कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

'ओम्निभोरस’ तन्त्रको प्रतिरोध

कसैको मुख थुन्दैमा, कसैको चेतावनीलाई लकडाउन गर्दैमा, कसैको आलोचनालाई क्वारेन्टिनमा राख्दैमा महाव्याधिको कहर कम हुन्छ ?
राजेन्द्र महर्जन

के महाव्याधिमा आमजनतालाई सुसूचित गर्नु जघन्य अपराध हो ? होइन भने किन शासकहरू असहिष्णु भएका होलान् ? कोरोना भाइरसबारे चेतावनी दिने चिकित्सकहरूको किन बदख्वाइँ गरेका होलान् ?

'ओम्निभोरस’ तन्त्रको प्रतिरोध

चीनदेखि अमेरिका र नेपालसम्मका शासकीय व्यवहार देखेपछि यस्ता प्रश्न उठेका हुन् । हुन त शासकहरू ताली र थाली बजाएर संक्रमितहरूको सुस्वास्थ्यका लागि क्रियाशील चिकित्साकर्मीहरूको ‘जयजयकार’ गर्दै हिँडेको पाखण्ड पनि देखिएकै छ, तर जबजब चिकित्सकहरूले महाव्याधिबारे तिनै शासकका नीति, नियत र निर्णयबारे प्रश्न उठाए, तबतब उनीहरूका असहिष्णु उत्तर र आक्रामक ‘जवाफ’ पाएको पनि देखिएकै छ ।

त्यसो त चिनियाँ डाक्टर ली वेनलियाङले सरकारको व्यवहारमाथि प्रश्न उठाएका पनि थिएनन्, नयाँ भाइरस महामारीका रूपमा फैलिने खतरा औंल्याएका मात्रै थिए । यस्तो चेतावनीलाई ध्यान दिनुको सट्टा चिनियाँ अधिकारीहरूले ‘हल्ला फैलाएको’ आरोप लगाउँदै उनको कडा आलोचना गरे । अफवाह फैलाएको आरोप लागेका बिचरा वेनलियाङ आफैं कोरोना भाइरसको सिकार भएर अकालमै मृत्युको मुखमा पुगे ।

दुई महिनासम्म उनको चेतावनीलाई बेवास्ता गर्ने शासकीय व्यवहार जति खतरनाक साबित भएको छ, त्योभन्दा कम डरलाग्दो छैन सत्यतथ्य उजागर गर्ने र प्रश्न उठाउने कामप्रति असहिष्णुता । मरणोरान्त नै सही, वेनलियाङको चेतावनीलाई वास्ता गरियो र चीनले कोरोना भाइरस नियन्त्रणमा अगुवाइ गर्‍यो, जसको सराहना भइरहेको छ । तर, समयमै चेताउने र प्रश्न उठाउने कामप्रतिको असहिष्णुतालाई कत्तिको सम्बोधन गर्न थालियो त, सराहनायोग्य उत्तर भने पाइएको छैन ।

असहिष्णुता र अपराध

चिनियाँ जनवादी क्रान्ति र माओ विचारधाराबाट प्रभावित नेपाली युवाहरू क्रान्तिकारी जोसका साथ ‘चीनका चेयरम्यान, हाम्रा पनि चेयरम्यान’ भन्ने गर्थे । उनीहरू आज नेपाली शासनको बागडोर सम्हाल्दै, ‘सी चिनफिङ विचारधारा’ अँगाल्दै, चीनका लागि नेपाली अधिकारीको शैलीमा चिकित्सकहरूसँग प्रश्न उठाउने मिडिया, विशेषज्ञ र विज्ञहरूलाई दुर्व्यवहार गर्दै छन् ।

कोरोनाको खतराबारे ‘नायखिँ बाजा’ बजाएर सरकारलाई चेताउने र जनतालाई जगाउने डाक्टर सुन्दरमणि दीक्षितलाई कारबाहीको माग गर्नेहरू नै कोरोना नियन्त्रणका नियन्ता हुने शासकीय शैली व्याप्त छ यहाँ । सार्वजनिक जंगल र जमिन सस्तोमा लिजमा लेनदेनको यतिकाण्ड, स्वास्थ्य सामग्री खरिद गर्ने ओम्नी भ्रष्टाचार प्रकरणसमेत मज्जाले पचाउँदै, हाम्रो जमानाका ‘ओम्निभोरस’ (सर्वभक्षकहरू) दीक्षित प्रकरण सेलाउन नपाउँदै अर्का डाक्टर शेरबहादुर पुनलाई झम्टिन थालेका छन् ।

