१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

प्रदीप गिरिसँग लकडाउन

किशोर नेपाल

सरकारले जनतालाई कोरोना महामारीबाट जोगाउन लकडाउन गर्नुभन्दा दुई दिनपहिले जनकपुरधाम सहरमा प्रवेश गर्दा कोरोनाको चर्चा कतै सुनिएको थिएन ।

प्रदीप गिरिसँग लकडाउन

कोरोनाको ठाउँमा प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको मृगौला प्रत्यारोपणपछिको अस्वस्थता चर्चामा थियो । त्यसको दुई दिनपछि प्रधानमन्त्री ओलीको प्रत्यारोपित मृगौलाबाट जनताको ध्यान एकाएक हट्यो । त्यसको ठाउँ कोरोना भाइरसले लियो । नेपाली जनताको कोरोना अर्थात् ‘खप्परको माथिल्लो भाग’ मा यो भाइरसको प्रहारले देश कति पछाडि धकेलिने हो, त्यसको अन्दाज गर्नसक्ने अवस्थामा अहिले कोही देखिएको छैन । एक पटक महामारी साम्य हुने बाटामा लागोस्, त्यसपछि मात्रै हिसाबकिताब सुरु हुन थाल्छ : देश कति हजार किलोमिटर पछाडि धकेलियो ?

अहिले त नेपाली जनता अलमलमा छन् । यस्तो अदृश्य संकटको कल्पना जनताले कहिल्यै गरेका थिएनन् । २०७२ को भुइँचालोले देशलाई कति पछाडि धकेल्यो, त्यसको हिसाबकिताब भइसकेको छैन । त्यसपछिको नाकाबन्दीबाट कति नोक्सान भयो, अहिले त्यसको मूल्यांकन पनि कठिन नै छ । अब आएर यो विश्व–विनाशक भनिने महामारीले नेपाल जस्तो सानो देशका जनतालाई कहाँ पुर्‍याउने हो ?

लकडाउनले संघीय राजधानी काठमाडौंलाई हक्क न बक्क बनाएको छ । सहरमा कोलाहल, धूलो, धूवाँ र दुर्गन्ध ठप्प भएको छ । राजनीतिक बन्दका बेला र अहिलेको लकडाउनमा खासै फरक छैन । राजनीतिक बन्दका समयमा सरकार र दलका बीच विवाद र खटपट हुने गथ्र्यो । अहिले त्यो बन्द छ । सरकार र प्रतिपक्षका बीच सहमतिको फूल ढकमक्क फुलेकाले विवाद बन्द भएको भने होइन । सरकारको हातमा ‘भय’ विस्तारको यस्तो हतियार छ, जसको प्रभाव कुनै एक देश वा कुनै एक सहरमा सीमित हुँदैन । कोरोना महामारीले जनताको मन अशान्त तुल्याएको छ ।

लकडाउनपछि, पर्सादेखि सप्तरीसम्म, मधेशका सबै जिल्लाका सहरबजार बन्द भए । सार्वजनिक यातायात ठप्प भए । किन यस्तो भयो ? सामान्य जनतालाई केही थाहा थिएन । सरकारले जति सूचना दिएको थियो, त्यो पर्याप्त थिएन । सरकारी सूचनाले सामान्य जनतालाई विषयको गम्भीरता बुझाउन सक्दैनथ्यो । यसै पनि, ‘कोरोना’ शब्द न जनताका लागि सजिलो थियो, न त शब्दका अर्थ नै सरल थिए । सामाजिक सञ्जाल र अनलाइन मिडियाले कोरोना खोतल्ने निकै राम्रो प्रयास गरे तर त्यो पर्याप्त थिएन । हामी सूचना र समाचारको दुनियाँका गम्भीर खेलाडी होइनौं । अलिकति जानकारी पाउनासाथै आफ्नो दृष्टिकोण बनाइहाल्ने बानी छ हाम्रो ।

