१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

स्वपक्षीय सत्तापलटको पूर्वाभास

सर्वेसर्वा शर्मा ओलीको स्वपक्षीय सत्तापलट (सेल्फ कू) सम्पन्न गर्न योभन्दा उपयुक्त समय चयन हुन सक्दैनथ्यो। स्वाभाविक हो, उनका समर्थक हर्षमिश्रित आश्चर्यमा छन्। आलोचकहरू स्तब्ध भएका छन्।
सीके लाल

सोमबार साँझ झोला बोकेर लुखुरलुखुर काठमाडौंबाट मधेसको आफ्नो गाउँतिर हिँडिरहेका रामचेलवा दास वा उनीजस्ता कैयौं अरू ज्याला गरेर गुजारा गर्ने बेसहारा मजदुरहरूले राष्ट्रपति निवासबाट जारी भएका ‘शाही सम्बोधन’ पाराका अध्यादेशहरूको समाचार बाटोछेउको रेडियोबाट सुने होलान् ।

स्वपक्षीय सत्तापलटको पूर्वाभास

कतिले त्यस घोषणाको मर्म ठम्याउने प्रयत्न पनि गरेका होलान् । अधिकांशले भने राजनीतिक दाउपेचबाट निरपेक्ष भई गाउँ पुगेर पनि गुजारा कसरी चल्ने हो भने चिन्ताले ग्रस्त भई भारी मनले आफ्नो गन्तव्यतर्फको यात्रा जारी राखेका होलान् । यस्ता खाले अनुमानलाई सहजै पुष्टि भने गर्न सकिँदैन । कोरोना कहरको त्रासले कर्मभूमिबाट जन्मभूमितिरको सयकडौं किलोमिटर सडकमा हिँडिरहेका कामदारहरू राज्य, बजार एवं नागरिक समाजका लागि ‘अदृश्य मानव’ सरह हुन् । तिनले सबैलाई देख्छन्, तिनलाई कसैले देख्दैन । अरूका कुरा तिनले सुन्छन्, तिनका कुरा कसैले सुन्दैन । तिनका नाउँमा सरकार गठन हुन्छ । सरकारसँग भने देशभरि ज्यालामजदुरी गरेर गुजारा गर्नेहरूको भरपर्दो तथ्यांकसम्म छैन ।

यो ‘घर’ भन्ने भावना पनि गज्जबको हुँदो रहेछ । कोही गाउँमा खान नपुगेर सहर पस्छन् । भविष्य सुरक्षित गर्ने ध्याउन्नमा बिदेसिनेको संख्या पनि उल्लेख्य हुँदो रहेछ । फरक अनुभवका लागि जन्मथलोभन्दा टाढा पुग्नेहरूको आकार सानो भए पनि अप्ठ्यारो परेका बेला तिनले पनि घरै सम्झिन्छन् । भनाइ छ, पृथ्वी वृत्ताकार छ । पृथ्वीले सूर्यको परिक्रमा गरेझैं व्यक्ति पनि आजीवन कुनै न कुनै परिक्रमामा व्यस्त रहन्छ । ज्ञान, प्रसिद्धि, धन, विद्या एवं आत्मसन्तुष्टिजस्ता खोजहरू जीवनका परिक्रमापथ हुन् । तर, मन उत्तेजित, व्यथित, भयभीत वा चिन्तित भएका बेला व्यक्ति आफ्नो केन्द्रमा अडिन चाहन्छ । यस विशाल धरामा जहाँ आफ्नो वृत्तको केन्द्र रहेको महसुस हुन्छ, त्यो ठाउँ घर हो । खान नपाएर घर जान खोज्नेहरूले घर पुगेपछि पनि खान पाउँछन् भन्ने कुनै ग्यारेन्टी छैन । निश्चित के मात्र हो भने, आफ्नो केन्द्रमा पुगेको कमजोर व्यक्तिमा समेत काललाई ललकार्ने आँट पलाउँछ, ‘हेर, म आफ्नो ठाउँमा छु ।’

