कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०

प्रकृतितर्फ फर्कने अवसर

कृष्णप्रसाद पौडेल

काठमाडौँ — ‘सुन खजाना हो र यो जोसँग हुन्छ, यो संसारमा उसले चाहेको गर्न सक्छ भन्ने’ मा विश्वास गर्ने क्रिस्टोफर कोलम्बस प्रकृति विनाश साम्राज्यको पहिलो पथप्रदर्शक थिए ।

प्रकृतितर्फ फर्कने अवसर

यिनैको अगुवाइमा युरोपको अमेरिका उपनिवेशको यात्रा सन् १४९२ देखि क्यारेबियन सागरको तटमा रहेको टापुदेश हिस्पानिओला (अहिलेको हैटी) बाट सुरु भएको थियो । स्पेनिस शासकको निर्देशनमा व्यापारको नयाँ बाटो पत्ता लगाउन एउटा सैनिक दस्ताको अगुवाइ गर्दै इटलीका कोलम्बस सुदूर पूर्वको समुद्री यात्रामा स्पेनको म्याड्रिडबाट निस्केका थिए तर बाटो बिराएर डिसेम्बर ५, १४९२ दिन हिस्पानिओला अर्थात हैटी पुगे । उनी इटलीको गोनाउमा जन्मेका थिए र यो यात्रापछि बाँकी जीवन स्पेनको दोस्रो ठूलो सहर एडालुसियाको रोमन चर्चमा बिताएका थिए ।

कोरोना भाइरसको विश्वव्यापी यात्रासँगै हामीलाई कोलम्बसको प्रकृतिमा साम्राज्य गर्न उनले गरेको यो यात्राको सम्झना गाढा र ताजा हुँदै आएको छ । अहिले प्रकृतिको व्यापार गर्ने प्राचीन सामाज्य भएको मध्य—चीनको सहर हुवान हुँदै पूर्वी इटलीकोरोमन साम्राज्यको सैनिक परेड गर्ने ठाउँको डोगार, यी सेना प्रकृतिमाथिको साम्राज्य फैलाउन हिँड्ने समुद्री बाटो गोनाउ, स्पेनमा युद्ध शासकको साम्राज्यअखडा म्याड्रिडर कोलम्बसले अन्तिम दिनहरू बिताएको ठाउँ एडालुसिया हुँदै फैलिँदै गरेको कोरोना अहिले विश्वव्यापी भएको छ ।

यो अहिले कहिल्यै घाम नअस्ताउने प्रकृतिका विनाशकहरूको जन्मथलो युरोपलाई विश्वकै केन्द्र बनाएर यसले विस्तार गरेको साम्राज्यभरि फैलिँदै छ । अहिले यसले यस्ता शासकवर्गको नेतृत्व गर्ने अमेरिकी साम्राज्यलाई केन्द्र बनाएको छ । यही साम्राज्यको सिको गर्ने भारत, इरान र पाकिस्तानसमेत यसको चपेटामा परेका छन् ।

यसरी हेर्दा जीवन तत्त्वको अपरिहार्य संवाहकर प्रकृतिको जैविक निरन्तरताको सारथि कोरोना कोलम्बससँगै हिँडेको र अहिले त्यसबेलादेखि मानिसले प्रकृतिमाथि गरेको दोहन र ह्रासले उसको बासस्थान बिथोलिएको जानकारी दिँदै यी सबै क्षेत्रमा रहेका मानिसलाई खबरदारी गर्न खोजेको देखिन्छ ।

अहिले यो भाइरसको संक्रमण प्राकृतिक वातावरण धेरै बिगारेका ठाउँमा बढी छ तर सँगै के भुल्नु हुँदैन भने यस्तो बिगार आफैँले मात्र गरेको भने हुनुपर्दैन । अरूका कारणले समेत बिग्रेको हुन्छ । उदाहरणका लागि हाम्रो प्रकृति हाम्रो कारणले मात्र हैन, पश्चिमी विकासले आधुनिक हुन भन्दै गरेको प्रकृतिको अति दोहनले तहसनहस भएको हो तर यसले ल्याएको जलवायुको आतंकको सबैभन्दा ठूलो प्रभाव र असर हिमालमुनिको हाम्रो भूगोल र समाजमा परिरहेको छ ।

भाइरस र भ्रम

भाइरस, जीवकोषको संरचनासमेत नबनेको अत्यन्तै सूक्ष्म जीवतत्त्व हो । हाम्रो शरीरमा लाखौं संख्यामा यस्ता जीव तत्त्व र सूक्ष्म जीव रहेका हुन्छन् । बेलायती जीवजन्तुविद् डा. एलेना कोलेनले ‘टेन परसेन्ट हुमनःहाउ योर बडिज माइक्रोब्स होल्डस् द कि टु हेल्थ एन्ड हेप्पिनेस’ नामक आफ्नो पुस्तकमा मानिसको शरीरमा उसका आफ्नै कोषभन्दा बढी यस्ता सूक्ष्म जीवका कोष रहेका हुन्छन् र मानिसले आफ्नो जीवनकालभरि ५ वटा अफ्रिकी हात्ती बराबरका सूक्ष्म जीवसँगै जीवन चलाउने कुरा सविस्तार व्याख्या गरेकीछन् । यिनै सूक्ष्म जीव नै भाइरसका मुख्य आश्रयस्थल पनि हुन् । यीसूक्ष्म जीवसँगै यी भाइरससमेत हाम्रो शरीरमा रहने गर्छन् ।

