२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

कोरोना असर, चीन र विश्व अर्थ–राजनीति

बुद्धिप्रसाद शर्मा

काठमाडौँ — यतिखेर सारा विश्व नोवेल कोरोना भाइरस (कोभिड–१९) को त्रासले आक्रान्त छ । स्वास्थ्य समस्या मात्रै भन्दा पनि यसले विश्व आर्थिक, सामाजिक संरचना, सुरक्षा र सभ्यताहरूबीचको सम्बन्धमा पार्न सक्ने असरलाई लिएर नीति निर्माता एवं विज्ञहरू निकै चिन्तित छन् ।

कोरोना असर, चीन र विश्व अर्थ–राजनीति

एकातर्फ यसको पूर्ण निदानका लागि केही समय लाग्ने स्थिति छ भने अर्कोतर्फ अति आधुनिक र एकीकृत संरचना पुगेको विश्व परिवेशलाई यसले पुर्‍याउन सक्ने धक्काले पैदा गर्ने असमञ्जस्यलाई सजिलै सम्बोधन गर्न सक्ने ताकत अहिलेको विश्व नेतृत्वमा निकै कम भएको जानकारहरूको ठम्याइ छ ।

गत साता बसेको चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को स्थायी कमिटी बैठकमा पार्टी महासचिव सी चिनफिङले कोरोनाविरुद्धको लडाइँमा निकै प्रगति भएको निचोड निकाल्दै यसबीचमा सामाजिक स्थितिलाई सामान्यीकृत गर्न आर्थिक गतिविधि पनि बढाउनुपर्ने बताएका छन् । सीको वुहान भ्रमणपछि चिनियाँहरूमा उत्साह र आत्मविश्वास निकै बढेको पाइएको छ । कोरोनाका बिरामीहरू चीनको वुहान सहरमा पहिले देखिएको भने पनि खासमा यसको उद्गम कुन देश थियो भन्नेमा चिनियाँ अधिकारीहरूले खोज गरिरहेका छन् । पश्चिमाले ‘वुहान भाइरस’ तथा ‘चाइनिज भाइरस’ भनी कथित नामकरणसम्म गरे पनि चिनियाँ अधिकारी एवं विज्ञहरूचाहिँ यसको प्रतिवाद गर्दै कारोना भाइरस कसरी वुहानमा देखियो र खासमा यसको फैलावट कसरी भयो भन्नेमा केन्द्रित छन् ।

निश्चित रूपमा विश्वको दोस्रो आर्थिक शक्ति चीन यतिखेर कोरोनाका कारण कठिन अवस्थाबाट गुज्रिरहेको बुझ्न कठिन छैन । विश्व ‘म्यानुफ्याक्चरिङ आउटपुट’ को २८ प्रतिशत चीन एक्लैले ओगटेको छ । सन् २०१९ को राष्ट्रसंघीय तथ्यांक विभागको तथ्यांकअनुसार यसमा अमेरिकाको हिस्सा १६ प्रतिशत छ । यसले पनि चीनले अप्ठ्यारो महसुस गर्दा आन्तरिक एवं बाह्य अर्थ–राजनीतिक संरचनामा कस्तो धक्का पुर्‍याउँछ स्पष्ट नै छ । यो स्थितिको आकलन गरेरै एसियाली विकास बैंक (एडीबी) का एक उच्च अधिकारीले विश्व समुदाय गम्भीर नभए भयानक आर्थिक मन्दी आउन सक्ने चेतावनी दिएका हुन् ।


चीनमा कठिन अवस्थामा पनि कतै कालोबजारी छैन, प्रविधिहरूको अधिकतम प्रयोगले प्रशासनलगायतका संस्थाहरूका काम रोकिएका छैनन्, उत्पादन सुचारु छ एवं समाजलाई हरहिसाबले गतिशील बनाइको छ सर्तकतासमेत अपनाउँदै ।