सर्वेसर्वा खड्गप्रसाद शर्मा ओलीले सामान्यजनको घर पुग्ने हुटहुटी ठम्याउन सक्दैनन् । त्यस्तो मनस्थितिका पछाडि सांस्कृतिक, सामाजिक, आर्थिक एवं राजनीतिक कारण छन् । संविधानले खस–आर्य नामकरण गरेको ‘बाक्षेद’ जातीय समूहमा ‘लोग्नेमान्छेको घर हुँदैन’ भन्ने मान्यता हावाबाट उब्जिएको होइन । माटोको स्थानीयताभन्दा पुरुषार्थको गतिशीलतालाई महत्त्व दिने मनोवृत्तिले फिरन्ते सभ्यताको निरन्तरतालाई दर्साउँछ । सर्वेसर्वा शर्मा ओलीको सामाजिकीकरण झापाका आदिवासीहरूबीच नभएर नवबासिन्दा अधिवासी (सेटलर्स) समुदायमा भएको हो । मधेसका पहिलो पुस्ताका धेरैजसो अधिवासीमा ‘पहाड घर’ स्नेहिल स्मृति नभएर बिर्सन चाहने भोगाइ हुने गर्छ । आर्थिक रूपमा घरसँगको सम्बन्ध हलो र कोदालोसँग जोडिएको हुन्छ । खुकुरी, पुस्तक एवं डन्डा बोक्नेलाई ‘चल जोगी फटकार छाला, जहाँ जाला त्यहीँ खाला’ भन्ने विश्वासले बल प्रदान गरिरहेको हुन्छ । नक्सलपन्थमा राजनीतिक दीक्षा पाएका झापालीहरूका लागि घर र परिवार फगत भौतिक एवं भावनात्मक स्रोत हुन् । स्रोतहरूको उपयोग राजनीतिक शक्तिप्राप्तिका लागि मात्र हुनु स्वाभाविक हो ।

आत्ममुग्ध राजनीति

केही दिनअगाडि ६९ औं जन्मदिन मनाउन सर्वेसर्वा शर्मा ओली तेह्रथुमको आठराईमा रहेको आफ्नो जन्मघर पुगेका थिए । उनका नवधनिक (नूवो रीश) अनुयायीहरूले आफ्ना अर्थराजनीतिक संरक्षकका लागि काठमाडौंबाट हेलिकप्टरमा नेपालको नक्सा आकारको विशालकाय केक आठराईसम्म पुर्‍याए । त्यसका बाबजुद टेलिभिजनको पर्दामा हेर्दा उनको अनुहारमा ‘घर पुगेको’ हर्षोल्लास देखिँदैनथ्यो । उनी मात्र होइन, नेकपा दोहोरोका पत्रपर्ण अध्यक्ष पुष्पकमल दाहालको घर कहाँ हो ? कास्की, चितवन, ललितपुर, रोल्पा, नोयडा, सिलिगुडी, चण्डीगढ, दिल्ली, नयाँ बजार, लाजिम्पाट वा खुमलटार ? भन्नका लागि त उनी दाबी गर्न सक्छन्— राष्ट्रवादीका लागि सारा नेपाल ‘घर’ हो । त्यस्तो अध्यर्थन (असर्शन) भने अर्थहीन ठहरिन्छ । सबै ठाउँका व्यक्ति कहीँका पनि हुँदैनन् । त्यस्ता व्यक्तिहरूमा भयानक आत्ममुग्धता भने हुन्छ । ती सोच्दा हुन्— म अहिले जहाँ उभिएको छु, पृथ्वीको केन्द्र त्यही नै हो । एकातिर तिनमा सारा संसार आफ्नाविरुद्ध लागेको निराधार भय हुन्छ भने, अर्कातिर सबैलाई म एक्लैले ठीक पार्न सक्छु भने आँट पनि हुन्छ । कुनै पनि देशको स्थायी सत्ता वा तिनका वैदेशिक सञ्चालकहरूले त्यस्तै असुरक्षित मनोग्रन्थिले ग्रस्त आँटिलो महत्त्वाकांक्षी व्यक्तिलाई आफ्नो गोटी बनाउँछन् । अह्राउने शक्ति जोसुकै भए पनि इतिहास बनाउने कार्य निनैतिक (एमोरल) तर साहसी व्यक्तिको हातबाट सम्पन्न हुन्छ । त्यसपछि किन्तु र परन्तुमा अल्झिनेहरू नियतिलाई स्वीकार गर्न बाध्य हुन्छन् ।

