पृथ्वीको बेचबिखनले ब्युँतिएको महामारी

राम गुरुङ

काठमाडौँ — इम्पेरियल कलेज लन्डनका अनुसन्धानकर्ताहरूले विश्व स्वास्थ्य संगठनलाई मार्च २६, २०२० मा बुझाएको प्रतिवेदनमा उल्लेख छ— यदि बेलैमा नियन्त्रण नभए कोरोनाको महामारीले विश्वका ७ अर्ब मानिसलाई संक्रमण गर्नेछ ।

पृथ्वीको बेचबिखनले ब्युँतिएको महामारी

यसबाट करिब ४ करोड मान्छेको ज्यान जान सक्छ । यसले प्रस्ट भनेको छ— हस्तक्षेप भइहाल्दा पनि ३० लाख मान्छेको ज्यान जोखिममै रहिरहन्छ । प्रतिवेदनको संकेत प्रतिव्यक्ति आम्दानी कम भएका तेस्रो मुलुकतिर लक्षित छ । धनी देशले जसरी नै गरिब देशले कोरोनाको सामना गर्नर् सक्ने अवस्था छैन । सहज, पर्याप्त र गुणस्तरीय सार्वजनिक स्वास्थ्य सेवा नभएका देशमा यसले बढी धक्का दिनेछ । विपन्नको आर्थिक जीवन तहसनहस गर्नेछ ।

विश्वमा कोरोनाले गर्ने क्षति कति होला, त्यो आउने दिनले नै बताउनेछ तर यस्तो महामारी किन बढ्दै छ भन्नेबारेचाहिँ मानव समुदायले सोच्न ढिलाइ भैसकेको छ ।


मेशिन र मासुको राज

अचेल धेरैजसो खानेकुरा मेशिनमै बन्छन्, जसले गर्दा उद्योगमा उत्पादन हुने खाद्य–परिकारको संख्या अझै थपिएको छ । उद्योगसँगै सहर बनाउने काम पनि दौडिएको छ । धेरै कमाइ हुने भएपछि मान्छेहरू सहरतिर ओइरिएका छन् । जर्नल अफ अवेसिटी प्रिभेन्सन (२०१०) ले भनेको छ । अहिले धेरै मान्छे धेरैथरी खाने कुरा किन्न सक्ने भएका छन् । यसले गर्दा खाद्यान्नको माग र उपभोग अस्वाभाविक चुलिएको छ । सन् १९८० यता सहरमा बस्ने मान्छेले आफूलाई चाहिनेभन्दा ६० प्रतिशत बढी खाद्यान्न उपभोग गर्छन् । तर यही बेला वर्ल्ड बैंकले नेपालमा मात्रै बर्सेनि झन्डै ३९ हजार मेट्रिक टन खाद्यान्न आपूर्तिको अभाव रहेको तथ्य निकालेको छ । अहिले खाद्यान्नको उत्पादन जीवनका लागि होइन, बेचबिखनका लागि हुन्छन् । कारखाना, बजार र व्यापारले गर्दा मान्छेको सम्पर्क पहिलेभन्दा बाक्लो र नजिक भएको छ । जति मानिस सहरमा खाँदिएका छन्, कोरोनाजस्ता महामारी पनि उति नै बलियो भएका छन् ।

