२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

डेटलाइन तराई : जानु र फर्किनुको अन्तर

असंगठित मजदुरहरू— जहाँ उनीहरूले जीवनभर रगत–पसिना खर्चिए, आपत् पर्दा त्यहीँ नै ओत लाग्न पाएनन् । कामबाट छुटाइए, धपाइए, लखेटिइए, असुरक्षाको कारक ठहर्‍याइए 
चन्द्रकिशोर

थातथलो छाड्न सितिमिति कोही चाहँदैन । लोकमनोविज्ञान पनि लामो समयसम्म त्यहीअनुसार बन्यो— डिह (मूलथलो) मै गुजारा गर्ने, साग र सिस्नु खाएर पनि त्यहीँ बाँच्ने । डिहमै जीविकाका आधारहरू खडा गरिए ।

डेटलाइन तराई : जानु र फर्किनुको अन्तर

यसैअनुसार लोकसाहित्य रचिए । स्थानविशेषका भिन्न पहिचान बन्दै आए । नेपाली समाजमा जत्तिकै विविधता छ, यहाँका जीविका प्रणाली र अर्थतन्त्रका आधारभूत प्रकृतिमा पनि । कालान्तरमा भने स्थानविशेषमा विकसित अर्थतन्त्र किनारामा धकेलिँदै गएको छ, जसको आफ्नै अर्थ राजनीति छ । बसाइँसराइ वा पलायन नियति बनेको छ । थातथलो छाडेर बाहिर कामको खोजीमा जानुलाई राम्रो मानिन थालिएको छ । यस्तो अवस्था एकै दिनमा विकसित भएको भने होइन । अहिले कोरोना संकटका कारण घरफिर्ती प्रक्रिया तीव्र बनेसँगै सबैभन्दा तल्लो तहमा दबिएका अदृश्य मान्छेहरू अचानक सबैको नजरमा आएका मात्रै हुन् । तिनीहरूको पीडा, संघर्ष, गरिमा र सुरक्षाको कुरा उठ्न थालेका हुन्, जुन कोरोना संकटको उज्यालो पाटो हो ।


घरफिर्ती आफैंमा अर्को संकटको पदचाप हो । दक्षिण एसियाका एक प्रसिद्ध कवि गोरख पाण्डेयको एउटा कविता छ— ‘स्वर्ग से विदाई’ । यो असंगठित क्षेत्रका मजदुरहरूको दुनियाँको कविता हो जसमा एउटा श्रमिक कुनै अपरिचित थातथलोबाट आउँछ र सहरी क्षेत्रलाई आफ्नो सीप–श्रमले जीवन दिन्छ । र, जुन दिन उसको उपयोगिता समाप्त हुन्छ त्यतिखेर उक्त असंगठित मजदुर फेरि कुनै अँध्यारो गोलचक्करमा धकेलिन्छ । रोजगारीको अस्थायी स्वरूप, सूचनाको कमी, साना वा छरपस्टिएको व्यवसाय आदिका कारण यस्ता मजदुरहरूले आफूहरूलाई संगठित गर्न पाएका हुँदैनन् । अहिलेको घरफिर्तीको अन्तर्य यही हो ।

असंगठित मजदुरहरू— जहाँ उनीहरूले जीवनभर रगत–पसिना खर्चिए, आपत् पर्दा त्यहीँ नै ओत लाग्न पाएनन् । कामबाट छुटाइए, धपाइए, लखेटिइए, असुरक्षाको कारक ठहर्‍याइए । केन्द्रीकृत सत्ताको पर्याय रहँदै आएको काठमाडौं, जसले संघीय परिवेशमा पनि आफ्नो प्रभुत्वलाई निरन्तरता दिँदै आएको छ, त्यहाँबाट लामो दूरीको कष्टपूर्ण पैदल यात्रा गरी आफ्नो थातथलो फर्किनेहरूको लामले देखाएको तथ्य भनेको गोरख पाण्डेयको उक्त कविताजस्तै हो । नेपालभित्रबाटै एक–अर्को ठाउँमा फर्किनुपर्दा जुन खालको त्रासदी भुइँमान्छेहरूले भोगे, त्योभन्दा कष्टकर अवस्था भारततिरबाट फर्किनेहरूको भयो । यसले नेपालभित्रको अर्को नेपालको मुहार देखायो ।