सन् २००३ मा सार्सले भयानक रूप लिँदा चीन अहिलेजस्तो आर्थिक रूपमा सबल थिएन । त्यतिबेला चिनियाँहरूको प्रतिव्यक्ति आय जम्मा १२९३ डलर थियो । त्यसयताको १७ वर्षको बीचमा चीनले अकासिँदो प्रगति गरेको छ, हरेक आयामहरूको दृष्टिकोणवाट । सन् २०१९ डिसेम्बरसम्मको प्रतिव्यक्ति आय १२ हजार २ सय ३५ पुगेको छ विश्व बैंकको तथ्यांकअनुसार । साथै, चिकित्सा क्षेत्रमा व्यापक लगानी गर्नुका साथै जनशक्ति, प्रविधि एवं पूर्वाधारमा उल्लेख्य सुधार एवं प्रगति गरेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का हालैका तथ्यांकहरूले देखाएका छन् । सन् २००३ को अनुभवले पनि कोरोनाविरुद्धको एकीकृत चिनियाँ लडाइँ बढी प्रभावकारी एवं विश्व समुदायलाई नै उपयोगी भएको चिनियाँ विज्ञहरूको टिप्पणी छ । यतिखेर चीनमै रहेको यो लेखक कोरोनाविरुद्धको चिनियाँ सरकारको अभियानमा यहाँका जनताको साथ र समर्थन देखेर अचम्मित मात्र भएन, साँच्चै राष्ट्रिय नेतृत्वको अठोट र आम जनताको सहयोग भयो भने जस्तै विपत्तिलाई पनि उचित किसिमले सामना गर्न सकिन्छ भन्नेमा विश्वस्त हुन पुगेको छ । कठिन अवस्थामा पनि चीनमा कतै कालोबजारी छैन, प्रविधिहरूको अधिकतम प्रयोगले प्रशासनलगायतका संस्थाहरूका काम रोकिएका छैनन्, उत्पादन सुचारु छ एवं समाजलाई हरहिसाबले गतिशील बनाइएको छ सतर्कतासमेत अपनाउँदै ।

अमेरिकी विज्ञ इभो डाल्डरले भनेजस्तो कोरोनालाई देखाउँदै चीनले सूचना लुकाउने वा इन्टरनेटमा धावा बोल्ने काम गरेको यो लेखकले अनुभव गरेको छैन । कोरोना भाइरसबाट बढी प्रभावित वुहान सहरमा अहिलेसम्म एक सेकेन्ड पनि इन्टरनेट बन्द गरिएको छैन । प्रविधिको प्रयोगमा अमेरिकी समाजलाई पछि पारेको भनिएको चिनियाँ समाज इन्टरनेटबिना केही कामै गर्न नसक्ने भइसकेको छ । बरु इन्टनेट रोकियो भने जनता आक्रोशमा आउने सम्भावना हुन्छ । चिनियाँ अधिकारीहरूले उपलब्ध गराएको नियमित सूचनाका आधारमा नै डब्लूएचओले पछिल्ला कोरोनाविरुद्धको विश्वव्यापी अभियानका सन्दर्भमा निर्णयहरू लिएको हो, जसलाई सम्बन्धित अधिकारीहरूले खुला रूपमै बताइरहेका छन् । चीनले रोग नियन्त्रण एवं रोकथामका लागि चिनियाँ सूचना प्रणाली स्थापना गर्दै एकीकृत रूपमा कार्य गरिरहेको छ । यसका लागि अर्बौं डलर विनियोजित गरिरहेको चिनियाँ सञ्चार माध्यमहरूले बताएका छन् । डब्लूएचओका सहायक निर्देशक जनरल ब्रुस अलवार्डले कोरोनाविरुद्धको चीनको व्यापक अभियानका कारण यसको संक्रमण विस्तारमा विश्वव्यापी रूपमा ढिलाइ आएको बताएका थिए । तर विश्व घटनाक्रमहरू हेर्दा धेरै देशले समस्या चीनको मात्र हो भन्ने बुझाइबाट समयमै यथोचित तयारी गर्न हिच्किचाउँदा अहिले भयानक अवस्थाको सामना गर्नुपरिरहेको छ । अमेरिका, इटाली, इरान, स्पेनलगायतका थुप्रै देशहरू यस्तै बुझाइबाट गुज्रिएका हुन् ।

