१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

कोरोना परीक्षण र रोगको आइसबर्ग सिद्दान्त

सुरेन्द्र कार्की

काठमाडौँ — नेपालमा कोभिड–१९ का थप दुई केस फेला परेसँगै यस रोगप्रति चासो र चिन्ता ह्वात्तै बढेको छ । सरकारी प्रतिक्रिया पनि आक्रामक देखिएको छ ।

कोरोना परीक्षण र रोगको आइसबर्ग सिद्दान्त

दोस्रो केस देखिएलगत्तै एक साताका लागि लकडाउन गरिएको छ । रोग देखिएका देशबाट आवातजावत, भीडभाड र मानिसहरूको निकट सम्पर्क हुँदा यो रोग फैलिन अनुकूल वातावरण हुने हुँदा यस्ता किसिमका आवतजावत नियन्त्रणले विदेशबाट रोग भित्रिने सम्भावनालाई रोक्छ । अर्कोतिर यदि रोग जनसंख्यामा विद्यमान छ तर लुकेर बसेको छ भने पनि छिटो फैलिन पाउँदैन ।

यस नोबल कोरोना विषाणु शरीरमा प्रवेश गरेदेखि लक्षण देखिने अवधि अर्थात् इन्कुवेसन अवधि २ देखि १४ दिनसम्म भएको मानिएको छ । त्यसैले अवस्था आकलन गरी अर्को एक साता आवतजावत नियन्त्रणलाई लम्बाउन सकिन्छ । तर गरिब जनतालाई कम जोखिमपूर्ण तरिकाले अत्यावश्यक खाद्यान्न र केटाकेटीहरूलाई दूध, अण्डाजस्ता खाद्यान्न आपूर्तिको व्यवस्थापन भने गर्न जरुरी हुन्छ ।

२०१९ डिसेम्बर अन्तिम साताबाट चीनको हुबेई प्रान्तको वुहान सहरबाट सुरु नोबल (नयाँ खालको) कोरोना भाइरसबाट लाग्ने कोभिड–१९ रोग अहिले १९९ मुलुकमा पुगिसकेको छ । रोग सुरु भएको चीनमा भन्दा युरोपेली मुलुक इटाली र स्पेनमा यस रोगको कारण बढी मृत्यु भैसकेको छ । फ्रान्स, अमेरिका र बेलायतमा पनि प्रभावित हुने बढिरहेका छन् । खोपको विकास नहुँदै चीनले धेरै हदसम्म रोग नियन्त्रणमा लिएकाले यस रोगमाथि विजय हासिल गर्न सकिने आशावादी परिदृश्यहरू देखा परेका छन् । संघर्षकै चरणमा गुज्रिरहेको छ र दिनानुदिन ठूलो संख्यामा बिरामीहरू र मृत्युहरू थपिएका तथ्यांकहरू आइरहेका छन् ।

विश्वमा अहिले द्रुत गतिमा नयाँ बिरामीहरू थपिंदा हामीलाई चिन्ता लागे पनि रोगको फैलावटको विज्ञान इपिडेमियोलजिकल हिसाबबाट हेर्दा यो अपेक्षित प्रक्रिया नै हो । यसलाई सजिलो गरी बुझ्नका निम्ति हामीले जनसंख्यामा हुने संक्रमण र रोगको अवस्थालाई पानीमा तैरिरहको बरफको ढिक्का अर्थात् आइसबर्गसँग तुलना गर्नुपर्ने हुन्छ । इपिडेमियोलोजीको भाषामा हामी यसलाई ‘रोगको आइसबर्ग सिद्घान्त’ भन्छौं । जसरी हामीले पानीमाथि तैरिरहेको बरफको सानो भागलाई मात्र बाहिरबाट देख्न सक्छौं तर खोज्दै जाने हो भने पानीमुनि बरफको ठूलो ढिक्का फेला पार्दछौं, त्यसैगरी जनसंख्यामा देखिने रोग र मृत्युहरू पनि बरफको माथिल्लो भाग अर्थात् आइसबर्गको टुप्पो (टिप अफ द आइसबर्ग) मात्र हुन सक्छन् भन्ने मान्यता छ । खोतल्दै जाने हो भने अस्पतालसम्म नआएका सामान्य लक्षण मात्र भएका मानिसहरू, संक्रमण भएका तर लक्षण नदेखाएका मानिसहरू र जोखिममा भएका तर संक्रमण नभएका मानिसहरूको ठूलो हिस्सा फेला पार्न सक्दछौं (हेर्नुहोस् चित्र) । रोग समयमै नियन्त्रणमा लिन नसके संक्रमण नभएका तर जोखिममा रहेका जनसंख्यामा रोग पुग्न सक्छ । विश्वमा अहिले यही सिद्घान्तअनुसार सम्भावित केसहरूको निरन्तरको निगरानी (सर्भिलेन्स) गरी खोज्दै गएर धेरै नमुनाहरू परीक्षण गरिएकाले पनि लुकेका संक्रमितहरू पहिचान भएको हुँदा धेरै बिरामी देखापरेका हुन सक्छन् । यसको अर्थ रोग थप फैलिएर साँच्चिकै नयाँ केसहरू आएका छैनन् भन्नेचाहिँ होइन ।

