कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

शंकास्पद व्यक्तिलाई क्वारेन्टाइनमा कसरी राख्ने ?

सचिन घिमिरे

काठमाडौँ — कोभिड–१९ रोगका केही संक्रमितहरू नेपालमा प्रमाणित भइसकेको अवस्थामा निकट भविष्यमै ठूलो मात्रामा संक्रमण फैलिनसक्ने सम्भावनालाई नकार्न सकिँदैन ।

शंकास्पद व्यक्तिलाई क्वारेन्टाइनमा कसरी राख्ने ?

जनस्वास्थ्यको मान्यतामा संक्रमित व्यक्तिहरूसँग सम्पर्कमा आएका मानिसहरूलाई शंकास्पद र रोग प्रमाणित भइसकेकालाई संक्रमित व्यक्ति भनिन्छ ।

रोग फैलिएको समुदायसँग घुलमिल भएको हुन सक्ने शंकास्पदहरूलाई क्वारेन्टाइनमा राखेर हेरविचार गरिन्छ । त्यस्तै, रोग प्रमाणित भइसकेको अवस्थामा भने संक्रमितहरूलाई ‘आइसोलेसन वार्ड’ मा भर्ना गरेर उपचार गरिन्छ । यद्यपि, क्वारेन्टाइन र आइसोलेसन फरक अवस्थालाई बुझाउने शब्दावली भए तापनि नेपालमा एउटै अवस्था बुझाउन थुप्रैपटक प्रयोग भइसकेको देखिन्छ ।


विश्वव्यापी संक्रमण वृद्धि हुँदै गएका बेला कुनै पनि देशको स्वास्थ्य व्यवस्था तथा उपलब्ध स्रोतहरूले धान्नै नसक्ने गरेर बिरामीहरूको भार पर्न सक्छ । यस्तो परिस्थिति आएमा साधारण लक्षण देखिएका र लक्षण नै नदेखिएका शंकास्पद मानिसहरूलाई घरमै राखेर उपचार गर्नुपर्ने मान्यता विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को छ । सन्दर्भवश, नेपाल सरकारका जिम्मेवार एक मन्त्रीले नै सरकारले लाखौं मानिस अटाउने क्वारेन्टाइन बनाउने उद्घोष केही दिनअघि गरेका थिए । सरकारले निर्माण गर्ने क्वारेन्टाइन कक्षहरू केवल शंकास्पदहरूका लागि हो वा कोभिड–१९ जाँचबाट संक्रमण पुष्टि भइसकेको बिरामीको उपचारका लागि हो, स्पष्ट देखिँदैन ।


डब्लूएचओका अनुसार लक्षण नदेखिएका शंकास्पद व्यक्तिहरूलाई समुदायले बनाएका भवनहरू, कलेज, रंगशाला तथा अस्पतालभन्दा अन्य कुनै ठाउँमा राखेर हेरचाह गर्न सकिन्छ । तर शंकास्पदहरूको रेखदेख र स्याहार–सुसारमा भने विशेष ध्यान पुर्‍याउन डब्लूएचओले निर्देशिकाहरू जारी गरेरै भनेको छ ।


संक्रमितहरूको सवालमा घरमा नै ‘आइसोलेसन’मा राख्ने निर्णय गर्नुभन्दा पहिला स्वास्थ्यसम्बन्धी आवश्यक सुरक्षा पाटोहरूमा ध्यान दिन सकिन्छ कि सकिँदैन भन्नेतर्फ सोच्नु जरुरी देखिन्छ । संक्रमण भइसकेको सवालमा उनीहरूलाई राखिने आइसोलेसन वार्डमा स्वास्थ्यकर्मीले व्यक्तिगत सुरक्षालाई लिएर थुप्रै सावधानी अपनाउनुपर्ने हुन्छ । नेपालमा विदेशबाट आएका शंकास्पद मानिसहरूलाई विभिन्न ठाउँमा होम क्वारेन्टाइनमा राखिएको समाचारहरू आइरहेका छन् ।


