भोलि उदाउने बिहान

स्तम्भ : समवेत
सरिता तिवारी

काठमाडौँ — कोभिड–१९ रौद्ररूपमा छ ।यतिखेर हरेक रात निदाउने बेला कल्पना आउँछ भोलिको बिहान कस्तो होला ?

अति कम घण्टाको सीमित निद्रामै पनि परेला ढप्किनुअघिका कठोर मिनेटहरूमा अनेक स्थगित योजनाहरू कुद्न आउँछन् आँखामा । प्रियजनका अनुहार आउँछन् । उनीहरूसँग बिताएका सुन्दर पल आउँछन् । तर सँगसँगै भयानक दुःस्वप्न पनि आउँछन् । परिस्थितिहरूको क्रूर आकलनले विकराल अँध्यारोतिर घिसारिरहेजस्तो आतंक आउँछ छायाजसरी र खेद्न थाल्छ ।


एकान्तबासको शून्य समय

यो लकडाउन अवधि हो । सकेसम्मका स्वास्थ्य सतर्कता अपनाउने बेला हो । निरन्तर देश, दुनियाँ हेर्ने र सामूहिक दुःखको सामना गर्न तयार हुने बेला हो । तर सँगसँगै, हरेक नागरिकले राज्ययन्त्रलाई जिम्मेवार बन्न सकारात्मक दबाब दिने बेला पनि हो । जिम्मेवार नागरिकका रूपमा सरकारलाई सहयोग गर्नुपर्ने अति संवेदनशील समय हो यो तर सरकार नागरिकसँग सूचना लुकाउँछ । उस्तै परे दिनमै तारा देखाउने झूट बोल्छ । यति ठूलो, विश्वस्तरको मानवीय संकटको बेलामा बिरामी जाँच र उपचारमा प्रयोग हुने सामग्री खरिद प्रक्रियामा गरिएको अनियमितता त्यसको पछिल्लो दृष्टान्त हो । यो कुरा जति भर्त्सनायोग्य छ त्यति नै विडम्बनापूर्ण छ जवाफदेहिताबाट भाग्ने स्वास्थ्यमन्त्रीको बोली । यस्ता कुराले आक्रोश र निराशा बढाउँछन् नै ।

यतिखेर देशको स्वास्थ्य व्यवस्था बिरामी प्रधानमन्त्रीको साससँगै धीमा गतिमा हिँड्दै छ तर आम मानिसका प्रश्नहरू प्रकाशको गतिभन्दा तीव्र छन् । यसको कारण हो ः कोरोना–सन्त्रासको सुपरसोनिक ट्रेनभन्दा तीव्र गति । यो गतिले संसारका मै हुँ भन्ने देशलाई पनि विस्मयमा पार्ने गरी पछाडि छोडिरहेको छ । तर लाग्छ, नेपालको सरकार र कर्मचारीयन्त्रको होस–चेत अझै खुलेको छैन । कतिपय अगस्ती चिन्तनका मान्छेहरू संसार ध्वस्त हुन्जेल पनि पैसाकै थुप्रोमाथि मग्न निदाइरहेको कल्पना गर्दा हुन् र नै महामारी र प्राकृतिक विपत्ति पनि तिनलाई ‘तर मार्ने’ स्वर्णिम मौका बनेर उपस्थित हुन्छन् ।

यो राज्यले अपनाएको लगभग पद्धतिशून्य अर्थनीति र स्वास्थ्यनीतिका परिणाम हुन् हामीसँग कोभिड–१९ सँग लड्ने अहिलेसम्म त्यस्तो ठोस र विश्वसनीय तयारी छैन । बेला घर्किनै लाग्दा बल्लतल्ल केही थान सामग्री आइपुगेका छन् तर राजधानीबाहिरका बिरामीको परीक्षण र उपचार प्रक्रियालगायतको विषयमा अझैसम्म कुनै गतिलो पूर्वाधार छैन । यो संक्रामक रोग फैलियो भने हामीले भोग्ने मानवीय क्षति कतिसम्म अकल्पनीय हुनेछन् ? यस्तो सोच्दा जीउमा काँडा उम्रिन्छन् । युरोपका सुविधासम्पन्न अस्पताल र ग्रेभयार्डका तस्बिर र भिडियो देख्दै झसंग भइन्छ । आफ्नै आँखाअघि मृत्युको त्यस्तो ताण्डव देख्ने साहस हामीमध्ये कतिले जुटाउँला ?