चीनले कारोना संकट बेहोरिरहँदा कुत्सित नियत भएका पश्चिमा निकाय एवं सञ्चारमाध्यमहरू चिनियाँ नेतृत्व, प्रणाली र पद्धतिविरुद्ध विषवमनमा नांगो रूपमा प्रस्तुत भए । मानौं कि, चिनियाँ राजनीतिक प्रणालीलाई ध्वस्त पार्ने उचित समय यही हो । अमेरिकी विदेशमन्त्री माइक पोम्पियोको निर्देशनमा अमेरिकामा शाखा रहेका पाँच चिनियाँ सञ्चारगृह एवं तिनमा कार्यरत व्यक्तिहरूलाई जासुसी कार्यमा संलग्न विदेशी निकाय भनी दर्ज गरियो । अमेरिकी अखबार ‘वालस्ट्रिट जर्नल’ मा चिनियाँ नेतृत्व र पद्धतिविरुद्ध शृंखलाबद्ध सामग्री प्रकाशित हुन थालेको भन्दै चीनले उक्त सञ्चारमाध्यमका बेइजिङस्थित तीन पत्रकारलाई निष्कासित गरेपछि वासिङ्टन थप आक्रोशित हुन पुग्यो । पोम्पियोले, बेला न कुबेला, चीनमा व्यक्तिगत अधिकारहरूको प्रश्नसमेत उठाए । जब कि यो कोरोनाविरुद्ध विश्व समुदाय थप सहकार्य र एकीकृत रूपमा लाग्नुपर्ने समय हो ।

कोरोनाका कारण चिनियाँ अर्थव्यवस्थामा व्यापक मन्दी आउन सक्ने कतिपय अमेरिकी अर्थशास्त्रीहरूको टिप्पणी रहेको भए पनि चिनियाँ अर्थ मन्त्रालयका वरिष्ठ अधिकारी लु लेईका भनाइमा सांघाई कम्पोजिट इन्डेक्स गत महिनाभन्दा १० प्रतिशतले बढेको छ । तर पनि चीनको आन्तरिक अवस्थाले भन्दा पछिल्लो विश्व परिवेशको सन्दर्भले अर्थतन्त्रमा केही असर पार्न सक्ने उनको स्वीकारोक्ति छ । स्थायी कमिटी बैठकमा पनि पार्टी महासचिव सीले आन्तरिक रूपमा उपभोग बढाउन अधिकतम रूपमा सबै संयन्त्र परिचालन गर्न निर्देशन दिएका छन् ।

अमेरिकी अधिकारीहरूको निष्कर्ष थियो— सन् १९१८ को स्पेनिस फ्लुले ल्याएको भूराजनीतिक उथलपुथलजस्तै कोरोनाले आक्रान्त चीनमा तत्काल व्यवस्था परिवर्तनको आधार तयार नभए पनि यसले विकासको गतिलाई धक्का दिने र मध्यमवर्गीय चिनियाँ सूचनाको हक, रोजगारी एवं अधिकारका लागि सडकमा आउन सक्ने वातावरण बिस्तारै बन्दै जानेछ । तर सबल चिनियाँ नेतृत्व र सचेत चिनियाँ जनताको एकीकृत प्रयासले त्यस्तो धारणालाई दरिलो जवाफ मात्र दिएन बरु आज चीन कोरोनाको असरबाट बिस्तारै तंग्रि्रँदै छ भने अमेरिकालगायतका पश्चिमा मुलुकहरूमा स्थिति भयावह हुँदै गएको छ । यस्तो अवस्थामा पश्चिमा मुलुकहरूमा कोरोनाविरुद्ध लड्न अनुभव र तयारीका हिसाबले खारिएको चीनको सहयोग अपरिहार्य पर्न सक्ने देखिँदै छ । कोरोनाको असरबाट तंग्र्रिन लागेको चीनले अप्ठ्यारोमा परेका अमेरिका, युरोपलगायतका बाँकी विश्वलाई मेडिकल सामग्री, उपकरण, औषधिलगायतका अत्यावश्यकीय सामग्री तत्काल सहयोग गर्नैपर्ने अवस्था निर्माण भएको छ । चीन सरकारले इटाली, स्पेन, इरान, पाकिस्तानलगायत थुप्रै देशमा सहयोग पठाइसकेको छ र यो क्रम जारी छ ।

