कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

बहस : रोगको पर्यावरण

परम्परागत राजनीतिमा अब पर्यावरणलाई स्थान नदिने हो भने मानव प्रजातिका लागि यस्ता महाव्याधिहरू नियमित आकस्मिकता बन्नेछन् ।
तारानाथ सापकोटा

काठमाडौँ — कोभिड–१९ को महाव्याधिले विश्व यति आक्रान्त बनिसक्यो, मृत्यु यतिबेला एक तथ्यांक मात्रै बन्न पुगेको छ । मृत्युको संख्या सामान्य मानिसका लागि त्रासदीको कारण बनिरहेको छ ।

बहस : रोगको पर्यावरण

मृत्युको संख्या तथ्यांक अधिकारीका लागि आवश्यक अंकहरू बनेको छ, जुन दिनप्रतिदिन घातांकमा बढिरहेको छ । कोरोना महाव्याधिको संक्रमण यो पुस्ताको सायद सबैभन्दा व्यापक र भयानक संकट बनेको छ ।

विज्ञान र समाजविज्ञानका हाँगाहरू तथ्यांकलाई आफ्ना विधाअन्तर्गत व्याख्या गर्ने, नयाँ कोणबाट अनुसन्धान गर्ने र भविष्यको अर्थराजनीतिक बाटोको भविष्यवाणी गर्ने हतारोमा छन् । संसारको आधुनिक इतिहासलाई कोरोना महामारीले दुई चरणमा बाँडिदिएको छ । वैश्वीकरणको सिद्धान्त एकाएक सामाजिक दूरी र एकान्तबासमा गएर थुनिएको छ । सम्पन्न र समृद्ध देशहरूले सामाजिक दूरी र घरबन्दीलाई कोरोना महामारीविरुद्धको सबैभन्दा प्रभावकारी रणनीति भनिरहेको बेला गरिब देशहरूमा यी रणनीतिको सम्भाव्यता र प्रभावकारिताको बारेमा कसैले सोचेको छैन ।

प्रत्येक देश आफ्नो भूगोल सुहाउँदो हतियार निर्माणमा लागेका छन् । यतिबेला अर्कोका लागि सोच्नु अकल्पनीय प्रायः भएको छ । परनिर्भर देशहरू यतिबेला आफूलाई असहाय र निर्बल महसुस गर्दै कुनै मसिहाको पर्खाइमा बस्नुपर्ने बाध्यता देखिन्छ । आफूसँग वैज्ञानिक, प्राविधिक र उत्पादन क्षमता नभएका देश र समाज यतिबेला अभूतपूर्व सकसबाट गुज्रेका छन् । महाशक्ति अमेरिका फ्रान्स, जर्मनी, इटालीसमेतको कोरोना–कोलाहल र व्यवस्थापकीय कमजोरीले गरिब देशहरूमा त्रासदीको अर्को महामारीको संकेत गरेको छ । अमेरिका र चीनलगायतका शक्तिसम्पन्न देशहरू कोरोना महामारीलाई युद्धको भाष्यमा नयाँ संस्करण मानिरहेका छन् ।

संसारको बौद्धिक खपत अमेरिका वा चीन भन्ने विषयमा केन्द्रित भएको देखिन्छ । विश्वव्यवस्था परिवर्तनका अनुमानहरूको कोलाहल मच्चिरहेको छ । सबै देशहरूले आफ्नो हैसियत मिहिन ढंगले नापेको हुनाले परिवर्तन त्यसै वरिपरि केन्द्रित हुनेछ । संसारमा अमेरिका वा चीन जसको शक्ति हावी भए पनि सबै देशहरू आफ्ना घाटा पुर्न र स्रोतहरूलाई केवल आफ्नो हितका लागि उपयोग गर्न केन्द्रित हुनेछन् । नवउदारवाद र पुँजीवादले संकट र प्रकोपलाई पनि पुँजीमा बदल्छ ।

