कोभिड–१९ पछिको विश्वव्यवस्था

प्रेम चलाउने

काठमाडौँ — अहिले सिंगो विश्व कोरना भाइरस (कोभिड–१९) को महाव्याधिविरुद्ध लड्दै छ । प्रत्यक्ष परोक्ष रूपमा संसारका २०० भन्दा बढी देश यसबाट प्रभावित छन् ।

कोभिड–१९ पछिको विश्वव्यवस्था

डिसेम्बर, २०१९ को अन्तिमताकादेखि चीनको हुवेई प्रान्तको वुहानमा पहिलोचोटि देखिएको यसको संक्रमण जनवरीको मध्यतिर आइनपुग्दै करिव ३७५ जनामा फैलियो । लगत्तै यो महाव्याधिविरुद्ध चीनले तीव्र अभियान छेड्यो । सन् २००२ को सार्स भाइरसको महामारीबाट चेतेको चीनले नयाँ भाइरसविरुद्धको अभियानलाई लडाइँकै रूपमा लियो । पूर्वी एसियाका अरू देशजस्तो सिंगापुर, जापान र दक्षिण कोरियाले पनि नगण्य क्षतिमा भाइरसविरुद्धको युद्ध जित्दै छन् । अझ सिंगापुर त यति तयारी अवस्थामा थियो कि, सन् २००२ पछि उसले ठूलाठूला सुविधासम्पन्न सरकारी अस्पतालहरू बनाएको थियो । जनताकेन्द्रित मजबुत स्वास्थ्य प्रणालीमार्फत कुनै पनि विपद्सँग जुध्न ऊ तयार थियो । सन् २००२ को सार्स महामारीले पूर्वी एसियाका निम्ति ‘वेक अफ कल’ को रूपमा काम गरेको थियो । योभन्दा पनि महत्त्वपूर्ण उनीहरू सबैभन्दा कम नवउदारवादी थिए । यी देशले शिक्षा, स्वास्थ्य, रोजगारीलाई राज्यको दायित्व बनाएका छन र बजारलाई स्वेच्छदारी ढंगले चल्न दिएका छैनन् ।

चीनमा हजारौंको संख्यामा भाइरस फैलिरहँदा युरोप तथा अमेरिकामा केही एकाध व्यक्तिमा संक्रमण देखिएको थियो । उनीहरूलाई यो महाव्याधिविरुद्ध लड्ने पर्याप्त समयको सुविधा थियो । रोगविरुद्धको लडाइँ लड्न छाडेर राष्ट्रपति ट्रम्प त्यसलाई चिनियाँ भाइरस र वुहान भाइरसको उपमामार्फत चिनियाँहरूलाई अपमान र दानवीकरण गर्नपट्टि लागे । त्यसपछि फेब्रुवरीमा आफ्नो सुरक्षा गठबन्धन भारतका प्रधानमन्त्री मोदी भेट्न भारत आए । उनलाई गुजरातको रंगशालामा १० लाख मान्छेले स्वागत गर्ने भनेर लोभ्याइएको थियो । तसर्थ उनले यो महाव्याधिविरुद्धको लडाइँ लड्ने महत्त्वपूर्ण समय खेर फाले । लेखिका अरुन्धती रोयकै शब्दमा भन्नुपर्दा यदि यो साँच्चिकै लडाइँ हुन्थ्यो भने शक्ति राष्ट्र अमेरिकासँगको जस्तो बन्दुक, बम, बंकर, पनडुब्बी, लडाकु विमान, आणविक हतियार अरू कोसँग हुन्थ्यो होला र ? तर जब संक्रमण हजारौं अमेरिकी जनतामा फैलियो, अमेरिकासँग पर्याप्त मास्क, पन्जा, भेन्टिलेटर, पीपीईलगायतका सामग्रीको अभाव थियो ।

संसारभरिकै अर्थतन्त्रको आधा हिस्सा ओगट्ने वैभवशाली देशलाई यस्ता उपकरण किन्न धेरै खर्च लाग्ने थिएन । रकमभन्दा पनि उसको प्राथमिकता केमा हो भन्ने कुराले ठूलो अर्थ राख्छ । ट्रम्पले सरुवा रोग नियन्त्रणको अनुसन्धान बजेट कटौती गर्दै अमेरिकी सुरक्षा परिषद्अन्तर्गतको महामारीविरुद्ध काम गर्ने समिति खारेज गरिदिए । फलस्वरूप अहिले सिंगो विश्वले मूल्य चुकाउँदै छ । सरुवा रोग र जलवायु परिवर्तनसम्बन्धी अनुसन्धान बजेट काट्नु ट्रम्पको महाभुल थियो । ठुलाठुला औषधी कम्पनीहरुले पनि सरुवा रोगको अनुसन्धानमा ध्यानै दिएनन् । पुँजीको सञ्चय र नाफा नै पश्चिमा जीव विज्ञान र औषधि कम्पनीको मूल सरोकारको विषय रह्यो । उनीहरूको ध्यान निको बनाउनमा मात्रै बढी केन्द्रित भयो । रोग लाग्नुभन्दा रोगको बाटो छेक्नतिर उनीहरूको ध्यान कहिल्यै गएन ।

