२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

अस्पष्ट परीक्षण प्रोटोकल 

बझाङ, बाजुरा, रूपन्देही र पाल्पामा क्वारेन्टिनपछि परीक्षण नै नगर्नु अनि र्‍यापिड टेस्टको भरमा नेगेटिभ आउँदैमा त्यत्तिकै घर पठाउनुले सरकार परीक्षण प्रोटोकलमा नीतिगत रूपमै अस्पष्ट देखिएको छ । 
सचिन घिमिरे

काठमाडौँ — कोभिड–१९ संक्रमणको स्थति पत्ता लगाउन मुख्य गरी दुई प्रकारका परीक्षण विधि हाम्रोमा छन् । पहिलो, पीसीआर विधिबाट एन्टिजन परीक्षण ।

अस्पष्ट परीक्षण प्रोटोकल 

चिकित्साशास्त्रमा एन्टिबडी भन्नाले स्वस्थ मानिसलाई कोभिड–१९ को संक्रमण भइसकेपछि शरीरले भाइरसको प्रतिक्रियास्वरूप निकालेको प्रतिरक्षक प्रोटिनहरू भन्ने बुझिन्छ । विश्व स्वास्थ्य संगठनअनुसार कोभिड–१९ संक्रमण पत्ता लगाउन एन्टिजन जाँच गर्ने पीसीआर विधि अहिलेसम्मको प्रभावकारी विधि हो । यो परीक्षण विधिमा शंकास्पद व्यक्तिको नाक तथा घाँटीको भित्री भागबाट नली घुसाएर र्‍याल झिकिन्छ । नमुना संकलन कार्यमा संघ र स्थानीय सरकारको तालमेल नमिलेको र गुणस्तरीय पीपीई आवश्यक मात्रामा उपलब्ध नभएको गुनासो प्राविधिकहरूले गरिरहेका छन् । घाँटी वा नाकबाट नमुना संकलन गर्दा शंकास्पद संक्रमितले खोक्ने वा हाछ्युँ गर्न सक्ने हुनाले संक्रमणको डरले प्राविधिकहरूले सही तरिकाले नमुना संकलन नगरेको पनि हुन सक्छ । नमुना संकलन गर्ने प्राविधिकहरूलाई यथेष्ट तालिम, सचेतना र सुरक्षाको प्रत्याभूति भएन भने झूटो नेगेटिभ अर्थात् पोजेटिभ व्यक्तिको पनि नेगेटिभ नतिजा आउन सक्छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले प्राविधिकहरूका लागि आवश्यक व्यक्तिगत सुरक्षा सामग्री उपलब्ध गराउने मामलामा तदारुकता देखाएको छैन । संकलित नमुनालाई समयमा नै प्रयोगशालामा पुर्‍याउन सकिएन भने भाइरसको जैविक तत्त्व आरएनए क्षय हुँदै जाने हुनाले झूटो नतिजा आउने सम्भावना हुन्छ । केहीअघि मात्र जिल्लाबाहिर सयौंको संख्यामा संकलन गरिएका नमुनाहरू राजधानी ल्याएर थुपारियो र चार दिनसम्म पनि जाँचिएन ।

