सालाई अझै हामीले सान्दर्भिकीकरण (कन्टेक्टुयलाइजेसन) गर्न सकेका छैनौं । कान तथा नाकमा तेल नहाल्नु भन्ने एलोप्याथिक चिकित्सकको चिन्तन त्यही हो । जे खाए पनि हुन्छ भन्ने उसको बुद्धि त्यसैको परिणाम हो । अर्थात्, सुक्खा मौसममा हुर्किएका मान्छेलाई र गर्मीमा हुर्किएका मान्छेलाई एउटै औषधि दिने बुद्धि त्यसैगरी बनेको हो ।

कागतीले कसैको शरीरमा अम्लीय पदार्थ बनाउँछ । कसैकोमा चिनी बनाइदिन्छ । यो बुझ्ने स्वभाव एलोप्याथिक चिकित्सकमा नबन्नुको कारण हो— औषधिको सान्दर्भिकीकरण नगर्नु । यस मानेमा आयुर्वेदी चिकित्सक स्पष्ट छन् । उनीहरू शरीरको प्रकृति हेर्छन् । वातवालालाई के औषधि दिने भनेर । पित्तवालालाई के दिने भनेर । कफवालालाई के औषधि दिने भनेर । मात्रा र पुरिया बनाउने बुद्धि त्यही हो । यी र यस्ता अलमलमा हाम्रा चिकित्सकहरू छौं । त्यसैले एलोप्याथिक चिकित्सक (कार्डियोलाजिस्ट) भएर पनि बीएम हेगडेले भनेको जस्तो ‘एस्टाब्लिसमेन्ट इफेक्ट’ बुझ्दैनौं । बुझाउँदैनौं । आयुर्वेद चिकित्सक पनि हाम्रो मान्छेलाई यो औषधिले काम गर्छ भन्न सक्तैनौं । त्यही हाल प्राकृतिक चिकित्सकको छ । होमियोप्याथिक चिकित्सकको छ । पहाडको मान्छे मधेस बसाइँ सर्दा औलो लाग्यो । त्यहींको थारूले पचायो । थारू त्यहीँ बस्ता सिकलसेल लाग्यो । अरूलाई त्यसले असर पारेन । यो किन भनेर हाम्रा थरीथरीका चिकित्सकहरू घोत्लिएनौं । केवल वंशानुगत भनेर पन्छियौं । वंशानुगत हो भने किन थारूलाई र पहाडेलाई एउटै औषधि दिन्छौं त भनेर खोजी गरेनौं । यसको अर्थ हो, हामी अलमलमा छौं । हामी एकअर्काको चिकित्सकीय ज्ञानलाई निषेध गर्छाैं । हामी एकअर्काे प्रणालीसँग सिक्न सक्तैनौं । चाहँदैनौं ।

रोगविरोधी क्षमता बढाउने उपाय

प्राकृतिक चिकित्सकले खानेकुराको सूची दिए । तिनले भने— रातो र बैजनी रङको बेरी, कागती, ब्रोकाउली, चुकन्दर, भेडे खोर्सानी, प्याज, लसुन, बेसार, घ्यूकुमारी, ओलिभको पात खाऊ । यस्तो खानाले शरीरमा रोगविरुद्ध लड्ने क्षमता बढ्छ । बिहानको घाममा बस । भिटामिन डी पाइन्छ । कराएर ॐको उच्चारण गर । घाँटीमा बस्ने भाइरस नासिन्छ । शरीरमा रोगविरुद्ध लड्ने क्षमता बढ्छ । यसबाहेक उनीहरूले अनेक थेरापी सुझाए । उपवास बस्ने । माटो दल्ने । स्नान गर्ने । तेल मालिस गर्ने । अकुप्रेसर गर्ने । अकुपन्चर गर्ने । लामोलामो सास लिने । तनाव नलिने । मस्त निदाउने । चुरोट नखाने । आयुर्वेदी चिकित्सकले पनि खानाको सूची दिए । तिनले भने— स्याउ खाऊ । दहीको लस्सी खाऊ । मुगको दाल खाऊ । वात र कफ बढ्न नदिने खाना खाऊ । तात्तातो खाना खाऊ । त्यस्तो खाना खानेबित्तिकै आइसक्रिमजस्तो चिसो चीज नखाऊ । यो विपरीत खाना हो । मुख पोल्दै खाना खाऊ । तात्तातो सुप खाऊ । बेलाबेला तातो पानीले घाँटी सफा गर (गार्गल) । अग्नि बढाउने खाना खाऊ । मह, लसुन, अदुवा, जिरा, च्यवनप्रास, जडीबुटीको चिया, दालचिनी, अलैंची, मरीच, पुदिना, ल्वाङजस्ता चीजलाई आफ्नो स्वादअनुसार बनाएर खाऊ । फिट्किरी पानीले हात सफा गर । यसबाहेक आयुर्वेदी चिकित्सकले तेल मालिस गर्ने, योग गर्ने तथा ध्यान एवं प्राणायाम गर्ने कुराहरू पनि सुझाएका छन् । यी चीजले शरीरमा रोगविरुद्ध लड्ने क्षमता बढाउँछन् भन्ने तिनको ठम्याइ छ ।