महामारी अन्त्यपछिका दिनहरूमा यो प्रक्रिया अझै आक्रामक बन्ने निश्चित छ । आर्थिक रूपमा ठूलो घाटा बेहोरेका विश्वका ठूला पुँजीवादी देश र बहुराष्ट्रिय कम्पनीहरूले घाटा पूर्ति गर्नका लागि प्रकृतिको दोहनलाई तीव्र पार्नेछन् । प्रसिद्ध लेखक नाओमी क्लाइनले भनेजस्तो ठूला पुँजीवादी देशहरूले यो महामारीलाई पनि पुँजीवादको कारखानामा हालेर त्यसबाट व्यापारी वर्गका लागि पैसा उत्पादन गर्नेछन् । तर, यी सबै तर्कहरूका बीच फेरि पनि सम्झने चेष्टा नगरिएको विषय पर्यावरण नै हो । स्वास्थ्यसँग पर्यावरणको साइनोको बारेमा कुरा नगर्दासम्म यस्ता महामारीहरू फेरि पनि यसरी चुनौती खडा गरी नै रहन्छन् । मानव सर्वोच्चताको मान्यताबाट जतिसक्दो छिटो बाहिर निस्केर पृथ्वीलाई सम्पूर्ण जीवको साझा घर बनाउनुको विकल्प छैन । प्रसिद्ध इतिहासकार तथा जीवशास्त्री जेर्राड डायमन्डका अनुसार, सार्स महामारीको समयमा निकट भविष्यमै फेरि हाम्रो ढोका ढकढक्याउन आउने महामारीलाई अनुमान नै गर्न सकेनौं हामीले ।


वास्तवमा मानिसले इतिहासबाट सिक्ने चेष्टा गरेन । इतिहासलाई एउटा आख्यानसिबाय केही ठानेन मानिसले । नोम चोम्स्कीले भनेजस्तै आणविक युद्ध र वैश्विक तापमान वृद्धि वर्तमान महामारीको अन्त्यपछि पनि कायमै रहन्छ । महामारीको अन्त्यपछि शक्तिशाली देशहरूमा सर्वसत्तावादी राजनीति हावी हुने दाबी चोम्स्की गर्छन्, जुन नवउदारवादको आभारभूत मान्यता हो । मानव जातिमाथिको यस्तो भयानक संकटका समयमा पनि इरानमाथि जारी नाकाबन्दीले कम से कम यही कुरालाई संकेत गर्छ । शक्तिको भोक सधैंभरि एउटा महामारी जसरी ठूला देशका सोच र मान्यतामा संक्रमण गरिरहनेछ ।

संसारलाई महामारीअघिजस्तै राम्रो बनाउने या जारीे असमानता, र अन्यायलाई अझै खराब बनाउने दुई विकल्प अहिले उपलब्ध छन् । तर, प्रारम्भिक प्रतिक्रियाहरूले दोस्रो विकल्पको व्यापकताको संकेत गर्छन् । कोरोना संक्रमितप्रतिको घृणा, निश्चित समुदायप्रतिको लाञ्छना, संकटको समयमा शक्तिसम्पन्न देशले देखाएको स्वार्थप्रेरित कृत्यले यही संकेत गर्छन् । औषधि र खोपको विकास भइहाले पनि धनी र शक्तिशाली देशका नागरिकको त्यसमाथि पहिलो अधिकार हुनेछ । अविकसित र गरिब देशका नागरिकका लागि त्यस्ता औषधिको उपलब्धताको बारेमा अहिले नै सोच्नु एउटा पागलपन हुन सक्छ ।

धनी देशहरूले विश्वका गरिब देश र जनताका लागि उपलब्ध गराउने सहयोगमा पनि कटौती हुनेछ । यसबाट असमानता अझै बढेर जानेछ । इतिहासकार युवल नोहा हरारीले महाव्याधि रोकथामका लागि कडा निगरानी एउटा अस्त्र हो भन्दै गर्दा विशेषगरी गरिब देशका मजदुर वर्ग र अति विपन्न आर्थिक अवस्थामा मानिसबारे कति सोचे होलान् । भोक र अभावले मर्ने अवस्थामा पुगेपछि रोगसँग डर लाग्ने कुरै भएन र ती बाहिर निस्किए भने राज्यले तिनीहरूसँग कस्तो व्यवहार गर्ला ? मृत्यु भोकबाट, रोगबाट वा गोलीबाट जसरी आए पनि के फरक पर्छ ?