चित्र : जनसंख्यामा हुने रोगको फैलावटको आइसबर्ग सिद्घान्त

रोगको आइसबर्ग सिद्घान्त इपिडेमियोलोजीमा सर्वस्वीकार्य सिद्धान्त नै हो । यसकारण कुनै एउटा केस देखिएपछि थप केसहरू फेला पर्दै जानु स्वाभविक प्रक्रिया हो । यदि जनसंख्यामा रोग छ भने र खोज्न सक्ने र परीक्षण गर्ने क्षमताअनुसार धेरै वा थोरै संख्यामा यस्ता थप केसहरू फेला पर्छन् । जति ढिलो गर्‍यो उति नै जनसंख्यामा रोग स्थापित हुँदै जाने हो । त्यसकारण जति धेरै परीक्षण गर्‍यो उति नै धेरै छिटो रोग पत्तालाग्ने र जनसंख्यामा फैलिनबाट रोक्न सकिन्छ । यदि देशैभरिको जोखिम क्षेत्रकानमूनाहरु लिएर प्रशस्त नमुना परीक्षण गरेर पनि रोग फेला परेन भने बल्ल हामीकहाँ रोग पक्का छैन भन्ने विश्वास हुन्छ ।

नेपालको सन्दर्भमा अहिले केही तयारीहरू प्रशंसायोग्य भए पनि दुई–तीनवटा आधारभूत कुरामा थप ध्यान पुर्‍याउनुपर्ने देखिन्छ जुन सरकारले समेत महसुस गरी तयारी गरिरहेका समाचारहरू आइरहेका छन् । यसमा सर्भिलेन्सको स्तर बढाई धेरै सम्भावित केसको नमुना परीक्षणको व्यवस्था मिलाउने र आइसोलेसनमा राखिएका र सम्भावित बिरामीहरूलाई जाँच्ने र अन्य व्यवस्थापन गर्दा निकट सम्पर्कमा आउनुपर्ने चिकित्सक, नर्स, प्रयोगशालाकर्मीलगायतका व्यक्तिहरूलाई चाहिने व्यक्तिगत सुरक्षा सामग्री (पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट) को व्यवस्थापनलगायतका कुराहरू पर्दछन् । अहिले अपेक्षाभन्दा कम परीक्षण हुनुमा परीक्षणको सरकारी रणनीति, आवश्यक मेसिन, किटहरूको उपलब्धता र त्यसलाई सञ्चालन गर्न सक्ने जनशक्तिको संख्या र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्रै परीक्षण सीमित गर्नुजस्ता कारण छन् । देशभित्रै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अलावा सरकारी स्वास्थ्य सेवाभित्र र बाहिर र अरू क्षेत्र जस्तै ः भेटिरिनरीको केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र विश्वविद्यालयका प्रयोगशालाहरूमा समेत सजिलै यस्तो क्षमता विकास गर्न सकिने अवस्था छ । किनभने आरटीपीसीआर विधिबाट विभिन्न रोगहरूको परीक्षण यी प्रयोगशालाहरूबाट पनि भैरहेको अवस्था छ । मात्र कोभिड भाइरस पहिचानलाई चाहिने किटको व्यवस्थापन सरकारले गर्दिने हो भने नमुना परीक्षणको गति धेरै बढाउन सकिन्थ्यो । यसो गर्दा जनसंख्यामा रोग लुकेर बसे–नबसेको धेरै ढिलो नहुँदै यकिन गर्न सकिन्थ्यो र रोग धेरै फैलिनुअघि नै नियन्त्रणमा लिन सकिन्थ्यो । धेरै संख्यामा नमुना परीक्षणहरू गर्दा रोगको आइसबर्ग सिद्धान्तअनुसार रोग जनसंख्यामा लुकेर बसेको छ भने पत्ता लाग्ने सम्भावना हुन्छ । त्यसकारण थप बिरामीहरू देखिएमा नै पनि त्यसलाई स्वाभाविक प्रक्रिया नै मान्नुपर्ने हुन्छ ।

(लेखक पशु चिकित्सक र इपिडेमियोलोजी विषयमा विद्यावारिधि हुन् ।)



प्रकाशित : चैत्र १७, २०७६ १३:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?