२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

'आशाको नयाँ किरण देखें'

शेरबहादुर पुन

काठमाडौँ — केही दिनअघि अस्पताल आउनेको तथ्यांक केलाउँदै गर्दा म अचम्मित भएँ । त्यो अचम्मको भावभित्र खुसीको आभास थियो । त्यो खुसीको आभास यो पंक्तिकारले ‘आशाको किरण देखियो’ भनेर ट्‍वीटरमार्फत समेत व्यक्त गरेको थियो ।

'आशाको नयाँ किरण देखें'

कारण, अस्पताल आउने कोरोना सम्भावितको संख्यामा भारी गिरावट हुनु । हाल शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल कोरोना भाइरस विशेष अस्पतालमा परिणत भइसकेको छ ।

केही समय अगाडिसम्म, अझ प्रस्ट भन्नु पर्दा लकडाउन हुनुपूर्व कोरोना भाइरस सम्बन्धित बहस विशेषगरी काठमाडौँ केन्द्रित हुने गर्दथ्यो । त्यो बेला नेपालमा देखिएका कोरोना भाइरसका संक्रमितहरु अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आएकाले पनि सायद कोरोना काठमाडौंमै अत्यधिक मात्रामा हुनुपर्दछ भन्ने सर्वसाधारणलाई लागेको हुनुपर्छ । विज्ञहरुको सोच पनि यो भन्दा खासै भिन्न थिएन । त्यो बेला परीक्षणको दायरा सीमित हुनुले पनि यो शंकालाई थप बल पुगेको देखिन्थ्यो ।

लकडाउन सुरु हुनुभन्दा अगाडि यो पंक्तिकारलाई दैनिक झन्डै ७०/८० को हाराहारीमा रुघाखोकीका लक्षणहरु लिएर आउने बिरामीहरु हेरेको सम्झना छ । समकक्षीहरुले थप बिरामीहरु हेर्ने गर्दथे । कतिपयमा रुघाखोकी देखिन्थ्यो भने, केहीमा फ्लुको भाइरस प्रमाणित भएको रिपोर्ट आउँथ्यो । त्यो भन्दा अगाडि विशेषगरी चीनबाट आएकाहरु कोरोना भाइरसबारे जिज्ञासाहरु लिएर आउने गर्दथे । उनीहरु अधिकांश स्थानीय होटल या घरमै ‘सेल्फ क्वारेन्टाइनमा बसेको छु’ भन्ने गर्दथे । यद्यपि ‘सेल्फ क्वारेन्टाइन’को चर्चा भने चीनको वुहानबाट विद्यार्थीहरु उद्धार गरी भक्तपुरको खरिपाटीमा ल्याएपछि मात्र भएको देखिन्छ । त्यो बेला सयौंको संख्यामा चीनबाट स्वदेशी तथा विदेशीहरु नेपाल भित्रिएका थिए । विमानस्थलको हेल्थ डेस्कमा ज्वरो मापन गर्ने ‘थर्मल गन’ मात्र थियो र ज्वरो नदेखिए घरमै बस्ने सल्लाह दिने गरिन्थ्यो ।

कोरोना भाइरससँग मिल्दो जुल्दो लक्षणहरु देखिएमा मात्र अस्पताल जान सुझाव दिइन्थ्यो । धेरैले आफूमा कोरोना भाइरस छ/छैन भनेर परीक्षण गर्न चाहेको भए तापनि सरकारी प्रोटोकलले गर्दा ती सबै प्रयोगशाला परीक्षणबाट बन्चित हुने गरेका थिए । चीनमा हजारौंंको मृत्यु यसै भाइरसको कारणले हुँदै गर्दा नेपालमा यसले प्रत्यक्ष मनोवैज्ञानिक त्रास पार्नु स्वाभाविककै पनि थियो । चीन वा कोरोना प्रभावित देशहरुबाट आउनेहरुको संख्या बढ्दै जानु, उनीहरुमार्फत अरुलाई संक्रमण सार्न सक्ने सम्भावना हुनु, प्रयोगशाला परीक्षणको दायरा नबढ्नु र सामाजिक सञ्जालबाट कोरोना सम्बन्धी भ्रम छर्ने काम तीव्र गतिमा हुनुले पनि धेरैले लकडाउन अगाडि काठमाडौँमा कोरोना भाइरस प्रशस्त भएको हुनसक्ने अनुमान गर्ने गरेका थिए ।

लकडाउनको सुरुवातमा ३०/४० को हाराहारीमा व्यक्तिहरु कोरोनासम्बन्धी परामर्श लिन अस्पताल आइपुग्ने गर्दथे । यसमा विशेषगरी विदेशबाट आएका, कोरोना संक्रमण पुष्टि भएका बिरामी चढेको हवाईजहाजबाट आएका तथा विदेशबाट आएकासँग घुलमिल भएकाहरु हुने गर्दथे । यी अस्पताल आउनेहरुमा संक्रमण पुष्टि गर्न प्रयोगशाला जाँच गरिँदैन्थ्यो । यो पंक्तिकारको बुझाइमा यदि यी अस्पताल आएकाहरुमा संक्रमण भएको भए या त यिनीहरुमध्ये १५ प्रतिशत जति फेरि बिरामी भएर अस्पताल भर्ना हुने थिए । अझ ५ प्रतिशत जतिको हाराहारीमा अति स्वास्थ्य जटिलता वा मृत्यु नै हुनु पर्नेथ्यो । त्यस्तै यीमध्ये ८० प्रतिशत जतिमा सामान्य देखिने र उनीहरुबाट सयौंलाई अहिलेसम्म सारिसकेको हुनुपर्ने हुँदा लकडाउन भएको दुई सातापछिको अवस्थामा अस्पतालहरु अति व्यस्त हुनुपर्नेथ्यो । हालसम्म गरिएका अनुसन्धानहरुको तथ्यांकमा आधारित भएर यो भनिएको हो । तर, काठमाडौँमा यसप्रकारको अनुमानविपरीत सम्भावित बिरामी वा कोरोना भाइरसको परामर्श लिनेहरुको संख्या हृवात्तै घटेको छ । यसले लकडाउन अगाडि गरेको अनुमानलाई समर्थन गर्दैन । अर्थात् यो पंक्तिकारले ‘आशाका नयाँ किरणहरु’ देखेको छ ।