कोभिड–१९ परीक्षणको दोस्रो विधि – र्‍यापिड टेस्ट हो । यो विधि उपलब्ध भए पनि विश्व स्वास्थ्य संगठनले अनुसन्धान उद्देश्यबाहेक सक्रिय संक्रमण जाँच्न नहुने जानकारी गराएको छ । हाम्रोमा र्‍यापिड टेस्ट विधिबाट संक्रमित व्यक्तिहरूको रगतको नमुना लिइन्छ र एन्टिबडी परीक्षण गरिन्छ । र्‍यापिड टेस्ट विधिमा पनि सम्भावित संक्रमितहरूको समीपमा पुगेर रगतको नमुना संकलन गर्नुपर्ने हुन्छ । यस्तोमा प्राविधिकहरूलाई आवश्यक व्यक्तिगत सुरक्षा सामग्री यथेष्ट मात्रामा उपलब्ध नभएको गुनासो आइरहेको छ । सही तरिकाले एन्टिबडी परीक्षण गर्दा इम्युनोग्लोब्युलिन एम र जीको अवस्था हेनुपर्ने हुन्छ । स्वस्थ व्यक्तिलाई कोभिड–१९ को संक्रमण भएको अन्दाजी सात दिनमा इम्युनोग्लोब्युलिन एमको विकास हुन्छ र झन्डै पन्ध्र दिनपछि शरीरमा इम्युनोग्लोब्युलिन जी बन्न थाल्छ । हाल भइरहेको र्‍यापिड टेस्ट किटमा इम्युनोग्लोब्युलिन एम र जीको बेग्लाबेग्लै अवस्था मापन गर्नेभन्दा पनि एउटै मात्र ‘होल एन्टिबडी’ जाँच भइरहेको छ । संकलित नमुनालाई र्‍यापिड किटको माध्यमबाट परीक्षण गर्दा इम्युनोग्लोब्युलिन एम देखिने अवस्थामा पीसीआर विधिबाट पनि पोजेटिभ देखिनुपर्छ । तर एन्टिबडीको इम्युनोग्लोब्युलिन जीको परीक्षण गर्दा पोजेटिभ देखियो भने पीसीआर नेगेटिभ पनि आउन सक्छ । हाल नेपालमा प्रयोग गरेको र्‍यापिड किटमा कुन एन्टिबडी पोजेटिभ आएको हो छुटाउन सकिने अवस्था छैन । तसर्थ, र्‍यापिड किट र पीसीआरले बताउने संक्रमणको अवस्था फरक हुने भएकाले पीसीआरको बदलामा र्‍यापिड टेस्टको विधि उपयुक्त हुँदैनन् । कोभिड–१९ संक्रमणपछि आफूलाई निको भए–नभएको थाहा पाउन पीसीआर परीक्षणमा नेगेटिभ र एन्टिबडी परीक्षणमा इम्युनोग्लोब्युलिन जी पोजेटिभ आउनुपर्छ भन्ने धारणा वैज्ञानिकहरूको छ । इम्युनोग्लोब्युलिन एम पोजेटिभ देखिएमा संक्रमणको अवस्था नै छ भन्ने अर्थ लाग्छ । त्यस्तै, इम्युनोग्लोब्युलिन जी पोजेटिभ देखिएमा संक्रमण भएर निको हुने चरणमा रहेको भन्ने बुझिन्छ ।

कोही व्यक्तिलाई साधारण लक्षण र कसैलाई गम्भीर जटिलताहरू देखापर्ने हुनाले संक्रमणको प्रभावबारे तुलनात्मक अध्ययन गर्न एन्टिबडीभित्रको इम्युनोग्लोब्युलिन एम र जीको परीक्षण प्रभावकारी मानिन्छन् । यसरी परीक्षण गर्दा समुदायमा भाइरसको फैलावट दर अवगत हुनुको साथै कुनै व्यक्तिलाई संक्रमण भएर निको भइसकेको अवस्थाको पनि जानकारी प्राप्त गर्न सकिन्छ । कतिपय युवालाई संक्रमणपछि पनि लक्षण देखिएन वा बढी उमेरका मानिसमा देखियो भन्नेजस्ता तथ्यको आकलन गर्न पनि इम्युनोग्लोब्युलिन एम र जीको परीक्षण महत्त्वपूर्ण हुन्छ । हाम्रोमा अत्यन्त कम मात्रामा पीसीआर जाँच भइरहेको छ । पछिल्लो समय सरकारी ध्यान र्‍यापिड टेस्ट किटतिर बढी गएकाले समुदाय वा व्यक्तिमा सक्रिय संक्रमणको अवस्थाको यकिन गर्न सकिएको छैन ।

