१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

ओली-असफलतामा नक्कली हनुमान

भीम भुर्तेल

चैतेदसैं अथवा रामनवमी लकडाउनबीच गएको छ । यो चैतेदसैंताका सामाजिक सञ्जाल र अनलाइन समाचार माध्यममा सरकार समर्थकलाई विरोधीहरूले ओलीका हनुमान भनेर खेदो खने ।

ओली-असफलतामा नक्कली हनुमान

रामायणका सहायक तर निर्णायक पात्र हनुमानको विम्ब नेपालमा अत्यधिक दुरुपयोग भएको छ ।

प्रधानमन्त्री ओली नेपालको इतिहासमा निकै बलियो सरकारको नेतृत्वकर्तामा पर्छन् । भारतको नाकाबन्दीविरुद्ध उभिएका उनीप्रति आम जनतामा आशा र भरोसा पनि थियो । त्यसैले गत आमनिर्वाचनमा जनताले उनको दललाई भारी बहुमतले जिताए ।

निर्वाचनमा गरिएका वाचा र घोषणापत्रमा उल्लिखित नीति, योजना तथा कार्यक्रम अनि सरकार गठनपछिका उनका अभिव्यक्ति हेर्दा केही त अवश्य गर्छन् भन्ने थियो । र, त्यस्तो आशा गर्दै नेकपा मालेले २०४७ सालको संविधानको आलोचनात्मक समर्थन गरेजस्तो ओली सरकारको आलोचनात्मक समर्थन गर्नेमध्ये म पनि थिएँ ।

अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति पनि २०४७ सालपछि सबैभन्दा राम्रो देखिएको थियो । एसिया सोसाइटीमा होस् वा विश्व आर्थिक मञ्चको डाभोसमा, एक अति कम विकसित देशको प्रधानमन्त्रीको राजनीतिक ‘रियाज’ राम्रो थियो भन्न हिचकिचाउनुपर्दैन ।

त्यस्तै, देशको आर्थिक विकास गर्न प्रतिस्पर्धात्मक लाभ चाहिन्छ र त्यो हासिल गर्ने अवस्था सिर्जना गर्न विमानस्थल, सडक, रेल र जलमार्गजस्ता पूर्वाधारहरू अपरिहार्य भएको महसुस प्रधानमन्त्रीस्तरमा भएको सायद पहिलो घटना थियो ।

एक दशकको सशस्त्र द्वन्द्व, अर्को दशकको दिक्दारीपूर्ण राजनीतिक संक्रमण, त्यसपछिको ७.९ रेक्टर स्केलको भुइँचालोले थिलथिलो बनाएको अर्थतन्त्र, संविधान जारीपछिको देशभित्रैको एक क्षेत्रको असन्तुष्टि, त्यसमाथि नाकाबन्दी झेलेर राजनीतिमा आएको स्थिरता र बलियो सरकारका कारण ओलीले केही त गर्लान् भन्ने थियो ।

तर, ओली सरकार गठनको २५ महिना नबित्दै सबैभन्दा किंकर्तव्यविमूढ, दीर्घसूत्री, गन्तव्यहीन, गतिहीन, रणनीतिक सोचाइहीन, ठोस योजनाहीन देखियो । अर्कोतर्फ, एकपछि अर्को आर्थिक अनियमितता र भ्रष्टाचारको आरोप र बेथिति देखिए । मन्त्रीहरू कार्यसम्पादन क्षमता र कार्यदक्षताले होइन, ओठेजवाफले सरकारको प्रतिरक्षामा उत्रिन थाले ।

यो राजनीतिक परिदृश्यले गिरिजाप्रसाद कोइरालाको २०४८-५१ को सरकारका मन्त्रीहरू शेरबहादुर देउवा, खुमबहादुर खड्का, विजय गच्छदार र गोविन्दराज जोशीका अभिव्यक्तिसँग ठ्याक्कै मेल खान्छ । प्रधानमन्त्री नै राम्रो काम देख्ने ‘मुटु भएको सम्पादक नभएको’ गुनासो गर्दै आफ्नो बचाउ आफैं गर्न बाध्य भए ।

त्यस्तै, संसद्मा विचाराधीन विधेयकमा प्रयुक्त कमसल भाषा, कमसल विषयवस्तु, हचुवापन, गम्भीरता र जिम्मेवारीपनको अभाव, बहुमतको सरकारले जे मन लाग्छ त्यो गर्न सक्छ भन्नेजस्ता विभागीय मन्त्रीको अभिव्यक्ति, बिनातयारी संसद्मा विधेयक पेस, अनावश्यक विधेयक संसद्मा पेस र हचुवामा पारित कानुनले सरकारका मन्त्रीहरू छिपछिपे (मिडियोकोर) रहेका देखिन्छन् ।

