कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विश्‍व व्यवस्थामा चीन र कोरोना  

कोरोनालाई नियन्त्रणमा लिएपछि चीन यतिखेर एकैचोटि दुई हात चलाइरहेको छ– एउटा हातले थला परेको घरेलु मामिला पुनर्बहाली गर्न र अर्को हातले महामारीले शिथिल विश्‍वलाई सघाउन । 
लक्ष्मी लम्साल

वुहानमा फैलिएको कोरोना भाइरस (कोभिड(१९) भाइरसलाई करिब करिब नियन्त्रणमा लिइसकेपछि चीन यतिखेर एकैचोटि दुई हात चलाइरहेको छ– एउटा हातले थला परेको घरेलु मामिला पुनर्बहाली गर्न र अर्को हातले महामारीले शिथिल विश्वलाई सघाउन ।

भाइरस निदानको भ्याक्सिन तयार भइनसकेका कारण तत्काल मानव जीवन बचाउनु सबैभन्दा ठूलो चुनौती हो । सबैभन्दा पहिला क्षति बेहोरेको चीनसामु महामारीलाई नियन्त्रणको चरणमा पुर्‍याइसकेपछि अबको कार्यभार सामाजिक जीवनको बहाली गर्नु देखिएको छ । पुन: संक्रमणको सम्भावना टार्नु र वुहानलगायत चीनका विभिन्न स्थानको साधारण जीवन पूर्ववत: सञ्चालन गर्ने कार्यमा चीन केन्द्रित भएको छ । सोही बमोजिम चिनियाँ राष्ट्रपति आफैं चीनका विभिन्न क्षेत्रमा पुगेर औद्योगिक उत्पादनको निरीक्षण गर्न थालिसकेका छन् । जनजीवन पुन: सञ्चालनका लागि निकै ठूलो सावधानी अपनाउनुपरेको छ भने महामारीको नियन्त्रणमा अन्य मुलुकलाई सघाउने काममा पनि उस्तै रफ्तार दिनुपरेको छ ।


तत्कालका लागि महामारीलाई सीमित घेरामा समेट्ने चिनियाँ अनुभव विश्वका लागि सिकाइ बन्दै गएको साँचो हो । विश्वको धुरी मानिने अमेरिका यतिखेर आफैं थला परेका बेला दोस्रो शक्ति चीनमाथि विश्व नजर ढल्किएको छ । चीनले प्रयोग गरेका नियन्त्रण र अनुभव बाँड्ने शैलीले उसलाई विपत्तिका बेला विश्वशक्तिका रूपमा ‘उत्पत्ति’ हुने अवसर दिइरहेको छ ।


गत मार्च २६ मा भएको जी–२० को कोरोना भाइरस विशेष सम्मेलन यसको आफ्नै इतिहासमा दुई कुराले नयाँ ठानियो । एक त महामारीका कारण पहिलोपटक भिडियो कन्फ्रेन्सबाट सम्मेलनको सञ्चालन, दोस्रो छलफलको एजेन्डा कोभिड–१९ । विश्व महामारीको विषय भएकाले यसलाई आगामी केही वर्षका लागि अन्तर्राष्ट्रिय सम्मेलनहरूको प्रमुख विषयको रूपमा उभ्याइने पक्का छ । विश्वका २० अर्थ समूहको यसपालिको बैठकमा महामारीको विषयमा परिचर्चा हुनु स्वागतयोग्य कुरा हो । त्यसमाथि चीन र उसले विश्व मञ्चमा व्यक्त गर्ने जिम्मेवार उद्गारले पनि सञ्चारमाध्यमको आधा समय व्यतित हुने निश्चित छ ।