पुँजीवादले अनन्त पुँजीको सञ्चय र नाफालाई आफ्नो मूलमन्त्र बनाएको छ र राज्यका विभिन्न संस्थाहरूलाई त्यही साँचोमा ढालेको छ । प्रकृति र अन्य जीवजन्तुको विनाश, फोहोर र सुक्खा नदीनाला, धूवाँले भरिएको आकाश, रूखहरूको फँडानी र मूल्यविहीन मान्छेको जीवनका पछाडि यही असीमित पुँजीवादी लोभ जिम्मेवार छ । अनन्त पुँजीको सञ्चय र नाफालाई मूलमन्त्र बनाएको सिंगो विश्वलाई अहिले भाइरसले जिस्काइरहेको छ । २४ घण्टाभित्र यसले क्रुज तथा हवाहजहाजबाट संसारको एउटा कुनाबाट अर्को कुनामा यात्रा गर्‍यो । शक्ति राष्ट्रले विकास गरेका जासुसी संयन्त्र, बायोमेट्रिक्स, सीसीटीभी क्यामरालगायतका हरेक नागरिक निगरानीका संयन्त्रले यसलाई रोक्न सकेनन् । हालसम्म यसले संसारलाई नै यसले एउटा बन्दीगृहमा परिणत गरिदिएको छ । सिंगो पुँजीवादी विश्वव्यवस्था र मानव आवतजावतका सम्पूर्ण माध्यमहरूलाई ठप्प बनाइदिएको छ ।

अर्थशास्त्रीहरू यसले १९३० पछिदेखि हालसम्मको सबैभन्दा ठूलो आर्थिक मन्दी ल्याउने आकलन गरिरहेका छन् । यद्यपि यो कुरा संकट कति लम्बिन्छ भन्ने कुरामा भर पर्छ । देशपिच्छे स्वास्थ्य प्रणालीको सामर्थ्य हेरी यो एक वर्ष वा त्योभन्दा बढी पनि लम्बिन सक्ने अनुमान छ । विपद्विरुद्धको यो लडाइँ यस अर्थमा फरक छ कि यसको कुनै वैश्विक नेतृत्व छैन जुन पहिलाका महामारी तथा विपद्मा अक्सर हुने गर्थ्यो । ट्रम्पको उदयपछि अमेरिका प्रथम भन्ने नीतिको नाममा उसले विश्वको नेतृत्व त्याग्यो । त्यसैले यस महाव्याधिविरुद्ध राज्यहरू एक्लाएक्लै लड्दै छन् । उनीहरूको जित राज्यको सामर्थ्य, जवाफदेहिता, स्वास्थ्य प्रणाली, नागरिक अनुशासन र सहयोगमा भर पर्नेछ । स्वनिर्भर अर्थतन्त्र, बलियो राज्य, जवाफदेही प्रशासन र राम्रो स्वास्थ्य प्रणाली भएका देशले ढिलो–चाँडो यसलाई परास्त गर्लान् । तर हाम्रोजस्तो परनिर्भर अर्थतन्त्र, भ्रष्ट र कमजोर राज्य र स्वास्थ्य प्रणाली भएको देशमा यो साँच्चिकै फैलियो भने लडाइँ चुनौतीपूर्ण हुनेछ ।

चुलिँदो संकट

पुँजीवादी विश्वव्यवस्था एक त पहिल्यैदेखि संकटमा थियो । उदाहरणका लागि दक्षिण अमेरिकादेखि मध्यपूर्वमा भइरहेका आन्दोलनले यो धर्मराउँदो अवस्थामा थियो । अहिलेको महाव्याधिले यसको इन्जिन नै ठप्प पारिदिएको छ । लकडाउन, सेल्फ आइसोलेसनले उत्पादन, उपभोग, वितरण तथा पुनर्लगानीको चक्रलाई ध्वस्त बनाइदिएको छ । प्रसिद्ध भूगोलविद् डेभिड हार्भीका अनुसार एकातिर यसले उत्पादन तथा पुनर्लगानीलाई असर गरेको छ भने अर्कोतिर व्यापक पैमानको उपभोगलाई ठप्प बनाइदिएको छ । उत्पादन, पुनर्लगानी र व्यापक पैमानाको उपभोगको संस्कृतिलाई ठप्प पारेर अनन्त पुँजी जम्मा र सञ्चयको मुटुमै प्रहार गरिदिएको छ ।

