कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नयाँ सालमा नयाँ सोच

डिला संग्रौला

नयाँ वर्ष २०७७ लकडाउनमा मनाइरहँदा हामीले कोरोना भाइरसको तीतोमीठो अनुभूति बटुलिसकेका छौं । यो महामारीका कारण मानव जीवनका लागि यो समय पीडादायी छ ।

नयाँ सालमा नयाँ सोच

यसबाट पार पाउन हामीबीच समन्वय र सहकार्य हुनुपर्छ । संकटको यो घडीमा सबै जाति, धर्म र समुदायमा धैर्य, साहस अनि संक्रमणबाट आफू पनि बाँच्ने र अरूलाई पनि बचाउने शक्ति चाहिएको छ । नयाँ वर्ष नयाँ कार्यभारसहित आएको छ । अब आर्थिक, राजनीतिक, सामाजिक र सांस्कृतिक रूपान्तरण अनि विकासको नयाँ बाटो पहिल्याउनु छ ।


सामाजिक दूरी कम गर्न र संक्रमण फैलनबाट रोक्न लकडाउन जारी छ । हामी कोरोना भाइरस संक्रमणको दोस्रो चरणमा छौं । योसँग लड्न थुप्रै काम रफ्तारमा गर्न जरुरी छ । संक्रमितहरूको ‘कन्ट्याक्ट ट्रेस’ गरी ‘र्‍यापिड टेस्ट’ गरिनुपर्छ । संक्रमितलाई क्वारेन्टिनमा राख्ने अनि बिस्तारै लकडाउन खोल्दै जानुपर्छ । तर अझै पीपीई, परीक्षण किट, भेन्टिलेटर जस्ता अत्यावश्यक सामग्री नपुग्दा हामीमा मनोवैज्ञानिक असर परेको छ । यिनको यथाशीघ्र व्यवस्थापन हुनुपर्छ ।


यतिखेर हामीले दिनचर्या, खानपान परिवर्तन गर्नुपरेको छ । कार्यशैली र दिनचर्या बदल्न सकारात्मक सोचको आवश्यकता पर्छ । उच्च मनोबल र आत्मविश्वास भयो भने जस्तोसुकै कार्यमा पनि सफलता मिल्छ । पुरानो शैली र ढर्राले नयाँ गन्तव्यमा पुग्न सकिँदैन । आफूलाई बदल्न सके मात्र परिवार, समाज र राष्ट्रलाई बदल्न सकिन्छ । सबै क्षेत्रको मियो राजनीति हो । अनि सबै क्षेत्रको सुधारका लागि सक्षम, पारदर्शी, इमानदार र प्रतिबद्ध राजनीतिक नेतृत्वको आवश्यकता छ ।


कोरोना संकट राष्ट्रका लागि चुनौती र अवसर दुवै हो । राजनीतिक नेतृत्वले राम्रा काम गरेर जनतालाई आश्वस्त पार्नुपर्छ । आजसम्म नेताले भोटको राजनीति मात्र गरे, जनताको अपेक्षा र आशा साकार पार्ने नयाँ योजना र रणनीति बनाउन सकेनन् । अतिवादी चरित्र, चरम महत्त्वाकांक्षा, भ्रष्टाचारी नियत हावी हुँदा देश बन्न सकेन । अब विगतका कमीकमजोरीको आत्मालोचना गर्दै जनतालाई नयाँ विश्वास दिलाउन सक्नुपर्छ ।


कोरोना भाइरसले विश्वको अर्थतन्त्रमा दीर्घकालीन प्रभाव पर्नेछ । र, हाम्रो अर्थतन्त्रमा पनि गहिरो असर पार्ने निश्चित छ । अमेरिकामा २० प्रतिशतले रोजगारी गुम्ने अनुमान गरिँदै छ । कतार, युएई लगायतका खाडी मुलकबाट नेपाली श्रमिकलाई फर्काउन थालिएको छ । होटल र हवाईसेवा मान्छे यात्रु नपाएर बन्द छन् । उद्योग, कलकारखाना ठप्प छन् । साना व्यापारी र निम्नआय भएका श्रमिक तथा कर्मचारी पिल्सिएका छन् ।