फेसबुकमा चार दिनअघि फ्रान्सबाट अनुराधा पौडेलले पोस्ट गरेकी थिइन्, ‘पेरिसका अस्पताल भरिएर बिरामीहरू बेल्जियम, जर्मनीतिर लैजान थालिएको छ । भेन्डिलेटर, मास्क, बेड अब केही छैनन् । साधारण बेडमा सुताउँदै गरौं भनेर नहुने रहेछ । बिरामीहरू पानीबाट फालेको माछाजस्तो फत्रकफत्रक हुँदै मरेका छन् ।... हामी जोगिने प्रयत्नमा छौं । सरकारले जारी गरेको लकडाउनको पालना गरेर बसेका छौं । त्यता नेपालमा पनि जोगिनुहोला है Û’

एकान्तबास एकप्रकारको शून्य समय पनि रहेछ । यसले हामीलाई कोरोनासँग जोगिने मात्रै होइन सोच्ने, तयारी गर्ने फुर्सद पनि दिएको छ । इमानदारीपूर्वक आफैंतर्फ फर्किने, आफूलाई चिन्ने मौका पनि दिएको छ । नागरिकस्तरमा व्यापक सतर्कताको अवसर दिएको छ । मानवसभ्यताका लागि अनुकूलित यो हरियो, प्यारो ग्रहबारे गम्ने, प्रकृति र पर्यावरणमाथि विचार गर्ने समय दिएको छ । पढ्ने, फिल्म हेर्ने, परिवारलाई पूर्ण रूपले समय दिने गरे एकान्तबास सिर्जनात्मक पनि हुन सक्छ भन्ने थाहा दिएको छ । तर हामीमध्ये कतिपय लाचार भएर घरभित्र एक थुप्रो ज्यान थन्क्याउने, रामरमाइलो गर्ने, उस्तै परे दारु पार्टी गर्ने, जथाभावी हसुर्ने र फेसबुकमा यी सबै कुराको फेहरिस्त राखेर ‘सेल्फिस’ मुद्राका सेल्फी पोस्ट्याइरहने कुरामै बढी झुत्तिएका देखिन्छौं । सडकमा सन्नाटा छ तर सामाजिक सञ्जाल कोलाहलमय छन् । ती कोलाहलमा अरूका निम्ति चिन्ता, सामूहिक कहरको सामना गर्ने पूर्वतयारी भन्नेजस्तो केही छैन । अर्थ न बर्थका आत्मप्रलाप छन् । चप्पलका प्वाल गन्नेदेखि भातका सिता गनेर बस्नेसम्मका नचाहिँदा ‘फ्रस्टेसन’ का बान्ता छन् । विदेशबाट आउँदा संक्रमित हुने व्यक्तिमाथिका अश्लील लाञ्छना छन् । हल्ला र छद्म समाचारका खेती छन् ।

यो त सामाजिक सञ्जालहरूलाई अधिकतम उपयोग गरेर सामूहिक रूपमा सतर्कता र खबरदारीको अभियानलाई तीव्रता दिनेबारे सोच्ने र काम गर्ने बेला पो हो । हामीले यसरी किन नसोच्ने ? किन कुनै प्रयत्न नगर्ने ?


कोरोना विशेष अस्पताल

भौगिलिक रूपले देशको केन्द्र भरतपुरको कुरा गरौं अब । साधन, स्रोत, अस्पताल, डाक्टर हरेक कुराले राजधानीपछिको सुगम ठाउँ ।

मत्त खुला साँढेझैं उपद्रो मच्चाउँदै निस्केको महामारीको विश्वव्यापी प्रकोप बढ्ने निश्चित भएपछिको कुरा । विश्व स्वास्थ्य संगठनले नेपाललाई संक्रमणको उच्च जोखिमका देशहरूको सूचीमा एघारौं नम्बरमा राखिसकेको थियो तर संघीय सरकारकै तयारीको केही चानुमानु थिएन ।