होमियोथेरापी चिकित्सकले शारीरिक, मानसिक तथा संवेगात्मक सन्तुलनका लागि सिमिलिममजस्ता औषधि सुझाएका छन् । तिनीहरू भन्छन्— मेवा, लसुन तथा ब्रोकाउली खानाले शरीरले रोगविरुद्ध लड्ने क्षमता आर्जन गर्छ । तिब्बती औषधि प्रणालीका चिकित्सकहरूले मनको सन्तुलनमा जोड दिएका छन् । सास आउने र जाने प्रक्रिया हेरेर विपश्यनाजस्ता ध्यान गर्ने तरिका पनि उनीहरूले अपनाएका छन् ।

एलोप्याथिक चिकित्सकहरूले एन्टिभाइरल ड्रग्स भनेर एकिक्लोभिर, फेम्सिक्लोभिर, भ्याल्सिक्लोभिर तथा ज्वरो आउँदा एक्टामिनोफेन दिने गरेका छन् । यो क्रममा तिनीहरू भन्ने गर्छन्— सुप खानुस् । भिटामिन सी खानुस् । भिटामिन डी खानुस् । फलफूल प्रशस्त खानुस् । आराम गर्नुस् ।

जडीबुटी प्रयोगकर्ताहरू भन्छन्— गुर्जाे, पिपला, जेठीमधुको सुप खानुस् । रुघा लाग्दा खाने चीज नै बारम्बार खाने गर्नुस् । भएमा तुलसीपत्र, असुरो, पारिजात, जाईको पात आदिको सुप खानुस् । मुद्रा चिकित्सकहरूले अझ सजिलो उपाय दिएका छन् । त्यो हो— हातका सबै औंला पालैपालो गरी थिच्नुस् । तान्नुस् । पड्काउनुस् । खुट्टाका औंलाहरू पनि त्यसै गर्नुस् ।

प्रश्नको पोको

कोरोना भाइरस जीवित हो । कसैले त्यही बुझे । त्यही बुझाए । कसैले त्यो त प्रोटिनकोटेड निर्जीव चीज हो भने । त्यही बुझे । त्यही बुझाए । यसबाट बच्न सबैको एउटै चिन्तन रह्यो— व्यक्तिगत दूरी कायम गरौं । मुखमा पट्टी लगाऔं । हात धोऔं । स्यानिटाइजर लगाऔं । यहीँनेर मेरो प्रश्न छ— के सबै खाले चिकित्सक, पोषणविद् तथा जनस्वास्थ्यविद्हरूको ‘वेविनायर’ गर्न सकिन्न र ? तिनले भाइरसविरुद्ध शरीरको क्षमता बढाउन के–के खाने भन्ने साझा सूची बनाउन सक्तैनन् र ? योग र ध्यान गर्ने कि नगर्ने भन्न सक्तैनन् र ? भाइरस भगाउन वा मार्न शंख–घण्ट बजाउने कि नबजाउने भन्न सक्तैनन् र ? तेल मालिस गर्ने कि नगर्ने भन्न सक्तैनन् र ? नाक तथा आँखामा तेल हाल्ने कि नहाल्ने भन्न सक्तैनन् र ? मधेसका फलाना जातका, जातिका वा धर्मका मान्छेहरूले यो कुरा खान्छन्, तिनको यो खाना बढाऊ । यो खाना घटाऊ । यो बानी बढाऊ । यो बानी घटाऊ भन्न सक्तैनन् र ? अर्थात्, खानामा यो खाऊ । पिउनमा यो पिऊ । औषधिमा यो खाऊ भन्न सक्तैनन् र ? पहाडकाहरूले यसो गर । हिमालकाहरूले यसो गर । फलानो जातजाति वा धर्मवालाले योयो गर भन्न सक्तैनन् र ? लकडाउनमा हामीले बस्न जान्यौं । एकाध अपवाद हौं । बाध्यताले । बेवास्ताले । विद्रोहले । अब यो खाए तिम्रो शरीरले कोरोनाविरुद्ध लड्ने तागत बनाउँछ भन्न मिल्दैन र ? विश्व स्वास्थ्य संगठनकै मुख ताक्नुपर्ने हो र ? यो त नेपालीको रगतमै छ नि ।त्यसलाई क्याप्सुल बनाएर नेपालीका घरआँगनमा पुर्‍याउने न हो । त्यसका लागि कसको आदेश कुर्नुपर्ने हो र ?