सबै जना नयाँ सिद्धान्तको उत्पादनको दौडमा सामेल भएको महाव्याधिको त्रासदीको बीचमा खासै व्याख्या नगरिएको रोगको पर्यावरणीय सिद्धान्त पनि छ । कुनै पनि रोग एकाएक उत्पन्न हुँदैन, यसका खासखास चरणहरू हुन्छन् । पछिल्ला दिनमा केही वैज्ञानिक कोभिड–१९ महाव्याधिको भाइरस मानिसको शरीरमा पहिलेदेखि नै रहेको तर अहिले उक्त भाइरसले उपयुक्त वातावरण पाएको हुनाले घातक बन्न पुगेको तर्क गरिरहेका छन् । रोग उत्पन्न गर्ने कीटाणु वा विषाणुहरू मानिसको संसर्गमा मानिसको उत्पत्तिदेखि नै छन् ।

प्रकृतिमा जीवनको सुरुआत यिनै सूक्ष्म जीवबाट भएको हो । तर, ती कुनै निश्चित समयमा मात्रै रोगको कारण बन्छन् । तिनै सूक्ष्म जीवहरूको बासस्थान वा वातावरणमा आएको परिवर्तन नै यस्ता रोगको प्रमुख कारण हो । संसारबाट उन्मूलन भइसकेका रोगहरू पुनः देखिनु, विभिन्न संक्रामक रोगहरूले छोटोछोटो अवधिमा महामारीको रूप लिनु रोगको पर्यावरणमा आएको परिवर्तनले गर्दा नै हुनुपर्छ । सिंगो पृथ्वी मानिसको स्वतन्त्रताका लागि सानो भएपछि अन्य जीवहरूका लागि त यसले ठाउँ छोडेन । तर, मानिस पटकपटक यो बिर्सन्छ, कि स्वतन्त्रताको मूल्य तिर्नुपर्छ । मानिसको स्वतन्त्रताको फैलावटले यसलाई सबैभन्दा महँगो साबित गरेको छ । अन्य जीवको अस्तित्व स्विकार्न इन्कार गर्ने भएकाले नै यस्ता घातक महामारी मानिसमा अन्य जीवबाट फैलिएका छन् ।

विशेषगरी मासु वा अन्य अंगको प्रयोगका निम्ति वन्यजन्तुको संसर्गमा आउनाले यस्ता महामारीहरूको उदय भएको छ । प्रकृतिले यी सारा जीवहरूको उत्पत्ति बुद्धिविलासका लागि मात्रै गरेको थिएन । मानिसले यस्ता सूक्ष्म जीवहरूको पर्यावरणमा गरेको हस्तक्षेपका कारण यस्ता महामारीहरूको उदय हुन्छ । ‘गन्स, जर्म्स एन्ड स्टिल’ मा जेर्राड डायमन्डले यस्ता महामारीले मानव सभ्यतामा पारेको प्रलयकारी परिवर्तनमाथि लेखेका छन् । त्यस्तै यतिबेला वैज्ञानिकहरू जलवायु परिवर्तन र महामारीबीचको सम्बन्धबारे पनि विस्तृत अध्ययन गरिरहेका छन् । हार्वर्ड वैज्ञानिक आरोन बर्नस्टाइन कोभिड–१९ संक्रमणको सीधा सम्बन्ध जलवायु परिवर्ततसँग नदेखिए पनि प्रदूषणका कारण कमजोर बनेको श्वासप्रश्वास प्रणाली र रोग प्रतिरोधात्मक क्षमता यसबाट हुने मृत्युको कारक रहेको बताउँछन् । जलवायु परिवर्तनका कारण मानिसको बासस्थान खुम्चिनाले र बस्तीहरूमा जनघनत्व बढ्नाले पनि संक्रमणको तीव्रतामा वृद्धि भएको उनी बताउँछन् ।

तीव्र सहरीकरण, मानिसहरूको घना बस्ती, उनीहरूको चलायमानले रोग बोकेर मानिस छिनभरमै संसार परिक्रमा गर्छ । जलवायु परिवर्तनको स्वास्थ्यमा परेको असरका बारेमा विभिन्न अध्ययनहरूले पुष्टि गरिसकेका छन् । भविष्यको अर्थराजनीतिलाई मात्रै अहिले बहसको केन्द्रमा राखेर फेरि पनि प्रकृतिको दोहनलाई तीव्र पार्दै सूक्ष्म जीवहरूको पर्यावरणलाई नजरअन्दाज गर्ने बाटोमा मानिस फेरि हिँडेको छ । परम्परागत राजनीतिमा अब पर्यावरणलाई स्थान नदिने हो भने मानव प्रजातिका लागि यस्ता महाव्याधिहरू नियमित आकस्मिकता बन्नेछन् ।

प्रकाशित : वैशाख १२, २०७७ १६:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?