कोरोना संक्रमणसँग जुध्न आखिर सरकारी संयन्त्र नै अगाडि आउनुपर्ने थियो । यतिखेर निजी अस्पतालहरूले एक सय अस्सी डिग्रीमा फर्काएको पीठ सबैले देखेकै कुरा भयो ।

त्यतिखेरै भरतपुरले कोरोना विशेष अस्पतालको तयारी गर्ने पहल थाल्यो । घोषणा गरिएजस्तै बहत्तर घण्टामै कोरोना विशेष अस्थायी अस्पताल तयार पनि भयो । अस्पताल निर्माणको खबरले एकाएक मानिसहरूमा एउटा भरोसाको सञ्चार गरिदियो । यो कोरोनाकै उपचारका लागि बनाइएको देशभरिकै पहिलो अस्थायी अस्पताल हो । यसअघि कतिपय अलोकप्रिय निर्णय र गतिविधिले प्रायः आलोचित नगरप्रमुखलाई कालो बादलमा चाँदीको घेरा भनेजस्तै चुनौतीपूर्ण तर ऐन समयको अवसर थियो यो । डा. भोजराज अधिकारीको परिकल्पना र दृढता, उद्योग वाणिज्य संघ चितवन र चितवन उद्योग संघको साथ लिएर नीतिगत व्यवस्थापनसहित युद्धस्तरमा लागेकी नगरप्रमुख रेणु दाहाल यतिखेर सम्भवतः करिअरकै सबैभन्दा कठोर परीक्षामा छिन् । धेरै अपत्यार र असुविधाका बाबजुद पनि यो अस्पतालले काम थालेको छ । काम गर्न भावुकता र संकल्प मात्रै त पर्याप्त छैन तर प्रयत्न इमानदार र पारदर्शी छ भने यसमा सबैले साथ नदिई सुख छैन ।

महामारीको यो कठिन समयमा स्वास्थ्य सेवा सोचिए जति सजिलो पक्कै पनि छैन । समस्या छन् । मुख्य समस्या सही सूचना र संयोजनको हो । धेरै मानिसलाई कोरोना अस्पताल पुग्नेबित्तिकै सब ठीक हुन्छ भन्ने परेको छ । नजिकैका निजी अस्पतालका पुराना बिरामीलाई समेत रुघाखोकी, निमोनिया देखिएपछि कोरोना विशेष अस्पतालमा पठाइदिने लापरबाह शैलीले गर्दा कतिपय बिरामीले अनाहकमा दुःख पाएका छन् । यही लापरबाही र संयोजनको अभावले गर्दा वीरजन्जका सन्तोष यादव उपयुक्त उपचार नपाई मर्ने स्थिति आयो । अस्थायी भएकाले पनि यो अस्पतालसँग जति ठूलो ‘इच्छा र भावना’ जोडिएको छ, त्यति व्यवस्थित संरचना छैन । यहाँ अहिले आईसीयूसमेत सञ्चालित छ तर कोरोना संक्रमितजस्ता संवेदनशील बिरामीका लागि चाहिने स्तरमा उपलब्ध छैन । यसको अर्थ हो कोरोनाका बिरामीका लागि अस्थायी अस्पताल ओपीडी र आइसोलेसनका लागि मात्रै उपयुक्त हुने रहेछन् अन्ततः आईसीयूमा राख्नुपर्ने र गम्भीर प्रकृतिका बिरामीका लागि व्यवस्थित सरकारी र निजी अस्पतालका आईसीयू र वार्डहरू नै चाहिन्छन् । यसको तत्काल विकल्प पनि छैन । यसका लागि निजी अस्पतालहरू दिल खोलेर फ्रन्टलाइनमा देखिनुपर्छ ।