कोरोना संकट एक दिन इतिहास बन्नेछ । तर जुन भावभूमिमा टेकेर भुइँमान्छेहरू घर फर्किए, त्यससँग गाँसिएका प्रश्नहरू अतीत हुनेछैनन् । उत्तर–कोरोनाकालका लागि ती यक्षप्रश्न बन्नेछन् । अहिले धेरै विषय कोरोना क्रन्दनमा ओझेलमा परेका छन् । डिहमै दुःख सुख गरी जीवनयापन गरिरहने सामाजिक मनोविज्ञानमा हस्तक्षेप गर्दै ‘पलायन’ को अर्थराजनीतिलाई राज्यले जसरी अभिभावकत्व दियो आज घरफिर्तीका घटनाले उसको स्वार्थ उजागर गरिदिएकोछ । डिह छाडेर ‘जानु’ र ‘फर्किनु’ केवल विपरीतार्थक शब्द होइनन्, यी आफैंसँग न्याय खोजिरहेका अर्थराजनीतिका सवालहरू हुन् । कुनै बखत ‘बाहिरिनु’ लाई राम्रो मानिएन, पछि त्यही नै एउटा सपना बन्यो । पलायन पनि ‘आशा’ मा बदलियो । बाहिरिनेहरू परिवारका लागि भरोसाका स्तम्भ बने । अरूका लागि समेत उदाहरणीय भए । तर, अहिलेको घरफिर्तीले सबै सपना उडायो । आज घर फर्किएकाहरू थकित छन् । उनीहरूमा हताशा र निराशा देखिएको छ । अब कसरी बाँच्ने ? उनीहरूलाई चिन्ताले सताएको छ ।


अहिले गहुँ र रबी फसलको कटाइ जोडतोडले चल्नुपर्ने हो । ‘लकडाउन’ ले खेती रोकिएको छ । प्रधानमन्त्रीको पछिल्लो सम्बोधनमा खेत–खलिहानलाई खुकुलो बनाउने कुरा आउला भन्ने थियो तर त्यसभित्र भुइँतहको सरोकार भेटिएन । अघाएको र गुहार लाउँदै गरेको मान्छेहरूबीच फरक गर्न सरकारले सिकेको छैन । भुइँतहबाटै उठेको नेतृत्वले सबैभन्दा पहिला भुइँमान्छेलाई नै पन्छाउन खोज्नु वर्तमानको त्रासदी हो । ‘उचित दूरी’ को नारा र खेतीका लागि आवश्यक बन्दोबस्तीको ढाडस प्रधानमन्त्रीबाट हुन सक्थ्यो, त्यो भएन । खेतीकिसानी यस्तै लकडाउनमा परिरहे मुलुकको कृषि ‘लकअप’ हुन्छ, यसको हेक्का सरकारलाई छैन ।

‘सेरभरि सतुवा बरिस दिन खईबो, सैयाँ के जाए नदेबो विदेशवा ... ।’ यस्ता लोकगीत फेरि ब्युँझनुको आशय के हो ? मितव्ययी भएर जीवन धानौंला भन्ने भाव जुन उर्लिंदै छ, त्यो क्षणिक हो कि स्थायी ? ‘सेरभरि सातुले सालभरि खाउँला’ भन्ने जुन भावभूमि र सोच उत्पन्न हुँदै छ, यसको मर्म के हो ? कोरोनाको कहर रहुन्जेलका लागि हो कि पछिसम्मलाई ? अहिले लाखौं मान्छे फर्किएका छन्, ती सबैसँग फरकफरक कथा भेटिए पनि केही समस्या साझा छन् । अब यिनको रोजगारी कसरी चल्नेछ ? उनीहरूलाई गाउँ देहातमै भरपर्दो तरिकाले कसरी रोक्न सकिन्छ ? अहिलेको अवस्था सामाजिक सुरक्षा अभावका कारण उत्पन्न भएको हो । राज्यले निर्माण गरेको असमान आधारभूत संरचनाको उपज हो ।


डिह फर्किएका अधिकांश काम नगरी बसेका छन् । थोरबहुत खेतीमा संलग्न हुन सक्थे, तर यसमा पनि लकडाउन चलेको छ । बहुतहका सरकारले वितरण गर्न खोजेको राहत तिनीहरूसमक्ष पुग्न नपाउँदै छिनाझप्टीमा परेको छ । यस्तो राहत हात पार्ने तीन ‘म’ पात्रहरू छन्— मुँहजोर, मतलबी र महकौआ । राहत वितरण आफैंमा एउटा महाभारत हो । मुँहजोर ती हुन् जो बोल्न सक्छन्, जसले स्थानीय सरकारबारे थाहा पाइराखेका हुन्छन् । मतलबीभित्र राजनीतिक जमातका खास मान्छेहरू पर्छन्, जो राहत वितरण हुने क्षेत्रमा हैकम जमाएका नेताहरूको आश्रयमा बाँचेका हुन्छन् । महकौआभित्र वर्चस्वशाली सामाजिक–आर्थिक जमातका छन् । यी तीन जमातबाट बचेखुचेका दाना मात्रै असली पात्रको मुखमा पर्ने हुन् । राहत वितरणका नाममा हुने राजनीतिक खेललाई यसपटक पनि सच्याउन सकिएन । राहतलाई पेस्की मजदुरीका रूपमा लिएर सामान्यकालमा तिनलाई विकासका काममा संलग्न गराउने रणनीति स्थानीय तहले लिन सक्यो भने भाँडभैलो रोक्न सकिन्छ । अशक्त र वृद्धवृद्धालाई प्राथमिकतामा राख्नु त छँदै छ ।


