गर्भावस्था र कोरोना संक्रमण- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गर्भावस्था र कोरोना संक्रमण

सुमनराज ताम्राकार

सुत्केरी व्यथाले च्यापिएर स्वास्थ्यचौकी पुगेकी महिलालाई जिल्ला अस्पताल रिफर गरियो । लकडाउनको बेला बल्ल–बल्ल एम्बुलेन्स भेटियो र जिल्ला अस्पताल पुर्‍याइयो । अस्पताल पुर्‍याउँदा हेमोग्लोबिन केवल १.३ प्रतिशत भएको पत्ता लाग्यो । सामान्यतया गर्भवती महिलामा कम्तीमा पनि ११ प्रतिशत हेमोग्लोबिन हुनुपर्छ ।

जिल्लामा दुई पोका रगत चढाएपछि थप उपचारका लागि प्रदेशको सुविधासम्पन्न अस्पताल लगियो । अस्पताल पुग्दा उनको पाठेघर फुटिसकेको थियो । र, गर्भे शिशुको मृत्यु भैसकेको थियो । अहिले ती महिला आईसीयूमा छिन् । समयमै सुविधासम्पन्न अस्पताल पुर्‍याउन सकेको भए यस्तो समस्या आउने थिएन । यो प्रतिनिधि घटना मात्र हो । लकडाउनको बेला यातायातका साधन र एम्बुलेन्स भन्नेबित्तिकै पाइँदैन । यस्तोमा गर्भवती महिलालाई समयमै अस्पताल पुर्‍याउन नसकिए समस्या निम्तन्छ ।

कोरोना संक्रमणको जोखिममा गर्भवती महिलाहरू बेसी छन् । गर्भावस्थामा शरीरको प्रतिरक्षात्मक क्षमता कम हुन्छ । सामान्यतया ९ महिनाको गर्भ अवधिलाई तीन–तीन महिना गरी तीन भागमा बाँडिन्छ । पहिलो त्रैमासिकमा खान मन नलाग्ने र ढाड कम्मर अनि तल्लो पेट हल्का दुुख्छ । यो अवधिमा रक्तश्राव भए गर्भ खेर जान लागेको, पाठेघरबाहिरको नलीमा गर्भ रहेको वा सग्लो गर्भ नरहेको हुन सक्छ । यस्तोमा अल्ट्रासाउन्ड गरेर मात्र कारण पत्ता लाग्छ । गर्भावस्थाको सुरुको चरणमा वाकवाकी लाग्नु स्वाभाविक हो । तर तारन्तार वाकवाकी भइरह्यो भने अस्पताल जानुपर्छ । दोस्रो त्रैमासिकमा उच्च रक्तचाप, मधुमेह, रक्तअल्पतालगायतका मेडिकल समस्या देखा पर्न सक्छन् । गर्भावस्थाको १८ देखि २२ हप्ताभित्र गर्भे शिशुमा कुनै शारीरिक विकलांग छ छैन निर्क्यौल गर्न अल्ट्रासाउन्ड आवश्यक पर्छ । अनि गर्भावस्थाको २४ हप्तापछि गर्भकै कारण मधुमेह देखा परेको छ–छैन हेर्नलाई रगत जँचाउनुपर्छ ।

त्यसैगरी मुटुरोग, थाइरोइड, दम, छारेरोग, बाथरोगको औषधि खाइरहेको भए औषधिको मात्रा मिलाउनुपर्छ । लकडाउनमा नियमित गर्भ जाँच सम्भव नहुन सक्छ । गर्भसँग सम्बन्धित समस्याहरू समयमै निदान नहुँदा गर्भे शिशुको वृद्धिमा असर पुग्छ । गर्भको तेस्रो त्रैमासिकमा तल्लो पेट दुख्ने र अधिक रक्तश्राव हुन्छ अनि अस्पताल गई हाल्नुपर्छ । कहिलेकाहीँ सुत्केरी हुने मिति नाघिसकेमा औषधिबाट व्यथा सुरु गर्नुपर्छ । यसका लागि बच्चा आउने बाटो यथेष्ट छ वा छैन पहिले नै स्वास्थ्य जाँच गरी थाहा पाउनुपर्छ । लकडाउनको बेला नियमित गर्भ जाँच गराइरहेको प्रसूति रोग विशेषज्ञ भाइबर, मेसेन्जर वा फोनबाट नियमित सरसल्लाह लिइरहनु जरुरी छ ।

कोरोना संक्रमणको आशंकाका लागि उच्च ज्वरो, खोकी र सास फेर्न गाह्रो हुने लक्षण देखापर्नुपर्छ । गर्भावस्थामा निमोनिया र उच्च ज्वरोको सम्भावना हुन्छ । कोरोना संक्रमति मुलुकबाट फर्किएको संसर्गमा आएको जानकारी छ भने गर्भवतीले स्वाब टेस्ट गराउनुपर्छ । कोरोना भाइरसले गर्भवती महिला र गर्भे शिशुमा पर्न सक्ने असरको अध्ययन भइसकेको छैन । तर चीनको तथ्यांकअनुसार एचआईभीजस्तो कोरोना संक्रमण गर्भवती महिलाबाट गर्भे शिशुमा सरेको देखिँदैन । कोरोना संक्रमणको त्रास, चिन्ता र नियमित जाँचको अभावले गर्भे शिशुको वृद्धिलाई प्रभाव पार्न सक्छ । आमालाई संक्रमण भए मास्क प्रयोग गरी स्तनपान गराउन सकिन्छ । घरमै सुत्केरी भएको वा महिना नपुग्दै जन्मेको शिशुमा फोक्सोको समस्या आउने, जन्डिस हुने र शरीरको तापक्रम नियन्त्रणमा राख्न नसक्ने हुन सक्छ । त्यस्तै गर्भवती महिलामा उच्च रक्तचाप, मधुमेह, थाइरोइड, मुटुको समस्या छ भने चिकित्सकको सल्लाह लिनुपर्छ ।