यद्यपि यो अति प्रारम्भिक अवस्था हो । तर यो आशाको किरण कायमै राख्न भने लकडाउन अझ कडा र व्यवस्थित गर्दै लैजानुको अर्को विकल्प भने देखिँदैन । हामीमा पनि अनुशासन र संयमताको अति खाँचो देखिन्छ । लकडाउन अरु कति साता निरन्तर हुने हो भनेर अहिले नै भन्न सक्ने अवस्था नभएकोले सरकारले पनि सर्वसाधारणको दैनिक आवश्यकताको सुनिश्चित गर्न जरुरी हुन्छ । हाल व्यक्तिहरुमा कोरोना भाइरस लाग्नेवित्तिकै मरिहालिन्छ भन्ने भ्रम व्याप्त देखिन्छ । हाल सञ्चारमाध्यमहरुमा कोरोना संक्रमित तथा त्यसबाट मृत्यु हुनेहरुको बढ्दो संख्या छिटो–छिटो अद्यावधिक हुने हुँदा पनि यस्तो भएको हुनसक्दछ । तर हामीले ठूलो संख्यामा कोरोना संक्रमितहरु पनि उपचारपश्चात् घर फर्किन्छ भनेर खासै वास्ता गरेको पनि पाइँदैन । वास्तवमा ८० प्रतिशत संक्रमितलाई स्वास्थ्यकर्मीको आवश्यकता नै पर्दैन ।

नेपालमा कोरोना संक्रमित पुष्टि भएकाहरु पनि कसैलाई जटिल अवस्थामा पुग्नु परेको देखिँदैन । हालै बेलायतका प्रधानमन्त्री पनि कोरोनाको उपचारपश्चात् घर फर्किसकेका छन् । पक्कै पनि संक्रमितहरुको मृत्यु नै नभएका भने होइन । तर उनीहरु धेरैजसो जेष्ठ नागरिकहरु थिए र कुनै न कुनै दीर्घ रोगबाट ग्रसित भएकाहरु थिए । उनीहरुमा कुनै संक्रमण भए पनि उत्तिकै जोखिम भने हुने गर्दछ । त्यसैले हामी नेपालमा बसी इटाली वा अमेरिकामा बसेको जस्तो ‘भर्चुअल वर्ल्ड’ को कल्पना गर्दैगर्दा त्रास बढेको देखिन्छ । हामी ‘भर्चुअल वर्ल्ड’ मा होइन वास्तविक संसारमा फर्कनु पर्यो । त्यो भनेको नेपालको यथास्थितिमा, जहाँ त्यहाँको जस्तो अवस्था भने होइन ।

यसो भन्दै गर्दा हामी अहिले नै पूर्ण सुरक्षित छौं भन्न खोजेको भने होइन । भारतसँग जोडिएको खुल्ला लामो सीमाना नै हाम्रा लागि सबैभन्दा ठूलो चुनौती भएर बसेको देखिन्छ । वास्तवमा, कोरोना संक्रमितहरुको संख्या पनि राजधानी बाहिर नै बढ्दै गएको देखिन्छ । यसले पनि नेपाल–भारत सीमाना अझ व्यवस्थित गर्नु पर्ने भन्ने देखिन्छ । यसले तराई तथा पहाडी गाउँहरु कति असुरक्षित बन्दै गएको छ भनेर देख्न सकिन्छ । यस्तो अवस्थामा स्थानीय सरकारले केन्द्रिय सरकारसँग समन्वय गर्दै आवश्यक तदारुकता देखाउनु पर्दछ । स्मरण रहोस्, गत वर्ष डेंगु महामारी हुँदा पनि स्थानीय र केन्द्रीय सरकारबीच समन्वय नहुँदा छिटो नियन्त्रणमा लिन असफल भएको थियो । यस्तो गल्ती फेरि दोहोर्‍याउनु हुँदैन ।

अन्त्यमा, नयाँ वर्ष २०७७ को शुभ बिहानीमा यो लेख लेख्दै गर्दा कोरोना भाइरसविरुद्धको लडाइँमा ‘आशाको नयाँ किरण’ देखेको अनुभूति भइरहेको छ। तर पनि म एक चिकित्सक र नेपाली नागरिक भएको नाताले यो अनुभूति हामीले (काठमाडौंवासीले ) मात्र नभई नेपालका अरु भूभागमा रहने हरेक नेपालीहरुले पनि गर्ने अवसर पाउनु पर्छ । यसका लागि हामी सबै एकजुट भएर लड्नु पर्छ । यो लडाइँ हामीले अवश्य जित्ने छौं । यो नै पंक्तिकारको आत्मविश्वास हो ।


(डा.पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकुका क्लिनिकल रिसर्च युनिटका संयोजक हुन् ।)

प्रकाशित : वैशाख १, २०७७ २०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?