भौतिकवादी दृष्टिकोणले पनि राजनीतिक दलको वैधानिक विभाजन वा संवैधानिक परिषद्मा सरकारको एकक्षत्र नियन्त्रणजस्ता अध्यादेशहरूलाई ‘संकटलाई अवसरमा बदल्ने’ वैज्ञानिक राजनीतिको स्थापित विधिकै रूपमा अर्थ्याउनु उपयुक्त हुनेछ । सर्वेसर्वा शर्मा ओलीका लागि उनको बालकोट निवास विगत भइसकेको छ । उनी अब बालुवाटारलाई आफ्नो ‘घर’ ठहर्‍याउन कृतसंकल्प देखिन्छन् । त्यसका लागि देशको स्थायी सत्ता, अल्पतन्त्रका धनाढ्य परिचालक वा क्षद्म वैदेशिक शक्तिहरूसँग जस्तोसुकै सम्झौता गर्न सक्छन् । पत्रपर्ण अध्यक्ष दाहालको दृष्टि पनि त्यही ‘घर’ माथि छ । वर्तमान भोक्ता निश्चिन्त छन्, प्रतीक्षारत दाबेदारमा उनलाई विस्थापित गर्ने सामर्थ्य छैन । तत्काल यस अध्यादेशको आँधीबेहरीमा फगत मधेसीहरूको मतका भरमा ‘राष्ट्रिय’ बन्ने आकांक्षा पालेका प्रदेश २ का सत्तासीनहरू पर्न सक्छन् । लाग्छ, नेपालको राजनीति नयाँ किसिमको सत्तापलट (कू) तिर उन्मुख छ । सत्तासीन दलमाथि सर्वेसर्वा शर्मा ओलीको फलामे नियन्त्रण दिनानुदिन मजबुत हुँदै गइरहेको छ । सिद्धान्तच्युत, आधारक्षेत्रबाट विमुख एवं व्यक्तिगत स्वार्थमा चुर्लुम्म डुबेका खेलाडीहरूको साझा मञ्च बन्न पुगेको प्रतिपक्षी दल राजनीतिक रूपले मूर्च्छित अवस्थामा छ । कोरोना महाव्याधिको प्रकोपले गर्दा अन्तर्राष्ट्रिय शक्तिहरूलाई भूराजनीतिका सीमान्त देशहरूबारे सोच्ने फुर्सद छैन ।सर्वेसर्वा शर्मा ओलीको स्वपक्षीय सत्तापलट (सेल्फ कू) सम्पन्न गर्न योभन्दा उपयुक्त समय चयन हुन सक्दैनथ्यो । स्वाभाविक हो, उनका समर्थक हर्षमिश्रित आश्चर्यमा छन् । आलोचकहरू स्तब्ध भएका छन् । घरबन्दीमा रहेका सामान्यजनका लागि भने बालुवाटारबाट मञ्चन गराइएको षड्यन्त्रमूलक नाटक ‘कागलाई बेल पाक्यो, हर्ष न विस्मात’ सरह हुँदै गएको छ ।

