मानव (गैर)जिम्मेवारी र महामारी

जीवन रेग्मी

कोरोना भाइरस मान्छेबाट मान्छेमा सर्ने निर्जीव विषाणु हो, जो श्वास-प्रश्वास गर्दा, हाच्छ्युँ गर्दा, एकअर्काको नजिक रहँदा सर्छ भनिएको छ, तथापि यसको प्रसार हुन सक्ने सम्भावित कारणहरूबारे यकिन गरेर भन्न सक्ने अवस्था छैन ।

मानव (गैर)जिम्मेवारी र महामारी

विश्वका धेरै प्रयोगशाला र अनुसन्धानशालामा द्रुत गतिमा भैरहेका खोजी कार्यहरूले धेरै खालका निष्कर्ष र संकेत दिइरहेका छन् ।

तीमध्ये एउटा सम्भावित माध्यम ‘एरोसोल’ हुन सक्ने देखिएको छ । यी अध्ययनमा जनाइएअनुसार जब यी भाइरसहरू हावाका कणसँग मिसिन्छन्, तब एरोसोलका रूपमा धेरै बेरसम्म हावामा तैरेर रहन्छन् र लामो दूरीसम्म फैलिन सक्छन् । र, यो नै हामीले सोचेभन्दा तीव्र रूपमा फैलिरहेको महामारीको कारण हुन सक्छ ।

हुन त यी तथ्यको स्वतन्त्र पुष्टि हुन बाँकी छ, तैपनि धेरै ठाउँका अध्ययनहरू मिल्दाजुल्दा देखिएका छन् । ‘द न्यु इंग्ल्यान्ड जर्नल अफ मेडिसिन’ मा प्रकाशित एक लेखले सार्स कोभ-२ केही घण्टासम्म एरोसोलका रूपमा हावामा रहन सक्ने निष्कर्ष निकालेको छ । प्रसिद्ध ‘नेचर’ म्यागाजिनमा क्विन्सल्यान्ड विश्वविद्यालयकी एरोसोल वैज्ञानिक लिडिया मोरावस्काले हावाबाट भाइरस सर्छ भन्नेमा कुनै शंका छैन भन्दै ‘यो मगज खियाइरहनु नपर्ने (नो ब्रेनर) तथ्य रहेको बताएकी छन् ।

क्यालिफोर्निया विश्वविद्यालयकी प्राध्यापक किम्बर्ली प्य्राथरले ‘साइन्स’ म्यागाजिनलाई बताएकी छन्, ‘यो महामारी यति छिटो फैलने कुराको विश्लेषण एरोसोलको माध्यमबाट मात्र गर्न सकिन्छ ।’ त्यस्तै, विश्व स्वास्थ्य संगठनले पनि निश्चित उपचार प्रक्रियाहरूमा हावाका माध्यमबाट कोभिड-१९ सर्न सक्ने औंल्याएको छ ।

के हो एरोसोल ?

एरोसोल भनेको हावामा पाइने धूलो, धूवाँ, पानीको बाफ तथा विभिन्न प्रकारका ग्यासहरूको सम्मिश्रण हो । प्राकृतिक तथा कृत्रिम दुवै प्रक्रियाबाट वातावरणमा थुप्रिँदै जाने एरोसोल सामान्यतया १ माइक्रोनदेखि १०० माइक्रोनसम्मका हुन्छन् । सूर्यबाट पृथ्वीमा आइपुग्ने विकिरणलाई उल्लेख्य मात्रामा परावर्तन (रिफ्लेक्सन) वा अवशोषण (एब्जर्प्सन) गर्न सक्ने विभिन्न किसिमका एरोसोल वातावरणीय परिवर्तनका लागि जिम्मेवार तत्त्व हुन् ।

प्रत्यक्ष रूपमा सौर्य विकिरणको विकेन्द्रीकरण (स्क्याटरिङ) र अवशोषण गर्ने यी एरोसोल कणहरूले अप्रत्यक्ष रूपमा बादल बन्ने प्रक्रियालाई परिवर्तन गरिरहेका हुन्छन्, जसले गर्दा पृथ्वीको सतहको तापक्रम घट्न गई वाष्पीकरण प्रक्रियामा बदलाव आउँछ, फलतः जलवायु चक्र परिवर्तित हुन्छ ।

अर्थात्, पानी पर्ने दरमा कमी र मौसम परिवर्तनजस्ता कारणहरूले वातावरणमा उल्लेख्य प्रभाव पार्छन् । यो भनेको एरोसोलहरूको रासायनिक उत्पादन र नष्ट हुने प्रक्रिया परिवर्तन हुनु हो । स्थानीय तथा बाह्य दुवै कारणबाट थुप्रिँदै जाने यी कणहरू समय र स्थानअनुसार फरकफरक आकारप्रकार र मात्रामा पाइन्छन् ।

