कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

खाना, खेतीपाती र कोभिड-१९

कुनै पनि विपत्तिमा सबैभन्दा महत्त्वपूर्ण सुरक्षाकवच भनेको खानेकुरा नै हो । यसमा चुक्नु भनेको हाम्रो आफ्नै बिचल्ली बढाउँदै जानु हो । बाहिरबाट २० प्रतिशत नेपाली फर्के भने पनि थप १५ लाख पेट भर्ने बन्दाेबस्त गर्नुपर्छ । यत्तिले मात्र पनि हाम्राे अर्थतन्त्र सम्हाल्न नसकिने अवस्थामा पुग्छ।

काठमाडौँ — कारोना भाइरस संक्रमणको विश्वव्यापी विस्तारले भविष्यका लागि खानेकुराको जोहो आजैदेखि गर्न हामीलाई झकझकाएको छ । हुन त सहज खाद्यान्न आपूर्ति पुरानै चुनौती हो तर यो अझै बढी बल्झिएको छ ।

खाना, खेतीपाती र कोभिड-१९

खेतीपाती सपार्ने दृष्टिकोण, योजना र कार्यक्रम स्थानीय बासिन्दा अनि किसानको तहबाट भन्दा पनि केन्द्रीकृत ढाँचाबाट निर्माण गर्ने गरिएबाटै यो क्षेत्र धराशायी हुँदै गएको हो । उदाहरणका लागि, छ वर्षअगाडि तयार कृषि विकास रणनीति अहिले पूर्णतः असान्दर्भिक भएको छ । कोरोनाकालमा महसुस भएको संकटले यसलाई स्पष्ट पारेको छ ।

यस्ता संकटको सबैभन्दा ठूलो प्रभाव किसानको जीविका र समग्र जीवन पद्धतिलाई पर्ने गरेको छ । कृषि क्षेत्रलाई तत्कालीन दुष्प्रभावबाट जोगाउँदै भविष्यका लागि सपार्नर् हामी सबैका सार्थक प्रयत्नहरू महत्त्वपूर्ण छन् । यसको दीर्घकालीन र दिगो प्रणालीको मार्गचित्र बनाउँदै आजैदेखिको खाने बन्दोबस्त गर्न जुट्नुपरेको छ । भाइरस संक्रमणबाट तत्काल जोगिँदै खेतीपातीमा पर्ने तत्कालीन र दीर्घकालीन प्रभावहरूलाई कम गराउँदै लैजाने सार्थक पहल गर्नुपर्ने आवश्यकता बढिरहेको छ ।

एकातिर अहिले नै बजारमा खाद्य अभावसँगसँगै मूल्यमा वृद्धि भइसकेको छ भने, आयात त्यति सहज छैन र आगामी दिनमा यो अझै असहज हुने सम्भावन देखिएको छ । अर्कातिर, किसानहरूको उत्पादन बजारसम्म पुर्‍याउन समस्या भएको छ भने, किसानहरूलाई आवश्यक सामग्री उपलब्ध पनि छैन । मुख्यतः ग्रामीण भेगमा खेतीपातीका श्रमिक, किसानी गर्ने महिला, बालबालिका, दलित, जनजाति, सडकमा रहेका मानिस, सहरिया श्रमिक मजदुर, साना व्यापारी र उद्यमीहरू यस्तो अवस्थामा सबैभन्दा बढी उपेक्षित छन् । यसरी छेउ परेका मानिस नै भविष्यमा पनि झनै अप्ठेरोमा पर्ने निश्चित छ । यस अवधिमा विभिन्न सञ्चारमाध्यममा आएका समाचार र घटना विवरणले यो देखाइसकेका छन् । कोरोना भाइरस जसरी अन्दाज गर्न नसकिने गरी सबै क्षेत्रमा फैलिँदै छ, यसको समाधानका लागि गरिने प्रयास र यसका प्रभावहरूसमेत स्थानपिच्छे फरक हुने नै छन् ।

उपर्युक्त समस्याहरू सम्बोधन तात्कालिक रूपमा हुनुपर्छ, तर यीसँगै भूराजनीतिक प्रभाव र वैदेशिक सहायताले फरक पार्छ । त्यससँगै हाम्रो समाजमा विद्यमान असमान रोजगारी र बेरोजगारी, सुशासन, समावेशीकरणका मुद्दाहरू वर्षौंदेखि चुनौती बनिरहेका छन् । यस्ता मुद्दाहरू अहिलेको अनि कोरोनापछिको परिवेशमा अझै बढी चुनौतीपूर्ण बनेर आउनेछन् । विशेषतः अहिले अपनाएको बन्दाबन्दीको विधिका कारण गरिब तथा साना किसानले पेटभर खान नपाउने या हिउँदे बाली भित्र्याउने र बर्खे बाली लगाउने बेला बन्दाबन्दी हुँदा, आउने वर्ष भोकमरीमा पर्न सक्ने असरबारे समेत सचेत हुँदै स्थानीय स्तरमा खाद्य उत्पादन गर्नुको विकल्प छैन । यसर्थ तत्कालीन र दीर्घकालीन समाधानका उपायहरूको मस्यौदा छलफलका लागि तल प्रस्तुत गरिएको छ ।