गत डिसेम्बरदेखि कोरोनाले वितण्डा मच्चाउनु अघिसम्म चीन ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ (बीआरआई) को धुनमा गुञ्जिरहेको थियो । हाल उसको त्यो ध्वनिमा केही मिहिनता सुनिए पनि विश्वलाई साझा जितमा गोलबद्ध गर्ने अभियान भने यथावत् नै छ । चीनले अमेरिकी गठबन्धन वा अन्य केही पश्चिमा समूहहरूको तुलनामा वैकल्पिक विचार राखेर आफ्नो अलग्गै छवि बनाइरहेको छ । यो फरक विचारमा प्रतिस्पर्धी राष्ट्रहरू या त अमेरिकी गठबन्धनमा लाग्नुपर्ने या त चीनको अवधारणाको समर्थक बन्नुपर्ने देखिन्छ । पश्चिमाको तुलनामा चीनको विचारधारा नरम र समावेशी भएकाले अधिकांश मत चीनतर्फ ढल्किन्छ नै ।


जी २० को भिडियो सम्मेलनमा पनि चीनको प्राथमिकता विश्व समुदायले मिलेर भाइरसविरूद्धको युद्ध लड्नु भन्ने छ । चीनले देखाउने शैली नै मितव्ययिताको हो । चीनले कोरोनाविरूद्ध अन्तर्राष्ट्रिय सहकार्यको प्रस्ताव राखेको छ, जुन स्थिर विश्व स्थिरताका लागि चीनको सकारात्मक प्रवृत्ति, सहकार्य, समन्वयभाव प्रेरित छ र यसमै चीनको नेतृत्वदायी भूमिका पटाक्षेप हुन्छ ।


कोरोनालाई कुल्चेर चीनको विश्‍व नेतृत्व

कोरोना महामारीले समग्र मानवजातिको रक्षाका लागि विश्वलाई एउटै मोर्चामा उभ्याउनेछ । विश्वका नेताहरूलाई महामारीविरूद्धको लडाइँमा सहकार्य गर्न प्रेरित गरिरहेको पनि छ । वर्तमान स्थितिमा महामारीविरूद्ध लड्न चीनको अनुभव तथा रोकथाम र नियन्त्रणका कुराको खोजी नै आधारभूत सहकार्यको विन्दु हो ।


दोस्रो कुरा महामारीले आपसमा वैमनस्य फैलाइरहेका मुलुकहरूबीच मित्रताको लागि दबाब दिइरहेको छ । भाइरस अहिले वुहानको मात्रै समस्या नभएर विश्वको लागि भयानक सन्त्रास बनेर देखिएको छ । कोभिड–१९ ले रन्थनिइरहेका बेला ‘खुच्चिङ’ भनिरहेका पश्चिमाहरूलाई चाह्यो भने चीनले यतिखेर के जवाफ दिनुपथ्र्यो ? जो कोहीले अनुमान गर्न सक्छ तर जिम्मेवार ठूलो मुलुकको नाताले यतिसम्म ‘केटाकेटीपना’ नझल्किएला । उल्टै अञ्जानवश वा अहंमा वशीभूत भएर चीनप्रति शत्रुताको भाव राख्ने मुलुकहरूलाई चीनले आफ्नो मित्रमण्डलीमा ल्याउन खोजिरहेको छ । त्यसैकारण चीनले महामारी फैलिएका १०० भन्दा बढी देश र संगठनहरूमार्फत् महामारी अनुभव, उपकरण, प्रविधि र विशेषज्ञहरू सहयोगका लागि खटाएको छ । यतिखेर भिडियो कन्फ्रेन्समार्फत् कतिपय चीर प्रतिद्वन्दी मुलुकका विशेषज्ञहरू पनि चीनसँग विनम्रतापूर्वक अनुभव सेयर गर्नका लागि भनिरहेका हुन्छन् । बिनापूर्वाग्रह चिनियाँ विशेषज्ञहरूको विनयशीलता यतिखेर झल्किरहेको छ ।


