स्वास्थ्यसेवाको केन्द्रमा नर्स 

मेनुका भण्डारी

१२  मे १८२० मा इटालीमा फ्लोरेन्स नाइटिंगेलको जन्म भयो । फ्लोरेन्सले क्रिमियन युद्घमा घाइते भएका सिपाहीहरूको मलमपट्टी गरी मृत्युदर ४२ बाट २ प्रतिशतमा झारेकी थिइन् ।

त्यसैले उनलाई क्रिमियन युद्घकी नायिका भनेर पनि चिनिन्छ । फ्लोरेन्सको योगदान कदर गर्दै उनको २०० औं जन्म जयन्ती पारी विश्व स्वास्थ्य संगठनले सन् २०२० लाई ‘इयर अफ द नर्स एन्ड मिडवाइफ’ को रूपमा मनाउँदै छ । कोभिड–१९ को विषम परिस्थितिमा ‘नर्स र मिडवाइफहरूलाई सहयोग गरौं’ भन्ने नारासाथ मनाउन लागिएको यो दिवसले सम्पूर्ण नर्सको महत्त्वपूर्ण भूमिकालाई अझ उद्गार गर्नेछ ।

नर्सहरूलाई कोरोना भाइरस परास्त गरी विश्वलाई तनावमुक्त बनाउने जिम्मेवारी छ । विश्व स्वास्थ्य संगठनका अनुसार नेपाल कोरोना भाइरसको उच्च जोखिम छ ।

त्यसमा पनि विभिन्न अस्पतालका आइसोलेसन वार्डहरूमा अग्रपंक्तिमा रहेर अहोरात्र खटिइरहेका नर्सहरू उच्च जोखिममा छन् । अन्तर्राष्ट्रिय मापदण्ड नपुगेका स्वास्थ्य सुरक्षाकवचको भरमा नर्सहरूले काम गरिरहनुपरेको छ । कति ठाउँमा स्वास्थ्य सामग्री पनि छैन । यस्तोमा असुरक्षित महसुस हुनु स्वाभाविक हो । मानव जातिकै अस्तित्वमाथि प्रहार गरिरहेको भाइरसविरुद्घको लडाइँमा अग्रपंक्तिमा लडिरहेका नर्स र स्वास्थ्यकर्मीको शक्ति र मनोबल उच्च पार्नुपर्छ ।

रोगसँग लड्न पर्याप्त औषधि र स्वास्थ्य सामग्री हुन आवश्यक छ किनभने बिनाहतियार सिपाही लड्न तयार हुँदैनन् । कोरोनाको महामारीमा स्वास्थ्यकर्मीहरू त्यसै पनि तनावमा छन् । तनाव कम गर्न स्वास्थ्यकर्मीलाई पर्याप्त स्वास्थ्य सामग्री र प्रोत्साहन अनि उचित वातावरण दिँदा बिरामीले गुणात्मक सेवा पाउन सक्छन् । कोराना भाइरसको संक्रमण र मृत्युदर बढेसँगै आम जनमानसमा मानसिक तनाव र अन्य रोगहरू पनि बढिरहेका छन् । डर, त्रास, भ्रम र चिन्ता उत्पन्न भइरहेका छन् । यसले संक्रमणलाई झन् जटिल बनाउँदै छ ।

चिन्ता र डर अत्यधिक भए शरीरले ‘स्ट्रेस हर्मोन’ उत्पन्न गर्छ र रोग प्रतिरोधात्मक क्षमतालाई झन् कमजोर पारी संक्रमणको जाखिम बढाउँछ । यस्तो बेला परिवारलाई समय दिने, संगीत सुन्ने, पुस्तक पढ्ने, स्वास्थ्यकर खानेकुरा खाने, योग वा व्यायाम गर्ने, सामाजिक सञ्जाल कम प्रयोग गर्ने, सही समाचार मात्र ग्रहण गर्ने, सकारात्मक सोच्ने र तनावलाई उत्पादनमूलक कार्यमा लगाउनाले तनाव व्यवस्थापन गर्न सकिन्छ । यस्तो संकटमा नागरिक समाजको पनि महत्त्वपूर्ण भूमिका हुन्छ । यो बेला नकारात्मक कुरा र व्यवहारहरूले मानसिक तनाव उत्पन्न हुने भएकाले स्वास्थ्यकर्मी, अस्पताल र जनताबीच नागरिक समाजले सकारात्मक संयोजकको भूमिका खेल्नुपर्छ ।

सरकारको भूमिका जनताको जीवनरक्षा गर्नु हो । आहत भएका जनतालाई राहत दिनु, स्वास्थ्य सेवाको व्यवस्था गर्नु, स्वास्थ्यकर्मीहरूको मनोबल बढाउनु, जनताका आधारभूत आवश्यकताको सहजीकरण गर्नु, पर्याप्त आइसोलेसन तथा क्वारेन्टिनको व्यवस्था गर्नु पनि सरकारको काम हो । यी कार्य गर्न विभिन्न तहका सरकारबीच समन्वयको खाँचो पर्छ । साथै अर्थ, खाद्यान्न र औषधि व्यवस्थापन समानान्तर रूपमा हुनुपर्छ किनभने स्वास्थ्य आफैं बहुआयामिक समन्वयबाट मात्र प्राप्त हुने हो । नेपाल नर्सिङ संघ, नेपाल चिकित्सक संघलगायत अन्य पेसागत संगठनहरूको भूमिका यो बेला महत्त्वपूर्ण हुन्छ ।