यीमध्ये २.५ माइक्रोनसम्मका कणहरूलाई ‘पार्टिकुलेट म्याटर २.५’ भनेर चिनिन्छ । यी कणहरू मानव स्वास्थ्यका लागि अत्यन्तै हानिकारक हुन्छन्, जुन सजिलैसँग फोक्सोको भित्री तहसम्म पुग्न सक्छन् । साथै रगतसँग मिसिएर गम्भीर संक्रमणहरू उत्पन्न गराउन सक्छन् ।

वातावरणीय प्रभाव

अहिले कोभिड-१९ का कारण संसारभरि घोषित-अघोषित रूपमा लकडाउनको स्थिति छ । सम्पूर्ण विश्व ठप्पप्रायः छ । सम्पूर्ण कलकारखाना, उद्योगधन्दा, स्कुल-कलेज, मठमन्दिर, यातायात, सपिङ मल, हाटबजारसहित निर्माण कार्यहरू लगभग बन्द छन् । जरुरी नपरी मान्छेहरू घरबाहिर निस्कन छोडेका छन् ।

समाजको आर्थिक, राजनीतिक, सामाजिकलगायत हरेक क्षेत्रमा यसले दूरगामी प्रभाव पार्ने निश्चित छ । यति हुँदाहुँदै पनि वातावरणीय प्रभावका दृष्टिले केही सकारात्मक संकेतहरू फेला परेका छन् ।

उद्योग, कलकारखाना तथा सवारीसाधनहरूबाट उत्सर्जन हुने हानिकारक ग्यासहरूमा उल्लेखनीय कमी आउँदा सहरहरू आश्चर्यजनक रूपले सफा देखिएका छन् । सधैं तुवाँलोले ढाकिरहने काठमाडौं निकै सफा देखिएको छ, चराहरूको चिरबिर सुनिन थालेको छ । हिमशृंखलाहरू मनमोहक अन्दाजमा खुलेका छन् । नदीहरूमा नीलो पानी देखिएको छ ।

जलचरहरूको उपस्थिति बाक्लिन थालेको छ । जंगल र आसपासका चरनहरूमा जंगली जनावरहरू निस्फिक्री घुम्न थालेका छन् । समग्रमा प्रकृति स्वाभाविक लयमा फर्कन खोजेको छ । अर्थात्, प्रकृतिको स्वरूप जस्तो देखिनुपर्ने हो, त्यस्तै हुन थालेको देखिएको छ ।

रेबेका राइटले सीएनएनमा प्रकाशित गरेको एक रिपोर्टअनुसार दिल्ली, मुम्बई, चेन्नई, कोलकाता र बैंग्लोरजस्ता अत्यधिक प्रदूषित सहरहरूमा नाइट्रोजन डाइअक्साइड ग्यासको स्तर ५२ देखि ७१ प्रतिशतसम्म घटेको छ ।

सँगसँगै पीएम २.५ र पीएम १० जस्ता प्रदूषणको मात्रामा पनि उल्लेख्य गिरावट आएको छ, जसले गर्दा भिजिबिलिटीमा गुणात्मक सुधार आएको छ । यसरी प्रदूषणको दृष्टिबाट भन्न सकिन्छ- विश्वका ठूला सहरहरूले सास फेर्ने मौका पाएका छन् ।

केही दशकयता मान्छेको जीवनशैलीमा आएको परिवर्तनले समाजका विभिन्न पक्षमा थुप्रै असर देखा परेका छन् । अत्यधिक मात्रामा भैरहेको कार्बन उत्सर्जन, जैविक तथा अजैविक पदार्थहरूको जलन, अनियन्त्रित निर्माण आदि प्रक्रियाहरूबाट मानव स्वास्थ्य, कृषि उत्पादन, पर्यटन उद्योग, वातावरणजस्ता क्षेत्रहरूमा गम्भीर समस्या उत्पन्न भैरहेको छ ।

यी समस्याको सही पहिचान र यथार्थ विश्लेषणका लागि एरोसोलका भौतिक र प्रकाशीय विभिन्न गुणबारे नियमित अध्ययन, अनुसन्धान तथा मापन आजको अनिवार्य आवश्यकता हो । किनकि संसारभरिको वायु प्रदूषण जाँच्ने र मापन गर्ने संस्था आई क्यु एयरको रिपोर्टअनुसार संसारभरका लगभग ९० प्रतिशत मानिस यही प्रदूषित हावामा सास फेर्न बाध्य छन्, जसले मान्छेलाई बिस्तारै मृत्युको मुखतिर धकेलिरहेको छ ।

अमेरिकी अनुसन्धान संस्था नासाका अनुसार बलेको कोइला तथा सवारीसाधनहरूबाट निस्कने धूवाँ तथा खेतबारी सफा गर्न लगाइने आगोबाट पैदा हुने वायु प्रदूषणका कारण बर्सेनि संसारभर लगभग ५५ लाख मान्छेको मृत्यु हुने गरेको छ । यो कुनै महामारीभन्दा कम होइन । हामीले यसको गम्भीरतालाई नबुझेको मात्र हो ।

