२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

अर्थतन्त्रमा लकडाउनको प्रभाव

हामीले परनिर्भरता घटाउँदै जाऔं । सुखद भविष्यका लागि आत्मनिर्भर बनौं । खाद्य सुरक्षाका लागि अत्यावश्यकबाहेक अन्य खाद्य पदार्थको आयात घटाऔं ।
सौरभ ज्योति

कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले देशभरि लकडाउन गरेको छ, जुन सही र आवश्यक कदम हो । आम नागरिकले पनि यसलार्ई समर्थन गर्दै घरै बसी आफू सुरक्षित रहँदै अरू व्यक्तिलाई समेत सुरक्षित राख्नमा सहयोग गर्नुपर्छ ।

अर्थतन्त्रमा लकडाउनको प्रभाव

लकडाउनकै अवधिलाई सरकारले सम्भावित संक्रमितको व्यापक खोजी र परीक्षणमा सदुपयोग गर्न सक्नुपर्छ । यो भाइरसलाई नागरिकमा फैलिन नदिन ‘ट्रेसिङ, ट्र्याकिङ, टेस्टिङ’ लाई राष्ट्रव्यापी बनाउनु आवश्यक छ । संक्रमितहरूको पहिचान गरी ‘आइसोलेसन’ मा राखेर उपचार गर्न सफल भयौं भने त्यसपछि सबै सुरक्षा र सावधानीका उपाय अपनाएर लकडाउन हटाई दैनिक क्रियाकलाप पुनः सुचारु गर्न सक्नेछौं ।


संक्रमितहरूको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरूका लागि विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डअनुसारका मास्क, पन्जा, पीपीई लगायतको उपलब्धता पनि सुनिश्चित गर्नुपर्छ, तब मात्र स्वास्थ्यकर्मीहरू पनि सुरक्षित रहनेछन् ।


सरकार यस्ता स्वास्थ्य सामग्री र सुरक्षा उपकरणहरूको खरिद तथा वितरणमा चनाखो हुनुपर्छ । साथै संकटको यो घडीमा सहयोग गर्न इच्छुक र प्रयासरत निजी क्षेत्र तथा सबै

सरोकारवालासँग सरकारले समन्वय गर्नुपर्छ ।


यस्तो वैश्विक महामारीबाट पार पाउनु देशविशेषको वशको कुरा होइन । यही भएर अहिले सबैजसो देशबीच समन्वय र सूचना आदानप्रदान बाक्लिएको छ । मानव जातिकै स्वास्थ्यमाथि आइपरेको यस्तो संकटको सामना एक्लै गर्न सकिने पनि होइन । नेपालमा समेत यसको नियन्त्रणका लागि सबै क्षेत्र र निकायको अग्रसरता जरुरी छ । संघीय सरकारले मात्र होइन, प्रदेश र स्थानीय सरकारले पनि आआफ्ना क्षमताको उच्चतम उपयोग गर्नु अपरिहार्य देखिएको छ ।


चीनमा यो महामारी रोकथामका लागि आधुनिक प्रविधिको प्रयोग महत्त्वपूर्ण साबित भएको छ । उसले अनुहार पहिचान गर्ने प्रविधि तथा विच्याट लगायतका माध्यमबाट कसैलाई भाइरस लागेको वा नलागेको पत्ता लगाई यो संक्रमणलाई विस्तार हुनबाट रोक्न सकेको छ । चीनलाई दूर सञ्चार तथा प्रविधिको प्रयोगले कोभिड–१९ को नियन्त्रण्मा ठूलो मद्दत पुगेको अनुभव गर्न सकिन्छ । दक्षिण एसियाली राष्ट्रहरूमध्ये नेपालमा मोबाइल तथा इन्टरनेट प्रयोगकर्ताको संख्या तुलनात्मक रूपमा बढी छ । हामीले आफ्नो यो सबल पक्षका माध्यमबाट भाइरस प्रभावित व्यक्तिहरू पत्ता लगाउन, पहिचान गर्न तथा सोहीअनुसारको व्यवस्थापन गर्न सक्नुपर्छ ।