त्यसैले ‘ओम्निभोरस’ लाई संरक्षण र संवर्द्धन गर्दै आएको सरकारको व्यवहारबारे सर्वत्र प्रश्न उठिरहेको छ- सरकार, कोरोना अस्पताल, टेकुमा रातदिन खट्दै महाव्याधिबारे वैज्ञानिक सूचना, जानकारी र ज्ञान साझा गर्न लागिपरेका चिकित्सकलाई निरुत्साहित गर्ने काम किन हुँदै छ ?

महामारीविरुद्ध दत्तचित्त भएर लागिरहेका स्वास्थ्यकर्मीलाई हठात् मन्त्रालय बोलाएर छलफल वा स्पष्टीकरण वा कारबाहीको नाटक किन हुँदै छ ? केकस्तो कमी-कमजोरी वा गल्ती वा कसुर गरेबापत ज्ञान, अनुभव, दक्षतासँगै प्रतिबद्धतामा अब्बल चिकित्सकको मुख थुन्न खोजिँदै छ ? कसैको मुख थुन्दैमा, कसैको चेतावनीलाई लकडाउन गर्दैमा, कसैको आलोचनालाई क्वारेन्टिनमा राख्दैमा महाव्याधिको कहर कम हुन्छ ?

पुनको अपराध

खासमा ‘नेपाली ओम्निभोरस’ हरूलाई पनि कोरोना भाइरसले नेपालमा पार्ने जोखिमबारे पूर्वचेतावनी दिने पुनको दुस्साहस मन परेको थिएन । पुनले चार महिनाअघि नै, वेनलियाङले चेताएकै बेला, कोरोनाको सम्भावित कहरबारे झ्याली पिट्नु उनीहरूका लागि सरकार र सरकारी विज्ञहरूको बदख्वाइँ गर्नु थियो । पुस २० मै नेपालमा कोरोना नदेखिएको अवस्थामा पनि पूर्वतयारी गर्नुपर्ने सूचनामूलक लेख लेखेर सरकारलाई सचेत गराउनु उनीहरूको नजरमा अपराध थियो ।

भाइरोलोजीमा जापानबाट पीएचडी गरेका पुनले टेकु अस्पतालमा करार अवस्थामै रहेर बिरामीको उपचारसँगै सरुवा रोगबारे जनचेतना जगाउने लेख लेख्नु, आफूभन्दा चर्चित हुनु र मिडियामा छाउनु केही चिकित्सक-प्रशासकलाई असह्य भएको देखियो । कोरोना भाइरसबारे बोलेर अकर्मण्य सरकारलाई सचेत गर्नु, भ्रष्टाचारमा डुबेको प्रशासनका कमीकमजोरी औंल्याउनु र महाव्याधि नियन्त्रणमा भएका कामकारबाहीका समस्याबारे विज्ञको हैसियतले चेताउनु ‘सरकारी भाइरसहरू’ का लागि कसुर भएको पाइयो ।

पेसागत मर्यादा र मानवीय मूल्य-मान्यताको पक्षमा उभिएर पुनले वेनलियाङले जस्तै जेजस्तो आचरण गरे, त्यसलाई सम्मान गर्नुको साटो अपमान गरिएको छ । यस्ता सबै खाले पेसागत मर्यादा, मानवीय कर्म र स्वविवेकलाई हतोत्साही बनाउन सुरु गरिएका स्पष्टीकरण, चेतावनी वा कारबाहीका पत्रले ‘सरकारी भाइरस’ का कुरूप अनुहार र सर्वभक्षी व्यवहारका अनेक पत्रलाई उजागर गरेका छन् ।

नेपालकै अपमान हुने गरी हैटीमा नेपाली सेनाले हैजा फैलाएको प्रचारबाजीको वैज्ञानिक रूपमा प्रतिवाद गर्ने पुन वा अन्य विज्ञजनका स्वविवेकपूर्ण विचार र पेसागत व्यवहारलाई हेप्ने र दमन गर्ने संकेत हो पत्र प्रकरण ।