कोरोना महामारीबाट जोगिन मानिस–मानिस दूरी राख्नुपर्ने र घरबाट निस्किन नहुने चेतावनी नदिइएको भए अहिलेसम्म कति मानिसले देवीदेवताका नाममा भाकल गरिसकेका हुने थिए ! कतिले अहोरात्र भजनको आयोजना गरिसकेका हुन्थे ! अहिले सबै चुमुक्क परेका छन् । काठमाडौं सहरमा प्रहरीले स्वास्थ्य कार्यकर्ताको काम राम्रोसँग गरेको छ । बिहान चार बजेदेखि काममा खटिने प्रहरीको भाषा खस्रो र अश्लील हुने गरेको सही हो । त्यति त जनताले आफैं पनि बुझ्ने चेष्टा गर्नुपर्छ । कतिपय कुरा यस्ता हुन्छन्, जुन बुझाउन मुस्किल हुन्छ ।

भ्रमणको सन्दर्भमा, सिरहा जिल्लामा सांसद प्रदीप गिरिसँगको भेट ज्ञान र परिस्थितिका बीच सन्तुलन मिलाउन खोज्ने एउटा अवसर थियो, स्तम्भकारका लागि । कोरोना महामारीबारे सरकारले सूचना प्रसार गर्नुभन्दा दुई दिनअघि जनतासँग भेटघाटका लागि आफ्नो चुनाव क्षेत्र आएका गिरि लकडाउनपछि विकसित परिस्थितिका कारण चिन्तित थिए । जनता एकाएक विपत्मा धकेलिएका थिए । सरकारसँग विपत्विरुद्ध कुनै तयारी थिएन । गिरिले स्पष्ट शब्दमा बताए, ‘कोरोना भाइरसबाट देशलाई जोगाउन असाधारण क्षमता भएको राजनीतिक पुरुषको आवश्यकता छ । केपी ओलीमा त्यो छैन ।’

सिरहा जिल्ला दलितको किल्ला मानिँदै आएको छ । ज्याला–मजदुरी नगरी यहाँका मात्रै होइन, देशका अधिसंख्यक दलितको मुखमा माड लाग्दैन । कोरोना महामारीका कारण लकडाउन सुरु भएपछि काम ठप्प भएको थियो । दलित संकटमा परेका थिए । गिरिको सक्रियतामा लहान नगरपालिकाका दलित बस्तीमा अहिले राहत वितरण निरन्तर रहेको छ । राहत कार्यलाई अझ धेरै पीडित समुदायबीच पुर्‍याउने काममा गिरिको अग्रसरता रहेको छ ।

जनताको अवस्था देखेर गिरि दु:खी थिए । दैनिक श्रम नगरी खान नपाउने जनताका लागि आर्थिक प्याकेजको व्यवस्था गरिएको थिएन । लकडाउनभन्दा पहिले सरकारले खोलाकिनारमा गिट्टी कुटिरहेका र अति विपन्न अवस्थामा बाँचिरहेका जनताबारे अलिकति पनि गम्भीरतापूर्वक नसोचेकामा गिरिमा विषाद र व्यग्रताको भाव थियो । उनी भन्दै थिए, ‘एउटा महामारीले अहिले सरकारलाई हाराबारा खेलाएको छ । प्रधानमन्त्रीलाई देशको अवस्थाको जानकारी छैन । उनको मुखबाट अहिले अर्थ न बर्थका महावाणी प्रकट भइरहेका छन् । कोरोना संकटले अप्ठेरोपनको सिर्जना गरेको छ ।

चेतनाको नाममा जनताले लाठी खाइरहेका छन् । जनताको ज्यान जोगाउने नाममा भएको त्यो परिदृश्य कसैबाट लुकेको छैन । जनताको ज्यान जोगाउने नाममा राज्यले यस्तो काम गरेको हो ? यो वाक्यको व्याकरणगत संरचना पनि आफैंमा दोषपूर्ण छ । यही दोषपूर्ण संरचनाले हाम्रो राजनीतिक अवस्थालाई देखाउँछ ।’

भूकम्प होस्, नाकाबन्दी वा कोरोना, गिरिको विचार प्रक्रियामा कुनै अन्तर आएको छैन । २०३६ को ऐतिहासिक विद्यार्थी आन्दोलनदेखि २०७४ मा गणतान्त्रिक नेपालको संविधान निर्माणसम्म उनले क्रान्ति वा आन्दोलनको विफलता औंल्याउँदै आएका छन् । उनका भनाइहरु स्पष्ट छन्- वास्तविक कुरा के हो भने, अहिलेसम्म कुनै पनि दलका नेताहरुले देशको प्रमुख समस्या बुझ्न सकेका छैनन् । क्रान्ति भयो, ठीक छ ।

संसदीय लोकतन्त्र आयो । त्यतिले पुगेन, गणतन्त्र आयो । यी परिवर्तनहरुका कारण एक दल वा व्यक्तिबाट अर्कोमा सत्ताको हस्तान्तरण त भयो, तर राज्यको रूपान्तरण भएको छैन । किन भएन ? बारम्बार संघर्ष, क्रान्ति, विद्रोह भइसक्दा पनि किन हुन सकेको छैन ?