दिनहुँ हजारौंको ज्यान लिइरहेको यो संक्रमणको अहिलेसम्म भरपर्दो उपचार पत्ता लाग्न सकेको छैन । हामी संक्रमितको प्राथमिक उपचार त गर्न सक्छौं, तर यसलाई पूर्ण रूपमा उन्मूलन गर्न सक्दैनौं । यसैबाट थाहा हुन्छ, कोरोना भाइरस मानव जातिका लागि कति खतरा बनिरहेको छ । यो भाइरसलाई गुणात्मक रूपमा फैलिन नदिन, सानो दायरामै सीमित राख्न राष्ट्रिय स्तरमै व्यापक परीक्षण हुन जरुरी देखिएको छ । अर्कातर्फ, भविष्यमा आइपर्ने यस्तै प्रकोप तथा महामारीको सक्षमतापूर्वक सामना गर्न राष्ट्रले आफ्नो क्षमताको विकास तथा विस्तार गरी औषधीय अनुसन्धान तथा अन्वेषणमा ध्यान दिन पनि आवश्यक छ ।


कोरोना भाइरसले लामो समयसम्मका लागि विश्वलाई नै असर पार्ने देखिएको छ । हामी नेपालीको जीवनशैली र कार्यशैलीमा पनि परिवर्तन आउने पक्का छ । यसले घरजग्गाको कारोबारलाई प्रभावित बनाउनेछ, किनभने कार्यालय सञ्चालनका लागि ठूलो क्षेत्रफलको आवश्यकता नहुन सक्छ ।

विशेष गरी पर्यटन, होटल व्यवसाय, हवाई क्षेत्रमा यसको असर तुरुन्तै देखिनेछ । यसले गर्दा सानाठूला सम्पूर्ण उद्योग तथा व्यापारमा समेत नराम्रो प्रभाव देखिनेछ ।


यो महामारीबाट जोगिन हामी आफैंले सक्दो प्रयास गर्नुपर्छ । यस बेला सबैजसो देश आक्रान्त छन् र तिनलाई आफ्नै नागरिक बचाउन हम्मे परेको छ । ती हामी वा अरू कसैलाई मद्दत गर्ने अवस्थामा छैनन् । सधैंझैं अहिले पनि विदेशी सहयोगकै मुख ताक्ने हो भने हामीलाई कसैले बचाउन सक्दैन ।

तसर्थ अब हामीले परनिर्भरता घटाउँदै जाऔं । सुखद भविष्यका लागि आत्मनिर्भर बनौं । खाद्य सुरक्षाका लागि अत्यावश्यकबाहेक अन्य खाद्य पदार्थको आयात घटाऔं । सरकारको सहयोग पाएका उद्योगहरूमार्फत स्थानीय स्तरमै प्राथमिकताका साथ औषधिजन्य वस्तु तथा स्वास्थ्य सामग्री उत्पादन गर्ने वातावरण बनाऔं । मेडिकल कलेज तथा संघसंस्थालाई प्रोत्साहित गरी गुणस्तरीय तथा तालिमप्राप्त मानव संसाधन उत्पादन गरौं ।


अहिले देखिएको संकट हाम्रो स्वास्थ्य क्षेत्र सुधार्ने सुनौलो अवसर पनि हो । स्वास्थ्य संस्थाको संरचना निर्माणलाई प्राथमिकता दिई सरकारले अस्पताल, स्वास्थ्य उपकरण निर्माण गर्ने उद्योग लगायतलाई अत्यावश्यक वस्तुअन्तर्गत राखी त्यस क्षेत्रसँग सम्बन्धित सबैलाई प्रोत्साहित हुने वातावरण पनि बनाउनुपर्छ । प्रदेशपिच्छे भर पर्दा स्वास्थ्य संस्था स्थापना गर्नुपर्छ । यस्तो अवस्थामा पनि हामीले आफूलाई सुधार गर्न सकेनौं भने भविष्यमा फेरि यस्तै संकट आइलाग्दा पुनः समस्यामा पर्नेछौं । भविष्यमा आइपर्ने यस्तै संकटको सामना गर्न राष्ट्रिय संकटकालीन तथा आपत्कालीन योजना निर्माण हुन जरुरी देखिएको छ । नत्र हामी कहिल्यै अग्रगमनतर्फ लाग्न सक्दैनौं ।