उदाहरणका लागि वुहानबाट सुरु हुँदै क्रमशः युरोप र अमेरिकालगायत संसारभरका उत्पादनका केन्द्र केही समयका निम्ति बन्द गरेको छ भने व्यापक उपभोगलाई शून्यमा झारिदिएको छ । जस्तो संसारभरिका हवाई सेवा, होटल, यातायात, पर्यटनलगायतका हस्पिटालिटी उद्योगहरू तहसनहस भएका छन् । हवाई सेवा बन्द र होटल उद्योग खाली छन् । सबै किसिमका निर्माण कार्य ठप्प छन् । स्टक मार्केट ओरालो लागेको छ । स्कुल तथा विश्वविद्यालय बन्द छन् । संकट यदि लम्बियो भने उत्पादन तथा वितरणको सञ्जाल छोट्टिने र विविधीकृत हुने र त्यो कम श्रमिकप्रधान हुने देखिएको छ । यस्तो अवस्थामा कृत्रिम नागरिक निगरानीका साधनहरूको प्रयोग व्यापक परिमाणमा बढ्ने देखिएको छ । तर व्यापक उपभोग भने उठ्नै नसक्ने गरी थला परेको छ । यो दोस्रो व्यवसाय पुँजीले उत्पादन गरेका वस्तु बेच्नका निम्ति खडा गरिएको थियो । अर्थतन्त्रको यो कति महत्त्वपूर्ण हिस्सा रह्यो भन्ने कुरा सन् २०१० देखि २०१८ सम्म विश्व भ्रमण गर्ने पर्यटकको संख्या ८० करोडबाट १ अर्ब ४० करोड पुग्नुले पनि पुष्टि गर्छ ।

उत्पादन तथा व्यापक उपभोग हालको पुँजीवादी विश्वव्यवस्थाले पुँजीको जम्मा तथा सञ्चय गर्न रचना गरेको हो । अनन्त पुँजी जम्मा केवल अनन्त पुँजी सञ्चयका निम्ति गर्न प्रेरित गर्ने व्यवस्थाले मानिसलाई लोभी, लालची, व्यक्तिवादी, स्वार्थी, अमानवीय र घोर उपभोक्तावादी बनाइदिएको छ । यसले समाजका मूलभूत संस्थाहरू जस्तो व्यक्ति, परिवार, बजार, राज्य, जातजाति यही साँचोमा ढालेको छ । हालको महाव्याधिले यसको उत्पादन तथा उपभोगको चक्रमा धावा बोलेर उत्पादित वस्तु स्टकमा थन्कने र बिक्री हुन नसक्ने हुनाले पुँजीको सञ्चय घटाउने निश्चित छ ।

यसका असर बहुआयामिक छन् । पहिलो यो अवरुद्धताले संसारलाई आर्थिक मन्दीतर्फ धकेलेको छ । यसले ३० प्रतिशतसम्म रोजगारी कटौती गर्ने आकलन छ । आप्रवासी कामदार कामबाट निकालिने सम्भावना त्यत्तिकै बढी छ । संक्रमणको कुरूप पहिलो छनोटमा पनि आप्रवासी कामदार, सहरी गरिब, सुकुम्बासी, ज्यालादारी मजदुर नै देखिएका छन् । एकातिर उद्योग वा र्निमाण कम्पनी बन्द हुँदा उनीहरूले जागिर गुमाउनुपर्ने स्थिति छ, भने अर्कार्तेर्फ संक्रमणको बढ्ता जोखिममा उनीहरू नै छन् । सेल्फ आइसोलेसनमा बस्नुपर्ने र घरैबाट काम गनुपर्ने यो समयमा, यो सुविधा केवल पुँजीपति, सहरी प्रशासक, उपल्लो वर्ग, र प्राविधिकलाई मात्रै हुन्छ । गरिब तथा मजदुरलाई सेल्फ आइसोलेसनमा बस्ने र घरैबाट काम गर्ने सुविधा हुँदैन । त्यसैले अमेरिका, युरोपका ग्रोसरी स्टोर, डिपार्टमेन्टल स्टोर, ग्यास स्टेसनमा काम गर्नेदेखि अरब, जापान, कोरिया, भारत, नेपाल सर्वत्र काम गर्ने गरिब तथा मजदुर संक्रमणको पहिलो उच्च जोखिममा छन् ।

