२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

जो 'तटस्थ’ छन्, तिनका नाममा

सरिता तिवारी

जोतटस्थ छन्, समयले लेख्नेछ तिनको पनि अपराध – रामधारी सिंह ‘दिनकर’ ।
इतिहासकार हावर्ड जिनको एउटा किताबको शीर्षक छ- ‘यु कान्ट बी न्युट्रल अन अ मुभिङ ट्रेन’ । अर्थात्, गुडिरहेको रेलमा तपाईं सीधा उभिन सक्नुहुन्न ।

जो 'तटस्थ’ छन्, तिनका नाममा

अमेरिकी जन–इतिहासका लेखक तथा समाजवादी विचारक जिन नाटककारसमेत हुन् भन्ने कुरो काठमाडौंले पनि पत्तो पाइसकेकै छ (केही पहिले काठमाडौंमा उनले लेखेको नाटकको नेपाली रूपान्तर ‘मार्क्स फर्किए’ मञ्चन भएको थियो) । ‘तटस्थता’ र निरपेक्ष ‘सकारात्मकता’ का कट्टर विरोधी जिनले गुडिरहेको रेललाई कुनै समाज, राष्ट्र वा विश्वको अस्थिर र तरल समयको रूपकका रूपमा पेस गरेका हुन् भन्ने बुझ्न गाह्रो छैन ।

...

यतिखेर जिनको सम्झना गरिनु एकदम अर्थपूर्ण छ । देशमा सुरक्षित बहुमतको सुविधासहितको सरकार छ तर यो एकपछि अर्को आलोच्य काम गर्न मानौं कम्मर कसेर लागेको छ । सरकारमा बस्नेहरूका बोली र तिनले प्रवाह गर्ने सन्देशमा परिपक्व अभिभावककत्व होइन, अधिनायकी र अहम्को पेलान छ ।


सरकार नागरिकसँग कर उठाउने सवालमा संसारकै अग्रपंक्तिमा छ तर नागरिक सुरक्षा र सरोकारका ज्वलन्त मुद्दामा नीतिगत ठगी र बदमासीका असीमित कथाको खलनायक पनि यही सरकार बनेको तथ्य छर्लंगै छ । महामारीले भन्दा पहिले भोकमरीले मर्ने–बाँच्ने दोसाँधमा आशाको नजरले हेरिरहेका जनतातिर फर्केर सरकारप्रमुख उल्टै सोध्छ- जीवन रोज्छौ कि स्वतन्त्रता ? योभन्दा नालायकी र नकच्चरोपन अर्को के हुन्छ ?


सार्वजनिक आलोचना र प्रश्नहरूको उत्तरमा फर्किएका सरकारी जवाफ र सम्बोधनका भाषाले नागरिक स्तरको भोगाइ र अभिमतको हुर्मत लिएको बेला हो यो । यतिखेर जनताको जीवनरक्षा र अभिव्यक्ति लगायतका नागरिक अधिकारको रक्षा वैकल्पिक विषय कदापि हुन सक्दैनन् । जनतालाई सद्भाव, सुरक्षा र जिम्मेवारीको ओत दिनुपर्ने सरकार जब आफ्नै संरक्षणमा भएका ‘अपराध’ को प्रतिरक्षामा चुनौतीको भाषा बोल्न सुरु गर्छ भने प्रस्ट देखिन्छ, सरकार आपत्काललाई समेत युद्धमोर्चा जस्तो बनाउन चाहन्छ । सरकार जनतालाई आफ्ना खेलाँचीहरूको मूकदर्शक मात्रै बनेर बस भन्न चाहन्छ ।


के यो सह्य कुरा हो ? यस्तोमा कोही कसरी ‘सकारात्मक’ बनेर बसिरहन सक्छ ?


यतिखेर सबैलाई थाहा छ, संकटको आयाम धेरै ठूलो छ र सरकारलाई सकेसम्म सहयोग गर्नुपर्छ । नागरिकले यो ‘कमन सेन्स’ र कर्तव्यबाट च्युत हुनै मिल्दैन । तर यसको अर्थ संकटकै समयमा समेत लापरबाह र गैरजिम्मेवार देखिइरहेको सरकारको आलोचना नगर्नु भन्ने हुँदै होइन ।


जनस्वास्थ्यजस्तो संगीन मुद्दामा सरकारी खेलाँचीको मूल्य हामी एकएकको ज्यान गुमेपछि मात्रै अनुभूति हुने हो भने अर्कै कुरा ! होइन भने, यस्तै बेला हो नागरिक सतर्कता र खबरदारी चाहिने । यस्तै बेला हो कठोर प्रश्नका चुनौतीले प्राधिकारको टाउकामा घन हानिरहने । तिनलाई मिनेटमिनेटमा झस्काइरहने ।


