१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

कोरोनाले सिकाएको पाठ 

मल्ल के. सुन्दर

काठमाडौँ — प्रसिद्ध रुसी लेखक लियो टाल्सटायले भनेका छन्,  ‘सुखी बन्नु छ भने त्यसका लागि पहिलो सर्त भन्नु नै प्रकृति र मानवबीचको सम्बन्धलाई नभत्काउनु हो ।’

कोरोनाले सिकाएको पाठ 

तर दुःखको कुरा, हामी मानव जाति जुन ठाउँमा बस्छौं, जसबाट हामी जीवन निर्वाहका सम्पूर्ण आवश्यकता पूर्ति गर्दछौं त्यही आवास अर्थात् पृथ्वीलाई नष्ट गर्न उद्यत छौं । सम्भवतः जे–जति जीवजन्तु तथा प्राणीहरू छन् त्यसमा आफैं बासस्थानलाई भताभुंग पार्ने अविवेकशील समुदाय कोही छन् भने हामी मान्छेहरू हौं । त्यसैले त दार्शनिक फ्रडेरिक नित्से असन्तोष व्यक्त गर्छन्, ‘पृथ्वीमाथि एउटा आवरण छ, त्यो रोगबाट ग्रस्त बनेको छ, त्यसमध्ये एउटा रोगको नाउँ हो– मानव जाति !’

वास्तवमा यो कुनै आग्रह र आवेशपूर्ण अभिव्यक्ति थिएन । आˆनो क्षणिक स्वार्थ, सुख, सुविधाको चाहनामा प्राकृतिक स्रोत साधनको अनियन्त्रित दोहन अनि पर्यावरण ध्वस्त पार्नमा जसरी मानिस लागिपरेका छन्, अरू कुनै पनि प्राणी त्यसरी लागेका छैन, नित्सेको त्यसैमा चर्को असन्तोष हो ।

कार्बन उत्सर्जनका कारण पृथ्वीको ओजन तहमा पारेको संकट, ध्रुवीय क्षेत्रका हिमनदी पग्लेर समुद्री सतह बढ्दै जानु, हालैको प्रलयकारी सुनामी आदि पृथ्वीको पर्यावरणमा देखिएका यस्तै असन्तुलनकै परिणामहरू थिए । दक्षिण अमेरिकाको अमेजन क्षेत्र तथा अस्ट्रेलियाका वर्षा–वन क्षेत्रमा भएका आगलागी, अविरल वर्षा, बाढी, भूस्खलन र कतिपय स्थानका सुक्खा स्थिति, मौसममा देखिएका अस्वाभाविक परिवर्तनहरू धरतीमाथि मानिसले निरन्तर गर्दै आएका अप्राकृतिक दोहनका कारण सृजित समस्याहरू हुन् ।

वैज्ञानिकहरूको ठहर छ, मानिसका असंगत आचारणहरूका कारण पर्यावरणमा अकल्पनीय जटिलता ल्याएको छ अनि स्वयं मानव समुदायको स्वास्थ्य संरचना तथा रोग प्रतिरोधात्मक क्षमतामा समेत यसले अति नकरात्मक स्थिति ल्याइदिएको छ । विश्व स्वास्थ्य संगठनद्वारा गरिएका मानवीय स्वास्थ्य स्थितिमा देखिएको विचलनसम्बन्धी अनुसन्धानहरूले पनि यस्तै अत्यासलाग्दा तथ्यहरू आकलन गरेको छ । पछिल्लोपटक मानिसहरूले सामूहिक रूपमा भोगिरहेका इबोला भाइरस, सार्स, स्वाइन फ्लु, बर्ड फ्लु, इन्सेफ्लाटिस, डेंगु, एड्सजस्ता महामारीको प्रादुर्भाव वास्तवमा मानिसद्वारा प्रकृतिको शाश्वत नियम तथा संरचनाविरुद्ध गर्दै आइरहेका अविवेकी व्यवहारहरूका प्रतिफल हुन् । हालको नोवल कोरोना भाइरस (कोभिड–१९) को आतंक पनि त्यसै शृंखलाका एक नयाँ स्वरूप हो ।

‘पृथ्वीमाथि एउटा आवरण छ, त्यो रोगबाट ग्रस्त बनेको छ, त्यसमध्ये एउटा रोगको नाउँ हो– मानव जाति !’