जनजीवन एकदमै धिमा हुने हुनाले यो संकट समाजको भ्रष्ट र अनैतिक तप्काका निम्ति वरदान पनि हुन सक्छ । उदाहरणका लागि अमेरिकामा बिल गेट्स र चीनमा ज्याकमाले आफ्नो आम्दानीको ठूलो हिस्सा नागरिकको ज्यान जोगाउन लगाइरहेको बेला नेपालका एक व्यापारीले ३००० पर्ने ज्वरो नाप्ने थर्मल गनलाई पाँच गुणा बढीमा कालो बजारी गरिरहेका थिए । त्यस्तै कोरोनाको भय व्याप्त हुँदै गर्दा सर्जिकल मास्क लुकाइयो । बजारमा ग्यासको कालोबजारी भयो । त्यस्तै चीनबाट खरिद गरिएको पीपीई, मास्क, टेस्ट किट्सजस्ता स्वास्थ्य सामग्रीमा पनि अनियमितता देखियो । हुँदाहुँदा रोम जल्दा निरोले बाँसुरी बजाएको शैलीमा प्रधानमन्त्रीले त्रासदीविरुद्ध लड्न छाडेर पार्टी फुटाउने र स्वेच्छाचारी ढंगले संवैधानिक पद हत्याउन पाउने गरी अध्यादेश ल्याए ।

महाव्याधिले सामाजिक दूरीको क्षेत्रमा पनि केही महत्त्वपूर्ण परिवर्तन ल्याउन सक्छ । पहिल्यैदेखि जात, धर्म, वर्ग, राष्ट्रियतामा विभाजित समाजमा यसले नयाँ खाडल सृजना गर्न सक्छ । उदाहरणका लागि सिमानाकामा भारतबाट फर्केका नेपाली कामदारमाथि हाल राज्यले नै बिनापरीक्षण भाइरसबाहक र अपराधीलाई गर्नेजस्तो व्यवहार गरिरहेको छ । आफ्नो ढोकैमा पुग्दा पनि पुनः उनीहरूलाई बोर्डरपारि लखेटेर क्वारेन्टिनमा राख्ने नाममा भेडाबाख्राजस्तो खाँदेर राखिएको छ । आफ्नै भनिएको देशले यस्तो विभेद गर्छ भने प्रवासमा स्थिति के होला ?

अन्त्यमा,

अहिलेको पहिलो आवश्यकता कसरी यो महाव्याधिबाट जोगिने भन्ने नै हो । त्यसपछि अर्थतन्त्रको उद्धार । यो दुवै नवउदारवादी आर्थिक नीतिबाट सम्भव देखिँदैन । न त राष्ट्रवादी एक्लो प्रयासबाट नै । यसका लागि अन्तर्राष्ट्रियतावादी सामूहिक प्रयासको खाँचो पर्छ । पूर्वकोरोना युगको झगडालु राष्ट्रवादले तत्काललाई यो असम्भव बनाइदिएको छ । सिंगो मानवजातिलाई यो त्रासदीबाट जोगाउन र नयाँ विश्वव्यवस्थाको नेतृत्व गर्न सारा विश्वको आँखा अहिले चीनतर्फ छ । डेभिड हार्भीका विचारमा यदि चीनले नसकेको खण्डमा फेरि पनि अमेरिकाले नै यसको नेतृत्व गर्न सक्छ । तर फरक नीति तथा शैलीमा । उसले सिद्धान्तमा नवउदारवादी पुँजीवादी तर व्यवहारमा समाजवादी व्यवस्था लागू गर्न सक्छ । तर डोनाल्ड ट्रम्पको अमेरिका प्रथमको राष्ट्रवादी आवरणमा त्यो वर्नि स्यान्डर्सले वकालत गरेको भन्दा पनि अझ समाजवादी हुन सक्छ, । यो संकटको घडीमा संसारलाई हिंसा तथा आन्दोलनबाट जोगाउने नाममा अमेरिकाको आसन्न आमर्निवाचन रद्दमार्फत ट्रम्पको साम्राज्यवादी राष्ट्रपतिकाल पनि सुरु हुन सक्छ ।

चलाउने त्रिभुवन विश्वविद्यालयमा समाजशास्त्रका उपप्राध्यापक हुन् ।

प्रकाशित : वैशाख १२, २०७७ १८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?