आफ्नो सेवा र सुरक्षाका लागि निर्माण गरेको प्राधिकार जब नियतपूर्वक ‘अपराध’ गर्न उद्यत हुन्छ, सचेत जनता प्रतिक्रियामा उत्रनैपर्छ । यो कुनै पनि नागरिकको लोकतान्त्रिक हक हो र यसमा लगाम लगाउन खोज्नु अधिनायकी हो । संकटको नाम पारेर गर्न खोजिएको यस्तो अधिनायकी कुनै पनि मूल्यमा स्वीकार्य छैन । जीवनकै मूल्यमा पनि स्वीकार्य छैन ।


तर कतिपय मानिस यस्तो समयमा पनि तटस्थताको पाठ पढाउँछन् । सकारात्मक चिन्तन राख्ने उपदेश दिन्छन् । तिनको सुझाव हुन्छ-सरकारी नियत र रवैयाको आलोचना गर्दैमा कोही ‘क्रान्तिकारी’ हुँदैन । आलोचनाले मात्रै केही फेरिँदैन ।


केही नयाँ कुरा ‘निर्माण’ हुँदैन । ती भन्छन्- सरकार प्रशस्त कोसिस गरिरहेको छ र तिनलाई तटस्थ भावले मूल्यांकन गरिनुपर्छ । जस्तो कि, हिजो मात्रै आह्वान गरिएको ताली बजाउने र राष्ट्रगान गाउने कुरालाई नै लिऔं । तिनका विचारमा यसले राष्ट्रिय एकता र सहअस्तित्वको भावना विकास गर्छ । अझ भनौं, ताली बजाउने कुरामा त ठूलै विज्ञानसम्मत तर्क नै छ ।


यस्ता मानिस को हुन् ? जहाँ आवाज चाहिन्छ, त्यहाँ भीषण मौनता साधेर बस्ने । लोकको समकालीन चिन्ताप्रति लगभग निरपेक्ष तर ‘मोरल पुलिस’ बनिटोपल्न माहिर । सरकारका आलोचकप्रति सरकारभन्दा पनि असहिष्णु र हिंस्रकसमेत बन्न सक्ने, सरकारी ‘कोसिस’ हरूमाथि ‘तटस्थता’ को व्याख्या गर्ने कस्तो वर्ग हो यो ?


यसो विचार गरेर हेर्दा, तिनीहरू कि सरकारी संस्थान र सेवा क्षेत्रका जागिरदार हुने रहेछन् । कि गैरसरकारी क्षेत्रका सुकिलामुकिला कारिन्दा कि राजनीतिक नियुक्तिका लागि पालो पर्खेर बसेका आसेपासे । कि चाहिँ कुनै ठेक्कापट्टाको टेन्डरमा र्‍याल चुहाइरहेका आकांक्षी । यिनलाई ‘नेगेटिभिटी’ सँग भयंकर एलर्जी छ अनि ढाँट र भ्रष्टाचारको खेती गर्ने सरकारप्रति उत्पातै सहानुभूति । विडम्बना के भने, बुद्धिजीवी भनिने यो प्रजातिमा प्राध्यापक, लेखक, साहित्यकारको पनि उल्लेख्य संख्या छ ।


इतिहासकार रोमिला थापर भन्छिन्, ‘आजको खास प्रश्न नै प्रश्न गर्ने कि नगर्ने भन्ने हो ।’ कतिपय विषयमा सार्वजनिक रूपले प्रश्न गर्ने कुरामा धेरै जोखिम छन् । त्यसैले सबै खालका मानिस प्रश्न उठाउँदाको जोखिमभित्र पस्न चाहन्नन् । तर जो पस्छन्, वैचारिक पूर्वाग्रहकै आधारमा तिनको खेदोखनाइ तिनै वर्गबाट बढी हुने गर्छ, जो प्रश्नको शक्तिसँग भलिभाँती परिचित छन् तर समाजका अन्य सदस्यसँगै सहयोजित भएर सकेसम्मका सुविधाका आवरणभित्र सुरक्षित बस्न चाहने लिप्साले कदाचित् मुक्त हुन सक्दैनन् ।


उक्ति नै छ, अनैतिक र भ्रष्ट भनेर चिनिएकाको अपराधभन्दा सचेत र तथाकथित ‘नैतिक’ वर्गको तटस्थता र मौनता धेरै अर्थमा ठूलो र अक्षम्य अपराध हो । त्योभन्दा पनि डरलाग्दो अपराध हो यही तथाकथित तटस्थ र मौन वर्गले ऐनमौकामा जोखिम मोलेर बोल्नेहरूमाथि गर्ने आक्रमण । यस्तो आक्रमण किन हुन्छ ? प्रस्ट छ, कहीँ न कहीँ, त्यसमा परोक्ष रूपमै किन नहोस्, सत्ताको सेवा गर्ने नियत हुन्छ । कतिपय अर्थमा मतभिन्नता र आग्रहको तह उठेर द्वेषकारी ईर्ष्या र घृणाको रूप लिएको पनि हुन सक्ला ।