चीनले विश्वको नेतृत्व लिएर महामारीको युद्धमा सबैलाई जिताउने सम्भावनालाई तेस्रो सूचीमा राख्न सकिन्छ । समाधान शैली, क्षमता र गाम्भीर्यताका कारण अनेकानेक देशलाई चीनको छहारी चाहिएको छ । नेताअनुसारको देश भनेजस्तै अमेरिकी राष्ट्रपतिको खपतयुक्त भाषणले अब महामारी पार नलाग्ने कुरामा धेरै मुलुकहरू निश्चिन्त छन् । जतिसुकै कमी–कमजोरी भए पनि चीनबाट प्रस्तुत हुने शालीन व्यवहारले विश्व नतमस्तक छ । चिनियाँ बुद्धिमत्ता, सुझाव, निर्देशिका आदि कुरा वर्तमान विश्वमा उपयोगी सिद्ध हुन थालेबाट चिनियाँ परिपक्वताको आभाष हुन थालेको छ ।


चौथो कुरा, ‘साझा मानव नियति समुदाय’ को निर्माण गर्ने अवधारणा चीनको बीआरआईसँग सम्बन्धित छ । हालसम्म करिब ६० वटा मुलुक र संगठनसँग जोडिएको यो परियोजनाले नै मानव जातिबीचको साझा भाग्यको परिकल्पना गरेको छ । चीनको बीआरआई परियोजनाले बढाउँदै गरेको ‘डेब्ट् ट्रयाप’को चिन्तालाई भुलेर अहिले पृथ्वी ग्रहका मानव जातिको एउटै नियति रहेको कुरामा विश्व विश्वस्त हुँदैछ । चीनको यही विचारधारालाई कतिपय विश्लेषकहरूले जिम्मेवार ठूलो मुलुकको जिम्मेवारी भनेर पनि अथ्र्याउन थालेका छन् । कुनै पनि मुलुक अलग्गिएर रहन सक्दैन र यतिखेर महामारीले संसारको मानवजाति एक हो भन्ने कुरालाई उछालेको अनुभूति हुन्छ ।


चीन पहिलो चरणमा कोरोना भाइरसविरूद्धको एक्लो योद्धा हो । चिनियाँ समाजवादमा टेकेर प्राप्त उपलब्धिहरूलाई विश्वले नियालिरहेको छ । विजयोन्मुख चीनको यो क्षमतालाई चिनियाँ विशेषतायुक्त समाजवादसँग जोडिएको छ । केन्द्रीय नेतृत्व शक्ति र राष्ट्रपति सी चिनफिङको एकीकृत नेतृत्वमा १ अर्ब ४० करोड जनताले युद्धमा साथ दिए । महामारीको विश्व धम्कीलाई आफ्नोतर्फबाट सघाएर चीनले ‘सान्त्वना’ जगेडा गरिरहेको वर्तमानको परिदृश्य हो । त्यसो त सर्वप्रथम महामारीविरूद्ध गरेको घरेलु लडाइँ नै विश्व जनसंख्याको दृष्टिले मानवजातिका लागि ठूलो योगदान थियो र हो । विश्व भाइचारा देखाउँदै विश्वलाई गोलबद्ध गर्ने र नेतृत्वदायी भूमिका खेल्नसक्ने यो कालखण्ड चीनका लागि एउटा दुर्लभ अवसर नै हो । अमेरिका र उसका संगातीले चिनियाँ नेतृत्वदायी भूमिका स्वीकार्ने/नस्वीकार्ने त्यो आफ्नो ठाउँमा छ । प्रकाशित : चैत्र २१, २०७६ १२:२४

प्रतिक्रिया
पठाउनुहोस्

मीन भामको रोजाइका १० फिल्म

रीना मोक्तान

काठमाडौँ — बिहीबार निर्देशक अनुप बरालको रोजाइका २० फिल्म हामीले प्रस्तुत गरेका थियौं । यी फिल्म लकडाउनकै अवधिमा मात्रै हेर्नुपर्छ भन्ने छैन । तपाईंलाई मुड भएका बेला जुन बेला हेर्दा पनि हुन्छ । 