पुँजीवाद भर्सेस समाजवाद

यतिखेर यस्तो कुरा गर्नु कति ठीक होला Û तर महामारी यतिबेला केवल संक्रामक त्रासदी मात्रै होइन, राजनीतिक पद्धतिहरू चिन्ने र पर्गेल्ने ठूलो अवसर पनि बनेर आएको अर्को सत्य हो । कम्युनिस्ट देशहरूमा न्यूनतम पनि मानवअधिकार सुरक्षित छैन भनेर नथाक्ने मानवताका स्वयंघोषित मसिहा देश र पुँजीवादी बौद्धिकहरू अब के–के भनेर पुँजीवादको कुरूप अनुहार छोप्लान्, थाहा छैन । तर यतिबेला उनीहरूले लगातार ‘मानवताविरोधी’ भन्ने गरेका कम्युनिस्ट मुलुकहरूले कोभिड–१९ विरुद्ध देश र विश्व समुदायसँग मिलेर लडेको सामूहिक लडाइँ देखेर जो कोही पनि नतमस्तक भइरहेका छन् । यसको उदाहरण कोभिड–१९ को उद्गम चीन मात्रै होइन क्युबा, भेनेजुएला, भियतनामजस्ता देशले गरेका प्रयत्नमा भेटिन्छ ।

जल, जंगल र जमिनमा पर्यावरणीय न्यायदेखि इकोसिस्टमको रक्षा गर्ने मामिलामा चरम प्रकृतिविरोधी, पृथ्वीविरोधी नाफाखोर पुँजीवाद ‘सबैका लागि स्वास्थ्य’ भन्ने आधारभूत नीतिको विरोधी हो भन्ने कुरा सबैलाई थाहा छ । सार्वजनिक स्वास्थ्य सेवाको कुरा गर्ने हो भने बेलगाम पुँजीवादको घोडा चढेर दगुरिरहेको नाइके अमेरिकामा जति घीनलाग्दो रूप अन्यत्र देखिँदैन ।

त्यसको तातो उदाहरण ः लस एन्जलसका एक किशोरको घटनाबाट दिन चाहन्छु । द गार्डियनको लाइभ पेज पछ्याउँदै थिएँ । एउटा खबरले धारिलो पत्तीले झैं छाती चिरेर मुटुमा बिझायो । खबर थियो कोभिड–१९ को उपचार गर्न त्यहाँको ‘अर्जेन्ट केयर क्लिनिक’ पुगेका १७ वर्षीय किशोर बिनाउपचार कसरी मर्न बाध्य भए Û कारण ः उनको स्वास्थ्य बिमा गरिएको थिएन, त्यसैले क्लिनिक उपचार गर्न तयार भएन । घटना १८ मार्चको थियो । यसरी स्वास्थ्य बिमा नगरेका कारण अथवा अरू कुनै पनि कारण समयमा उपचार नपाएर मर्न बाध्य अमेरिकीको संख्या कति होला ?

पुँजीवाद आफैंमा एउटा रोग हो, निदान होइन भन्ने अमेरिकी महामारीविज्ञ रिचर्ड लेविन्स भन्छन्, ‘स्वास्थ्यलाई ‘सेवा’ का आवरणमा बजारमा बेचिने व्यवस्था रहँदासम्म यो माल र उपभोक्ताको चक्रमा फँसिरहन्छ । पुँजीवादमा स्वास्थ्य वर्गसंघर्षको टकरावको एउटा ज्वलन्त मुद्दा हो ।’ (मन्थली रिभ्यु, २०००, सेप्टेम्बर)

स्वास्थ्यमा जतिसुकै ठूलो लगानी गरिए पनि त्यसको लाभ प्रत्येक नागरिकले लिन सक्दैन भने जति नै ठूलो अर्थतन्त्र भए पनि त्यो मानवताका दृष्टिले अर्थहीन छ । जबसम्म स्वास्थ्यजस्तो आधारभूत विषय आम मान्छेको अधिकार र निर्बाध पहुँचको विषय बनाइँदैन, त्यस्तो व्यवस्था जनविरोधी, शोषक नै हो भन्नेमा दुईमत नै छैन । महामारीको सामना गर्ने इच्छाशक्तिमा पनि प्रवृत्तिगत रूपले पुँजीवादी अनुहारको सक्कल दुनियाँले देखिरहेको छ । यतिबेला लेविन्सले भन्ने गरेको, प्रकृति र पर्यावरणसँगको समग्र नातामा बाँधिएर प्रत्येक जनताको सहकारी र सहयोगी बन्न सक्ने व्यवस्था समाजवाद नै हो भन्ने कुराको सत्यापन हुन्छ ।