लकडाउनको बेला समयमै उपचार नपाउने खतरा हाम्रोमा बढी छ । गर्भावस्थाको बेला स्वास्थ्य समस्या देखा परे अस्पताल गइहाल्नुपर्छ । बालबालिका र वृद्धवृद्धाजस्तै गर्भवती महिलाहरू पनि कोरोना संक्रमणको उच्च जोखिम छन् । लकडाउनको बेला नियमित हेरचाहको अभावमा सानो समस्या पनि ठूलो हुन सक्छ । अनि अप्रत्याशित नतिजा निस्किने सम्भावना रहन्छ । यस विषयमा चनाखो हुनु आवश्यक छ ।

-ताम्राकर धुलिखेल अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ हुन् ।

प्रकाशित : वैशाख १४, २०७७ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्

३५ नेपाली आए, ३६ भारतीय गए

मनोज पौडेल

कपिलवस्तु — नाका सिल र लकडाउन भएपछि सीमामा रोकिएका आ–आफ्ना नागरिकलाई तीन सातापछि नेपाल र भारत दुवै मुलुकले जिम्मा लिएका छन् । क्वारेन्टाइनको अवधि पूरा भएको र यथास्थितिमै रहे संक्रमणको जोखिम रहन सक्ने भन्दै दुवै देशले सीमा क्षेत्रमा बनाइएको क्वारेन्टाइनमा राखिएका आफ्ना नागरिकलाई घर फर्काएका हुन् ।

३५ नेपालीलाई भारतीय अधिकारीले बढनीस्थित गान्धी आदर्श इन्टरकलेज र तुल्सीयापुरस्थित एक विद्यालयमा क्वारेन्टाइनमा राखेका थिए । भारतका विभिन्न सहरबाट उनीहरू नेपाल आउँदा सीमामै रोकिएका थिए । उनीहरूलाई स्थानीय नगर पञ्चायतले आवास, खानपान र औषधि उपचारको व्यवस्था गरेको थियो । साताअघि क्वारेन्टाइनमा बसेका कपिलवस्तुको बहादुरगन्जका एक युवा भागेका थिए । सीमामा उनलाई सशस्त्र प्रहरीले पक्राउ गरी भारतीय अधिकारीलाई जिम्मा लगाएको थियो । त्यसपछि दुवै ठाउँमा क्वारेन्टाइनमा बसेका ३५ नेपालीलाई ३० किलोमिटर पर लगेर राखिएको थियो । सोहरतगढ थाना क्षेत्रमा पर्ने बुढनइयाँस्थित चौधरी सुभाषचन्द्र ग्रामोदय इन्टरकलेजमा रहेको क्वारेन्टाइनमा राखिएका उनीहरूलाई घर फर्काइएको हो ।

भारतको सिद्धार्थनगर जिल्लाका २ ठाउँका क्वारेन्टाइनमा बसेका नेपाली नागरिकलाई नेपाल प्रवेश गर्न अघि स्वास्थ्य जाँचका लागि लागेको लाइन । तस्बिर : मनोज पौडेल/कान्तिपुर

शनिबार उनीहरूलाई भारतीय अधिकारीले ल्याएर नेपाली अधिकारीको जिम्मा लगाएका हुन् । उनीहरूलाई लिन कृष्णनगर नगरपालिकाका प्रमुख रजतप्रताप शाह गएका थिए । नेपाल प्रवेश गरेपछि उनीहरूको आरडीटी गरिएको थियो । ३५ जनाकै नतिजा ‘नेगेटिभ’ आएको छ । स्वदेश फर्किएकालाई आ–आफ्नो घरसम्म सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर पठाइने नगरप्रमुख शाहले बताए ।

२६ दिनपछि आफ्नो देश आउन पाएकामा रूपन्देहीको मर्चवारका कमलेश हरिजन निकै खुसी थिए । भारतको जयपुरमा रोजगारी गर्ने उनी कष्ट खेप्दै सीमा क्षेत्र बढनी बजारसम्म त आए तर स्वदेश भित्रिन पाएका थिएनन् । नेपाल आउन पाउनेमा रूपन्देही, कपिलवस्तु, दाङ र झापाका छन् । उनीहरूमध्ये केही २२ देखि २६ दिनसम्म क्वारेन्टाइनमा बसेका थिए । उनीहरूलाई भारतीय अधिकारीले क्वारेन्टाइनमा बसेको कागजात भने दिएका छैनन् ।

भारतीय पनि फर्किए

कृष्णनगर नगरपालिकास्थित सेमरामा पाल टाँगेर बसेका भारतको बलरामपुरका ३६ तीर्थयात्री पनि शनिबार भारत फर्किएका छन् । उनीहरू पश्चिम नवलपरासीको त्रिवेणीमा स्नान गर्न आएका थिए । लकडाउनपछि सीमा बन्द हुँदा उनीहरू यहाँ पाल टाँगेर बसेका थिए । २२ दिनदेखि यहाँ रहेका उनीहरू साइकलमा त्रिवेणी आएका थिए । साइकलमै फर्किएका छन् । उनीहरूलाई स्वास्थ्य परीक्षण गरी भारत प्रवेशको स्वीकृति दिइएको प्रजिअ दीर्घनारायण पौडेलले बताए ।

प्रकाशित : वैशाख १४, २०७७ ०९:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×