दलीय नोकरशाहीतन्त्रको हैकम 

ओलीको सर्वसत्तावादी आकांक्षालाई पुट दिने काम नेकपाले मात्र गरेकाे हाेइन, प्रतिपक्षी दलमा प्रतिपक्षकाे कुनै ‘तेवर’ बाँकी नहुनुको परिणाम पनि हो यो । वैचारिक रूपमा टाट पल्टेका मान्छेहरूको झुन्डले ओली–प्रपञ्चलाई चुनाैती दिन सक्दैन ।
उज्ज्वल प्रसाईं

काठमाडौँ — शक्ति–अभ्यासको लत खतरनाक हुन्छ । दमन–संयन्त्रप्रति सम्मोहित भएपछि ‘दुस्मनगिरी’ अनिवार्य उद्यम बन्छ । हरेक वैचारिक प्रतिध्रुव सिद्धयाउनैपर्ने किल्ला देखिन्छ । प्रत्येक फरक मत निषेधलायक मानिन्छ । सूचना र सम्पत्तिका स्रोत आफ्नै हातमा भएपछि दम्भ प्रदर्शन नै प्रमुख जिम्मेवारी ठहर्छ ।

शक्ति–अभ्यासमा यसरी रत्तिएको शासकले सिंहासनमा किञ्चित् कम्पन महसुस गरे, ऊ असाध्यै भयभीत हुन्छ । सतहमा शक्तिको बेपर्बाह तुजुक उत्रिन्छ, नेपथ्यमा अनेक प्रपञ्च रचिन्छ । महामारीजस्ता समस्याले आम नागरिक सन्त्रस्त बनेका बेला यस्ता तुजुक र प्रपञ्च धेरै देखिन्छन् । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष खड्गप्रसाद ओली शक्ति–अभ्यासको खतरनाक लती भइसके ।

लाखौं कार्यकर्तासहितको बलियो संगठनका अध्यक्ष ओलीमा पार्टीभित्र अकण्टक शक्ति–अभ्यास गर्ने लालसा तीव्र छ । यसै पनि नेकपा कुनै जीवन्त वैचारिक एवं सैद्धान्तिक बहस गर्ने मञ्च होइन । नोकरशाहीतन्त्रका सबै चरित्रले सज्जित राजनीतिक आवरणको अराजनीतिक ‘मसिनरी’ मात्र हो यो । लाखौं कार्यकर्ता जीवन्त राजनीतिक प्राणीभन्दा ज्यादा मसिनरीका उपयोगी पुर्जा मात्र हुन् । साधनस्रोतले सम्पन्न गुट सञ्चालन गर्ने बाहुबलीले नोकरशाहीतन्त्र आफ्नो अधीनमा राख्छ, सबै पुर्जालाई आफूअनुकूल चलाउँछ । अनुकूलतामा चलाउन नसकिने पुर्जालाई ठेगान लगाउँछ । बाहुबलीका व्यक्तिगत आकांक्षाले राजनीतिक जलप पाउँछन् र तिनलाई पूरा गर्न सिंगो दलीय मसिनरीको उपयोग हुन्छ ।

पार्टीलाई अधीनमा राख्ने व्यक्ति वा समूह सत्ता–सञ्चालक पनि भएपछि पार्टीभित्र उठ्ने सबै जायज प्रश्नलाई ‘को–अप्ट’ गरिदिन सहज हुन्छ । सहवरण गर्न नसके निषेध गर्ने अनेक उपाय अपनाइन्छ । कहिलेकाहीँ प्रश्न उठ्न र बहस हुन खोजेजस्तो देखिए पनि, त्यसले निरन्तरता नपाउनुको कारण यही हो । अराजनीतिक मसिनरीका अंग–प्रत्यंग, चाहे ती विद्यार्थीका संगठन होऊन् वा मजदुरका, तिनले नोकरशाहीतन्त्रलाई बलियो बनाउनेभन्दा बढी केही गर्दैनन् । तिनले जरुरी बहस सृजना गर्ने कुनै ठोस प्रयत्न गर्दैनन्, कतिसम्म भने आफ्नो स्वायत्तताको खोजीसमेत गर्दैनन् । अध्यक्ष ओली त्यही नोकरशाहीतन्त्रका सबैभन्दा शक्तिशाली हाकिम हुन् । लेखक सीके लालले त्यसै उनलाई सर्वेसर्वा शर्मा ओली भनेका होइनन् ।