र, त्यो निश्चित रूपमा मार्क्सवादी समाजवाद नै हो ।

केही दिनअघि युवल नोह हरारीको लेख छापियो, ‘द वर्ल्ड आफ्टर कोरोनाभाइरस’ शीर्षकमा । फाइनान्सियल टाइम्समा मार्च २० मा छापिएको उक्त लेखको साभार विश्वका अनेक भाषामा अनुवाद भएर फैलिएको छ । त्यसको सर्वत्र तारिफ पनि भएको छ । त्यस लेखमा उनले देशहरूले छरिएर, एक्लाएक्लै होइन वैश्विक ऐक्यबद्धता निर्माण गरेर एकैसाथ काम गर्नुपर्ने अर्ती त दिएका छन् तर यस्तो विश्वव्यापी संकटको बीउ पुँजीवादी व्यवस्थाको आलोचना कहीं कतै गरेका छैनन् । पुँजीवादी बौद्धिकहरूको आम प्रवृत्तिजस्तै समस्याको मुख्य कारणमा प्रवेश नगरी त्यसले गर्दा सतहमा देखिएका प्रभावमाथि मात्रै बहस र भविष्यवाणी गर्ने उनको विचार नेपालमा पनि खुबै खपत भइरहेको छ ।

आफैंमा हदैसम्मको अमानवीय र रोगी पुँजीवादकै कारण यो महामारीसँगको लडाइँमा वैश्विक ऐक्यबद्धताको प्रस्ताव कसरी एउटा मीठो फेन्टासी मात्रै ठहरिनेवाला छ, त्यो केही दिनमै देखिनेछ । पुँजीवादको नाफाकेन्द्री पूर्ववत् कुरूप अनुहारलाई मर्मतसम्भार गरेर त्यसलाई ‘मानवीय’ र ‘जनमैत्री’ बनाउने आग्रह राख्ने तर त्यहाँभित्रका आधारभूत समस्याको उत्खनन नगर्ने । चीनलगायत देशले अपनाएका बायोमेट्रिक निगरानीको कठोर आलोचना गर्ने तर कतिपय समाजवादी देशले गरेका मानवकेन्द्री र सर्वहितकारी प्रयत्नलाई भने उपेक्षा गर्ने । अहिले विश्वभरिको मूलधार बौद्धिक कसरत यस्तो छ । यसको गहिरो प्रभाव नै हो ः नेपाली विद्वत्वर्ग पनि कारणको उत्खनन होइन, परिणामको चर्चा गर्नमै बढी तल्लीन छन् ।

यतिखेर महामारीबीचको संकट व्यवस्थापन र उपचारशैलीमा चीनको रणनीतिक सफलता संसारकै लागि पाठ बनिरहेको छ । लकडाउन र त्यो समयभित्र गर्न सकिने आगामी तयारीको विधि धेरै देशले अनुकरण गरेका छन् । जनस्वास्थ्यको चरम संकटकालमा चीनले मात्रै होइन, कुनै पनि देशले कठोर कदम चाल्नुलाई नागरिक अधिकारको हननसँग जोडेर हेर्न मिल्दैन । तर यो चरणमा आइपर्ने आपत्कालीन परिस्थितिको व्यवस्थापनमा भने ध्यान दिनैपर्छ । उता लकडाउनलाई मानवअधिकारमाथिको हस्तक्षेप करार गर्ने अमेरिकालगायत केही देशहरू ‘सोसल डिस्टेन्स’ (सामाजिक दूरी) कायम गरेर, हरारीकै भाषामा नागरिकलाई शक्तिशाली बनाइराखेरै महामारीलाई जित्न कम्मर कसिरहेका छन् । तर उनीहरूका असफलता प्रतिक्षण बढिरहेको तथ्यांकले आफैं बयान गरिरहेको छ ।

नेपाल यतिखेर आफूलाई कम्युनिस्ट भनाउने तर आर्थिक र सांस्कृतिक अभ्यासमा भने पुँजीवादी गेम प्लानरकै पुच्छर समातेर बैतरणी तर्ने लोभीपापीले चलाइरहेको देश हो । कांग्रेसलगायतका अरू पार्टी त पुँजीवादी रछ्यानका पुरानै रैथाने भैहाले । तसर्थ यहाँ नीतिगत, पद्धतिगत कुरा गर्ने, सुन्ने र लागू गर्ने नैतिक ल्याकत र ह्याउ न नेतृत्वमा छ न कर्मचरीतन्त्रमा । त्यसको जिउँदोजाग्दो चित्र अहिले यतिखेर महामारी सामना गर्ने क्रममा छर्लंग देखिँदै छ ।

