३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

खाद्यान्न अभाव टार्न फुड बैंक

सीता ढुंगाना

संसारभरका मानिसहरू दैनिक खाद्यान्न जोहो गर्न कुनै न कुनै काममा जोडिएका हुन्छन् । कोही आफू स्वयं उत्पादनमा जोडिएका हुन्छन् भने कोही व्यापार–व्यवसाय वा ज्याला मजदुरीमा आबद्ध हुन्छन् ।

खाद्यान्न अभाव टार्न फुड बैंक

यसरी पारिवारिक आम्दानीमा जोडिने व्यक्तिहरू सामान्यतया १८–६० वर्ष उमेर समूहका हुन्छन् । नेपालसहित केही देशमा परिवारका केही सदस्यले कमाएको बसेर खाने उमेर समूहको संख्या पनि उल्लेख्य हुन्छ । यस्तो भए पनि सामान्य अवस्था रहँदासम्म त खाद्यान्न अभाव नहुन सक्छ, तर जबजब उत्पादन घट्न थाल्छ वा कुनै संकट आउन थाल्छ वा कुनै महामारी फैलिन्छ, तब समस्या सुरु हुन्छ ।


गरिबीको अनुपात बढ्नुमा पनि खाद्यान्न संकट र भोकमरी जोडिएको हुन सक्छ । नेपालमा मात्र करिब २८ प्रतिशत मानिस गरिबीको रेखामुनि छन् । विश्वमा करिब ९ जनामा १ जना अहिले पनि भोकै सुत्नुपर्ने अवस्था छ । गरिबीको परिणति भनेको कुपोषण वा मृत्यु नै हो । पछि आउन सक्ने खाद्य संकटलाई आकलन गरेर राज्य, कुनै निकाय वा तहले फुड बैंक स्थापना गर्ने हो भने अभावका बेला संकटमोचन गर्न सकिन्छ । फुड बैंकमा अत्यावश्यक खाद्य जिन्सी सामग्रीहरू भण्डारण गर्नाले संकट वा गरिबीका कारण भोकमरीमा पर्न सक्ने वर्गलाई तत्काल उद्धार गर्न सकिन्छ । फुड बैंकमा हुनेले ल्याएर राख्छन् त नहुनेले त्यहीँबाट चुलो बल्न नसक्ने अवस्थालाई टार्छन् । प्रायः संकटमा पहिले प्रभावित हुने वर्ग हो— आफ्नो उत्पादनबाट खान नपुग्ने तथा असंगठित क्षेत्रमा कार्यरत दैनिक ज्यालादारी मजदुर ।


फुड बैंकको अभ्यास संसारमा सबैतिर भएको पाइँदैन । हाम्रो देश र विश्वमा कतैकतै हुनेले जम्मा गर्ने र नहुनेले त्यसैबाट छाक टारेर तत्कालको अभाव पूर्ति गर्ने प्रचलन छ । नेपालमा केही समयअघिसम्म मानिसहरूले खाना पकाउने बेला भाँडामा हालेको अन्नबाट एक मुठी झिकेर निश्चित समयसम्म सञ्चित गर्ने र गाउँभरिको मुष्टिदानबाट प्राप्त अन्न भण्डारण गर्न व्यवस्था गरेको धर्मभकारीमा लगेर जम्मा गर्ने गर्थे । गरिबहरूले त्यहीँबाट अन्न लिएर खानाको जोहो गर्थे ।


धान, मकै, गहुँ इत्यादि उब्जनी गर्ने किसानले गरेको मुष्टिदानकै कारण विपन्न परिवारको चुलो निभ्न पाउँदैनथ्यो । यस्ता मानवीय कार्यबाट समाजमा सद्भाव झाँगिन पाउँथ्यो । चितवनको बखानपुरमा २०१३ सालमा बाढीले गर्दा स्थानीय बासिन्दाहरू अन्नपातविहीन भए । त्यति बेला निम्तिएको खाद्य संकट टार्न मानिसहरूले धान, मकै, गहुँ लगायतका स्थानीय उत्पादन नहुनेलाई बाँड्ने गरी संकलन गर्न थाले । लिनेले पनि आफूले खपत गरे बराबरको परिमाण पछि उत्पादन भएका बेला सोही संकलन केन्द्रमा जम्मा गर्दै गए । पछि त्यो समूह सहकारीमा परिणत भई अहिले बखान सहकारीका रूपमा सदस्यहितको सहकारी भनेर चिनिन्छ । यो नेपालको पहिलो सहकारी पनि हो ।