कोभिड–१९ संक्रमणपछि पनि शरीरमा एन्टिबडी बनेन भने संकमित व्यक्ति छुट्ने सम्भावना हुन्छ । कैलालीमा संक्रमण पुष्टि भएकी महिलामा पहिला एन्टिबडी जाँच्दा नेगेटिभ आए पनि पीसीआर परीक्षणबाट पोजेटिभ देखिएको थियो । क्वारेन्टिनमा बसेका मानिसहरूलाई १४ दिनपछि परीक्षण नै नगरी छोड्नु वा र्‍यापिड टेस्टको नतिजाको भरमा मात्र छोड्नु नै थप जोखिम निम्ताउने कारकहरू हुन् । र्‍यापिड टेस्टबाट झूटो नेगेटिभ नतिजा आउने सम्भावना धेरै छ । पीसीआरको परीक्षण विधिमा आन्तरिक कन्ट्रोलको रूपमा आरएनएज—पीको ग्राफले झूटो नेगेटिभ हो–होइन भनेर छुटाउन मद्दत गर्छ तर यसको प्रयोग भएको छैन । जसले गर्दा पीसीआर रिपोर्टमा पनि झूटो नेगेटिभ आउने सम्भावना देखिन्छ । सरकारले चीनबाट ‘हुक एन्ड क्रुक’ विधि लगाएर हतारमा मगाएको र्‍यापिड टेस्ट किटको गुणस्तरमा शंका गरिनु र आन्तरिक कन्ट्रोल ग्राफ सही नदेखिनुले परीक्षणको विश्वसनीयतामा प्रश्नचिह्न उठाउनुपर्ने ठाउँहरू उब्जिएको छ । कागेश्वरी मनोहरा नगरपालिका–९ स्थित सनसिटी अर्पाटमेन्टमा बेलायतबाट फर्केका एकै परिवारका तीन सदस्यको पीसीआर परीक्षण गर्दा दुईको पोजेटिभ र तेस्रो सदस्यको नेगेटिभ आउनुको पछाडिको कारणबारे सरकारले कुनै पनि स्पष्टीकरण दिन जरुरी सम्झेको छैन ।

आईसीएमआर ‘इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च’ र नेपाल स्वास्थ्य मन्त्रालयले जारी गरेको परीक्षण प्रोटोकलमा फरक–फरक मान्यता देखिएका छन् । मन्त्रालयको प्रोटोकलमा चौध दिनभित्र विदेशबाट नेपाल फर्किएका व्यक्तिहरूलाई पीसीआर वा र्‍यापिड टेस्ट जे गरे पनि हुन्छ भनिएको छ । आईसीएमआरको प्रोटोकलमा ‘इन्फुल्एन्जा’ जस्तो लक्षण भएका, खोकी लागेका घाँटी दुखेका र मन्द ज्वरो आइरहेका बिरामीहरूले १४ दिनसम्म घरमा क्वारेन्टिनमा बसेपछि र्‍यापिड टेस्ट गर्नुपर्छ भन्ने स्पष्ट उल्लेख गरिएको छ । यदि र्‍यापिड टेस्ट पोजिटिभ आएमा कोभिड–१९ भएको प्रमाणित हुने हुनाले स्वास्थ्यकर्मीको सल्लाहअनुसार स्वास्थ्य केन्द्रमा राख्ने वा घरमा राख्ने भन्ने निर्णय लिइने भनिएको छ । र्‍यापिड टेस्टअन्तर्गत एन्टिबडी परीक्षण गर्दा नेगेटिभ आएको खण्डमा र पीसीआर नगरिएको सन्दर्भमा क्वारेन्टिनमा बस्नुपर्ने र त्यसको दस दिनपछि पुनः एन्टिबडी जाँच गर्नुपर्ने बताइएको छ । र्‍यापिड टेस्ट नेगेटिभ आएका मानिसहरूको फेरि जाँच गर्नुपर्ने हो तर हाम्रोमा जाँचिएन । बझाङ, बाजुरा, रूपन्देही र पाल्पामा क्वारेन्टिनपछि परीक्षण नै नगर्नु अनि र्‍यापिड टेस्टको भरमा नेगेटिभ आउँदैमा त्यत्तिकै घर पठाउनुले सरकार परीक्षण प्रोटोकलमा नीतिगत रूपमै अस्पष्ट देखिएको छ ।