अर्का अध्यक्ष पुष्पकमल दाहालले चालीस प्रतिशत हाकिमी दाबी गर्ने प्रयत्नमा लामो समय बिताए । पार्टी एकता गर्दाका सर्तअनुसार उनको त्यो अग्रसरता जायज देखिनुपर्ने हो । तर मुलुकको सिंगो शक्ति संरचनाबाट ओलीले पाएको स्वीकार्यता र वैधताका अघिल्तिर दाहालको प्रयास सफल हुन सकेन । बरु दाहालको छटपटी बेला–कुबेला सतहमा छचल्किइरह्यो र जगहँसाइ भइरह्यो । पूर्वमाओवादी समूहको दबाब तीव्र बन्दै गएपछि, उनले ओलीको दलीय सिंहासनमा हलुका कम्पन ल्याउन कोसिस गरे । ओलीले ओगटेको साठी प्रतिशतमा आफ्नो समेत केही अंश भएको विश्वास गर्ने वामदेव, माधव र झलनाथलाई साथमा लिने प्रयत्न जारी राखे । त्यसमा केही सफल हुँदा ओलीलाई धक्का पुग्यो । तर, ओली संसदीय राजनीति र सत्ता समीकरणका अनुभवी खेलाडी हुन् । त्यसमाथि, राष्ट्रपतिको शृंगारिक पदलाई आफूअनुकूल उपयोग गर्नका लागि विद्या भण्डारी सो पदमा दोहोर्‍याइएकी हुन् । खड्गप्रसाद ओली सजिलै गलेनन् ।

आवधिक निर्वाचनमार्फत वैधतापूर्वक हात लागेको प्रधानमन्त्री पद शक्ति–अभ्यासको बलशाली केन्द्र हो । दोस्रोपटक त्यहाँ पुगेका ओलीले सुरुआतदेखि नै शक्तिको केन्द्रीकरणलाई तीव्र बनाए । त्यसबारे उठेका प्रश्नलाई पार्टीभित्रका पुष्पकमल दाहाललगायत सबैले अनदेखा गरे । स्टालिनवादी कम्युनिस्ट संस्कारमा शक्तिको केन्द्रीकरण सामान्य मानिँदो हो । दाहाल आफैं त्यस्तो मनोकांक्षा राख्ने नेता रहेको प्रमाणित सत्य हो । किनारामा उठेका केही प्रश्नलाई बेवास्ता गर्दै सूचना, स्रोत र दमनका सबै संयन्त्र ओलीले आफ्नो तजबिजमा चल्ने बनाए । साथै, राजनीतिक स्थिरताको आम आकांक्षालाई शक्ति केन्द्रीकरणका लागि उपयोग गर्ने कुनै मौका चुकाएनन् । नवउदारवादी विकासको संकथन असाध्यै राम्रो बजारभाउमा बिकाउने अवसर रत्तीभर छोडेनन् ।

नेकपा सचिवालयमा ओली कमजोर भएको वा एक्लिएको समाचार बनिरह्यो तर त्यसको प्रभाव देखिएन । कुनै प्राथमिकतामा नभएका र संवैधानिक प्रावधानसमेतलाई चुनौती दिने खालका अध्यादेश जारी गर्ने बेला सचिवालय आफैं कति कमजोर हैसियतमा रहेछ भन्ने प्रमाणित भयो । राजनीतिक दल विभाजन सहज हुने र संवैधानिक परिषद्को भूमिका कमजोर पार्ने उद्देश्यसहित ल्याइएका अध्यादेशको सचिवालय एवं स्थायी कमिटीका बहुमत सदस्यले विरोध गरेका हुन् । तर, सिंगो नोकरशाहीतन्त्रका बलिया हाकिमले चाहेपछि विरोधका आवाजले खासै काम गरेनन् । आफ्नो पिताम साबित गर्नैका लागि पनि ओलीले यो कदम चालेका थिए ।