यी संगठनहरूले विपत् व्यवस्थापनका लागि संयोजन गर्ने र सरकारलाई सल्लाह तथा परामर्श दिने काम गर्नुपर्छ । अहिले एक ठाउँमा भेला भएर काम गर्न सम्भव छैन, त्यसैले टेलिफोन, रेडियो, एफएम, पत्रपत्रिकाको माध्यमबाट सूचना, विचार र सल्लाहहरू आदानप्रदान गर्नुपर्ने भएको छ । विश्वका सुविधासम्पन्न राष्ट्रहरूका लागि समेत चुनौती बनेको कोरोना हाम्रोजस्तो विकासोन्मुख देशले सहजै पार लाउन सम्भव छैन ।

कोरोना भाइरस नियन्त्रणका लागि हामी लकडाउनमा छौं । यो अवस्थाले आम जनताका अन्य स्वास्थ्य समस्याहरू ओझेलमा परेका छन् । कोरोना महामारी ज्यामितीय गतिमा बढ्दै जाने भएकाले प्राथमिकतामा राख्नु वा पर्नु स्वाभाविक हो ।

तर, जनताका अन्य स्वास्थ्य समस्याहरूलाई नजरअन्दाज गर्न मिल्दैन । स्वास्थ्य क्षेत्रमा कोरोनाको कारण पनि थप भार परेको छ । श्वासप्रश्वाससम्बन्धी गम्भीर समस्या भएका बिरामीलाई भेन्टिलेटर सुविधासहितको विशेष अस्पताल तथा दक्ष स्वास्थ्यकर्मीको आवश्यकता बढी छ । नर्सहरू स्वास्थ्य सेवा प्रणालीका मुटु हुन् । र, परिवर्तनका संवाहक पनि । नर्सहरूले अस्पताल तथा स्वास्थ्य संस्थामा चौबीसै घण्टा सेवा पुर्‍याइरहेका हुन्छन् ।

अत्यन्तै जटिल अवस्थाका बिरामीलाई नर्सहरूले नै पुनर्जीवन दिन्छन् वा बचाउँछन् । बालबालिकाको पोषण अवस्था सुधार गर्नु, गुणात्मक स्वास्थ्य शिक्षा दिनु, लैंगिक समानता, वातावरणीय सरसफाइ, शुद्घ खानेपानी, आर्थिक समृद्घिलगायतका क्षेत्रमा नर्सको भूमिका हुन्छ । यो महायुद्घमा आँखाले देख्न नसकिने सूक्ष्म जीवाणु एकातिर र सम्पूर्ण मानवजाति अर्कोतिर उभिएको छ । नयाँ खालको स्वास्थ्य समस्या भएकाले कोरोनासम्बन्धी पर्याप्त ज्ञान र अनुभव छैन ।

नर्सहरूले भोग्नुपर्ने कठिनाइ कम गर्न सरकारले लगानी बढाउनुपर्ने हुन्छ । विश्व स्वास्थ्य संगठनले ‘सपोर्ट नर्सेज एन्ड मिडवाइफ’ भनी विश्वलाई आह्वान गरिरहेको छ ।

सरकारले सेवामा खटिने डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीहरूलाई सुरक्षाकवचसहित अतिरिक्त भत्ता र स्वास्थ्य बिमाको निर्णय गरिसकेको छ । तर, हाम्रा सरकारी अस्पतालका सेवाहरू परम्परागत रूपमा चल्नु, पर्याप्त वैज्ञानिक औजारहरू नहुनु, विनियोजित बजेटअनुसार संरचना परिवर्तन नहुनु, दरबन्दीअनुसारका दक्ष स्वास्थ्यकर्मीहरू नहुनु र सरकारी मनोविज्ञानमा काम हुनुले यस्तो संकट आउँदा बढी विचलित भइन्छ ।

त्यसैले यो परिस्थितिलाई अवसरमा परिवर्तन गरी सरकारी सेवाको गुणस्तरमा व्यापक बढाउन सक्नुपर्छ । तीन तहका सरकार, स्वास्थ्यकर्मी र सरोकारवाला निकाय एकजुट भई उच्च मनोबलका साथ कार्य गर्ने हो भने यो महामारी परास्त हुनेछ । र, विश्व स्वास्थ्य संगठनको नारा पनि सार्थक हुनेछ ।

भण्डारी नेपाल नर्सिङ संघ जिल्ला कार्यसमिति, मोरङकी सचिव हुन् ।


प्रकाशित : चैत्र ३०, २०७६ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?