अहिलेको आधुनिक चिकित्सा विज्ञानले समेत केही यस्ता सूक्ष्म जीव र भाइरसका जीवाणु हाम्रो शरीरमा सुषुप्त अवस्थामा रहने गरेको र प्रतिरोध क्षमता कमजोर हुँदै जाँदा यसले आफ्नो प्रभाव देखाउने गरेको कुरा गर्ने गरेको छ । उदाहरणका लागि निमोनिया, हेपाटाइटिस, टिबी इत्यादि ... । यी जीवाणु हाम्रो शरीरमा हावा, पानी या खानाबाट मात्र सर्दैनन्, यी त शरीरमा भएका लाखौं प्वालबाट सजिलै पस्छन् र आफ्नो काम गरिरहन्छन् ।

यी प्रकृतिको सन्तुलनका लागि अहोरात्र खट्ने कर्मीमौरीजस्तै हाम्रा स्थायी मित्र हुन् । अहिलेसम्म प्रकृतिको विविधता बढाउने पद्धतिका यी बलिया सारथिले नै अन्य जीवकोषको उत्परिवर्तन गर्छन् अर्थात रूप र सार परिवर्तन गर्छन् जसका माध्यमबाट सृष्टिको वृद्धि र निरन्तरता सम्भव हुन्छ । यसो नभएमा उत्पत्ति र विकासको शृंखला नै अवरुद्ध हुन्छ र पृथ्वीबाट केही समयमै जीवन नष्ट हुन्छ । प्रकृतिमा जैविक सन्तुलन कायम गर्न यी जीव सदैव जागृत हुन्छन् । जसरी मौरीले परागसेचन गरी यस वर्षको जीवन धान्ने व्यवस्था मिलाउँछ, भाइरसलगायतका जीवले पनि जीवन उत्परिवर्तनको चक्र चलाएर अरूजीवको जीवनको निरन्तरता कायम गर्न सघाउँछन् । यो बिना मानिसको आफ्नै अस्तित्वसमेत सम्भव छैन ।

यस अर्थमा भाइरस जीवन प्रक्रियालाई सम्भार गर्ने र निरन्तर बनाउन उत्परिर्वतनको सहजीकरण गर्ने सबैभन्दा सूक्ष्म जीवतत्त्व हो । माथि भनेझैं अरू सूक्ष्म जीव जस्तो यो संरचनामा बसेको हुँदैन । यो मानिसलगायत सबै जीवसँगसँगै मिलेर बसेको हुन्छ । भाइरसको हामीसँगको सहयात्रा सद्भावपूर्ण बनाए यसबाट हुने नोक्सान कम हुन्छ । हामी यसलाई प्रतिरोध क्षमता पनि भन्छौं किनकि यस्तो सद्भावमा बस्न नसके एउटा हार्ने र अर्कोले जित्ने हुन्छ । हामी अति सूक्ष्म जीवतत्त्व भाइरस जितेको र कमजोर मानिस मरेको मात्र देख्छौं र सधैं यही भ्रमबाट आतंकित हुन्छौं ।

अहिले धेरै दुराग्रही बन्दै गएको आधुनिक ज्ञान र अहिलेको मूल प्रवाहको समाज दुवैले यस्ता सूक्ष्म जीव खासगरी भाइरस भनिने अति सूक्ष्म जीव अस्तित्वलाई रोग कारक जीवाणुकारूपमा मात्र चित्रित गरेको पाइन्छ । यस्तो ज्ञान सयौं वर्षदेखि आधुनिक शिक्षाको माध्यम सामाजिक अभियन्त्रीकरण (सोसल इन्विनियरिङ) भएर आम मानिसको मनमस्तिष्कमा घर गरेको छ । यसैको प्रभावमा यस क्षेत्रका असल विज्ञसमेत विभिन्न डर तथा प्रलोभनमा परेर जानेकै कुरा बोल्नसमेत डराउने गरेका छन् । यी नै आम मानिसमा भाइरसबारे नकारात्मक विचार फैलाउने र मानसिक रूपमा आतंक फैलाउने सबैभन्दा बलिया आधार बनेका छन् ।

तसर्थ कोरोना भाइरसलाई हेर्ने हाम्रो समग्र दृष्टिकोणलाई हामी प्रकृतिलाई बुझ्ने र व्यवहार गर्ने दृष्टिकोणसँग नजोड्ने हो भने जति जति हामी हाम्रो शारीरिक र वरिपरिको वातावरण बिगार्छौं, त्यति धेरै यस्ता जीवतत्त्व हाम्रो वरिपरि आउने गर्छन् । यो विगतमा पनि भएको थियो र भविष्यमा पनि हुन्छ । बरु मूल प्रश्न केहो भने यो वातावरण सपार्न जति धेरै ढिलो हुन्छ, त्यति यसको प्रकोप खतरनाक र भयावह हुन्छ र हाम्रो अपेक्षाभन्दा धेरै हुन्छ । छिटोछिटोसमेत हुन्छ ।