एकातिर, पृथ्वीको मौलिक संरचना, प्राकृतिक प्रणाली तथा अनेकन स्रोत साधनबीचमा रहेको सन्तुलन विपरीतका मानवीय हस्तक्षेप अनि विकास, प्रगतिले अकल्पनीय प्राकृतिक प्रकोपका आधार तयार गर्दै लगे अर्कोतिर आधुनिकताका नाउँमा सुरु गरिएका अप्राकृतिक आनीबानी तथा खानपिनले मान्छेमा निहित जन्मजात रोग प्रतिरोधक क्षमतालाई क्षतविक्षत पार्न थाले । वैज्ञानिकहरूको खोजबाट थाहा भइसकेको छ, कोभिड–१९ एकखाले भाइरस मानिसमा संक्रमित भइसकेपछि माहामारीको रूप लिँदै गएको हो । यो कुनै नयाँखाले भाइरस होइन, मानवइतर प्राणीहरूमा यो भाइरस पहिल्यैदेखि छ । शरीरमा रोग प्रतिरोधात्मक क्षमता ह्रास हुँदै गएपछि अहिले आएर यस भाइरसले मानवीय शरीरमा संक्रमण गर्न सकेको हो ।

अन्य भाइरल इन्फेक्सनका यथार्थ

मानिसका आफ्नै जीवनशैली र व्यवहारले कमजोर बनाउँदै लगेको रोग प्रतिरोधात्मक क्षमता अनि प्रकृतिविरुद्ध आचरणका कारण दण्डस्वरूप यसखाले रोगव्याधी, महामारीको प्रकोपलाई बेहोर्नुपरेको चुनौतीपूर्ण अवस्था यो पहिलो होइन । फ्रान्समा फैलिएको सन् १७२०–१७२२ सम्मको प्लेग महामारी, जसमा एक लाख व्यक्तिको ज्यान गयो । एसिया र युरोपमा एक लाख मानिस सखाप पारेको पहिलोपटक देखिएको १८१६–१८२६ को हैजा, विश्वभरका झन्डै पन्ध्र लाख जीवन लीला समाप्त भएको सन् १९१५–१९२६ को इन्सेफ्लाइटिसको महामारी र त्यस्तै १९१८–१९२० भित्र एक करोड मानिसको ज्यान लिएको स्पेनिस इन्फ्लुएन्जा आदि यस्तै दृष्टान्तहरू हुन् ।

जुन तीव्र गतिमा कोरोना भाइरसले मानिसलाई गाँज्दै लगिरहेको छ, जसरी हजारौंको संख्यामा जीवन लीला समाप्त भइरहेका छन्, यसमा मानिस सन्त्रस्त र चिन्तित छन् । फेरि पनि मान्छेमा सद्बुद्धि पलाएको देखिँदैन । यस्ताखाले रोगव्याधी, महामारी र अकल्पनीय प्राकृतिक संकटका मूल कारण के हो भन्ने यथार्थलाई आत्मसात् गर्न चाहिरहेको छैन । चुरो कुरामा पुगेर समाधान गर्न खोजिरहेको छैन । रूख र बोटबिरुवा होइन, झरेका पात गन्नमा समय खेर फालिरहेको छ ।

प्राकृतिक नियमविरुद्ध मानिसमा विकसित हुँदै गएको जीवनशैली, बानीबेहोरा र खानपान अनि दिन प्रतिदिन क्षीण हुँदै गरेको स्वास्थ्य प्रतिरोधात्मक शक्ति नै कोरोना भाइरस रोग महामारी रूपमा फैलिनुका मुख्य कारण हुन् । अहिले यो महामारीले सर्वत्र अतिक्रमण गर्दै लगेपछि यसको रोकथामका रणनीति र उपचारका उपायका सम्बन्धमा चर्चा भइरहेको छ । तर, रोग उत्सर्जन गर्ने मान्छेको जीवन शैली अनि प्रकृतिसँग असन्तुलन हुँदै गइरहेको मानवीय सम्बन्धका विषयमा खासै चासो देखाइएको छैन ।