अहिले कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट विश्व पीडित छ । भाग्यवश, नेपालमा यो महामारीको भयावह रूप नदेखिइहाले पनि विश्व आक्रान्त भएका बेला असर नपर्ला भन्न सकिन्न । यसको रोकथाम र नियन्त्रणका लागि गरिएको लकडाउनले राज्यको अर्थतन्त्रमा प्रभाव पर्ने नै भयो, विभिन्न जिल्लामा रहेका गरिब तथा विपन्न नागरिक र दिनभर ज्यालादरी गरेर छाक टार्दै आएका परिवारमा चाहिँ तुरुन्तै असर पर्ने देखिन्छ ।


महामारीबाट ज्यान जोगाउन घरै नबसी पनि सुख छैन, बसे पनि भोकले ज्यान लैजाने सम्भावना छ । यस्तो अवस्था नआओस् भन्न प्रत्येक स्थानीय तहमा फुड बैंक स्थापना गरी स्थानीय बासिन्दाकै सहभागितामा हुनेले खाद्यान्न सञ्चित गर्ने र लकडाउनकै कारण आजीविकामा कठिनाइ भोगिरहेकाहरूलाई छाक टार्न उपलब्ध गराउने व्यवस्था मिलाउन सकिन्छ । खाद्यान्नको वितरणअघि सही व्यक्तिको पहिचान चाहिँ महत्त्वपूर्ण हुन्छ । यस्तो फुड बैंकमा स्थानीय उत्पादनलाई प्राथमिकता दिने गर्दा धेरैभन्दा धेरै मानिसलाई सहभागी बनाउन सकिने र स्थानीय उत्पादनलाई प्रोत्साहन पनि मिल्ने हुन्छ ।


स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार हो । संकटका बेला होस् या सामान्य दैनिकीमा, नागरिकलाई खाद्य अधिकारको प्रत्याभूति गराउनु संविधानतः सबै तहका सरकारको दायित्व हो । त्यसैले सबै स्थानीय तहमा फुड बैंक स्थापना गरी प्रभावकारी सञ्चालन गर्ने हो भने लकडाउन लम्बिँदा आइपर्न सक्ने खाद्य संकटलाई केही हदसम्म समाधान गर्न सकिन्छ । बाढीपहिरो वा आगलागीका कारण निम्तिन सक्ने भोकमरी समाधान गर्न पनि फुड बैंक सहयोगी सिद्ध हुन सक्छ ।


स्थानीय तहहरूले हाललाई दुइटा सोचबाट फुड बैंक सञ्चालनमा ल्याउन सक्छन् । पहिलो, लकडाउनबाट प्रभावित ज्यालादारी श्रमिकहरूको छाक नै रोकिने अवस्था आए सहयोग गर्न । दोस्रो, भोलि आउन सक्ने सबै खाले प्रकोपबाट सिर्जना हुन सक्ने समस्या समाधान गर्न । फुड बैंकमा खाद्यान्न जिन्सी सामग्री मात्र दाखिला गरिने हुँदा यसको पहिलो स्रोत नागरिक नै हुन सक्छन् । स्थानीय सरकारको विपत् व्यवस्थापन कोषको रकमबाट पनि सञ्चालन गर्न सकिन्छ । प्रदेश सरकार र नेपाल सरकारबाट प्राप्त अनुदान, विभिन्न दातृ संघसंस्था तथा निकायबाट प्राप्त सहयोगबाट समेत खाद्यान्न जिन्सी सामग्री फुड बैंकमा जम्मा गरी लक्षित समूहलाई लाभान्वित तुल्याउन सकिन्छ ।


ढुंगाना धादिङको गजुरी गाउँपालिकाकी उपाध्यक्ष हुन् ।

प्रकाशित : चैत्र २७, २०७६ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?