१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

‘डिपार्टमेन्ट स्टोर’ : कोरोना भाइरस संक्रमणको मुख्य थलो

सुरेश कर्ण

काठमाडौँ — नेपालमा पहिलोपटक देखिएको कोरोना भाइरस संक्रमणको ठ्याक्कै दुई महिनापछि २४ मार्च २०२० मा फेरि देखियो ।

‘डिपार्टमेन्ट स्टोर’ : कोरोना भाइरस संक्रमणको मुख्य थलो

अहिलेसम्म त संक्रमितको संख्या ५ पुगेको छ । नेपालको सन्दर्भमा पहिलो चरणको संक्रमण विदेशबाट आएकाहरूमा देखिने आयातित संक्रमण हो । पर्याप्त समय पाएर पनि दुवै (हवाई र स्थल) सीमा नाकामा यात्रुहरूको विवरण राख्न नसकेकाले आयातित संक्रमणको सम्भावित फैलावट न्यूनीकरण प्रक्रिया र ‘कन्ट्याक्ट ट्रेसिङ’ निकै गाह्रो हुने देखिन्छ । सूचना सञ्चार प्रविधिको पर्याप्त प्रयोग नगरी यो प्रक्रिया असम्भव छ । यसैको अभावमा अहिले शताब्दीकै ठूलो मानवीय संकट र महामारीसँग जुध्न चाहेरै पनि सम्पूर्ण सरकारी संयन्त्र दिशाहीन हुन पुगेको छ ।

विश्व स्वास्थ्य संगठनले हाम्रोजस्तो विकासोन्मुख देशलाई लामो समयदेखि निरन्तर चेतावनी दिँदै आएको छ । कमजोर अर्थव्यवस्था, सुस्त निर्णय प्रक्रिया, स्वास्थ्य सेवाको स्थिति, व्यावसायिक समन्वयको कमी, जनतामा संक्रमण परिणामको अज्ञानता अनि प्रविधिको न्यूनतम प्रयोगका कारण विपद् व्यवस्थापन चुनौतीपूर्ण र काबुभन्दा बाहिर जान सक्ने आकलन गरेरै चेतावनी दिइएको हो ।

दोस्रो चरणको संक्रमण आयातित संक्रमितहरूले भेटका नातागोता, इष्टमित्र र साथीभाइलाई संक्रमित गर्दै जानु हो । ढिलै गरी भए पनि सरकारले लिएको रक्षात्मक निर्णय र प्रयास ‘लकडाउन’ लाई सराहना गर्नैपर्छ । रक्षात्मक रणनीतिले संक्रमणको गति ढिलो गर्छ । र, ‘लकडाउन’ अवधिमा आक्रामक रणनीतिहरू जस्तै स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई चाहिने संसाधन (पीपीई, परीक्षण किटहरू) को पर्याप्त जोहो गर्नु, स्वास्थ्य सामग्रीहरूको उत्पादन बढाउनु वा आयात गर्नु, ‘कन्ट्याक्ट ट्रेस’ गर्नु, परीक्षण गर्नु, सार्वजनिक स्थलहरू ‘डिसइन्फेक्ट’ गर्नु, संक्रमित पहिचान गरी क्वारेन्टाइनमा राख्नु र आवश्यक उपकरणसहितको आइसोलेसन वार्ड युद्धस्तरमा तयार गर्नुपर्ने हुन्छ । यसका साथै अति आवश्यक वस्तुहरूको आपूर्ति व्यवस्था सहज र सुरक्षित तरिकाले उपलब्ध गराउनु पनि राज्यको दायित्व हो । यस्तो विषम् परिस्थितिमा संक्रमण फैलिन नदिन र आपूर्ति सहज बनाउनु प्रत्येक नागरिकको जिम्मेवारी सरकारको भन्दा कम हुँदैन ।

तेस्रो चरणको संक्रमण भनेको पुरानो ‘ट्राभल हिस्ट्री’ नभएका र संक्रमितका सम्पर्कमा नआएकालाई पनि संक्रमण देखिनु हो । यस्तो अवस्थालाई तत्काल रोक्न नसके सामुदायिक प्रकोप ‘कम्युनिटी आउट ब्रेक’ हुन सक्ने र राज्यको सम्पूर्ण संयन्त्रले धान्नै नसकिने गरी चौथो चरणको महामारीमा जान सक्ने खतरा हुन सक्छ ।

तस्रो चरणको संक्रमणमा जान नदिन, विश्व स्वास्थ्य संगठन र सरकारले दिने सल्लाह र निर्देशन अनुसरण गर्दै घरबाट ननिस्कने, काम विशेषले जानै परे मास्क लगाउने, व्यक्ति–व्यक्तिबीचको दूरी कम्तीमा एक मिटर राख्ने, बेला–बेलामा साबुन–पानीले हात धुने, बाहिर जाँदा लगाएका लुगाहरू तुरुन्तै धुनेजस्ता नियमको पालना गर्नुपर्छ । सरकारलाई संक्रमणसँग लड्ने तयारी गर्न सघाउनु नै हरेक नागरिकको धर्म हो ।