स्मरण होस्, सन् २०१८ डिसेम्बरतिर पोल्यान्डको काटोविकमा भएको राष्ट्रसंघीय पर्यावरणसम्बन्धी सम्मेलनमा मानिसका गतिविधि र प्रकृतिबीचको सम्बन्धमा बिग्रिँदै गरेको सन्तुलनबारे थुप्रै कुरा उठाइएका थिए । बेलायतका विख्यात प्रकृतिविद् विद्वान् सर डाभिड ऐटनवराले सम्मेलनलाई सम्बोधन गर्दै खबरदारी गरेका थिए, ‘अहिले हामी हजारौं वर्षको अन्तरालमा अन्तर्राष्ट्रियस्तरमै मानव सृजित वातावरणीय परिवर्तनको महासंकट सामना गर्न गइरहेका छौं । यदि हामीले आवश्यक कदम चाल्न सक्दैनौं भने मानव सभ्यता र अधिकांश प्राकृतिक जगत्को अन्त्य निकट भविष्यमै देख्नुपर्ने हुन सक्छ ।’

त्यस्तै गएको वर्ष नोभेम्बरमा मात्रै झन्डै १५३ मुलुकका ११ हजारभन्दा बढी वैज्ञानिकहरूले संयुक्त हस्ताक्षर गरेर विश्व मौसमको संकटापन्न अवस्थाबारे संसारका नीति निर्माताहरूको ध्यानाकर्षण गराउन वक्तव्य जारी गर्दै भनेका थिए, ‘हामी सुस्पष्टसँगै एकै मतमा उद्घोष गर्दछौं कि पृथ्वीले एक मौसमी संकटको अवस्था बेहोरिरहेको छ । तसर्थ दिगो भविष्यको सुनिश्चितताका लागि अहिले हाम्रो जुनखाले जीवनशैली छ, त्यसमा परिवर्तन ल्याउनु आवश्यक हुन्छ ।’ तर यस्ता चेतावनीहरूप्रति कति पनि गम्भीरता देखाइएन । समाधानका लागि प्रयत्न भएन ।

स्पष्ट छ, समस्याका कारण हामी नै हौं, समाधानको दायित्व पनि हाम्रै हो । सिंगो मानव जातिमाथिको यो संकटविरुद्ध मोर्चाको तयारीमा पनि मानव समुदायको सामूहिक प्रयासको आवश्यकता छ । तर, विडम्बना Û कोरोना भाइरसको महामारीलाई तह लगाउने सम्बन्धमा विश्वका नेताहरूका व्यवहार र बुझाइ उदेकलाग्दो छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यसलाई ‘चिनियाँ भाइरस’ को उपमा झुन्ड्याएर अत्यन्त हलुका रूपमा प्रस्तुत भइरहेका छन् । पश्चिमी युरोप, विशेषतः युरोपेली महासंघका सदस्य राष्ट्रका राजनेताहरू यस किसिमको विश्व संकटको घडीमा पनि राष्ट्रिय संकीर्णता निजी राष्ट्रको स्वार्थभन्दा माथि उठ्न सकेका छैनन् । साझा सरोकार र सामूहिक प्रयासको गम्भीरतालाई स्वीकार्न नसक्दा नै होला, यतिखेर कोरोनाको महामारी तिनै भूभागहरू डरलाग्दो चपेटामा पर्दै गइरहेका छन् ।

सैन्य बल, आर्थिक सम्पन्नता, वैज्ञानिक प्रगतिका राष्ट्रिय दम्भमा अलमलिएर सहकार्य, पारस्परिक सहयोगका मामिलामा अनुदार बन्न खोज्नाका परिणाम कति दुःखद् हुँदो रहेछ, अहिले भुक्तभोगी भइरहेका छन् । प्राकृतिक प्रकोप र रोगव्याधीको बलात् अतिक्रमका अगाडि मानव निर्मित सिमाना र सुरक्षा घेरा निरर्थक हुन् भनेर साबित भइरहेको छ । सुतुरमुर्गले जस्तै टाउको जमिनमुनि लुकाएर आफू सुरक्षित छौं भन्ने मूर्खतापूर्ण व्यवहार कति महँगो हुँदो रहेछ भन्ने कुरा अहिलेको कोरोना भाइरस विभिषिकाले पुष्टि गरिरहेको छ ।

