कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संकटको बादलमा चाँदीको घेरा

टीका ढकाल

काठमाडौँ — यसबेला संसारका धेरैजसो देशले आफ्ना नागरिकमा कोरोना भाइरसको संक्रमणको गति घटाउन बन्दाबन्दी (लकडाउन) लागू गरेका छन् । बन्दाबन्दी उपचार होइन, भाइरसको संसर्गमै नपुग्ने एउटा उपाय मात्र हो ।

संकटको बादलमा चाँदीको घेरा

मानव गतिविधिमा लागेको यस बाध्यात्मक सीमाका कारण नागरिक पहलको सम्भावना खुम्चिएको छ । समग्र विश्वको आर्थिक प्रवाह रोकिएको छ । सामाजिक सम्बन्धको भौतिक निकटता स्थगनमा छ । यस पुस्ताको जीवनकालमा नभोगिएको परिवेश एक्कासि सामुन्ने उभिएपछि नेपालसँग पनि बाँकी संसारकै बाटो हिँड्नुको विकल्प रहेन । कोरोना भाइरसमाथि मानिसको विजय निश्चित छ । तर, कत्रो मानवीय क्षति होला र यस्तो परिस्थिति कति लामो जाला भन्ने पूर्वानुमान उपलब्ध नहुनाले असमन्जस पनि साथै हिँडिरहेको छ ।

मानव गतिलाई अनिश्चितकालीन नियन्त्रणमा राख्नैपर्ने बाध्यताले हाललाई वैश्विकस्तरको संकटकाल जन्माएको मान्न सकिन्छ । त्यसैले, भाइरसविरुद्ध मानिसको यो साझा लडाइँलाई ‘तेस्रो विश्वयुद्ध’ का रूपमा लिएर संसारभरिका राष्ट्रहरूबीच सहकार्यको खोजी भैरहेको छ । कोरोना भाइरसको विस्तारलाई रोक्न राष्ट्रहरूबीच हुने सहयोग एउटा पक्ष हो । संकटको अवधिलाई छोट्याउन र रोगमाथि विजय प्राप्त गर्न अन्तर्राष्ट्रिय संस्थाबीचको साझेदारी अर्को उत्तिकै महत्त्वपूर्ण पक्ष हो । भाइरसलाई लिएर अन्तर्राष्ट्रिय राजनीतिको एउटा फलकमा चीन र अमेरिकाबीच चलेको वाकयुद्ध हाललाई रोकिनुले राहतको अनुभव दिलाएको छ । यससँगै, कठोर भूराजनीतिक गर्मी झेलेर चुपचाप काम गरिरहने अनेकौं प्राज्ञिक–वैज्ञानिक संस्थाका नियमित अनुसन्धानले संकटको बादलमा चाँदीको घेरा देखाएका छन् । अन्तर्राष्ट्रिय संस्थाहरूको प्रमुख उद्देश्य नै महत्त्वपूर्ण सूचनाको सझेदारीमार्फत विश्वलाई सुसूचित गर्नु हो । यस क्रममा उनीहरूले विशिष्टीकृत अनुसन्धान प्रणालीको व्यापक दायरा निर्माण गर्छन्, जसको सफल उदाहरणका रूपमा संयुक्त राष्ट्र संघका विशिष्ट संस्थाहरूलाई लिन सकिन्छ ।