कोरोनाकै कारण शिक्षा र स्वास्थ्य क्षेत्रमा जटिलता थपिएको छ । अब हामी आत्मनिर्भर बन्दै जानुपर्छ र यसका लागि कृषि, पर्यटन, पशुपालन र उद्योगलाई पुनर्जीवन दिनुपर्छ । कृषि वा पशुजन्य उत्पादनको बिक्रीमा सावधानी अपनाउनुपर्छ । तरकारी लगायतका घरेलु कृषि सामग्री बेच्न हटिया जाने र सामूहिक रूपमा बिक्री–वितरण गर्ने कार्य बन्द गर्नुपर्छ । सामाजिक दूरी कायम गर्ने खालको वितरण प्रक्रिया अपनाउनु आवश्यक छ ।


त्यस्तै, नयाँ आवश्यकता र प्राथमिकता अनुरूप हाम्रो विकास मोडल परिवर्तन गर्न जरुरी छ । ठूला विकास आयोजना, बाटाघाटा र पुल निर्माण जस्ता भौतिक पूर्वाधारमा भन्दा शिक्षा, स्वास्थ्य र कृषिमा बढी लगानी गर्ने विकास मोडल चाहिन्छ ।


हामीले सुविधाजनक अस्पताल बनाउन नसक्दा कोरोना संक्रमितलाई उपचार गर्न असजिलो भइरहेको छ । सेवा क्षेत्रलाई प्रविधिमैत्री बनाउन सके जनताले कष्ट झेल्नु नपर्ने पाठ कोरोना संकटले सिकाएको छ । त्यसैले सबै सरकारी र निजी सेवा, बैंकिङ प्रणाली, व्यापार, शिक्षा लगायतलाई सूचना प्रविधिसँग जोड्नुपर्छ ।

हाम्रो जैविक विविधता र प्राकृतिक सौन्दर्यले संसारभरका पर्यटकलाई आकर्षित गरिरहेको छ । कोरोना संक्रमणअघि पर्यटन क्षेत्रमा नेपालले अन्तर्राष्ट्रिय पहिचान बनाउँदै थियो । अब पर्यटन रणनीति बदल्नुपर्छ । लाखौं पर्यटक भित्र्याएर अर्थतन्त्र बलियो बन्ला, तर पर्यटकसँगै कोरोना भाइरस पनि भित्रिने डर हुन्छ । त्यसैले आन्तरिक पर्यटनमा जोड दिनुपर्छ । बाह्य पर्यटकलाई सकेसम्म प्राकृतिक स्थल घुमाउनुपर्छ । यातायात मानिसलाई एक ठाउँबाट अर्को ठाउँमा पुर्‍याउने साधन हो । तर संक्रमणबाट जोगिन सार्वजनिकभन्दा निजी सवारी वा साइकल प्रयोग गरेको वा पैदलै हिँडेको राम्रो ।


पैसा कमाउन विदेश पुगेका धेरै जनता स्वदेश फर्कंदै छन् । तिनलाई स्वरोजगार बनाउने आर्यआर्जनको बाटो खोलिनुपर्छ । अहिलेको हाम्रो शिक्षा प्रणाली आत्मनिर्भर हुने खालको छैन । त्यसैले अब स्वरोजगार बन्न सिकाउने शिक्षामा जोड दिनुपर्छ । र, प्रविधिमार्फत काम गर्न सिकाउने शिक्षा चाहिन्छ । शिक्षा व्यावहारिक र व्यावसायिक हुनुपर्नेमा जोड दिनुपर्छ ।


संग्रौला नेपाली कांग्रेसकी केन्द्रीय सदस्य हुन् ।

प्रकाशित : वैशाख १, २०७७ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?