खानेकुराको प्रकार र प्रकृति यति जटिल भयो । यसले मानिसको जीवन तथा काम गर्ने शैली नै बदल्यो । योसँगै पृथ्वी र पशुपक्षीसँग मानिसका सम्बन्ध पनि बदलिए । खानेकुरामा पशुपक्षीको उपभोग अत्यधिक बढ्यो । अहिले मासुका लागि मात्रै जंगली पशुपक्षीको उपभोग ७३ प्रतिशतले बढेको छ । विश्वभर मान्छेले दैनिक आफ्नो खानाको ६२ प्रतिशत हिस्सा मासुले भर्छन् । यो सबै कसरी सम्भव भयो ? सहरमा कैयौं खाद्य–उद्योग फस्टाएका छन् । र, खानेकुराको हजारौं प्रकारले ती उद्योग बाँचेका छन् । यसले मान्छेलाई चाहिनेभन्दा बढी खाना खान उक्साइरहेको छ । व्यावसायिक पशुपक्षीपालक र कृषि कम्पनी उसैगरी जति सकिन्छ धेरै उत्पादन गर्न हौसिएका छन् । जंगली जनावर तथा पशुपक्षीको चोरी सिकारी बढेको छ । अनावश्यक खानेकुराले भान्छा भरिएका छन् । चाहिनेभन्दा बढी अन्न फलाउन दिनदिनै जंगल सखाप भइरहेको छ । यस्तो मान्छेले आफू बसेकै पृथ्वी बेचेर समृद्धि र सन्तुष्टिको स्वाद लिइरहेको छ ।


मारमा गरिब

कोरोना मात्र होइन । एड्सजस्ता अरू महामारीको मार पनि मान्छेकै गल्तीले भएका हुन् । यस्ता महामारीले ‘द ल्यान्सेट’ (१९९६) ले भनेजस्तै गरिब मान्छे र गरिब देशलाई नै बढी डसेको छ । दैनिक ज्यालादारी र व्यापारले मात्र धानिएका नेपालजस्तो देशको हालत कस्तो होला, सहजै भन्न सकिन्छ । विपन्नताकै कारण सन् १९८० पछि ९० प्रतिशत एड्सको मार विकासोन्मुख देशमा पर्‍यो । लाखौं विपन्न परिवार लथालिंग भए । बसाइसराइ, तीव्र सहरीकरण र उच्च बेरोजगारी आदि कहिल्यै नसल्टिने समस्या बने । जेन सीआरलगायतको अध्ययन (२००८) ले त यसले सामाजिक असमानता अझै बढाएको जिकिर गर्दै त्यतिखेर खलबलिएको विश्व अर्थतन्त्र र समाज अहिलेसम्म नतंग्रिएको निष्कर्ष निकालेको छ । अब सोचौं, कोरोनाको मार कस्तो होला ।


जति मानिस सहरमा खाँदिएका छन्, कोरोनाजस्तो महामारी पनि उति नै बलियो भएको छ ।

दुनियाँमै सार्वजनिक अस्पताल अप्ठ्यारोमा छन् । नेपालजस्तो मुलुकमा त यसको अवस्था झन् भयावह देखिन्छ । सार्वजनिक स्वास्थ्यसेवा निजी अस्पतालतिर उर्लिएको छ । तर यिनै देशमा राज्य निजी अस्पताल पोस्न हतारिएजस्तो देखिन्छ । दुर्भाग्य यिनले कोरोनाजस्तो महामारीका बेला सार्वजनिक स्वास्थ्यसेवा दिन नसकेका वा दिन आनाकानी गरेका कुरा बाहिर आएका छन् । यस्तो बेला राज्य र सबै खाले अस्पतालबीचमा समन्वय एवं सहकार्य आवश्यक छ । इन्टरनेसनल जर्नल अफ हेल्थ सर्भिसेस् (२०२०) को अध्ययनले बलियो सार्वजनिक स्वास्थ्य सेवा उपलब्ध भएका चीनजस्ता देशले मात्रै सजिलै कोरोनाजस्ता महामारीको सामना र नियन्त्रण गरेको तथ्य सार्वजनिक गरेको छ ।