सरकारले आर्थिक क्षेत्रलाई पुनर्जीवन दिन ठोस कार्यक्रम ल्याउन जरुरी छ । बैंक ब्याजदर घटाउनुपर्छ । रोजगारदाताहरूको आर्थिक समस्या समाधानका लागि मासिक किस्ता रकम, साउँ ऋणको किस्ता रकम तथा ब्याजसमेत पुँजीकरण गर्नुपर्छ । सोको भुक्तानीको म्याद बढाई सो रकमलाई अन्तिम किस्ता मान्नुपर्छ । साथै व्यक्ति, परिवार तथा व्यापारका लागि बिमा योजनालाई प्रभावकारी बनाउनुपर्छ । आइपरेको संकटसँग जुझ्न तथा कमभन्दा कम क्षति हुने व्यवस्था गर्न, आपूर्ति व्यवस्था सहजीकरण गर्ने दिशामा कलकारखाना तथा उद्योगहरूलाई सुशिक्षित तथा सशक्त बनाउन आवश्यक तालिमको व्यवस्था गर्ने गरी कानुन निर्माण तथा सोको तर्जुमा गर्नुपर्छ ।


हामी सबैले सरकार र समाजलाई सहयोग तथा समन्वय गर्ने समय हो यो । सरकारले पनि यस्तो अवस्थामा नागरिक सुरक्षाका लागि क्रियाशीलता बढाउनुपर्छ । हामी नेपालीले प्रकृतिबाट जहिले पनि सकारात्मक रहन जानेका छौं । हामी भविष्यप्रति आशावादी र सकारात्मक रहने गर्छौं र अहिलेको अवस्थामा यस्तो स्वभावको झन् आवश्यकता छ । नेपालमा आजसम्म जति जना संक्रमित भेटिएका छन्, त्यो तुलनात्मक रूपमा एकदमै कम संख्या हो र यही यथार्थ भए हाम्रा लागि धेरै राम्रो हो । व्यक्तिगत रूपमा म पनि चाहन्छु— यही यथार्थ होस् । यही अवस्थामा हामीलाई उपयुक्त योजनाको खाँचो छ । राष्ट्रिय संकट व्यवस्थापन योजनाका माध्यमबाट वा नयाँ ऐन ल्याएर भए पनि आर्थिक पुनर्जीवन योजना ल्याएर भविष्यमा परिवर्तन हुन सक्ने अवस्थाप्रति सचेत हुन आवश्यक छ ।


अब तत्कालै हामीले आफ्नो प्रयासलाई अत्यावश्यक वस्तुहरूको मौज्दात तथा वितरण प्रणालीको विकासमा केन्द्रित पनि गर्नुपर्छ ।

विद्यमान महामारीबाट नागरिकलाई बचाउन तथा त्योभन्दा पनि खतरनाक-न्यून आय भएका समाजका पिछडिएका वर्गहरूमा भोकमरीको—अवस्था आउन नदिनसमेत यथाशीघ्र पहल गर्नुपर्छ ।

संकटको यो घडीमा हामी सबै सकारात्मक सोचका साथ, दिल र दिमाग सँगै राखेर एकताबद्ध भई कर्तव्यनिष्ठ नागरिकका हैसियतमा अगाडि आऔं मिलेर काम गरौं ।

प्रकाशित : चैत्र २८, २०७६ ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?