यस्तै दशा र दिशा कायम भए ओलीमा, कार्ल माक्र्सको ‘इतिहास दोहोरिन्छ, पहिला दु:खान्तका रूपमा र दोस्रो भद्दा मजाकका रूपमा’ भन्ने भनाइ लागू हुन धेरै समय लाग्दैन ।

अर्कोतर्फ, यो सरकारको अकर्मण्यताले संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाविरुद्ध बिषवमन गर्नेलाई टाउको उठाउने ठाउँ दिएको छ । अहिले कोरोना भाइरसको भूमण्डलीय जनस्वास्थ्य संकटले चाहिँ सरकार रणनीतिक सोचाइ, नीति र योजना, राज्यलाई नेतृत्व दिने दीर्घकालीन र अल्पकालीन सोच र चिन्तन अनि त्यसअनुसारको व्यवहार र कार्यमा अक्षम रहेको खुलाएको छ ।

एक-दुईबाहेक सबै मन्त्री औसत प्रबन्धकभन्दा कम क्षमताका छन् । प्रबन्धकले अहिलेका समस्या समाधान गर्छ, तर नेताले भविष्यका समस्याहरू पनि देख्छ र समाधानको जुगाड अहिले नै गर्छ । यस हिसाबले हेर्दा, ओली अन्तिममा पंगू बनाइँदै छन् वा उनी आफैं त्यस्तो बन्ने दिशामा छन् ।

अहिले देशमा महामारीका कारण सिर्जित चुनौतीको स्तर र त्यसलाई सामना गर्न उपलब्ध नेतृत्व, व्यवस्थापन क्षमता र साधनस्रोतबीच धेरै ठूलो खाडल छ । साथै, अहिले सरकार एकदमै राम्रो अवस्थाको परिदृश्य (बेस्ट केस सिनारियो) मा आधारित भएर कार्यरत छ । यदि महामारीले सबैभन्दा खराब अवस्था (वस्र्ट केस सिनारियो) ल्यायो भने के गर्ने भन्नेमा सरकारको ध्यान गएको छैन । कोरोनासिर्जित आघातले ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारालाई स्थगित गर्ने अवस्था रहेकाले ओलीसँग अहिले दुइटा विकल्प छन् ।

पहिलो, फेरि एकपटक विद्यमान समस्या चिर्न आफैं प्रयत्न गर्ने । तर, यो विकल्प सजिलो छैन । यसका केही कारण छन् । (क) त्यस्तो प्रयत्न गर्न ओलीले कार्यशैली बदल्नु आवश्यक छ । ओली आफ्नै मन्त्री, सल्लाहकार तथा सहयोगीलाई पनि सहज उपलब्ध छैनन् भन्ने सार्वजनिक भैसकेको छ ।

टिप्पणीकार सौरभले उनलाई ‘समय सामन्ती’ भनेका छन् । उनी समयलाई ख्याल गर्दैनन् र अनावश्यक विषयमा घण्टौं बिताइदिन्छन् । प्रधानमन्त्रीको एकएक सेकेन्डकोमहत्त्व हुन्छ भनी उनलाई महसुस हुनुपर्छ । त्यस्तै, आफूलाई आवश्यक सुझाव र परामर्श लिन धाउनुपर्छ भन्ने बोध गर्दैनन् । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्रीमा बहाल रहँदा आवश्यक रायसुझाव लिन विज्ञहरूका घरघर पुग्थे ।

(ख) ओलीको अहिलेसम्मको असफलताको कारण हो- सक्कली हनुमानको अभाव । ओलीलाई सफल बन्नु छ भने सबै नक्कली हनुमानको स्थानमा सक्कली ल्याउन सक्नुपर्छ । पौराणिक ग्रन्थमा हनुमान महादेवका १९ अवतारमध्येका रुद्र अवतार मानिन्छन् । राम भगवान् विष्णुका १० अवतारमध्ये एक हुन् । शक्ति, सत्ता र पदानुक्रमलाई प्राथमिकता दिने हाम्रो समाजमा शिव महादेव हुन् । यस दृष्टिले त रामभन्दा हनुमान ठूलो हुनुपर्ने हो, तर हनुमानले रामको भक्ति गरेका छन् ।

त्यसको सांकेतिक अर्थले अहिलेको शासन, प्रशासनमा ठूलो सन्देश दिन्छ । पद, सत्ता र शक्ति भनेको जिम्मेवारी र जवाफदेहिता हो । यी दुई चीज इमानदारी र कर्तव्यपराणयताका साथ निर्वाह गर्नुपर्छ । पद, सत्ता र शक्ति लोककल्याणमा सदुपयोग गर्ने हो, व्यक्तिगत स्वार्थपूर्तिका लागि दुरुपयोग होइन । जिम्मेवारीले व्यक्ति सानो वा ठूलो हुन्छ । हनुमान विभीषणलाई

