१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

बेमौसमी बाजा

शरच्चन्द्र वस्ती

जनताका घरघरै प्रकट भएर प्रधानमन्त्रीले कोरोना नियन्त्रणमा सहयोग गर्न आग्रह गरेपछि मलाई लाग्यो— यो महान कार्यमा मैले पनि केही सहयोग गर्नैपर्छ । तर के गर्ने ?

बेमौसमी बाजा

जति सोच्ता पनि दिमागले ठम्याउन सकेन । तनाव बढ्दै गएपछि राति राम्ररी निद्रा पनि लागेन । भोलिपल्ट बिहान दूध किन्न जानुपर्‍यो भनेर घरबाहिर यसो लखरलखर के गर्न थालेको थिएँ, एउटा प्रहरीले ‘तपाईं कता ? उता, उता’ भन्दै डोरीले घेरा लगाएको सडकपेटीमा उभ्याइदियो । दुई घण्टाका लागि ।


देखें, २०–२५ जना पहिलेदेखि नै खर्किरहेका । सबैजसो जल्दाबल्दा व्यक्तित्व । सोचें— यो पनि राम्रै भयो । अब यिनीहरूलाई नै सोधेर पत्ता लगाउँछु, कोरोना नियन्त्रण गर्न के गर्नुपर्ला भनेर । ‘आउनोस्, आउनोस्, के छ हालखबर ?’ एक जना हात तेर्स्याउँदै मतिर लम्किए । मैले हतारहतार दुई हात जोडेर नमस्कार गरें । तेर्सिएको हात तल झार्दै उनी मुख बिगारेर भुत्भुताए, ‘फेरि छुवाछुत फर्काउने षडयन्त्र ! असमानता बढाउने मनुवादी हर्कत !’


‘सबैले सबैलाई नमस्कार गरेपछि कसरी असमानता बढ्छ ?’ सँगैका अर्काले पाखुरा सुर्के, ‘हाम्रो संस्कृति कति वैज्ञानिक रहेछ भन्ने दुनियाँले बल्ल थाहा पायो । अब पनि यसैमाथि आक्रमण ?’उनीहरूलाई जुध्न छोडिदिएर म दुई पाइला अगाडि बढें । एक जना बुद्धिजीवी सदावहार गम्भीर मुद्रामा थिए । मेरो प्रश्न सुनेपछि फ्रेन्च कट दारी सुम्सुम्याउँदै भने, ‘देशमा यत्रो समस्या आइपरेको छ, बुद्धिजीवीको कदरै छैन । अरू नभए पनि कोरोना सम्बन्धी गोष्ठी, सेमिनार त गर्न पाउनुपर्छ नि । लकडाउनको सदुपयोग गरेर दुइटा कार्यपत्र तयार गरिसकें । यत्रो मिहिनेत सित्तैंमा खेर जाला जस्तो भो ।’


नजिकै एक जना सांसद थिए । उनले भने, ‘हाम्रो त कुरै सुनिदैन । कोरोनाबारे अध्ययन गर्न संसदीय प्रतिनिधिमण्डल विश्व भ्रमणमा नगएसम्म यसको नियन्त्रण सम्भवै छैन । तपाईं लेखेर राख्नोस् ।’


उनको क्रान्तिकारी सोचबाट रोमाञ्चित भएर म अलिक पर्तिर उभिएका कर्मचारीसामु पुगें । उनले भने, ‘हामी पनि त काम गरिराखेका छौं नि । प्रोत्साहन भत्ता चाहिं डाक्टर र नर्सलाई मात्रै किन ? हामीलाई प्रोत्साहन चाहिंदैन ? कर्मचारीतन्त्रको मनोबल उच्च नभएसम्म कसरी हुन्छ कोरोना नियन्त्रण ?’त्यहीं उभिएका एक जना अघिल्लो दिनको ह्याङओभरमा रहेछन् । जीउ तन्काउँदै शुरू भए, ‘दारूपानीको आपूर्तिमा कमी नहोस् । लकडाउन सफल पार्न आफू त सधैं तयार ! झ्याप भएर सुतेपछि श्रीमतीको कचकच पनि कानमा नपर्ने । घरमा सधैं शान्ति । हाहाहा...’यति सुन्नु के थियो, दायाँतिर उभिएकी जंगी महिला जंगिइन्, ‘यही हो पुरुष मानसिकता भनेको ।


फेसबुक र ट्विटरमा पनि महिलामाथि नै मजाक, पुलिसले ठिंग्याउँदा पनि महिलामाथि नै व्यंग्य ? जहाँ पनि महिला हिंसा । कहाँ छ सरकार ? खालि कोरोना–कोरोना मात्र भनेर हुन्छ ?’