यो वा त्यो बहानामा चीनलाई घेर्ने अमेरिकी प्रयास नयाँ बिलकुलै होइन । वर्तमान विश्व व्यवस्थामा सन् १९७२ यता चीनलाई घुलमिल हुन् सहयोग गरेको अमेरिका वास्तवमा चीनको बढ्दो सामर्थ्य र ताकतबाट त्रसित छ । अमेरिका चीनको ताकतलाई सोभियत युनियनको जस्तो खोक्रो आर्थिक धारभन्दा पनि हर आयाममा सशक्त, परिपक्व र निकै चलाख पनि ठान्छ । सन् २००१ मा तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्लू बुसले रणनीतिक प्रतिस्पर्धी भनेर दर्ज गर्दा होस् वा डोनाल्ड ट्रम्प प्रशासनले सन् २०१७ र २०१८ मा सार्वजनिक गरेको अमेरिकी राष्ट्रिय सुरक्षा रणनीतिहरू होऊन्, सबैको उद्देश्य बलियो रणनीतिक प्रतिस्पर्धी भइसकेको चीन, विश्वव्यापी अमेरिकी स्वार्थ एवं हितका लागि निकै चुनौतीपूर्ण रूपमा देखापरेको छ भन्ने नै हो । यता चिनियाँ नेतृत्वले चाहिँ चीनको उदय विश्व शान्ति, स्थिरता, विकास र सभ्यताबीचको आपसी मेलमिलापका लागि योगदानकारी रहने स्पष्ट पार्दै आएको छ । गत वर्ष अमेरिकाका इर्जा भोगेल, टेलेर फ्राभेललगायतका एक सय जना प्राध्यापक एवं विज्ञहरूले अमेरिकी राष्ट्रपति एवं कंग्रेस सदस्यहरूलाई पत्र लेख्दै चीन अमेरिकाको दुश्मन होइन भन्दै अहिलेको विश्व सन्दर्भ बिलकुलै भिन्दै रहेको मात्र बताएनन्, अमेरिका–चीन सहकार्य र साझेदारीबाट मात्रै दुवै देशको हित गर्नुका साथै विश्वको दिगो शान्ति र विकासमा गतिलो योगदान पुग्ने सुझाव दिएका छन् ।

हिजोसम्म चीनमा मात्र भन्ने गरिएको कोभिड–१९ को असर आज विश्वव्यापी मानवीय संकटका रूपमा फैलिएको छ । त्यसैले, यो मानवीय संकटको घडीमा एकले अर्कोलाई बदला लिने गरी प्रस्तुत हुने होइन कि झन् बढी विश्वास, सहकार्य र आपसिक एकता बढाएर विश्वबाट नै कोरोनालाई सदाका लागि निर्मूल गर्न लागिपर्नुपर्ने टड्कारो अवस्था छ । भूराजनीतिक चाहना, रणनीतिक चालबाजीलगायतका विषयलाई त पछि पनि प्रयोग गर्न सकिएला तर मानव प्राणीकै अस्तित्वमा धावा बोलेको कोरोनाविरुद्ध समयमै सशक्त प्रतिरोध गर्न सकिएन भने यसले पार्न सक्ने बहुआयामिक विनाश निकै डरलाग्दो हुन सक्छ । के पूर्व वा पश्चिम, के एसिया वा युरोप, सबैले सहकार्य र साझेदारी बढाएर अहिलेको जटिल मानवीय संकटको हल गर्नुमा नै सबैको जित छ । अमेरिका र चीनबीच यो मामिलामा सघन सहकार्य भए मात्रै विश्वलाई नया जीवन, ऊर्जा र गति मिल्नेछ ।

(शर्मा चीनको सिचुवान प्रान्तस्थित लसान नर्मल विश्वविद्यालयका सहप्राध्यापक एवं सेन्टर फर ट्रान्स हिमालय स्टडिजका सिनियर रिसर्च फेलो हुन् ।)

ट्विटर : @BuddhiSharma3

प्रकाशित : चैत्र १६, २०७६ १९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?