आज भने हामीले 'सँधै लकडाउनमा रहने' निर्देशक मीन भामको रोजाईका १० फिल्म सिफारिस गरेका छौं । मीन अरुबेला पनि घरबाट खासै बाहिर निस्किदैनन् । उनी घरमा बस्न आनन्द मान्छन् । त्यसैले यो लकडाउनले उनलाई खासै प्रभाव पारेको छैन । उनी घरमै फिल्मको स्क्रिप्ट लेख्छन्, फिल्म हेर्छन्, पुस्तक पढ्छन् । 'कालो पोथी' फिल्मबाट संसारभर चर्चा कमाएका मीन आफ्नो दैनिकी पहिल्यैदेखि लकडाउन रहेको बताँछन् । 'मेरो त जहिल्यै लकडाउन हो । अहिले लकडाउन झन गजब्ब भइरहेको छ । अरुबेला पनि घरमै बसिरहेको हुन्थें,' उनले भने ।

अहिले उनी फिल्महरु हेरिरहेका छैनन् । दर्शन र मानव अस्तित्वसम्बन्धि धेरैभन्दा धेरै पुस्तक पढिरहेका छन् । सेल्फ क्वारेन्टाइनमा स्क्रिप्ट लेखनसँगै कविता पनि लेख्दैछन् । ध्यान पनि गरिरहेका हुन्छन् । त्यससँगै खाना पकाउने र बगैंचाको हेरचाह गरेरै दिन बिताइरहेका छन् ।

लकडाउनमा बसेका फिल्मप्रेमी दर्शकका लागि उनले आफ्ना रोजाइका १० फिल्म यहाँ सिफारिस गरेका छन् । यस्ता छन् फिल्मसूची:

१. २००१ : अ स्पेस ओडिसी (१९६८) निर्देशक : स्टान्ली कुब्रिक
२. अमोर (२०१२) निर्देशक : माइकल हेनेकी
३. इन द मुड फर लभ (२०१३) निर्देशक : वङ कर वाई
४. ब्लु इज द वार्मेस्ट कलर (२०१३) निर्देशक : अब्लेटिभ केसिस
५. स्प्रिङ, समर, फल, विन्टर एण्ड स्प्रिङ (२००३) निर्देशक : किम कि डुक
६. पोइट्री (२०१०) निर्देशक : लि चाङ दोङ
७. सिटिजन केन (१९१४) निर्देशक : आर्सन वेल्स
८. इरेजरहेड (१९७६) निर्देशक : डेभिड लिन्च
९. मिरर (१९७५) निर्देशक : आन्द्रेई तारकोवस्की
१०. टेस्ट अफ चेरी (१९९७) निर्देशक : अब्बास किरुस्तामी

आफ्ना रोजाईका फिल्मबारे व्याख्या गर्न भने मीन त्यति रुचाउँदैनन् । 'किनकि यी फिल्महरु शब्दमा भन्दा पनि हेरेरै अनुभुत गर्ने फिल्हरु हुन्,' उनी भन्छन् । यीमध्ये कुब्रिकको मास्टरपिस '२००१ : अ स्पेस अफ ओडिसी' ले उनलाई फिल्म मेकिङको गहिराईमा जान प्रेरित गरेको थियो । 'यी फिल्मका निर्देशकहरुले त्यी आवाजहरु नबोलेका भए, खै कसले बोल्थ्यो होला ?' उनको मनमा प्रश्न उब्जिन्छ। यी सबै फिल्ममा निर्देशकको क्षमता, मजबुत फर्म र कन्टेन्ट छन् । एब्सर्ड र प्रभोकेटिभ फिल्मका घतलाग्दा दृश्यहरु छन् । परम्परागत र रियलिस्टिक मेकिङ यी फिल्ममा पाउन सकिन्छ।

प्रकाशित : चैत्र २१, २०७६ १२:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×