स्थिति गम्भीर हुने डरले म हत्तपत्त छेउ लागें । र, एक जना एनजीओकर्मीसँग ठोकिन पुगें । उनले भने, ‘कोरोना नियन्त्रणमा सहयोग गर्न हामी सधैं तयारै छौं । तर के गर्नु ? सरकारले नै चन्दा उठाउन बन्देज लगाएको छ । हाम्रो त पेशा नै धरापमा पर्ने भो । यसरी कसरी चल्छ ?’


त्यहींनेर तीन जना साहूजी टाउको जोरेर गुनगुन गरिरहेका थिए । एक जनाले भने, ‘बैंकको ब्याज मिनाहा नगर्ने हो भने देशको अर्थतन्त्र डुब्छ । हामी एकदमै चिन्तित छौं ।’ अर्काको भनाइ थियो, ‘यो असामान्य संकट हो । ब्याज मात्र होइन, साँवा समेत ५० प्रतिशत मिनाहा गर्नुपर्छ । नत्र कोरोनाले डुबाउँछ ।’


तेस्रा साहुजी भन्दैथिए, ‘यस्तो वेला ठूलाठूला सरकारी खरीदमा मात्र होइन, खुद्रा बजारमा पनि भाउ त बढ्छ नि । नत्र अर्थतन्त्र कसरी जोगिन्छ ?


एक छिन सडकमा कोही देखिएन । प्रहरी सुस्ताउन लागेको मौकामा मैले सोधें, ‘अब त मान्छे बाहिर निस्कन डराउन थाले होलान् नि ?’


छातीमा टाँसिएको नेमप्लेट एउटा हातले छोप्तै उसले भन्यो, ‘कहाँ सर, हिजोभन्दा आज झन् बढेका छन् । स्वाँठ–स्वाँठ डँडाल्नामा चार लठ्ठी नदिएसम्म कोही तह लाग्नेवाला छैनन् । तर हामीलाई अधिकारै छैन । यसरी त कहाँ हुन्छ कोरोना नियन्त्रण ?’


सडकमा तीन जना देखा परे । मास्क लगाएका । प्रहरी हतारहतार तिनीहरूतिर बढ्यो र म नजीकै ल्याएर खर्क्यायो । ऐतिहासिक पार्टीका नेताजीहरू रहेछन् । ‘कोरोना नियन्त्रण गर्न के गर्नुपर्ला ?’ मैले उही प्रश्न तेर्स्याएँ ।


नेता ‘क’ ले उपाय सुझाए, ‘तुरुन्त मध्यावधिमा जानुपर्छ । अर्को उपायै छैन ।’नेता ‘ख’ ले प्रतिवाद गरे, ‘छोड यार, यस्तो वेला को चुनाव लड्न जान्छ ? १७–१७ पल्ट लड्दा त केही हात लागेन । यो त राष्ट्रिय सरकार गठन गर्नुपर्ने वेला हो । हामीलाई पनि सरकारमा शामेल गर्नुपर्‍यो नि !’


नेता ‘ग’ ले हप्काए, ‘तपाईंहरू चूप लाग्नोस् भन्या । म हुँदाहुँदै किन बढी ? सभापति म कि तपाईं ? ...हेर्नोस् भाइ, हाम्रो पार्टी यो सरकारलाई सहयोगै गर्न चाहन्छ । गरिआएकै हो । तर त्यसका लागि पूर्व प्रधानमन्त्रीहरूको बैठक बोलाएर राष्ट्रिय सहमति कायम गर्नुपर्छ ।’


‘सहमति चाहिं केका लागि गर्ने ?’


‘कोरोना नियन्त्रण गर्नका लागि नि !’


‘अहिले चाहिं यसमा असहमत हुनुहुन्छ ?’


‘तपाईं चूप लाग्नोस्,’ उनले आफ्नो प्रिय शैलीमा औंलो ठड्याए, ‘राष्ट्रिय सहमतिको वातावरण भाँड्न खोज्ने ?’


प्रजातान्त्रिक शैलीमा चूप लाग्ने आदेश भएपछि बोल्ने कुरा भएन । म नमस्कार गरेर अर्को कुनामा पुगें । त्यहाँ त स्वयं प्रधानमन्त्रीकै सल्लाहकार खडेबाबा भएका रहेछन् । उनीसँगै थिए, एउटा हातमा तुलो बोकेर उभिएका पूर्वमन्त्री । नजीकै अर्का वरिष्ठ नेता पनि ।


मैले मुख खोल्नासाथ नेताजी बोल्न थाले, ‘द्वन्द्वात्मक भौतिकवादको नियम अनुसार मानव सभ्यता जब कृषि युगमा प्रवेश गर्‍यो, उसका आनीबानी र व्यवहार पनि...’