राजा बनाउने सर्तमा रामको पक्षमा ल्याउने कुशल वार्ताकार हुन् । साथै उनी रामप्रति सम्पूर्ण रूपले समर्पित पात्र हुन् । रामले गलत निर्णय गर्लान् भनेर निरन्तर चनाखो रहने पात्र पनि हुन् उनी ।

तर, ओलीका अधिकांश मन्त्री, सल्लाहकार, निजी सचिवजस्ता सहयोगी अर्थात् कार्यकारी हातहरूमा रणनीतिक चिन्तन, इमानदारी, विनयशीलता, ज्ञान र सीपको अभाव छ । साथै, धेरैजसो स्वार्थको द्वन्द्वमा र नातेदारलाई फाइदा पुर्‍याउनमा तल्लीन छन् । यसलाई भ्रष्टाचार मानिन्छ, विकसित समाजमा ।

ओलीका हनुमान राम्रो वार्ताकार, व्याख्याता, व्यवस्थापक, योजनाकार र नीतिकार रहेनछन् । सच्चा हनुमानले आफ्ना रामको बदनाम गराउनै सक्दैन । लोकतन्त्रका लागि यति वर्ष लडेको वा जनताको मुक्तिका लागि उति वर्ष राजनीति गरेको भन्ने समय सकिएको छ ।

केही न केही विज्ञता, व्यवस्थापन क्षमता, कार्यसम्पादन दक्षता र कार्यक्षमता चाहिन्छ । तर, ओली सरकारका निर्णयहरू हेर्दा यो सिकारुको शासन (नियोक्रेसी) जस्तो देखिन्छ ।

नक्कली हनुमानहरूले घेरिएर नै ओली असफल भइरहेका हुन् । अझै सत्तामा रहेर काम गर्न चाहने हो भने उनले रामले किन आफ्नै भाइ लक्ष्मणभन्दा हनुमानलाई विश्वास गरेका थिए भनी मनन गर्नुपर्छ । रामले लक्ष्मणभन्दा हनुमानलाई महत्त्वपूर्ण जिम्मेवारी दिएको रामायणको कथाले ‘हाम्रो मान्छेभन्दा पनि राम्रो मान्छे’ अर्थात् व्यक्तिको गुणसम्पद (मेरिट) लाई हेर्नु भन्ने संकेत गर्छ ।

अमेरिकामा राष्ट्रपति चुनाव नोभेम्बर ३ मा हुने गर्छ र त्यसको करिब अढाई महिनापछि जनवरी २० मा सत्ता हस्तान्तरण हुन्छ । त्यो अन्तरालमा राष्ट्रपतिले आफ्नो प्रशासन चलाउने समूह गठन गर्छन् । विज्ञता, दक्षता र नेतृत्वक्षमता भएकालाई खोजेर ल्याउँछन् । निजी सहयोगी र सल्लाहकारको छनोटको अन्तिम अन्तर्वार्ता राष्ट्रपति आफैंले गर्छन् ।

बेलायतमा पनि प्रधानमन्त्रीले आफैं निजी सचिवालय र सल्लाहकारको छनोट अन्तर्वार्ताबाट गर्छन् । भारतमै मोदीले आफ्नो सचिवालयमा भारतीय प्रशासन सेवाबाट निवृत्त सचिवलाई निजी सचिव र विज्ञका रूपमा प्रयोग गरेका छन् । तर, यसको ठीक विपरीत ओली भने ‘राम्रो मान्छेभन्दा हाम्रो मान्छे’ मा भर पर्ने गरेका छन् ।

ओली सफल बन्न चाहन्छन् भने सक्षम व्यक्तिलाई मन्त्री बनाउनुपर्छ । सल्लाहकार र निजी सहयोगीको छनोट खुला प्रतिस्पर्धाबाट; ज्ञान, सीप, दक्षताको लिखित र मौखिक परीक्षणबाट गर्नुपर्छ । अहिले देशमा मानव संसाधन नियुक्तिको छनोट गर्ने भरपर्दा फर्म छन् । तिनको सहयोग लिन सकिन्छ । अहिलेकै सहयोगीबाट भने उनी थप पंगू मात्र बन्ने निश्चित छ ।

दोस्रो, स्वास्थ्य अवस्थाले ओलीलाई सत्ता सञ्चालनमा समस्या पुर्‍याएको छ । उनले मृगौला प्रत्यारोपण गरेपछि छ महिनासम्म आराम गर्नुपर्ने डाक्टरको सल्लाह थियो । यो अवधिमा उनले राजीनामा नदिएकाले ‘जनताले निर्वाचनमा जनप्रतिनिधि चुन्छन्, आराध्यदेव होइन’ भन्ने भनाइ नै निरर्थक सिद्ध भएको छ । राजीनामाको विकल्प चुन्नुको अर्थ उनी असफल दरिनु होइन । स्वास्थ्यका कारण पछि हट्नाले उनको कद घट्दैन, बढ्छ नै ।

प्रकाशित : वैशाख ३, २०७७ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?