हुन त अनपेक्षित परिणामको सम्भावना न्यून छ, तर आफ्नो राजनीतिक दुस्साहसका अप्रत्याशित असर व्यवस्थापन गर्न सर्वेसर्वा शर्मा ओलीलाई खासै गाह्रो हुनेछैन । भारतका ‘मोदीया’ मिडियाकर्मीहरू ‘मुसलमान’ शब्द सुन्नासाथ आँखा र कान चिम्लेर जोडतोडले राष्ट्रवादी गीत गाउन थाल्छन् । नेपालको ‘म’ शब्द मधेसी हो । त्यति संकेत पाउनासाथ यहाँका ‘डोली मिडिया’ आफ्ना नृजातीय मुख्तियारको पाल्की बोक्न काँध थापिहाल्छन् । राष्ट्रवादी बुद्धिजीवीहरूले कलमलाई कुचो बनाएर सवारी चलाउने बाटो बढार्न थाल्नेछन् । एकलजातीय वर्चस्वका हिमायती मानवाधिकारकर्मीहरूले फोहोर सफा गर्ने ‘पोछा’ लिएर सवारीलाई पछ्याउनेछन् । यो विगतमा भएकै हो, र, भविष्यमा समेत भइरहने निश्चितप्रायः छ । स्थायी सत्ताका सञ्चालकहरूले सांस्कृतिक राष्ट्रवादलाई प्रयोग गरेर आत्ममुग्ध राजनीतिकर्मीका लागि आधारभूमि तयार गर्छन् । चमत्कृत बथान आत्ममुग्ध राजनीतिकर्मीका वरिपरि गोलबद्ध हुन्छन् । त्यस्तो जनोत्तेजक प्रियतावादीको क्षमतामा ह्रास आउन थालेपछि क्षद्म सञ्चालकहरूले कुनै अर्को पुतली दलपति (फिग्यर्हेड) खोजेर फेरि काठको घोडामा चढाएर दौडाउन सुरु गर्छन् । सतहमा जो देखिए पनि सत्ताको साँचो ढिलोचाँडो सबभन्दा नैतिकतामुक्त व्यक्तिहरूका हातमा पुग्छ भन्ने पुरातन मान्यता आधारहीन होइन ।

नियमित आकस्मिकता

सर्वेसर्वा शर्मा ओलीको राजनीतिक प्रयोग सारमा शक्ति केन्द्रीकरण गर्ने सत्तापलट भए पनि त्यसको रूप भने सामान्य चातुर्यजस्तो मात्र देखिनु उनको उत्कृष्ट समयचयन (पर्फेक्ट टाइमिङ) गर्ने क्षमताको बलियो प्रमाण हो । केही दिनअगाडिसम्म यस्तो खाले निर्णयको बचाउ गर्न उनका आफ्नै समर्थकहरूलाई पनि गाह्रो हुन्थ्यो । ढिलाइ गरेका भए भ्रष्टाचार, ढिलासुस्ती एवं अकर्मण्यताका प्रामाणिक आरोपहरूको पहिरोभित्र उनी पुरिन सक्थे । अहिले उनको विरोध गर्न सक्ने नैतिक बल, राजनीतिक शक्ति, सामाजिक पुँजी, अन्तर्राष्ट्रिय सम्पर्क वा आर्थिक सामर्थ्य उनका आलोचक त के, पालो कुरेर बसेका उनका समर्थकहरूसँग पनि छैन । कुनै पनि आत्ममुग्ध राजनीतिकर्मीका लागि ‘विशेषणयुक्त सत्तापलट’ सबभन्दा चुनौतीपूर्ण निर्णय हुन्छ । महाव्याधिको त्रासले स्वैच्छिक घरबन्दीमा रहेका नागरिकहरूलाई स्तब्ध तुल्याउने निर्णयका लागि मूल्यनिरपेक्ष भएर भन्ने हो सर्वेसर्वा शर्मा ओलीले राजनीतिशास्त्रका विद्यार्थीहरूका लागि अध्ययन एवं विश्लेषण गर्नुपर्ने चुनौतीपूर्ण प्रश्न तेर्स्याएका छन्— महाव्याधिका बीच फगत कानुन संशोधन पनि अनुचित हो भने महाभूकम्पको अवसर छोपेर षड्यन्त्रमूलक तवरले तीव्रपथबाट संविधान जारी गराउनु कत्तिको उपयुक्त थियो ? सम्भाव्य उत्तरले प्रश्नहरूको पेटारो खोल्न सक्छ ।