कृषि युगबाट कोरोना युगमा आइपुग्दासम्म घरमा भान्सा उठिसक्ने डर थियो । मैले उनको बोलीमा ब्रेक लगाएँ, ‘हिजोको प्रधानमन्त्रीको सम्बोधन... ?’


‘हेर्नोस्, त्यो उहाँको कुरा हो । त्यसमा मलाई केही भन्नु छैन । तर हाम्रो पनि एउटा हैसियत र मर्यादा छ भन्ने बिर्सन हुँदैन । औपचारिक रूपमा भन्नुपर्दा मलाई केही थाहा छैन । एउटै पार्टी भनेर के गर्नु ? ब्रेकफास्ट, लन्च वा डिनर मीटिङ नबोलाएको तीन महीना हुन लागिसक्यो । यसरी कोरोना नियन्त्रण हुन सक्छ भनेर कसैले सोच्छ भने त्यो निम्न पूँजीवादी मानसिकता तर्फको वैचारिक स्खलन हो भन्ने मेरो स्पष्ट र निर्णायक मान्यता प्रारम्भदेखि नै रहँदै आएको छ । यसका लागि म जुनसुकै बलिदान गर्न तयार छु ।’


मलाई हुलुक्क होला जस्तो भो । छातीमा हात राखेर तीनपल्ट लामो सास फेरें र सल्लाहकारतिर अभिमुख भएँ । उनले भने, ‘म अघिदेखि हेरिरहेको छु । तपाईं लकडाउनको मर्यादा उल्लंघन गर्दै हुनुहुन्छ । जोसँग पनि बोल्ने ? जसलाई पनि बोल्न उक्साउने ?’


‘लकडाउन भन्दैमा बोल्न पनि नपाइने ? स्वतन्त्रता पूरै कटौती भइसकेको हो र ?’


‘बेमौसमी बाजा नबजाउनोस्,’ तुलोधारीले उनलाई उछिने, ‘कसले स्वतन्त्रता कटौती गर्ने भन्या छ ? कहाँ भन्या छ ? कहिले भन्या छ ? भनेको प्रमाण देखाउन सक्नुहुन्छ ? नभनेको कुरा दुष्प्रचार गर्ने ? हेप्ने ?’


‘बोल्दा पनि किन हप्काउनु नि ?’ मैले आफ्नै रुन्चे आवाज सुनें ।


‘सचेत गराएकोलाई हप्काएको भन्ने ? सत्यतथ्य तोडमरोड गर्ने ?’ उनी कड्किए, ‘लकडाउनको अर्थ बुझ्नुभा’छ ? हामीले लागू गर्न खोजेको आंशिक लकडाउन होइन, पूर्ण लकडाउन हो । मन, वचन र कर्म तीनवटै एरियाको लकडाउन । के बुझ्नुभो ? अब त घैंटामा घाम लाग्यो होला नि ? कि अब पनि बुझ्न बाँकी छ ?’


म वाल्ल परें । बोली पनि हराएछ ।


‘तर हामी उदार छौं,’ उनी भन्दै गए, ‘पूरै स्वतन्त्रता कटौती गर्ने पक्षमा छैनौं । विरोधको ५० प्रतिशत कटौती गरे पनि समर्थनको ५० प्रतिशत स्वतन्त्रता त पूरै उपलब्ध गराउँछौं नि । त्यो अधिकार शतप्रतिशत के २०० प्रतिशत नै उपभोग गर्नोस् न । यसमा तपाईंलाई पूर्ण स्वतन्त्रता छ । योभन्दा बढी के चाहियो ?’


त्यही वेला प्रहरीले डोरी खोल्यो : ‘अब सब जना सोझै आ–आफ्नो घर जाने ।’


घर फर्किसक्ता पनि मेरो बोली फर्केको थिएन । चूपचाप खाना खाएँ र घप्लक्क सिरक ओढेर सुतें । लकडाउनको अर्थ थाहा पाइसकेपछि कोरोना नियन्त्रणका लागि एउटा जिम्मेदार नागरिकले पुर्‍याउन सक्ने योभन्दा ठूलो सहयोग के हुन्थ्यो र ?


भोलिपल्ट चोक–चोकमा ब्यानर टाँगिएको थियो : ‘आत्मा साक्षी राखी मन, वचन र कर्मले लकडाउनको पालना गरौं ।’

प्रकाशित : वैशाख १, २०७७ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?