संसद्मा रहेका साना पार्टी टुक्र्याउने लक्ष्य राखेर दल विभाजनको अध्यादेश ल्याइएको प्रमाणित भइसकेको छ । समाजवादी पार्टीका केही सांसदलाई प्रभावमा पारेर दल विभाजन गर्न लगाउने काम भइरहेको सो पार्टीका नेताले सार्वजनिक रूपमा बताइसकेका छन् । यो लेख तयार पार्दै गर्दा दल विभाजनको कसरत जारी छ । विभाजनबाट हुने क्षति रोक्ने प्रयास तीव्र बनाउँदै राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीले हतारमा एकता गरेका छन् । यी दुई दलले पहिले पनि एकता प्रयास नगरेका होइनन् तर सफल भएका थिएनन् । ओलीको शक्ति–अभ्यासको तीव्र आकांक्षाले यी दुई दलको बेमेल हाललाई गौण बनाइदिएको छ ।

दुवै अध्यादेशको लक्ष्य पूरा हुँदा ओलीको बेलगाम शक्ति–अभ्यासको आकांक्षा पूरा हुनेछ । कारणवश, अध्यादेश फिर्ता भए भने पनि ओलीले शक्ति–अभ्यासमा अंकुश लगाउने सबै वैध संस्था र विधिलाई निस्तेज तुल्याउने प्रयत्न जारी राख्नेछन् । अंकुशहरू खुकुलिएपछि उनको स्वेच्छाचारिता अझ बढ्नेछ, सर्वसत्तावादको ओली–प्रयोग भोग्न पाइनेछ । ओली–प्रयोगलाई पार्टीले अस्वीकार गर्ने तागत राख्छ भन्ने आधार कमजोर छ । ठूलो दलीय संरचना अर्थात् सफल नोकरशाहीतन्त्रको सम्मोहनमा रहेका अन्य वरिष्ठ नेताले पार्टी विभाजनको ‘इन्जिनियरिङ’ गर्लान् भनेर विश्वास गर्न सकिन्न । लाभ–हानिको बहीखातामा धेरै हिसाब गरेपछि मात्रै उनीहरूले केही कदम चाल्नेछन् । सिद्धान्त, विचार, आन्तरिक लोकतन्त्र इत्यादि विषयमा विमर्श गरिरहने कमरेडहरूले ‘पार्टीभित्रै प्रगतिशील सम्भावना’ को खोजी गर्ने नाममा ओली–रमिता हेरिरहनेछन् ।

ओलीको सर्वसत्तावादी आकांक्षालाई पुट दिने काम उनको अधीनमा रहेको दलले मात्र गरेको होइन, प्रतिपक्षी दलमा प्रतिपक्षको कुनै ‘तेवर’ बाँकी नहुनुको परिणाम पनि हो यो । पार्टी सभापतिले सस्तो हन्बेर्नोका रूपमा प्रयोग गर्ने अर्को ठूलो संगठनको नाम हो— नेपाली कांग्रेस । वैचारिक रूपमा टाट पल्टेका मान्छेहरूको झुन्डले बिलकुल निजी स्वार्थपूर्तिका लागि उपयोग गर्ने संगठनले ओलीको सर्वसत्तावादी प्रपञ्चलाई चुनौती दिन सक्दैन । त्यस्तो प्रयत्न गर्ने कुनै नैतिक हैसियत बाँकी पनि छैन कांग्रेससँग । राजनीतिक आवरणमा सिंगो संगठनलाई अराजनीतिक खेलको अखडा बनाउने सभापतिकै प्रयत्नले कांग्रेसलाई सांगठनिक र वैचारिक दृष्टिकोणले इतिहासकै सर्वथा कमजोर मोडमा पुर्‍याएको छ । जसले प्राण भर्ने निम्छरो कोसिस गर्दै छन्, उनीहरूका अलमलबारे छुट्टै चर्चा आवश्यक छ ।