कोरोना भाइरसको संकटका दौरान विश्व स्वास्थ्य संगठनले विभिन्न देशमा भैरहेका अनुसन्धानको सूची तयार मात्र गरेको छैन, विश्वभरिका प्रमुख अनुसन्धान संस्थाहरूसँग नियमित समन्वय गरिरहेको देखिन्छ । धेरै देशका वैज्ञानिकहरू सामेल भई अनुसन्धान प्रवर्द्घन गर्ने अमेरिकाको जोन्स होप्किन्स विश्वविद्यालय, भारतको पुनेस्थित भाइरस विज्ञान अध्ययन संस्थान (इन्स्टिच्युट अफ भाइरोलोजी), चीनको फुदान विश्वविद्यालय वा संसारभरि छरिएका अनेकौं औषधि उत्पादकहरूका प्रयोगशाला आधारित अनुसन्धानले अन्तर्राष्ट्रिय वैज्ञानिक सहकार्यको नेतृत्व गरेका छन् । सबै अनुसन्धानलाई सूचीकृत गर्ने र निरन्तर अद्यावधिक गर्ने काम विश्व स्वास्थ्य संगठनले गरेको छ । राजनीतिमाथि नागरिक विश्वास धर्मराएको यो समयमा अन्तर्राष्ट्रिय तथा प्राज्ञिक संस्थाबीचको साझेदारीले भरोसा जगाउँछ । लोकरिझ्याइँमा चुर्लुम्म डुबेको राजनीतिक भाषाबाट उनीहरूले आफूलाई पृथक् मात्र राखेका छैनन्, भविष्यमा कदाचित आइपर्ने विश्वव्यापी मानवीय संकटसँग जुध्न सहकार्यका लागि चुपचाप पथप्रदर्शन पनि गरिरहेका छन् ।

संकटमा हरेक व्यक्ति, समाज र राष्ट्रले नेतृत्वको खोजी गर्छ । ‘राज्य’ भनिने अवधारणाको स्रोत नै व्यक्तिगत भौतिक सुरक्षासँग सीधा जोडिएकाले मानिसले आफू सबैभन्दा असुरक्षित अनुभव गरेका समयमा राज्यबाट संरक्षण चाहन्छ । त्यसैले, राष्ट्रिय नेतृत्वले संकटमा नागरिकको सुरक्षा र सामर्थ्य कायम राख्ने पहल लिनु अत्यावश्यक हुन्छ । अहिले देशका सरहदभित्र लागू गरिएका बन्दाबन्दी वा आर्थिक कार्यक्रमहरू भाइरसको उपचार होइनन्, सुरक्षाका लागि उठाइएका न्यूनतम कदम मात्र हुन् । उपचारका लागि विषाणुलाई पराजित गर्न सक्ने वैज्ञानिक आविष्कार नै चाहिन्छ । कोरोना भाइरसजस्तो एक्कासि आइपर्ने संकटको वास्तविक कारण पहिल्याउने र दिगो समाधानका उपाय खोज्ने कार्य कुनै खास राष्ट्रिय नेतृत्वको एक्लो जिम्मेवारी मात्र होइन ।

पछिल्लो पचास वर्षमा निर्मित वैश्विक अन्तरसम्बन्धको मिहिन सञ्जालका कारण संसारका सबै मानिसको भविष्य राष्ट्रहरूबीचको पारस्परिक सहयोगको धरातलमा आधारित भएकाले संकट समाधानमा अन्तर्राष्ट्रिय साझा पहलको खोजी निरन्तर भइरहन्छ । कोरोना भाइरसको संक्रमण जसरी चीन हुँदै युरोप, अमेरिका र बाँकी विश्वमा फैलिएको छ, त्यसबाट भाइरस र मानिस हिँड्ने बाटो एकै भएको पुनर्पुष्टि भएको छ । इतिहासमा यसअघि देखिएका महामारीहरू पनि मानिसकै मार्गबाट निश्चित भौगोलिक क्षेत्र वा विश्वभरि फैलिएका थिए । भाइरसलाई निस्प्रभावी बनाउने वा नष्ट गर्ने आविष्कार मानिसले त्यसै बाटोबाट जन्माएको छ । सन् १७९६ मा बेलायती चिकित्सक एडवार्ड जेनरले बिफरविरुद्ध खोप विकास गरे । इसापूर्व १० हजार वर्षअघि प्राचीन मिश्रमा देखा परेको बिफर त्यहाँबाट हुने बसाइँसराइसँगै युरोप र भारतीय उपमहाद्वीप पुग्यो र मानव सभ्यताको इतिहासमा सबैभन्दा लामो समयसम्म प्राण घातक रोग बन्यो । बिफर हाल संसारबाट पूर्ण उन्मूलन भैसकेको छ ।