पहिलो कुरा, हामी सबै तत्कालीन, संक्रमणकालीन र दीर्घकालीन खानाका लागि कृषि सपार्ने काममा लाग्नुपर्छ । यसको अगुवाइ सरकारले गर्नुपर्छ । बन्दाबन्दी अवधिमा खानाको प्रभावकारी वितरण र सामुदायिक स्तरमा उपलब्ध खानेकुराको व्यवस्थापनमा स्थानीय सरकार र समुदाय परिचालन गर्ने अनि सबै तहमा आधारभूत सुरक्षा व्यवस्थासहित खाद्य सुरक्षा प्रणाली सशक्त बनाउने काम तत्कालै सुरु हुनुपर्छ । यसका लागि सरकारले सकेसम्म छिटो खाद्यवस्तुको उत्पादन थालिहाल्न किसानहरूलाई उत्प्रेरित गर्नुपर्छ । साथै अहिलेसम्म कति खाद्यान्न सञ्चित छ या वितरण प्रणाली कस्तो हुँदा माथि भनिएजस्तो छेउमा परेका समूहहरू छुट्दैनन् भनी स्पष्ट योजना बनाउनुपर्छ ।

दिगो कृषि प्रणाली अपनाउँदै संक्रमणकालीन र दीर्घकालीन रूपमा खानाको जोहो गर्ने, किसानको आम्दानी बढाउने र जीवनयापनको सहजतामा ध्यान दिने आवश्यकता छ । यसका लागि बीउ संरक्षण गर्दै, किसानलाई खेती गर्ने जमिन उपलब्ध गराउँदै आवश्यक कृषि सामग्री र सेवाको बन्दोबस्त गर्नुपर्छ । यसका लागि संघीय सरकारले स्थानीय तह र प्रदेश सरकारलाई रणनीतिक ढाँचासहितको नीतिगत सुझाव तत्कालै उपलब्ध गराउनुपर्छ अनि प्रदेश सरकारले आवश्यक स्रोत, कृषि प्राविधिक सेवा र सामग्रीको बन्दोबस्त मिलाउने जिम्मेवारी दिनुपर्छ । स्थानीय सरकारले सबै सरोकारवाला परिचालन गरी खाना र खेतीपातीको जोहो गर्ने अभ्यास थाल्नुपर्छ । साथै स्थानीय तहमा उत्पादन सहकार्य र सहकारिता, स्थानीय बजार र उपभोग चेतना विस्तार गर्न गाउँस्तरमा खाद्यका लागि खानेकुराको अभियान सञ्चालन गर्नुपर्छ ।

कृषि शिक्षा र अनुसन्धानलाई यही अल्पकालीन रणनीतिक योजनामा समेत काम गर्न लगाउँदै दीर्घकालीन समाधान खोज्न क्षेत्रीय, अन्तरदेशीय तथा अन्तर्राष्ट्रिय सहकार्य बढाउन सहजीकरण गर्नुपर्छ । र, यसबाट आएका नतिजा छिटछिटो किसानसमक्ष पुर्‍याउने बन्दोबस्त मिलाउनुपर्छ । सबै सरकारी कृषि फार्म र जमिनको सदुपयोग गरी अहिले खाना उब्जाउने र भविष्यमा खेतीपातीतर्फ लाग्ने व्यवस्था गर्नुपर्छ । जीवन र जीविकाको मूल आधार कृषि सपार्न दीर्घकालीन रणनीतिको पहल गर्नुपर्छ । यस्तो रणनीति मुख्यतः उत्पादनमा अनुदान, किसानलाई राहत, युवाहरूलाई कृषिमा आकर्षित गर्ने योजना र निजी तथा सरकारी खेतीयोग्य बाँझो जमिनको उपयोगमा केन्द्रित हुनुपर्छ ।

हामी अहिले सम्भावित संकटको संघारमा छौं । विकसित मुलुकले यो महामारीबाट उत्पन्न परिस्थितिको सामना गर्न ल्याएको अनुमानित खर्चको प्रारम्भिक आँकडाले मात्र पनि हाम्रो स्थितिको आकलन गर्न सचेत हुनुपर्ने जनाउँछ । अमेरिका या अन्य देशमा हेर्दा मात्र पनि यसको चित्र धेरै भयानक देखिन्छ । छिमेकीलाई पर्ने असर र प्रभावबारे चिन्ता नगर्दा पनि यी मुलुकबाट २० प्रतिशत नेपाली फर्के भने पनि थप १५ लाख पेट भर्ने बन्दोबस्त गर्नुपर्नेछ । जनधनको योभन्दा ठूलो क्षतिको अहिले कल्पना नगरौं ।

यत्तिले मात्र पनि हाम्रो अर्थतन्त्र सम्हाल्न नसकिने अवस्थामा पुग्छ । यो थाहा पाउन केही समय लाग्ने मात्र हो । त्यसमाथि अझ केही गरी बन्दाबन्दी बढाउनुपर्‍यो भने तत्कालीन खानेकुराको हाहाकारले नै महामारी फैलिने डरसमेत छ ।