तै, बुद्धिमा बिर्को नलागिसकेका र नीतिनिर्माणमा हस्तक्षेप गर्न सक्ने बौद्धिक समुदायले केही प्रयत्न गर्न सक्लान् कि ? त्यो पनि झिनो सम्भावना मात्रै हो ।

... ...

यो बेलामा एकान्तबासको हरेक रात भोलि उदाउने बिहान, त्यो रातो सुनौलो घामसँगै कानमा ठोक्किने खबरको कल्पनामा अड्किएको छ । खबरहरू कमभन्दा कम अप्रिय होऊन् भन्ने कामनाले एक मुठी पातलो निद्राभित्र छिर्नु छ, बस् । दुःस्वप्नहरू आउँछन्, लघार्छन्, खेद्छन् तर तिनले हाम्रा सुन्दर कल्पनाहरूलाई प्रतिबन्ध लगाउन सक्दैनन् । आफ्नो माया, परिवारको माया, प्रियजनको माया र त्यत्तिकै मात्रामा मान्छेको माया, मानवताको माया र यो जीवन्त प्रकृतिको, पृथ्वीको मायाले नै हामीलाई निरन्तर स्वप्निल र कल्पनाशील बनाइरहनेछ ।

र, त्यो कल्पना निर्लज्ज नाफाखोर, क्रूर पुँजीवादभन्दा पर मात्रै सुरक्षित छ ।


प्रकाशित : चैत्र १८, २०७६ १०:२९

प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

मलेसियामा कार्यरत नेपालीको अनुभव : 'ड्युटी जारी छ, तर सुरक्षित छौं'

अहिलेसम्म नेपाली कामदारलाई संक्रमण भएको कतैबाट सूचना आएको छैन। हामीलाई जस्तै अरु कम्पनीमा सुरक्षाको प्रबन्ध गरिएको छ भने त संक्रमणबाट जोगिन सकिएला।
बलेन्द्र सुनार

काठमाडौँ — पाँच वर्षदेखि मलेसियाको मलाका अलोरगाजास्थित एक बिस्कुट उद्योगमा काम गर्दै आइरहेको छु। म बस्ने अलोरगाजा एउटा औद्योगिक क्षेत्र हो। यहाँ उद्योग र कामदारका लागि बस्ने क्याम्पमात्रै राखिएको छ। यहाँबाट सहर पुग्न आधा घन्टा लाग्छ। राजधानी क्वालालम्पुर पुग्न भने गाडीमा दुई घन्टा। 


उद्योगमा झन्डै १२ हजार कामदार काम गर्छन्। करिब ५ हजार त नेपाली नै होलान्। कोरोना भाइरस मलेसियामा देखिएपछि कम्पनीले मलेसियन नागरिकलाई बिदा दिएको छ। उनीहरु घरघरबाटै काममा आउँथे। हामी भने उद्योगकै नजिकको क्याम्पमा बस्छौं। बाहिर बस्नेलाई काम गर्न आउन दिइएको छैन।

उद्योगले झन्डै ५० प्रतिशत कामदारलाई बिदामा राखेको छ। कतिपय नेपाली साथी पनि बिदा लिएर क्याम्पमै बसेका छन्। बिदामा बस्ने कि काम गर्ने भनेर विदेशी कामदारलाई छनोट गर्न दिइएको छ। स्थानीय नागरिकलाई छनोट गर्ने अवसर छैन। अनिवार्य बिदामा बस्नैपर्छ। हामी हिँडेर नै काम गर्न जान्छौं। ५ मिनेटमै उद्योगमा पुगिन्छ।