चल्तीका बाबाहरू देहाततिर आफ्नो पसल चलाउँदै भन्छन्, ‘करम गति टारे नाहीँ टरी ।’ यसरी धार्मिक पसलेहरू भाग्यवाद बेच्दै छन् । केही भुइँमान्छेहरू ‘जो हुनेवाला छ, त्यो बेहोर्नु नै पर्छ’ भनी सहन तयार देखिन्छन् । तर, भुइँयथार्थले भुइँमान्छेहरूलाई टाउकामा हात राखेर बाँच्न दिँदैन । बाहिर कमाउन जाँदा लिएको ब्याजलाई त लकडाउन लागेको छैन । साहूको कागज त लकडाउनमा छैन । बैंकबाट लिएको ब्याजमा पो हारगुहार चल्ला, तर सुदखोर साहूहरूबाट लिइएको चक्रवृद्धि ब्याजको के हुने ? जो जहाँबाट काम छाडेर हिँडे तिनको पारिश्रमिकको बक्यौता कसरी असुल्ने ? यी सबै पीडा नबुझीकन घरफिर्तीको अर्थ बुझ्न सकिँदैन । घर नफर्किए पनि मर्ने, फर्केपछि झनै मर्ने ! अहिले चलेको दुश्चक्र यही हो । यतिखेर खुब सुनिन्छ— कोरोना भाइरसले कुनै धर्म, जाति, लिंग, उमेर, देश अछूतो राखेको छैन । यसको त्रासमा धनी–गरिब समान रूपले बाँचेका छन् । तर, कोरोनाले उत्पन्न गरेको संकटले वर्गभेदलाई झन् कडा र कठोर बनाउने देखिएको छ । उत्तर–कोरोनाकालमा भुइँमान्छेहरू झन् भासिँदै जानेछन् ।


सहरसँगको सपना भत्किँदै छ । गाउँमा कृषि क्षेत्रमा रोजगारीको अवसर साँघुरिएको छ । मूल्यवृद्धि अकासिँदै छ, देहातमा त्यसको छेकबार लाउने कोही छैन । भकारीभरि खाद्यान्न भएकाहरू अहिले बेच्न चाहँदैनन् । उनीहरू लकडाउन हटेपछि महँगोमा बेच्ने पर्खाइमा छन् । बाहिरबाट गाउँमा आपूर्ति ठप्पप्रायः छ । सरकारको ध्यान सहरी क्षेत्रतिर बढी छ । भुइँमान्छेसँग सञ्चित खाद्यान्न छैन, अब के गर्ने ? विपन्न दलित बस्तीमा चुलो कसरी बल्दै छ ? हिजो खेतीकिसानीमा अवसर नपाएकाहरू, उचित ज्याला नपाएकाहरू, साहूको ऋण तिर्न खोज्नेहरू, गाउँमा काम गर्न हच्किने कथित उच्च जातकाहरू, सीपले स्थानीय बजारमा खपत हुने स्थिति नभएकाहरू, पारम्परिक पेसाले नथेग्ने भएकाहरू सहर पसेका थिए, ती सबै आज गाउँ फर्किएका छन् । यस्तोमा सवाल उठ्छ, के थातथलोको विद्यमान हालतले यी सबैलाई थेग्न सक्छ ? लकडाउनको प्रत्येक साता आफैंमा फरक–फरक अध्याय हो । हरेक थपिएको अध्याय अझ पीडादायक हुँदै छ ।


‘कहाँ जाई ? का करी ?’ सहरले पठाइसक्यो, गाउँ थेग्न तयार छैन । डिहमै कारोबार, रोजगारी र कमाइका साधनहरू खडा गर्न नसकिने होइन । त्यसो भएमा अर्थव्यवस्थालाई नयाँ तागत मिल्न सक्छ । कोरोना भाइरसले भासिँदै गएको विश्व अर्थव्यवस्थामाझ नेपाली समाज आफ्नै भुइँमा टेकेर जोगिन सक्छ । अहिलेको घरफिर्ती भनेको कमाउन बाहिरिनु र बिदामा फर्किनुजस्तो सामान्य क्रिया होइन । तर, जब सत्ताका नजरमा भुइँमान्छेहरू नागरिक कम, मतदाता बढी देखिन थाल्छन्, त्यतिखेर यी मन्थनहरू अरण्यरोदन मात्रै हुन जान्छन् । के गर्नु !

प्रकाशित : चैत्र २७, २०७६ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?