गिरिको विचारमा, ‘मनुष्यको सबभन्दा प्रिय वस्तु हो उसको ज्यान । मनुष्य मात्रै होइन, कुकुर र बिरालोदेखि संसारका सबै प्राणी आफ्नो ज्यान बचाउनका लागि जस्तोसुकै प्रतिकार र जस्तोसुकै संघर्ष गर्न तयार हुन्छन् । प्राणीमा चेतनाको अभाव हुन सक्छ । त्यस्तो चेतना दिने काम हो राज्य र सञ्चार माध्यमको । जनतामा चेतना प्रवाहित नगरी उसको ज्यानको जिम्मा लिनु राज्यको हास्यास्पद कदम हो ।’

यस विपरीत, प्रधानमन्त्री ओली अहिले आफ्ना मन्त्री तथा अन्य सहयोगीलाई सञ्चार माध्यमबाट दूरी बढाउने निर्देश दिँदै छन् । सूचनालाई लुकाएर, थिचेर, बन्द गरेर राख्दा अन्तत: त्यसले विस्फोटक रूप लिन्छ । प्रधानमन्त्री ओलीका वरिपरि जम्मा भएको स्वार्थसमूहको समर्थन र संवद्र्धन यस्ता निर्णयको एउटा कारण हो । जुन वर्ग, व्यक्ति वा जातिको हातमा मुलुकको सारा डाडु–पनिउँ छ, त्यसको वर्गीय हित यस्तै वक्तव्य र निर्देशमा केन्द्रित रहन्छ ।

‘राजनीतिक स्वतन्त्रताको नाममा अहिले देशमा दुइटा वा तीनटा पार्टीमध्ये एउटालाई भोट दिन अभिशप्त छन् जनता । बेलायत, अमेरिका र अरू देशमा पनि यस्तै छ । यी देशहरुमा बेलाबेला झीनो स्वरमा आवाज उठ्ने गर्छ- जनप्रतिनिधिलाई फिर्ता बोलाउने अधिकार (राइट टु रिकल) हुनुपर्छ । जनप्रतिनिधिलाई फिर्ता बोलाउने अभिक्रम कहीँ सुरु हुँदैन । नेपालमा यो कानुन बनाएर लागू गर्न आवश्यक संविधान संशोधन हुन सक्यो भने यो कुरा विश्वकै लागि सबक हुनेछ ।’

गिरिको भनाइ थियो । स्थानीय सत्ता अस्तित्वमा आएको छ । स्थानीय निकायले पाएका थोरबहुत अधिकारको सदुपयोग गरेका छैनन् स्थानीय जनप्रतिनिधिले । गिरिको विचारमा, यसको कारण स्पष्ट छ । ठूला मानिसले जस्तो व्यवहार गर्छन्, सानाले त्यसैको सिको गर्छन् । त्यो रवाफ र फुर्ती अहिले प्रधानमन्त्री ओलीमा छ । राष्ट्रपति विद्यादेवी भण्डारीमा छ । आज जनप्रतिनिधिले आफूलाई जनताको मालिक ठान्छ । यो हो विडम्बना ।

गिरिसँग वैचारिक वार्ताको अवसर लकडाउनको उपलब्धि थियो । लकडाउनमा मधेशबाट काठमाडौं फर्किनु अर्को चरम कष्ट थियो । काठमाडौंबाट पैदल सयौं किलोमिटर पार गरेर घर पुग्ने ‘तमन्ना’ बोकेका मानिसको लर्कन कहिले आफ्नो गन्तव्यमा पुग्ला ? कस्तो होला मानिसको यो लर्कनको खप्परको माथिल्लो भाग ?

प्रकाशित : वैशाख ४, २०७७ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?