यस अर्थमा अहिले कोरोनाको उपस्थितिले प्रकृृतिको दोहनमा साम्राज्य फैलाउने युरोप र यसको उपनिवेशको फेरो समाउँदै भित्रिएको औद्योगिक विकासले प्रकृति बिगारेको तथ्यतर्फ फर्केर हेर्न र यसलाई सच्याउन हाम्रो सार्थक प्रयत्न गर्नुपर्नेतर्फ स्पष्ट संकेत गरेको छ । तसर्थ अहिलेको घटनालाई प्रकृतिलाई व्यवहार गर्ने मानवीय विनम्रताको चरम उल्लंघनको बदलामा प्रकृतिले दिएको सजायको यो एउटा सानो तर घतलाग्दो उपहारका रूपमा मात्र लिउँ र मानिसले विकास या समृद्धि हासिल गर्ने नाममा गरेको प्रकृतिको अति दोहन बेलैमा सच्याऊँ ।

सँगै, के पनि नबिर्सौं भने योसँगै प्रकृतिका नियमित घटना जस्तो भूकम्प, ज्वालामुखी, उल्का पिण्डले ल्याउने त्रास पनि छन् तर यिनै विपद्को भयावह चित्र देखाएर शासक वर्ग ठूला मानवीय आतंक सिर्जना गर्ने गर्छन् । विगतमा विपत् या महामारीले भन्दा शासकका हठ र कुकर्मले आम मानिसलाई छेउ पार्दै छाउ बार्न लगाएर मुख्यतः खानाको जोहोलगायत उचित प्राकृतिक र सामाजिक वातावरणको पहुँच नभएर धेरैले अनाहकमा ज्यान गुमाएको इतिहास साक्षी छ । यसपटक पनि यो देहोरिने छाँट देखिएको छ । सबै सचेतर सतर्क बनौं ।

प्रकृति, प्रविधि र मानवीय प्रवृत्तिमा आएको फेरबदल आत्मसात् गर्दै यो छाउलाई समयसापेक्ष बनाऊँ । हाम्रो समाजका छाउ र छेउ परेका मानिसको आत्मसम्मान बढाउन सार्थक पहल गरौं साथै दीर्घकालमा यस्ता प्रकृति विनाशका समस्याबाट मुक्त हुन हाम्रा खानाको उत्पादन प्रणाली रूपान्तरण गर्नु एउटा मुख्य उपाय हो । यसका लागि रसायन, विषादी, हर्मोन र प्लास्टिकमुक्त खेतीपातीका लागि तयार होऔं । यसले नै हामी सबैलाई सच्याउँदै लानेछ ।

अन्त्यमा, भाइरसको व्यवहार, बासस्थान र मानिससँगको यसको सहयात्रालाई सहज बनाऊँ । यसको नकारात्मक प्रभाव प्रतिरोध क्षमता नभएका मानिसमा बढी जोखिमपूर्ण हुन्छ । उनीहरूलाई ख्याल गरौं । नियमित र डरमुक्त विचार, आहार र अभ्यासले मात्र पनि यो क्षमता धेरै बढ्छ तर यसको भेद नबुझी लहैलहैमा उत्तेजित नहोऔं ।

अहिले कोरोनाका कारणले ज्यान गुमाउनेको संख्या बिरामी हुनेको तुलनामा घटने क्रममा छ । यो कोरोनाले पुर्‍याउन सक्ने क्षतिका हिसाबले सकारात्मक सन्देश हो । आशा गरौं, यही अवस्था पनि धेरै लामो रहने छैन । अझ चाँडै सुधार हुनेछ । प्रकृतिको रक्षक सानो कोरोनाले गर्दा हाम्रो हठले संकटग्रस्त प्रकृति पुनर्जीवित गर्ने अहिले ठूलो अवसर मिलेको छ । यो संकट आफ्ना कमीकमजोरीलाई फर्केर हेर्न र प्रकृति दोहनले अन्धो भएको मानवीय विवेक सच्याउने आधार बन्न सकोस् । सुरुवात फेरि पनि खाना, माटो र प्रकृति सपार्ने कामबाट गरौं किनकि स्थानीय तहमै खानेकुरा उत्पादन अब सबै तरहले मानव सभ्यताका लागि अपरिहार्य भएको छ । यसले आम मानिसको खानाको बन्दोबस्त मात्र गर्दैन । यो मानव, माटो र प्रकृति सपार्ने, प्रकृति र समाजको अन्तरसम्बन्ध बलियो बनाउने दिगो अभ्यास पनि हो । कोरोना छाउ यसैको चिन्तन मनन र तयारीमा लागौं ।

प्रकाशित : चैत्र १९, २०७६ १७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?