‘डिपार्टमेन्ट स्टोर’ तेस्रो चरणको संक्रमणमा सहयोगी

पश्चिमा देशहरूमा सामुदयिक प्रकोप ‘कम्युनिटी आउटब्रेक’ हुनुमा दुई मुख्य कारण छन् । पहिलो, विश्व संगठनको अपिल र निर्देशनको बेवास्ता हामीसम्म संक्रमण आइपुग्दैन र आए पनि संक्रमणसँग लड्न हाम्रो स्वास्थ्य सेवा र अर्थव्यवस्था बलियो छ भनी निश्चिन्त हुनु । दास्रो, प्रकोप देखिएपश्चात् ‘लकडाउन’ हुन्छ कि भनी ‘डिपार्टमेन्ट स्टोर’ मा भीड गर्नु । पहिलो कारणका बारेमा धेरै चर्चा भएको छ तर दोस्रो कारणको बारेमा कम चर्चा हुने गर्छ । दोस्रो कारण पनि संक्रमण फैलनुमा उत्तिकै जिम्मेवार छ । ‘डिपार्टमेन्ट स्टोर’ मा संक्रमण फैलन सक्ने निम्न कारणहरूले हो ।

(क) ‘डिपार्टमेन्ट स्टोर’ मा प्रयोग गरिने टोकरी र ट्रलीहरू ‘डिस्इन्फेक्ट’ वा ‘सेनिटाइज’ गरिएको पाइँदैन । अनि, हरेक प्रयोगपछि ‘डिस्इन्फेक्ट’ वा ‘सेनिटाइज’ गर्न कति सम्भव छ ? स्टोरका टोकरी र ट्रलीहरू संक्रमणको मुख्य स्रोत हो ।

(ख) ‘डिपार्टमेन्ट स्टोर’ मा राखिएका सामानहरूमा प्रायः सबै क्रेताहरूको हात परेकै हुन्छन् । यस्तोमा संक्रमितको पनि परेको हुन सक्छ ।

(ग) व्यक्ति–व्यक्तिबीचको दूरी एक मिटर त के एक फुट पनि राख्न सम्भव हुँदैन ।

(घ) नयाँ अनुसन्धानअनुसार कोरोना भाइरसको जीवाणु हावामा पनि केही घण्टा जीवितै रहने भएकाले ‘डिपार्टमेन्ट स्टोर’ मा एकअर्काबीचको सामीप्य संक्रमणको सजिलो माध्यम हुन्छ ।

(ङ) पैसा तिर्ने काउन्टरहरू पर्याप्त नहुनु, दूरी नराखी लाइन लाग्नु, संक्रमितले प्रयोग गरेका नोटहरू आदानप्रदान भैरहनु । र,

(च) कार्ड प्रयोग गर्दा काउन्टरमा दिनुपर्ने र पीओएस मेसिनमा पिन हाल्दा संक्रमितले समेत प्रयोग गरको हुन सक्ने भएकाले संक्रमणको पर्याप्त सम्भावना हुनु ।

यसर्थ ‘डिपार्टमेन्ट स्टोर’ मा सकभर जाँदै नजाऊँ । अति आवश्यक अवस्था भए निम्न कुरामा ध्यान दिनुपर्छ ।

(क) दूरी कम से कम एक मिटर राखौं ।

(ख) मास्क र पन्जा अनिवार्य लगाऔं ।

(ग) फर्कनासाथ मास्क र पन्जा तुरुन्तै डिस्पोज गरौं र कपडा धोऔं ।

(घ) ‘कन्ट्याक्टलेस’ भुक्तानीजस्तै मोबाइल बैंकिङ प्रयोग गरौं ।

(ङ) पर्फ्युमजस्ता अहिलेलाई अनावश्यक सामग्री स्टोरमा चेक जाँच नगरौं ।

(च) प्लास्टिक, कागजका प्याकिङ र दूधको प्याकेटमा पनि जीवाणु लामो समय बाँच्ने भएकाले सामानहरू घरमा ल्याउनेबित्तिकै प्रयोग नगरौं ।

यसबाहेक,

(क) साधारण किराना पसल वा तरकारी पसलहरूमा पनि अनावश्यक भीडभाड नगरौं । दूरी राखिएन भने संक्रमण हुने सम्भावना धेरै रहन्छ ।

(ख) अखबारहरू (पेपर) अहिलेलाई प्रयोग नगरौं ।

(ग) सकिन्छ भने धूलो दूध प्रयोग गरौं ।

(घ) सरकारका निर्णय, अनुरोध, निर्देशनहरूको जानकारी लिएर पालना गरौं ।

दुई–चार दिन हरियो सागपात, कोक, कर्नफ्लेक नखाए वा ट्वाइलेट पेपरले शौच सफा गर्न नपाएर मरिने छैन । असहज परिस्थितिमा सीमित साधनले पुर्‍याउन सिकौं । देशका उप–प्रधानमन्त्री तथा कोरोनाविरुद्धको लडाइँका संयोजकले स्पष्ट पारिसके कुनै पनि नेपालीले खान नपाएर मर्नेछैनन् । अनि घरैपिच्छे भण्डारण गर्न मरिहत्ते किन गर्ने ? ‘लकडाउन’ बेवास्ता गरी बाटोमा लखर–लखर किन ?

चौथो चरणमा प्रवेश गर्नु हाम्रोजस्तो देशका निम्ति प्रलय हो । सम्पूर्ण सरोकारवालाहरू व्यक्तिगत रूपमा जिम्मेवार बनौं । घरमै बसे सुरक्षित भइन्छ, कोरोना लागे भन्न सकिन्न, आफन्त पनि देख्न पाइन्न ।

(कर्ण बेल्ट एन्ड रोड स्कुलका रिसर्च फेलो हुन् )

प्रकाशित : चैत्र १६, २०७६ १६:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?