एक सय वर्षपछिको महामारी

दुनियाँभर युरोपेली बजार फैलिरहेकै बेला सन् १९१४ जुलाई २८ मा पहिलो विश्वयुद्ध सुरु भयो । चार वर्षसम्म लम्बिएको युद्धमा २१ लाख मान्छेको ज्यान जाँदा पनि हारजित भइरहेको थिएन । युद्धको डढेलो झेलिरहेको पृथ्वीले विश्वयुद्धको चौथो वर्षको सुरुआत, सन् १९१८ मार्चमा इन्फ्लुएन्जाको संक्रमणको सामना गर्नुपर्‍यो । करिब ५ करोड मान्छेको ज्यान लिने महामारीबारे विश्व त्यतिबेला तात्यो, जतिबेला स्पेनका राजा अल्फाँसो तेह्रौं इन्फ्लुएन्जाबाट संक्रमित भए । मे २२, १९१८ मा स्पेनको ‘एबीसी न्युजपेपर’ मा प्रमुख समाचार बनेको यस महामारीलाई ‘स्पेनिस इन्फ्लुयन्जा’ को नाम दिंदै स्पेनले महामारीको दोष फ्रान्समाथि लगायो । यसको करिब ५ महिनापछि नोभेम्वर ११, १९१८ मा अमेरिकी नेतृत्वमा चार वर्ष लामो विश्वयुद्ध बिसाइयो । त्यतिबेलासम्म स्पेनिस फ्लुकै कारण काम गर्ने २० देखि ४० वर्षका झन्डै ३ करोड ४० लाख नौजवानको ज्यान गइसकेको थियो (जेके. तबनबर्गर र डीएम मरन्स, २००६Ù १९१८ इफ्लुयन्जा ः द मदर अफ अल प्यान्डेमिक) ।

सन् १९८७ मा चीनले भूमिसुधार कार्यक्रम लागू गर्‍यो । वुहान तथा अन्य राज्यले सहरीकरणलाई तीव्र बनाए । सन् २००० सम्ममा त वुहानमा सहरका रूपरंग नै फेरिए । घनाजंगल सहरले भरियो । जंगली जनावरको पालन र बेचबिखन बजारको एक हिस्सा बन्यो । जंगल मासिएपछि चमेराजस्ता जंगली पशुपक्षी सहर वरपर झुम्मिए । खानेकुरा र अन्य माध्यमबाट पशुपक्षीसँगको सम्बन्ध अत्याज्यजस्तै भयो ।

संसारकै तेस्रो ठूलो नदी यान्त्जेले वुहानलाई युरोपियन तथा अमेरिकन बजारसँग जोड्यो । उद्योग र व्यापार बढे । तथापि वुहानको पश्चिमी देशसँगको व्यापार एवं वाणिज्य सम्बन्ध भने सन् १८६१ मा दोस्रो अफिम युद्ध सकिएदेखि नै फैलिएको हो । यसले अमेरिका, बेलायतजस्ता शक्तिशाली पश्चिमी देशलाई बन्दरगाह मात्रै उपलब्ध गराएन । जे. चेङ र आई. मेसर–२००३ का अनुसार यसको एक सय दस वर्षपछि सन् १९७८ मा चीनले लिएको खुला द्वार नीतिले पश्चिमा देशसँग जोडिने चीनको पाँचौं महत्त्वपूर्ण औद्योगिक सहर बन्ने अवसर पनि वुहानले पायो ।

अहिले स्पेनिस इन्फ्लुयन्जाजस्तो महामारीको ठ्याक्कै एक सय वर्षपछि वुहान राज्यबाटै कोरोना भाइरसको संक्रमण जागेको छ । यसको दोष जंगली जनावरलाई दिइए पनि मान्छेले प्रकृति र जंगली जीवजन्तुमाथि गरिरहेको रजाइँको चर्चा भएको छैन । तर यो विपन्नमाथि नै ज्यादा बज्रिएको छ । पहिलो चरणका ४१ जना कोरोना संक्रमितमध्ये ३० जना अर्थात् ७३ प्रतिशत पुरुष छन् । ‘द न्यु इङ्ल्यान्ड जर्नल’ (२०२०) का अनुसार यिनीहरूमध्ये ८२.९२ प्रतिशत त उक्त बजारमा काम गर्ने कामदार र तिनका परिवार थिए । पृथ्वीसँग बिग्रँदो सम्बन्धको मार फेरि पनि विपन्न र कम आय भएका सामाजिक समूहमा बढी परेको देखिन्छ ।