आईसीएमआरको अनुसार क्वारेन्टिनमा बसेको दस दिनपछि र्‍यापिड टेस्ट पोजेटिभ आएमा त्यस्ता व्यक्तिलाई पुनः पीसीआर परीक्षण गरिने भन्ने छ । र्‍यापिड टेस्ट नेगेटिभ देखिएको तर लक्षणहरू छ भने मात्र फेरि पीसीआर गरिने व्यहोरा प्रोटोकलमा छ । र्‍यापिड टेस्ट नेगेटिभ र लक्षणहरू नदेखिएको अवस्थामा पनि कोभिड–१९ संक्रमण हुन सक्छ । यो विषयमा सरकारी प्रोटोकलले केही बताइएको छैन । त्यसैले सरकारको यो निर्णयमा प्रश्न उठाउनुपर्ने देखिएको छ । र्‍यापिड टेस्टअन्तर्गत एन्टिबडी नेगेटिभ देखिएमा जोखिम समूहबाट र्‍यान्डम्ली दस प्रतिशत नमुना संकलन गरेर पीसीआर जाँच गर्ने भन्ने सरकारी प्रोटोकलमा उल्लेख छ । समुदायमा र्‍यान्डम नमुना छनोट प्रक्रिया उपनाउँदा संक्रमित नपर्न वा संक्रमण नभएकाको मात्र टेस्ट हुने खतरा पनि हुन्छ । यो विधिको आफ्नै किसिमका प्रक्रियागत संकुचन छ । यस्तोमा के कति कारणले र्‍यान्डम टेस्ट विधि अविलम्बन गर्न खोजिएको हो भन्नेमा सरकारी धारणा स्पष्ट बाहिर आउनुपर्छ । अहिले कति पीसीआर परीक्षण गरियो र कुन प्रोटोकलको पालना भइरहेको छ भन्ने स्पष्ट सूचनाहरू सरकारले सार्वजनिक गर्नुपर्छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा पोजेटिभ र नेगेटिभ देखिनेहरूको तथ्यांक मात्र सार्वजनिक गर्नुभन्दा प्रयोगशाला परीक्षणसम्बन्धी कुन प्रोटोकलको पालना गर्दा कसरी ती नतिजाहरू आइरहेको छ भन्ने विस्तृत जानकारी गराउनुपर्छ । पोजेटिभ आइसकेपछि कसरी उपचार गरिन्छ भन्ने स्पष्ट धारणा सरकारले सार्वजनिक गरिसकेको छैन । कोभिड–१९ उपचारका लागि विज्ञ चिकित्सकले सिफारिस गरिएको औषधि तथा आवश्यक उपकरण खरिद प्रक्रियाको प्रगतिको सन्दर्भमा पनि सरकारले यथाशीघ्र सार्वजनिक गराउनु अनिवार्य हुनेछ ।

अन्त्यमा, मन्त्रालयका विज्ञ सल्लाहकारहरूको बौद्धिक ऊर्जा सरकारको ढाकछोप गरेर सामाजिक सञ्जालमा अरूको खोइरो खन्ने कार्यमा खर्च गर्नुभन्दा समस्याको जटिलता मनन गरेर समाधान निकाल्ने कार्यमा बढी प्रयोग हुन सकेमा वर्तमान संकट पार पाउन सहज हुनेछ ।

प्रकाशित : वैशाख ५, २०७७ १९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?