प्रचलित मूलधाराका पूर्वीय दर्शन र जीवन पद्धतिले रोमिला थापरले भनेझैं प्रश्न गर्न होइन, आफूभित्र उठ्ने प्रश्नको दमन गर्न प्रेरित गर्छन् । पूर्वमा धेरै पछ्याइने भगवद्गीतामा अर्जुन–कृष्ण संवादका कतिपय कुरा गहन र जीवन उपयोगी हुँदाहुँदै पनि प्रश्नको नश्लबन्दी गर्ने विचारले यो ग्रन्थको दार्शनिक–आध्यात्मिक आभा ओझेल पारिदिएको छ । कर्म र योगसूत्रको विशिष्ट विचारधारा बोकेको ग्रन्थमा प्रश्नको निषेध मात्रै होइन, सन्देह गर्ने मान्छेको सर्वनाश हुने भयंकर चेतावनी दिने कृष्ण आफ्नो शरणमा आए सबै पाप ‘कट्टी’ हुने उपदेश दिन्छन् ।


रामायण आफैंमा रामभक्तिको एकरसले भरिएको काव्य भैगयो । महाभारत कौरव पक्षको एकोहोरो बदख्वाइँ र पाण्डवहरूको सुयशकै जयगाथा भयो । प्रतिरोध र प्रश्न गर्ने शम्बूक, होलिका, शूर्पणखाको अपमानको महिमा गाउँदै आएका मान्छे हामी । सत्ताको विचार र नीतिको चाप्लुसीलाई ‘धर्म’ र कर्तव्य ठान्नु हाम्रा वंशानुगत दोष नै होलान् ।


छद्म राष्ट्रवादको खुइलिसकेको लबेदा भिरेर चेतावनीको भाषामा बेलाबेला पदार्पण भइरहने प्रधानमन्त्री ओली र तिनका आसपासमा बसेर ‘अपराध’ गर्नेहरूका खेलाँचीलाई नजरअन्दाज गर्नु अनि ताली र राष्ट्रगानको नौटंकीलाई सौन्दर्यकरण गर्नु कोरोना संकटकालमा नाङ्गै खुट्टा सयौं किलोमिटर हिँडेर घर फर्किन विवश दुःखीजनका पैतालामा छरछराएको रगतमाथिको क्रूर मजाक हो । तिनका भोक र आँसुमाथिको षड्यन्त्र हो । यस्तो सौन्दर्यकरण नै तटस्थ हुनुको प्रमाण हो भने धिक्कार छ यस्तो तटस्थतालाई ।

...

नाम चलेका, ख्याति कमाएका र त्यसैकारण जनमानसमा बोलीको प्रभाव पर्ने स्तरका धेरै मानिसले ऐनमौकामा सही र सत्य नबोल्नुको कारण अलोकप्रिय होइने भय मात्रै होइन, आफ्ना निश्चित पद र संरक्षणबाट बेदखल होइने पीर पनि हो । सत्यतथ्य बोल्न थाल्दाको परिणति सामना गर्ने साहस जोकसैमा कहाँ हुन्छ र ? त्यस्ता मानिसहरू साँचो बोल्न नचाहने मात्रै होइन, सत्ताको झुठ र प्रपञ्चका हिमायतीसमेत बनेर देखिन्छन् । त्यसैका प्रचारकसमेत बन्छन् ।

त्यस अर्थमा सरकारी नुनले, अमुक आशा र अपेक्षाले जिब्रो गलेका मान्छेहरू जतिसुकै ख्यातनाम बुद्धिजीवी किन नहोऊन्, तिनले आज र भोलि दुवैलाई केही फरक पार्न सक्दैनन् । बुद्धिको व्यवसाय चलाएर बस्दैमा यिनीहरूसँग समयले त्यस्तो खास अपेक्षा पनि गर्दैन । इतिहास साक्षी छ, आजसम्म कोही भद्र, ‘तटस्थ’ व्यक्ति परिवर्तनको वाहक बनेको छैन ।


नेपालकै दृष्टान्त दिएर भनौं- बुद्धदेखि योगमाया हुँदै आजसम्मको परिवर्तन दुस्साहसी र क्रान्तिकारीहरूकै हातबाट हुँदै आएको हो । जहाँसम्म आजको कुरा छ, यो समयको क्रान्ति शब्द–शक्तिले हुन्छ । त्यो शक्तिका लागि हावर्ड जिनले भनेजस्तै तपाईं कुनै एक पक्षमा हुनैपर्छ । त्यो पक्षमा तपाईंले एक्लै किन हुन नपरोस् !

प्रकाशित : वैशाख २, २०७७ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?