उपभोक्तावादका तालुकदारहरू जो बजार तथा व्यापारलाई नै सबै कुराको एक मात्र निर्धारक ठान्छन् अनि लोककल्याणकारी क्षेत्रमा राज्यको दायित्व महसुस गर्दैनन् । जुन स्वास्थ्य जस्तो संवेदनशील मामिलामा पनि शुभ लाभको पञ्जिकाकै कुरा गर्दै गर्दा त्यसबाट कोरोनाका रोगीहरू प्रत्यक्ष पीडित बन्नुपर्‍यो । आवश्यक उपचारबाट वञ्चित भई अनावश्यक रूपमा हजारौंको संख्यामा मानिसले अकाल ज्यान गुमाउनुपर्ने अवस्था आयो । चीन जस्तो समाजवादी अर्थतन्त्रको कुरा गर्ने मुलुकमा पनि पछिल्लो समय स्वास्थ्य सुरक्षाका कुरा सुलभ भएन । कोरोना भाइरसको उद्भव स्थल नै बनेपछि बल्ल अहिले आएर राष्ट्रपति सी चिनफिङले सार्वजनिक रूपमै आत्मालोचना गर्दै स्वीकार गरे, ‘जनस्वास्थ्यको क्षेत्रमा हामीले आवश्यक ध्यान पुर्‍याउन नसकेकै हो ।’ संयुक्त राज्य अमेरिका र युरोपेली मुलुकका राजनेताहरूमा अझै यसखाले चेत आइसकेको छैन ।

कोरोना भाइरसको वर्तमान महामारी कहाँ गएर सुस्ताउने हो ? यसले कुन हदसम्म मानव जीवनको क्षति गर्ने हो ? त्यस्तै विश्व अर्थतन्त्रलाई कसरी नकारात्मक प्रभाव पार्ने हो ? अहिले नै यथार्थ आकलन गर्न सकिन्न । मानव समाजमा यसखाले सन्त्रास र अनिश्चितता विश्व युद्धको समयमा पनि देखिएको थिएन । यति हुँदाहुँदै पनि कोरोना भाइरसविरुद्धको महासंग्राममा मानिस अझै पनि प्रतिक्रियात्मक पंक्तिमै उभिएका छन् । भौतिकी दूरी, क्वारेन्टाइन, आइसोलेसन, अस्पतालभित्रको उपचारदेखि चिकित्सा जगत्को सोधखोज, नयाँ प्रतिरोधात्मक खोपको विकासको प्रयास सबै यस्तै कुराहरू हुन् । पहिले पनि यसखाले प्रयत्नहरू भएकै हुन्, अनेकन रोग उपचारका विधिहरूको विकास गरिएकै हुन् । तर त्यसले न त नयाँ–नयाँ भाइरसहरूको संक्रमणको क्रमलाई थेग्न सके न त मानिसभित्र त्यस्ता भाइरसहरूविरुद्ध जुध्ने प्रतिरोधात्मक क्षमता विकास गर्ने स्थिति नै ल्याइदिए । विगतदेखिको अनुभवले भन्छ, फेरि नयाँ भाइरस विकास हुन्छ, फेरि मानव स्वास्थ्यविरुद्ध नयाँ चुनौती र खतरा सिर्जना हुन्छ ।

कोरोना भाइरसको यो महामारीले हामीलाई विगतको गल्ती नदोहोर्‍याउन पाठ पढाइरहेको छ । अबको अभियानमा सबभन्दा पहिला पृथ्वी र मानव जगत्बीचको अन्तरसम्बन्धमा समस्या देखिएको छ, त्यसलाई अविलम्ब रोकौं । पृथ्वीको पर्यावरणलाई तहसनहस पार्ने कुनै गलत काम नगरौं । दोस्रो हो, हाम्रो आनीबानी, खानपिन तथा जीवनचर्यामा आमूल सुधार गरौं जसबाट मानिसभित्रको रोग प्रतिरोधात्मक क्षमतालाई क्षति पुर्‍याउने क्रम बन्द होस् । अन्तिम र महत्त्वपूर्ण कुरा, यो मानव जातिमाथि नै आइपरेको साझा समस्या हो, यसमा मानिसले कृत्रिम रूपमा खडा गरेका सरहद, सीमा, सिद्धान्त, स्वार्थले बाधा नगरोस् ।

प्रकाशित : चैत्र २०, २०७६ १४:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?