अफ्रिका एवं ल्याटिन अमेरिकाका कतिपय देशमा जस्तै नेपालमा पनि विशेषणयुक्त सत्तापलटको ‘गौरवशाली’ इतिहास छ । शाह एवं राणा शासनका बेला गोत्रहत्या, भारदारहरूको नरसंहार वा दरबारियाहरूका बीच हिंसक प्रतिस्पर्धा सामान्य घटना मानिन्थे । नयाँ शासक जोसुकै भए पनि तिनको स्वागतमा सामान्यजन दीपावली गरेर खुसियाली मनाउँथे । आधुनिककालको पहिलो शाही–सैनिक सत्तापलट सन् १९६० मा राजा महेन्द्रले गरेका हुन् । त्यस्तो नग्न शक्तिप्रयोग आजभोलि असामयिक (अन्फेसनबल) बन्दै गएको छ । संसदीय सत्तापलटमार्फत तीन दशकपछि पहिलो प्रजातान्त्रिक बहुमतको सरकारका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई सन् १९९४ मा राजीनामा गर्न बाध्य बनाइएको थियो । सन् १९९५ मा प्रधानमन्त्री मनमोहन अधिकारीको राजनीतिक ‘कू’ गर्ने प्रयत्नलाई त्यस बेलाका प्रधानन्यायाधीश विश्वनाथ उपाध्यायले अदालतको प्रतिरोधक ‘कू’ द्वारा परास्त गरेका थिए । सन् २००१ पछिको राजनीतिक घटनाक्रम त झन् परिष्कृत सत्तापलटका उदाहरणहरूले भरिभराउ छ । सन् २००२ मा प्रधानमन्त्री शेरबहादुर देउवाले संकटकालका बीच संसद् भंग गरेको घटनालाई विक्षुब्ध सत्तापलट (टुमल्चुअस कू) भन्न मिल्छ । संसदीय आधार फालेर निःसहाय भएका प्रधानमन्त्रीलाई ‘अक्षम’ घोषित गरी बर्खास्त गर्ने तत्कालीन राजाको कदमलाई घस्रिने सत्तापलट (क्रिपिङ कू) नामकरण गरिएको थियो । सन् २००५ मा पुरानो प्रकृतिको नग्न सत्तापलट भएकाले त्यो स्वीकार्य बन्न सकेन ।

गणतान्त्रिक नेपालमा ‘कटवाल काण्ड’ पछि राष्ट्रपतीय सत्तापलटद्वारा मे २००९ मा संसदीय बहुमतप्राप्त प्रधानमन्त्रीलाई अपदस्थ हुन बाध्य बनाइयो । त्यसपछिको सरकारलाई सेतो कमिजवालाहरूको प्रतिरोधक ‘कू’ द्वारा भरथेग गरेर जोगाइएको थियो । न्यायिक सत्तापलटद्वारा ऐतिहासिक संविधानसभा भंग हुन पुग्यो, र, गैरसंवैधानिक सरकारले चुनाव गराएर दोस्रो संविधानसभा गठन गर्न सफल भयो । जुन २०१५ को सोह्रबुँदे षड्यन्त्रलाई निस्तेज गर्न सर्वोच्च अदालतले हस्तक्षेप नगरेको भए अहिले सर्वेसर्वा शर्मा ओलीलाई स्वपक्षीय सत्तापलटको आवश्यकतै महसुस हुने थिएन । इतिहासले स्पष्ट पाठ सिकाउँद न, तर अप्रत्यक्ष संकेत नबुझ्नेलाई दण्डित भने अवश्य गर्छ । थकित, गलित, निरुपाय, निःसहाय एवं निःशब्द रामचेलवा दासहरूले पृथ्वीको आफ्नो केन्द्र एक न एक दिन पहिल्याउने नै छन् । त्यसपछि सायद सत्तापलटको क्रान्तिकारी चक्र सुरु हुनेछ । राजनीतिक स्थायित्व मृगतृष्णा हो । नियमित परिवर्तनको विकल्प मनपरीतन्त्रको निश्चितता मात्र हुने गर्छ । यसबीच, मानवतावादी राजनीतिकर्मीसँगै मुटु भएका सम्पादक एवं मन भएका बुद्धिजीवीले मस्तिष्क पनि प्रयोग गर्न थाले भने त्यसबाट उत्पन्न प्रश्नहरूको आँधीबेहरीलाई सर्वेसर्वा शर्मा ओलीको अल्पतन्त्रले धेरै दिन थेग्न सक्नेछैन । सर्वेसर्वा शर्मा ओलीको स्वपक्षीय सत्तापलट (सेल्फ कू) सम्पन्न गर्न योभन्दा उपयुक्त समय चयन हुन सक्दैनथ्यो । स्वाभाविक हो, उनका समर्थक हर्षमिश्रित आश्चर्यमा छन् । आलोचकहरू स्तब्ध भएका छन् ।

प्रकाशित : वैशाख १०, २०७७ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?