रातारात एकीकृत भएको जनता समाजवादी पार्टीका दु:ख पनि साना छैनन् । कसैले पद वा पैसाको प्रलोभन देखाएकै भरमा दर्जनौं सांसद उक्काउन सकिने पार्टीको वैचारिक धरातल हदै कमजोर छ भन्ने पुष्टि हुँदैन र ? आज एकताबद्ध भएको पार्टीले भोलि नै अर्को विभाजन भोग्दैन भन्ने के ग्यारेन्टी छ ? उन्नत र समतामूलक समाज निर्माणका लागि वैचारिक प्रतिबद्धता एवं निष्ठासहितको राजनीति गर्नेलाई सानातिना प्रलोभनले बगाउन सक्दैनन् । कुनै उदात्त आदर्शमा विश्वास नभएका, समाज परिवर्तनको इमानदार आकांक्षा नभएका, बरु निजी हितलाई सर्वोपरि ठान्ने जमातले दल जोगाउनुको अर्थ के ? एक–दुई जना मान्छेले रातभरि खटेर सांसद एवं नेता फकाउनुपर्ने अवस्था आफैंमा हदै लाजमर्दो मानिनुपर्ने हो । यस्ता दलका लागि ओलीको स्वेच्छाचारिताभन्दा ठूलो समस्या आफ्नै वैचारिक निम्छरोपन हो । अहिलेको दुर्घटनाबाट तिनले वैचारिक र सांगठनिक रूपमा सबल हुनुपर्ने शिक्षा लिन्छन् ? विश्वस्त हुन सकिँदैन ।

कोरोना महाव्याधिले निम्त्याउने बहुविध संकट सामना गर्ने प्राथमिकतालाई ओली सरकारले गौण बनाइदिएको छ । भविष्यमा निम्तिने भयावह आर्थिक एवं सामाजिक समस्याका लागि एक सेकेन्ड पनि खेर नफाली गर्नुपर्ने तयारी ओझेल परेको छ । चरम बेरोजगारी, गरिबी, भोकमरीलगायतका समस्याले एकैपटक गाँज्न सक्ने अवस्थालाई अन्दाज गर्दै थाल्नुपर्ने काम धेरै छन् । लकडाउनकै अवस्थामा समेत गर्न सकिने सयौं काम थिए । यी कैयौं जरुरी विषयबाट सबैको ध्यान हटाएर नागरिकलाई निजी राजनीतिक तिकडमको निरीह साक्षी बनाइदिएका छन् ओलीले । व्याधिको भय छँदै छ, अन्योलग्रस्त भविष्यको चिन्तालाई ओली–स्वेच्छाचारिता एवं निम्छरो प्रतिपक्षीले तेब्बर बनाइदिएका छन् ।

कोरोनाकाल कसरी टर्ला भन्ने यकिन छैन । ठूलो मानवीय क्षति हुँदैन भनेर ढुक्क हुन सक्ने अवस्था पनि छैन । तथापि संकटका बीच सोच्नैपर्ने धेरै विषयमध्ये एउटा दलीय राजनीति नै हो । उन्नत समाजको परिकल्पना नभएको र भविष्यको योजनै नभएको राजनीतिक दल अब किन चाहिन्छ ? कम्युनिस्ट वा अरू कुनै आवरणमा पुँजीको कथित ‘युनिभर्सल लजिक’ भन्दा भिन्न काम गर्न नसक्ने राजनीतिको निरन्तरता अब किन जरुरी छ ? प्रकाशित : वैशाख १२, २०७७ १०:०९

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

साउदी अरबबाट फागुन ३० गते आएका थिए भोजपुरका संक्रमित युवक

देवनायारण साह

विराटनगर — भोजपुरको हतुवागढी गाउँपालिका ६–लङ्खाका २६ वर्षीय एक युवकमा बिहीबार  कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमित युवक साउदी अरबबाट फागुन ३० गते हिमालयन एयरलाइन्सको उडानबाट काठमाडौं फर्केका थिए ।

काठमाडौं ओर्लेर उनी काठमाडौं–हिले चल्ने माइक्रो बसबाट धरान आएर चतरा हुँदै उदयपुरको बेलका नगरपालिका–७ मैनामैनीस्थित ससुराली घर आएर चैत ११ गतेसम्म बसेको हतुवागढी–६ का वडाध्यक्ष सागर राईले बताए । मैनामैनीबाट मोटरसाइकलमा चैत ११ गते नै लङ्खा आइपुगेको राईले थपे । संक्रमितका ससुरालीका व्यक्तिहरु पनि जोखिममा छन् । ‘कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै वडामा त्रास फैलिएको छ,’ उनले भने, ‘लङ्खा टोल र वडा नम्बर ६ लाई सिल गरिएको र सबैलाई सामाजिक दूरी कायम गरेर बस्न लगाएका छौं ।’