त्यसैले अब विज्ञजनदेखि जनजनसम्मले प्रश्न उठाएका छन्- सरकार, केके गर्दा मन्त्री, प्रशासक र अरिंगालहरूको नजरमा अपराध ठहरिन्छ र अपमानित, दण्डित होइन्छ ? यस्ता थप प्रश्न पढ्दा ‘ओम्निभोरस’ लाई संरक्षण र संवर्द्धन गर्दै आएको सरकारलाई चिडचिडाहट हुन सक्छ । हामीलाई थाहा छ, यहाँलाई अरूको प्रश्न मन पर्दैन ।

यहाँसँग त जनताका प्रश्नभन्दा बेसी उत्तर छन् । प्रश्न र प्रश्न गर्नेलाई नै थला पार्ने खालका यहाँका जवाफबारे पनि हामी जानकार छौं । अब त हेर्ने, सोच्ने, बोल्ने, लेख्ने र व्याख्या-विश्लेषण गर्ने अधिकारसमेत आफूमा निहित रहेको औपचारिक घोषणा मात्रै हुन बाँकी छ । त्यसो त अन्टसन्ट बोल्ने र प्रश्न गर्नेहरूलाई थला पार्ने शैली यहाँ मात्रै होइन, ज्ञान र विवेकविरोधी भावमण्डल फैलिरहेका सबै देशमा व्याप्त छ । ओलीदेखि ट्रम्पसम्मका धेरैजसो पपुलिस्ट शासकको आम प्रवृत्तिका रूपमा अभिव्यक्त हुँदै छ यो ।

अन्टसन्ट बोल्नमा प्रतिस्पर्धा

धेरैलाई थाहा छ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्टसन्ट बोल्न र झुटा प्रचार गर्नमा संसारका सबै शासकलाई पछि पारेका छन् । महाव्याधिको ओलम्पिकमा पनि सबै मुलुकलाई पछाडि पारेका ट्रम्पले कोरोना कहरप्रति गर्दै आएको ठट्टा जतिसुकै महँगो भए पनि चेत्ने संकेत दिएका छैनन् । डाक्टर एन्थोनी फाउसी ट्रम्पलाई कोरोना कहरप्रति गम्भीर बनाउन र सत्यतथ्य बोल्न लगाउन रातोदिन खटेका चिकित्सकको नाम हो, जुन अब त ट्रम्पबाट बेसी बदख्वाइँ हुने व्यक्तिको पहिचान पनि भएको छ ।

नेसनल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेक्सन डिजिज (एनआईएआईडी) का निर्देशक फाउसी सन् १९८४ मा राष्ट्रपति रोनाल्ड रेगनकै पालादेखि सरुवा रोगसम्बन्धी अनुसन्धान र नीति तर्जुमामा सक्रिय छन् । छ राष्ट्रपति बेहोरेका फाउसीले ट्रम्पलाई कसरी झेलिरहेका छन्, एउटा उदाहरणबाटै थाहा हुन्छ । केही समयअघि ‘साइन्स’ म्यागाजिनले उनलाई सोधेको थियो, ‘ह्वाइटहाउस ब्रिफिङमै ट्रम्पले कतिपय अवैज्ञानिक एवं झुटो तर्क पेस गर्दा किन हेरिरहेको ?’ त्यसको जवाफमा फाउसीले भनेका थिए, ‘हामीले (सत्य) बोल्न सुझाव दिने हो, पोडियममै गएर उनको माइक्रोफोन त खोस्न सक्दैनौं नि !’

फाउसी जसरी आफ्ना शासकले अन्टसन्ट बोल्दा पनि, आफूलाई अपमान गर्दा पनि सुन्दै बस्न विवश छन्, त्यस्तै विवशता आम मान्छेमा थोपर्न हाम्रा शासकहरू उद्यत छन् । पत्रकारले गरेका भुइँतहको रिपोर्टिङ, विश्लेषकले गरिखानेहरूको पक्षमा गरेको वकालत, विषयविज्ञले दिएका सुझाव र चेतावनी तथा सडकमा टाउकाले टेकेर हिँडिरहेका आम मान्छेका ‘ऐया र आत्थु’ को पनि उछित्तो काढ्ने हाम्रा मन्त्री र प्रधानमन्त्रीले ट्रम्पकै शैलीमा हाम्रा बोली, व्यवहार र विचारमा एकाधिकारबाहेक केही खोजेका होइनन् । अन्टसन्ट बोल्नमा ट्रम्पसँग प्रतिस्पर्धारत ओलीले कोरोना भाइरसको निवारणका लागि विज्ञ र अनुसन्धातालाई माथ गर्ने गरी दिएको ‘प्रेस्क्रिप्सन’ प्रति सरकारी-गैरसरकारी चिकित्सक र विज्ञहरूबाट गतिलो प्रतिवाद नहुनु त्यसकै संकेत हो ।