अन्तमा, महाशुभ संहितासंग्रह (२४२३) को तलका दुई हरफले हामीलाई घचघच्याउलान् कि भन्दै योजकको अपेक्षा गरेको छु । योजक भनेको जोडजाड गर्ने व्यक्ति हो । प्रशासनिक शब्दमा व्यवस्थापक भने पनि हुन्छ ।

अमन्त्रमक्षरं नास्ति नास्ति मूलमनौषधम् ।

अयोग्य: पुरुषो नास्ति योजकस्तत्र दुर्लभ: ।।

के नेपालका नीतिवेत्ताको टाउकामा योजक खोज्ने कुरा आउला ? के उपप्रधानमन्त्रीको अध्यक्षतामा भएको उच्चस्तरीय समितिका सदस्यहरूमध्ये कसैले यो

कुरामा चासो लेलान् त ? के जनपक्षीय चिकित्सकहरूले योजकको काम गर्ने रहर गर्लान् त ? के राजनीतिक दलका नेतृत्वकर्ताहरूमा यो सोच पलाउला त ? के देश हाँकेका मन्त्री, प्रधानमन्त्री तथा राष्ट्रपतिको दिमागमा यो कुरा जन्मेला त ? यो सोच पलाएमा नेपालीले राम्ररी बुझ्ने थियौं, रोगविरुद्ध लड्नु भनेको मानसिक त्रासबाट मुक्त हुनु पनि हो । घरघरमै औषधि छ भन्ने सन्देश दिनु पनि हो । घरघरमा गएर कोरोना जाँच गर्ने जर्मनीको त्यही सन्देश थियो । भारतमा रामदेवको सन्देश त्यही थियो । उत्तर कोरियाले त्यही गरेको थियो । लसुन, मह र प्याज खाऊ भनेर । सामाजिक दूरी कायम गर भनेर । मुखमा पट्टी लगाऊ भन्ने आदेश दिएर । चीनले जनतासँगै सिकेर लकडाउनको चिन्तन ल्याएको थियो । सामाजिक दूरीको कुरा सिकाएको थियो । हाम्रो संस्कारका तेह्रदिने किरिया गर्दाको लकडाउन न हो यो । सामाजिक दूरी कायम गरेको न हो । बाहिरबाट घरमा पस्नेहरूलाई पानी वा आगो नछोई बच्चा बोक्न वा छुन नदिने भनेको स्यानिटाइजेसन न हो । सानोले मात्र ठूलो मानिएकालाई नमस्कार गर्ने तहगत सोच भए पनि नमस्कार गर्ने बुद्धि त्यही न हो । कुर्नेस गर्ने त्यही न हो । जदौ गर्ने त्यही न हो । आतुई गर्ने भनको पनि त त्यही हो । त्यसैले आफ्नैबाट सिक्ने कि ? भरिया चिन्तनबाट मुक्त हुने कसरत पनि गर्ने कि ? पुस्तौंपुस्ता लगाएर बने–बनाइएका स्वदेशी संस्कार, ज्ञान तथा सीपहरूलाई सान्दर्भिकीकरण गर्ने कि ? सबै खाले चिकित्सकहरूका चिन्तन मिलाएर नेपाली चिन्तनको क्याप्सुल बनाई जनता सुरक्षित गर्ने कि ? कोरोनाजस्ता महामारीबाट बच्ने स्वदेशी उपाय सुझाउने कि ? म योजकको खोजीमा छु । आगे निर्णायकहरूको मर्जी !

प्रकाशित : वैशाख १४, २०७७ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?