उक्त गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खतिवडाले गाउँपालिकाभरिमा भारत, चीन, बहराइन, मलेसिया, कतार र साउदी अरबबाट आएका ११ जनाको तथ्यांक संकलन गरेर वैशाख ९ गते १४ जनाको आरडीटी परीक्षण गरिएको बताए । ‘आरडीटी परीक्षणमा साउदीबाट आएका २६ वर्षीय युवामा मात्रै कोरोना पोजिटिभ देखियो,’ उनले भने, ‘तत्काल उनलाई प्राथमिक स्वास्थ्य केन्द्र घोडेटारको आइसोलेसन वार्डमा ल्याएर राखेको र अहिले पनि उनी त्यही बसिरहेका छन् ।’ तर हालसम्म उनको शरीरमा कोरोना भाइरसको कुनै लक्षण नदेखिएको र स्वास्थ्य अवस्था सामान्य रहेको खतिवडाको भनाइ छ ।

आरडीटी परीक्षणमा पोजिटिभ आएपछि घाँटीको स्वाब नमुना संकलन गरी परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको उनले बताए । प्रतिष्ठानको पीसीआर ल्याबमा गरिएको घाँटीको स्वाब परीक्षणमा संक्रमण देखिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको थियो ।

हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले संक्रमित युवक फाल्गुन ३० गते हिमालयन एयरलाइन्सको उडानबाट साउदी अरबबाट काठमाडौं आएको र त्यहाँबाट घुमफिर गर्दै चैत ११ गते लङ्खा पुगेकाले धेरैतिर जोखिम बढाएको बताए । उनको अध्यक्षतामा अहिले गाउँपालिकाको र्‍यापिड रेस्पोन्स टिमको बैठक बसिररहेको छ । जिल्ला सुरक्षा समितिको पनि बैठक बसिरहेकाले दुवै बैठकको निर्णयअनुसार गाउँपालिकाका अन्य व्यक्तिमा संक्रमण फैलिन नदिने रणनीति बनाउने प्रेमकुमारले बताए ।

‘गाउँपालिकाकै आइसोलेसनमा रहेका संक्रमित युवकसँग कहाँ–कहाँ गएको को–को सँग भेटघाट गरेको सबै जानकारी लिएर उपचारका लागि प्रदेश सरकारको समन्वयमा पठाउँछौं,’ उनले भने, ‘संक्रमितका परिवारलगायत उनको सम्पर्कमा आएका प्रत्येक व्यक्तिको घाँटीको स्वाबको नमुना परीक्षण गराउने तयारीमा जुटेका छौं ।’ संक्रमित युवक काठमाडौंबाट सार्बजनिक यातायात हायसमा धरानसम्म आएर ससुराली र अन्य धेरैतिर हिँडडुल गरेको उनले बताए । उनले भने, ‘प्रत्येक वडामा सचेतता अपनाउनका लागि वडा समितिहरुलाई निर्देशन दिइसकिएका छौं ।’

काठमाडौंबाट आएर उदयपुरको बेलका नगरपालिका–७ मैनामैनी ससुराली घरमा बसेका संक्रमित युवकको आरडीटी परीक्षणमा कोरोना संक्रमण पोजिटिभ देखिएपछि नगरपालिकाले पूर्ण रुपमा सचेतता अपनाएको छ । बेलकाका नगरप्रमुख दुर्गाकुमार थापाले संक्रमितको ससुरालीमा ५ जना रहेको र उनीहरुको आरडीटी परीक्षण गर्दा नेगेटिभ आइसकेको बताए । उनीहरुको ५ जनाको घाँटीको स्वाबको नमुना लिएर बिहीबार परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएको र उनीहरुलाई कडाइका साथ होम क्वारेन्टाइनमा राखिएको थापाले बताए । संक्रमित युवक मैनामैनीमा को–कोसँगको सम्पर्कमा गएको र उनका ससुरालीका व्यक्तिहरु कहाँ/कहाँ क–कसको सम्पर्कमा गएको बारे नगरपालिका बेखबर छ । कोरोना भाइरसको संक्रमित प्रदेश १ मा हालसम्ममा २९ र मुलुकभरी ४८ पुगेको छ ।

प्रकाशित : वैशाख १२, २०७७ १०:०६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
×