‘अँधेर नगरी, चौपट राजा’ को देशकालमा ‘बोल्यो कि पोल्यो’ भन्ने भावले धेरै विज्ञको मुख थुनेको छ, जबकि संविधान र ऐनकानुनअनुसार अपराध ठहरिने ‘बोसीय र फ्याटीय’ बकवास शासकहरूका मुखबाट प्रचारित भइरहेको छ ।

लोकतन्त्र र स्वतन्त्रताको पक्षमा हाम्रा कम-रेडहरूलाई थाहा छ, सन् १९१७ मा सोभियत संघको निर्माणताका विभिन्न देशबाट हमला हुँदा ‘वार कम्युनिज्म’ का नाममा कम्युनिस्ट पार्टी र सरकारले जनवाद वा लोकतन्त्र निषेध गरेका थिए । प्रश्न, बहस, आलोचना र विरोधको लोकतान्त्रिक अभ्यासलाई खुम्च्याएर सर्वहारा नेता र शासकहरूले मात्रै सोच्ने, बोल्ने, लेख्ने र शासन गर्ने काममा जसरी प्रभुत्व जमाए, त्यो सर्व-आहारावादी साबित भयो । त्यही ‘ओम्निभोरस’ प्रवृत्ति विभिन्न पार्टी, सरकार,

नेता-प्रधानमन्त्री-राष्ट्रपतिका नाममा लोकतन्त्रको भक्षणका रूपमा अवतरित भइरहेको छ । युद्ध वा महाव्याधिका नाममा ‘जीवन रोज्ने कि स्वतन्त्रता’ भन्दै आमजनतालाई ‘छनोटको अधिकार’ दिँदैमा कोही लोकतान्त्रिक वा वामपन्थी हुँदैन, न त संकटमोचक मानवीय व्यवहार नै ठहरिन्छ ।

कुनै पनि निहुँ र नारामा प्रकृति, जीवन र स्वतन्त्रतामाथि एकाधिकारको नौटंकी चौतर्फी प्रतिरोधका लागि योग्य छ ।

प्रतिरोधका क्रममा आममान्छे वा खास मानिसहरूमा पनि विरोधाभास देखिनु अनौठो होइन । पुनले एकातिर दक्षता र स्वविवेकका साथ बोलेका छन्, अर्कातिर सत्तासँग सम्झौता पनि गरेका छन् । उनको प्रतिरोधलाई वैज्ञानिक ग्यालिलियो ग्यालिलीले धार्मिक र राजनीतिक सत्तासँग गरेको संघर्षसँग तुलना गर्न मिल्छ कि मिल्दैन, बहसको विषय होला ।

पृथ्वीलाई सूर्य र अन्य ग्रहले घुम्ने पुरातन सिद्धान्तको खण्डन गरेपछि धार्मिक र राजनीतिक सत्तासँग ग्यालिलियोको चर्को द्वन्द्व भएको थियो । त्यसबापत सजायको भागीदार बनाइएपछि उनले आफ्नै वैज्ञानिक मतको समेत खण्डन गरेका थिए । भनिन्छ, आफ्नै मत खण्डन गर्नुपरे पनि अन्तिममा भुइँ (पृथ्वी) मा खुट्टा बजार्दै उनले भनेका थिए, ‘जे होस्, मैले जे भने पनि घुम्नचाहिँ यो घुम्छ ।’

विवेक र सत्ताबीचको द्वन्द्वमा, सत्ताको केन्द्रीकरण र अलोकतन्त्रीकरणको कालखण्डमा जसरी ग्यालिलियोको जीवनसंघर्ष स्मरणीय छ, त्यसरी नै वेनलियाङ, फाउसी, दीक्षित र पुनहरूको संघर्षको आफ्नै महत्त्व छ । कामना गरौं, सबै प्रतिरोधकारीले ग्यालिलियो र वेनलियाङको नियति भोग्न नफरोस् !

प्रकाशित : वैशाख ९, २०७७ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?