हुन त हामी अहिले निकै कठिन परिस्थितिमा छौं । यो परिस्थितिबाट सिर्जित सुधारहरू महामारीपछिका दिनहरूमा रहिरहँदैनन् । आगामी दिनहरू झनै चुनौतीपूर्ण हुनेछन् । अहिलेको क्षतिलाई पूर्ति गर्न सम्पूर्ण आर्थिक गतिविधि तीव्र हुनेछन्, जसका कारण वायु प्रदूषणको चुनौती निकै जटिल हुनेछ ।

यसबाट फोक्सो र श्वास-प्रश्वाससँग सम्बन्धित दम, ब्रोंकाइटिस, निमोनिया, सीओपीडी (क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी डिजिज) जस्ता रोगहरू बढ्नेछन्, जसले स्वाभाविक रूपमा कोभिड-१९ को खतरालाई बढाउँछन् । यसले सम्पूर्ण विश्वलाई एउटा गम्भीर पाठ भने पढाएको छ- यी सबै गतिविधिका लागि हामी नै जिम्मेवार छौं । नीतिनिर्माताहरूलाई यसले निश्चय नै घचघच्याउनेछ, अब कसरी अगाडि बढ्ने भनेर । वातावरणीय स्वास्थ्यमा लगानी विलासिता होइन, मान्छेको सबल अस्तित्वका लागि अपरिहार्य छ ।

तर अहिलेका लागि योभन्दा जटिल र गम्भीर विषय कोभिड-१९ नै हो । कारण हो- यसको भरपर्दो र प्रभावकारी खोप तथा औषधि पत्ता नलाग्नु । त्यसैले यतिखेर आर्थिक र प्राविधिक रूपले सक्षम राष्ट्रहरू नै अत्यन्त जोखिमयुक्त समयबाट गुज्रिरहेका छन् । यो हाम्रा लागि पनि निकै जोखिमयुक्त समय हो ।

स्रोतसाधनहरूको सीमितता, दक्ष स्वास्थ्यकर्मीहरूको अभाव, भौगोलिक अप्ठ्याराहरूले गर्दा भाइरससँगको हाम्रो लडाइँ झनै चुनौतीपूर्ण छ ।

यस्तो विषम परिस्थितिमा हामीसँग उपलब्ध विकल्प भनेको संक्रमण फैलनबाट जतिसक्दो रोक्नु मात्रै हो । अर्थात्, पूर्ण सावधानी अपनाउने र लकडाउनमा बस्दा गर्नुपर्ने सम्पूर्ण नियम इमानदारीपूर्वक पालना गर्ने ।

पछिल्ला अध्ययनहरूको निष्कर्षलाई आधार मान्दा हामीले बोल्दा, खोक्दा वा हाच्छ्युँ गर्दा निस्कने छिटा र कणहरू तुरुन्तै जमिनमा खसिहाल्नुको सट्टा केही समय हावामै तैरिरहने भएकाले मास्कको प्रयोग संक्रमणको जोखिम न्यूनीकरण गर्ने प्रभावकारी उपाय हुन सक्छ । साथै अहिले मानिआएको ६ फिटको सामाजिक दूरी संक्रमण रोक्नका लागि पर्याप्त नहुन सक्छ ।

हेल्सिन्की विश्वविद्यालयका प्रोफेसर भिल्ले भ्योरिनेनले भनेका छन्, ‘हामीले कोही मान्छे नै नदेखेको ठाउँमा पनि त्यही बाटो भएर गएको संक्रमित व्यक्तिको भाइरस बोकेको एरोसोल हुन सक्छ ।’ यसको अर्थ हो- घरबाहिर निस्कँदा अनिवार्य रूपमा मास्कको प्रयोग गर्नुपर्छ । यसो गर्नु भनेको हामी आफू बच्नु र अरूलाई पनि बचाउनु हो । संक्रमण फैलनबाट जतिसक्दो रोक्नु भनेको कुनै पनि चेतनशील नागरिकले वहन गर्नैपर्ने सामाजिक उत्तरदायित्व हो ।

अन्त्यमा, कोरोना भाइरसका कारण हामीले प्रस्टसँग बुझ्ने मौका पाएका छौं, प्रदूषण र वातावरणीय विनाशका लागि सम्पूर्ण रूपमा जिम्मेवार प्राणी भनेको मानव नै हो । आफूले गरेको वातावरण विनाशको खराब परिणाम आफैंले बेहोर्नुपर्ने हुनाले यसको संरक्षणको पनि दायित्व हाम्रै हो । हामी सचेत भएनौं भने यस्ता महामारीहरू बारम्बार बेहोर्नुको विकल्प हुनेछैन ।

पृथ्वीनारायण क्याम्पस, पोखरामा भौतिकशास्त्रका प्राध्यापक रेग्मी ‘लोअर एट्मस्फेरिक फिजिक्स’ का अनुसन्धाता हुन् ।

प्रकाशित : वैशाख ५, २०७७ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?