प्रकृतिसँग बिग्रँदो सम्बन्ध

दुनियाँमा जहाँ सहर, उद्योग र व्यापारको विकास भएको छ, त्यहाँका अधिकांश रैथाने ज्यालादारी कामदार बनेको देखिन्छ । उनीहरूका रैथाने खानेकुरा आगन्तुकले बेच्छन्, जसले कतिपय खानाको पर्यावरणीय, सामाजिक तथा सांस्कृतिकजस्ता मर्मबारे बुझ्दैनन् । ती खानेकुरा जंगली पशुपक्षीबाट कसरी खान योग्य बनाइए, त्यसको खोजीनीति हुँदैन । यहीँनेर प्रकृति, जीवजन्तु र मानिसको सम्बन्धमा खटपट सुरु हुन्छ । र, कोरोनाजस्तो महामारी बनेर देखापर्छ । जसको सामाजिक एवं सांस्कृतिक क्षतिपूर्ति नै छैन ।

‘जर्नल अफ अवेसिटी प्रिभेन्सन’ (२०१०) का अनुसार अहिले विश्वमा गहुँबाट मात्रै दैनिक १ सय २२ भन्दा बढी खानेकुराका परिकार बन्छन् । जति परिकारको संख्या बढेको छ, उति धेरै प्रविधि र मेसिनको प्रयोग बढेको छ । खानेकुराका प्रकार थपिँदै जाँदा, व्यावसायिक खेती गर्ने घनाजंगल तीव्र मासिएको छ । रेनफरेस्ट एक्सन नेटवर्क–२०१७ का अनुसार विश्वमा ठूला खाद्य उत्पादक कम्पनीका कारण बर्सेनि २० हजार हेक्टर जंगल सखाप भइरहेको छ । फर्निचर बनाउँदा होस् या खानी उत्खनन गर्दा वन नै मासिएको छ । मान्छेका सबै प्रगति/उन्नति पृथ्वीको बेचबिखनमा उभिएका छन् ।

अहिलेसम्म करिब १३ लाख १९ हजार हेक्टर जंगल मासेर उद्योग, खानी तथा सहर विकास भएका छन् । यसको क्षेत्रफल कोस्टारिकाको डेढ गुणा जति हुन आउँछ । एक वर्गकिमिमा करिब ७५ हजार रूख हुर्कन्छन् । यो हिसाबमा त अहिलेसम्म समृद्धिको नाममा करिब ६९ अर्ब रूख काटिइसकेका छन् । यसले कति पशुपक्षीको बसोबास नष्ट भयो होला । सयौं पशुपक्षी त गाँसबास नपाएरै पृथ्वीबाट अस्ताइसकेका छन् । कति मान्छेको वरपर आइपुगेका पशुपक्षीको कारण मान्छे र प्रकृतिको सम्बन्ध लथालिंग भएको छ ।

चीनले फेब्रुअरी २४, २०२० देखि ५४ थरीबाहेक अन्य जिउँदो जंगली पशुपक्षी बेच्न/उपभोग गर्न स्थायी प्रतिबन्ध लगाएको छ । त्यसअघि चीनमा मात्रै करिब ९७ प्रजातिका विभिन्न जिउँदो जंगली जनावरको बेचबिखन हुने गरेको अनुमान नेसनल जियोग्राफी २०१६ ले गरेको छ । दक्षिणपूर्वी एसियामा मात्रै ४० प्रजातिका चराचुरुंगी, स्तनधारी तथा घस्रने जीवजन्तुको बेचबिखन र उपभोग हुन्छ । नेसनल जियोग्राफीको सर्वेक्षणअनुसार अहिले पनि ८३ प्रतिशत चिनियाँ आफ्नो खानाको रूपमा जंगली पशुपक्षीको मासु खान रुचाउँछन् । यद्यपि विश्वभर र चीनमा समेत ‘मास–डिफरेस्टेसन’ भइरहेकाले यिनको आपूर्ति भने सहज देखिन्न । केही वर्षयता नेपालमा समेत जंगली पशुपक्षीको उपभोग बढेको छ । बट्टाई, कालिज, खरायो र बंदेलजस्ता जिउँदो जंगली पशुपक्षीको व्यावसायिक पालन बढेको छ । यसले के देखाउँछ भने विश्वभर जति सहर बढेका छन्, त्यति नै वन विनाश र जंगली पशुपक्षीको उपभोग बढेको छ ।