अहिले खानाका लागि खेतीपातीमा प्रतिकूल परिस्थितिको सामना गर्नुपरिरहेको छ । अहिलेकै तरिकाले लाखौं विपन्नको रोग र भोकको सामना गर्न सकिँदैन कि भन्ने आशंका बढेको छ । किसान र खानेकुराका लागि खेतीपाती सपार्ने मर्म आत्मसात् गरेर मात्र यसका आधारभूत आयामहरूमा फेरबदल गर्न र भविष्यका लागि उपयुक्त बाटो समाउन सकिन्छ । अवश्य पनि खाद्य उत्पादन प्रणाली रूपान्तरणको स्पष्ट मार्गचित्रबिना अगाडि बढ्न सकिँदैन ।

विगतमा खेतीपाती सपार्न गर्नुपर्ने काम बिर्सिएकाले पनि खाद्य आयातबाट देश थलिएको हो । देशले सम्भावित भोकमरीपछि भोग्ने र अहिले भोगिरहेको सबैभन्दा ठूलो समस्या त खाद्यान्न आयातले अर्थतन्त्रमा ल्याउने असन्तुलन हो । हामी अहिले किसानी छाडेर गएकाहरूको विप्रेषणले खाद्यान्न किनिरहेका छौं । अब त्यो अवस्थामा समेत फेरबदल हुने देखिन्छ । अहिले नै भारत र अन्य मुलुकबाट फर्किन चाहनेलाई ल्याउन र आवश्यक परीक्षण गर्न यो बन्दाबन्दी सकिँदा-नसकिँदै सुरु गर्नुपर्ने खेतीपातीका काममा ध्यान दिन ढिला हुँदै छ ।

यस्ता सवालमा नीति र अभ्यासको निरन्तर खोजी गर्न अनि आफ्नै र अरूका अनुभवबाट सच्याउन थालिहाल्नुपर्छ । यति बेला यस्तो संकटको सामना गरिसकेका देशका अनुभव धेरै उपयोगी हुन्छन् । खाद्य संकट भोगेको क्युबा तथा सुनामी, भूकम्प झेलेका देश र सम्भावित खाद्य संकटबाट जोगिन समयमै पाठ सिकेका सिक्किम, गढवाल र पहाडी क्षेत्रका अनुभवबाट सिक्न सकिन्छ ।

कुनै पनि विपत्तिमा सबैभन्दा महत्त्वपूर्ण सुरक्षाकवच भनेको खानेकुरा नै हो । यो व्यवस्था गर्न चुक्नु भनेको हाम्रो आफ्नै बिचल्ली बढाउँदै जानु हो । तसर्थ खानेकुराको जोहो गर्न यसको पूर्वतयारी तत्कालै सुरु गर्न आवश्यक छ । यो कार्यमा सघाउनु हामी सबैको कर्तव्य हो । यस विषयमा सरोकार समूहहरूसँग सार्थक संवाद र बहस गरी उपयुक्त बाटो पहिचान गर्न तत्कालै लाग्नुपर्छ ।

अहिले हामी सबैको मुख्य साझा दायित्व हो- अभाव भोगिरहेका समुदायका लागि तत्कालीन खानेकुराको जोहो गर्न मौज्दातको वितरण प्रभावकारी बनाउनु र निकट भविष्यका लागि यसको निरन्तरको बन्दोबस्त मिलाउनु । यस विषम परिस्थितिको सामनासँगै भविष्यमा यस्ता जोखिममा नपर्न अपनाउनुपर्ने सबै खाले सावधानीका लागि तयारी गर्नु पनि जरुरी छ ।

कोभिड-१९ को विश्वव्यापी विस्तार र यसले सबै तहका मानव समुदायमा सिर्जना गरेको महामारीको भय, तत्काल खानेकुरा र अन्य दैनिकीमा देखिएका समस्याहरू त्रासदीपूर्ण छन् । यिनबाट विचलित नहुन धैर्य, आँट र भरोसा बढाउन हामीले सबै तहमा प्रयास गर्नुको विकल्प छैन ।

अन्त्यमा, आजको खानेकुरा र भविष्यको खेतीपातीबारे आश्वस्त हुँदै यो सपार्ने काममा लाग्ने अहिले सबैभन्दा उपयुक्त समय हो । ढिला भए अग्राख पलाउँछ ।

कुनै पनि विपत्तिमा सबैभन्दा महत्त्वपूर्ण सुरक्षाकवच खानेकुरा नै हो । यसमा चुक्नु भनेको आफ्नै बिचल्ली बढाउँदै जानु हो । बाहिरबाट २० प्रतिशत नेपाली फर्के भने पनि थप १५ लाख पेट भर्ने बन्दोबस्त गर्नुपर्छ । यत्तिले मात्र पनि हाम्रो अर्थतन्त्र सम्हाल्न नसकिने अवस्थामा पुग्छ ।

प्रकाशित : वैशाख ९, २०७७ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?