आधा शताब्दीअघिसम्म दक्षिणी चीन, भियतनाम, लाओस र म्यान्मारलाई पूर्वी एसियाको औलो ‘कोरिडोर’ मानिन्थ्यो । भियतनाम युद्धमा आफ्ना सैनिक अमेरिकी आक्रमणभन्दा औलोको प्रकोपबाट ज्यादा सताइएपछि भियतनामी नेता हो ची मिन्हले चिनियाँ नेता माओत्से तुङलाई औलोविरुद्ध अनुसन्धानमा वैज्ञानिक खटाउन आग्रह गरे । सांस्कृतिक क्रान्तिका दौरान सयौं वैज्ञानिक यसका लागि खटाइए । पारम्परिक चिनियाँ उपचार पद्धतिको अध्ययनबाट सन् १९७२ मा आर्टेमिसिनिन आविष्कार गर्न पेकिङ विश्वविद्यालयकी अनुसन्धाता तथा चिकित्सक तु युयु सफल भइन् । औलोको पारम्परिक उपचार प्राणालीलाई आधुनिक विज्ञानको प्रयोगद्वारा उनले प्रभावकारी बनाइन्, जसका लागि उनलाई सन् २०१५ मा चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कारले सम्मान गरियो । सन् ३४० मा छिन शासनकालका वैद्य गे होङले लेखेको ‘आपत्कालीन उपचारको हाते पुस्तक’ अध्ययन गरेर आफूलाई यस औषधिको प्रारम्भिक जानकारी मिलेको उनले बताउँदै आएकी छन् ।

जेनरको समयमा खोपको अवधारणा स्वीकृत भैसकको थिएन । उनले विकास गरेको उपचार प्रणालीले शरीरको प्रतिरोधी क्षमता विकास गरेर रोग लाग्नै नदिने भ्याक्सिनको प्रविधि जन्मायो । युयुले विकास गरेको औषधिका कारण एसिया र अफ्रिकालाई सयौं वर्षसम्म सताएको औलोको प्रकोपबाट मानिसले पूर्ण मुक्ति पाएको छ ।

लामखुट्टेले मानिसमा सार्ने प्लाज्मोडियम नामक सूक्ष्म परजीवीबाट लाग्ने औलोको औषधि आविष्कार भएयता नयाँ भाइरससँग जुध्ने वैज्ञानिक विधिमा धेरै प्रस्टता आएको छ । विगत दुई दशकभित्र देखापरेका सार्स, मर्स वा इबोला भाइरसविरुद्ध चिकित्सा विज्ञानले निकै छोटो अवधिमा प्रतिरक्षा प्रणालीको विकास गर्‍यो, जसमा विश्व स्वास्थ्य संगठनले मुख्य संयोजनकारी भूमिका खेल्यो । पश्चिम अफ्रिकामा इबोलासँग लड्न अमेरिकी अग्रसरतामा गठन गरिएको अन्तर्राष्ट्रिय साझेदारी (इन्टरनेसनल कोलिसन) अहिले पनि विश्व स्वास्थ्य संगठनको छातामुनि कार्यरत छ । यसको निष्कर्ष के हो भने, देशहरूको आफ्नो स्वार्थ हुन सक्छ र अन्तर्राष्ट्रिय संगठनहरू त्यसबाट प्रभावित हुन सक्छन् तर उनीहरूको साझेदारीलाई मानव सभ्यताको हितमा विश्वसनीय ढंगले परिचालित गर्न सकिन्छ । वर्तमान विश्व व्यवस्थाको यो ठूलो सकारात्मक पक्ष हो ।