प्रकृति नै मान्छेको जीवन

मानवशास्त्री फेडरिक कक (२०२०) भन्छन् । कोरोनाजस्तो महामारीका मुख्य कारणमध्ये मान्छे र जनावरबीच बिग्रँदो सम्बन्ध पनि एक हो । तथापि यो नयाँ भने होइन । यसलाई राज्यले व्यवस्थापन गर्न सक्छ । तर पनि राज्यको ध्यान अर्थतन्त्रबाहिर गएको देखिन्न । प्रकृति र मान्छेको बीचमा सम्बन्ध कसरी बिग्रन नदिने भन्नेबारे सोचिएकै छैन । मान्छेको खाद्य तथा सामाजिक सम्बन्धलाई जोखिमयुक्त बन्न नदिनेबारे मनन गरिएको छैन ।

सुरक्षित र अनुशासित खाद्यउपभोग नै महामारीका प्रतिरोधक हुन् । तर नयाँ खानेकुराको बढ्दो आविष्कार र प्रयोगले मान्छे र प्रकृतिको सम्बन्ध नै खलबलिएका छन् । जुन स्वस्थ मान्छेको चुनौती हो । यसलाई कम गर्न, मान्छेको समृद्धि र प्रगतिको भोक अनुशासित बनाउनुको अर्को विकल्प छैन । यो नै भोलिको महामारी नियन्त्रणको भरभर्दो बाटो हो । अब प्रकृति बेचबिखनको वस्तु मात्र होइन । यो त मान्छेको जीवन र अस्तित्व हो भन्ने बुझ्नुपर्छ । वन्यजन्तु मान्छेका लागि किन यति डरलाग्दो भयो । यसको सामाजिक र सांस्कृतिक पक्षबाट खोजी र चर्चा हुनुपर्छ ।

तर जसरी गाउँहरू सहरका कारण रित्तिएका छन्, सहर मान्छेको हूलले भरिएको छ, यही रूपमा आिघ बढ्दा आउँदा दिनमा अझै भयानक महामारी आउने पक्का छ । यो फेरि पनि सहरमै दोहोरिनेछ । राष्ट्र संघको ‘रिभिजन अफ वर्ल्ड अर्वानाइजेसन प्रस्पेक्ट, २०१८’ ले सन् २०५० सम्ममा विश्वका ६८ प्रतिशत मानिस सहरमा बस्ने अनुमान गरिसकेको छ । अहिले नै विश्वमा ४ अर्ब २३ करोड मान्छे सहरमा बस्छन्, जसले खेतीपाती गर्दैनन्, उद्योग, व्यापार र नोकरी गर्छन् । यो संख्या अबको ३० वर्षमा एसिया र अफ्रिकामा मात्रै २ अर्ब २५ करोडले बढ्नेछ । विश्वका ८० प्रतिशतभन्दा बढी मानिस परम्परागत खेतीबाट बाहिर हुनेछन् । त्यतिखेर भारतसँग ४१ करोड ६० लाख, चीनसँग २५ करोड ५० लाख र नाइजेरियासँग १८ करोड ९० लाख थप सहरी जनसंख्या हुनेछ । अब कल्पना गरौं । यो जनसंख्याका लागि ‘मास–फुड–सप्लाई’ गर्न कति वनजंगल र जंगली पशुपक्षी तहसनहस होलान् ?

प्रकाशित : चैत्र २१, २०७६ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?