बिदामा बस्नेलाई न्यूनतम तलब मात्रै दिइएको छ भने काम गर्नेलाई न्यूनतम तलबको झन्डै ५० प्रतिशत बढी पैसा दिइएको छ। म नियमित काम गरिरहेको छु। पहिलोपटक २०१५ मा आउँदा न्यूनतम तलब ९ सय रिंगेट थियो। अहिले १४ सय रिंगेट पाउँछु। ओभरटाइमको छुट्टै छ। नयाँलाई भने १२ सय रिंगेट दिइरहेको छ।

हामीलाई काम गर्न जानका लागि एउटा अनुमतिपत्र बनाइदिएको छ। प्रहरी चेक गर्न आउँदा त्यो नै देखाउने गरेका छौं। कम्पनीले कोरोना भाइरसबाट कामदारलाई संक्रमण हुन नदिन पूरै सुरक्षा प्रबन्ध मिलाएको छ। हामी ड्युटीका लागि जाने बला गेटमै स्प्रे गर्छ। ज्वरोको मापन लिइन्छ। सुपरभाइजरले नियमित यसबारे सचेत गराउँछन्। मास्क, ग्लोब र सेनिटाइजर दिइएको छ। यहाँ पहिलेजस्तो कामदार छैनन्। कामदारलाई टाढाटाढा नै राखेर काममा लगाइएको छ। एउटै सामान १० जनाले छुने हुँदा ग्लोब र मास्क ४/४ घन्टामा परिवर्तन गरिरहेका हुन्छौं।

ड्युटीमा एक छाक कम्पनीले नै खुवाउँछ। त्यो खाना पनि परीक्षण गरेर ल्याइएको हुन्छ। पहिला खाने खाने टेबुलमा १० जना बस्थ्यौं। अहिले ४/५ जना मात्रै बसेर खान्छौं। नजिकै बस्न दिइँदैन। क्याम्पमा भने आफै बनाएर खान्छौं। क्याम्पमा पनि कोरोना भाइरसको संक्रमणबाट जोगाउन उचित प्रबन्ध मिलाइएको छ। हामी कोठामा ६ जना बस्छौं। तर सँगै हुँदैनौं किनकि आलोपालो ड्युटी हुन्छ।

कोरोना भाइरसबाट जानकारी दिन कम्पनीले भाइबर र ह्वाट्सएप ग्रुप बनाएको छ। त्यसमा सूचनाहरु अपडेट भइरहेको हुन्छ। मलेसिया सरकारले रोकथामका लागि चालेको कदमबारे जानकारी दिइएको हुन्छ। यहाँ हालसम्म ३५ हजार जनाको कोरोना भाइरसको परीक्षण गरिसकेको छ। हालसम्म २४ सय ७० जनामा संक्रमण देखिएको छ। जसमध्ये २ हजार ४७ जनाको उपचार भइरहेको छ। ३ सय ८८ लाई निको भयो भने ३५ जनाको मृत्यु भइसकेको छ।

अहिलेसम्म नेपाली कामदारलाई संक्रमण भएको कतैबाट सूचना आएको छैन। हामीलाई जस्तै सुरक्षाको प्रबन्ध गरिएको छ भने त भाइरसको संक्रमणबाट जोगिएला।

हामी एकै ठाउँमा झन्डै १२ हजार बस्ने भएर पनि होला कम्पनीले निकै सचेतता अपनाएको छ। हामीलाई भित्रै बस्ने साथीसँग पनि हात मिलाउन दिइएको छैन। क्याम्प र उद्योगमा काम गर्दा मास्क अनिवार्य गरिएको छ। ड्युटीबाट छुटिने बेला पनि तापक्रम नाप्ने र स्प्रे छर्केर मात्रै क्याम्पमा पठाउँछ। क्याम्पबाहिर कसैलाई भेट्न जाने छुट छैन। बाहिरको मान्छेलाई पनि भित्र आउन कडा प्रतिबन्ध लगाइएको छ।

अहिलेको अवस्थामा कम्पनीले मात्रै सुरक्षाको प्रबन्ध गरेर पुग्दैन रहेछ। हामी आफैले पनि सक्दो सुरक्षामा ध्यान दिनुपर्छ। जुन आफ्नै हातमा छ।

(बागलुङको निसिखोला गाउँपालिका घर भएका सुनारसँग होम कार्कीले गरेको कुराकानीमा आधारित)

प्रकाशित : चैत्र १८, २०७६ १०:१९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×