भाइरस पराजित गर्ने अनुसन्धानको प्रस्थानविन्दु मानव शरीरविज्ञानको सामान्य यथार्थबाट सुरु हुन्छ । कुनै पनि भाइरसबाट जोगिन मानिसको शरीरमा पहिले प्रतिरोधी क्षमता विकास गर्नुपर्छ । प्रकृतिप्रदत्त जैविक प्रक्रियाद्वारा मानव शरीरले नियमति रूपमा बाह्य संक्रमणविरुद्ध प्रतिरोध गरिरहेकै हुन्छ । यसरी कतिपय भाइरसलाई शरीरले आफैं परास्त गर्छ, अतिरिक्त हस्तक्षेपबिनै । तर, कोरोना भाइरसजस्तो एकदमै छिटो परिवर्तित (म्युटेट) हुने भाइरसले मानिसको शरीरमा स्वस्फूर्त विकास हुने प्रतिरोधी क्षमताभन्दा छिटो गतिमा संक्रमण फैलाउँछ । कम मानवीय क्षति हुँदै यसलाई रोक्न खोप (भ्याक्सिन) चाहिन्छ । भाइरसविरुद्धको भ्याक्सिनले शरीरको प्रतिरोधी क्षमता बढाउँछ र रोग लाग्नै दिंदैन । किनकि रोग लागिसकेपछि भ्याक्सिनले उपचार गर्दैन । धेरै अन्तर्राष्ट्रिय संस्थाहरूको अनुसन्धान अहिले रोग लाग्नै नदिने खोप आविष्कार गर्न केन्द्रित छ । उनीहरूबीचमा कसले पहिला खोप बनाउने भन्ने प्रतिस्पर्धा छँदै छ । सँगसँगै कोरोना भाइरस फैलिएर निश्चित हावापानी र भौगोलिक क्षेत्रमा पुग्दा देखिने म्युटेसनबारे उनीहरूबीचमा अनुसन्धानको साझेदारी पनि भैरहेको छ । यसको अर्थ चीनमा देखिएको कोरोना भाइरस र इटालीमा, अमेरिकामा वा भारतमा देखिएको भाइरसको स्वरूप फरक हुन सक्छ. मानिसलाई आजको विश्वका सबै पारिस्थितिक प्रणालीको ज्ञान छ ।

यसले प्रभावकारी खोप वा औषधिको आविष्कार अवश्यम्भावी बनाएको छ । शक्ति राष्ट्रबीच हुने राजनीतिक वर्चस्वको प्रतिस्पर्धाले ज्ञान र सूचनाको प्रवाहलाई एक हदसम्म बाधित गर्छ । वैज्ञानिक संस्थाहरूले गर्ने सहकार्यले चाहिँ मानव भविष्यलाई आश्वस्त बनाउँछ. । जसरी संसारको कुनै एउटा कुनामा देखिएको भाइरस संक्रमणले सम्पूर्ण संसारलाई सताउन सक्छ, त्यसैगरी कुनै एक देशमा विकास गरिएको खोप वा चिकित्सा विज्ञानको उपलब्धि मानवजातिको साझा सम्पत्तिको रूपमा प्रयोग हुन्छ ।

कोरोना भाइरसविरुद्ध चलिरहेका अनुसन्धानमा संलग्न हुने चाहना राख्नु नेपालका लागि यसबेला एउटा महत्त्वाकांक्षा मात्र मानिएला । यद्यपि नेपालको जस्तो हावापानीमा कोरोना भाइरसको म्युटेसन बुझ्न यहाँको प्रयोगशाला वा अनुसन्धान संस्थाले जाँच गर्न संकलन गरेका नमुनाहरूको उपयोगिता हुन सक्छ । यस भाइरसको ‘जेनोम सिक्वेन्सिङ’ अहिले मुख्यतः भारत, चीन, इटाली, जर्मनी, अमेरिका र बेलायतका संस्थाहरूले गरिरहेका छन् । नेपाल आफैंले अनुसन्धान गर्न नसके पनि गर्न सक्ने सम्भावना भएका नेपाली वैज्ञानिकहरू नभएका होइनन् । पछिल्ला वर्षमा विज्ञानका विभिन्न विधाका अनुसन्धानमा नेपाली वैज्ञानिकहरूको सहभागिता बढिरहेको छ । सरकारसँग कुनै नाम र इच्छाशक्ति हुँदा ती संस्थालाई विशेष अनुरोध गरी नेपाली वैज्ञानिकले पनि नयाँ अनुसन्धानमा सामेल हुने मौका पाउँथे कि !

प्रकाशित : चैत्र १९, २०७६ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?