सम्भावित तीव्र संक्रमण दर रोक्न एकपछि अर्को क्वारेन्टाइन कक्षहरू घोषणा गर्ने तीव्र होडबाजी चलेको छ । व्यक्तिका निजी घरदेखि लिएर, सुकुल र गुन्द्रीमा तन्ना हालेरसमेत क्वारेन्टाइन कक्ष घोषणा गरिएको देखिन्छ । शंकास्पद मानिसहरूलाई छुट्टै राख्दैमा क्वारेन्टाइन भइहाल्दैन ।


कोभिड–१९ रोगको लक्षण नदेखिएको अवस्थामा समेत एक व्यक्तिबाट अर्कोमा सर्ने भएकाले डब्लुएचओको निर्देशिकाअनुसार शंकास्पद व्यक्तिहरूलाई क्वारेन्टाइनमा राख्दा पालना गर्नुपर्ने सावधानीबारे पनि उत्तिकै ख्याल गर्नुपर्ने देखिन्छ । त्यसैले, घरमै क्वारेन्टाइनमा बस्ने वा संक्रमणको साधारण लक्षण देखिएमा घरमै आइसोलेसन वार्ड व्यवस्था गर्ने सोच बनाएकाले विशेष ध्यान पुर्‍याउनुपर्छ । शंकास्पद व्यक्तिलाई राख्ने वरपरको वातावरण तथा व्यक्तिगत सरसफाइ र सुरक्षा पाटोमा सम्बन्धित परिवार पूर्ण रूपमा सचेत रहेको प्रमाणित स्वास्थ्यकर्मीहरूले गरेको खण्डमा मात्र बिरामीलाई घरमै आइसोलेसनमा राख्न सकिन्छ । डब्लुएचओको निर्देशिकाअनुसार शंकास्पद व्यक्ति तथा परिवारका सदस्यहरूले स्वास्थ्यकर्मीहरूसँग निरन्तर सरसल्लाह लिइरहनुपर्ने हुन्छ ।


यदि नेपालमा चीन, इटाली, बेलायत, स्पेन र अमेरिकामा जस्तै धेरै ठूलो जनसंख्यामा संक्रमण फैलियो भने साधारण लक्षणका बिरामीहरू घरमै बसेर पनि उपचार गर्नुपर्ने हुनसक्छ ।

डब्लुएचओले नै हलुका ज्वरो आएका, साधारण खोकी लाग्ने तथा घाँटी दुख्ने समस्या भएका बिरामीहरूले घरमै बसेर आफ्नो ख्याल गर्नसक्ने जानकारी दिएको छ । तर पहिलेदेखि नै मुटु, फोक्सो, मृगौला, श्वासप्रश्वास तथा शरीरको प्रतिरक्षा प्रणाली कमजोर हुने समस्या भएका बिरामीलाई भने घरमा क्वारेन्टाइन राख्न नहुने निर्देशन डब्लूएचओको छ । तसर्थ, साधारण लक्षण भएका बिरामीहरूले घरमै बस्दा पनि पूर्णरूपमा निको भएको प्रमाणित नभएसम्म स्वास्थ्यकर्मीहरूसँग बारम्बार सम्पर्कमा बसिरहनुपर्छ ।


वुहानको रोग नियन्त्रण तथा रोकथाम केन्द्रका चिकित्सकहरूले निकालेको निर्देशिकाअनुसार स्वास्थ्यकर्मीहरू पनि बिरामीले कस्ता लक्षणहरू देखाइरहेका छन् भन्नेबारेमा सचेत हुनुपर्छ ।

शंकास्पद अवस्थामा होस् वा संक्रमणको लक्षण देखिइसकेको अवस्थामा, सम्बन्धित व्यक्ति तथा उसको परिवारले कोभिड–१९ रोगबारे पर्याप्त जानकारी राख्नुपर्ने हुन्छ । शंकास्पद व्यक्तिलाई परिवारका अन्य सदस्यबाट अलग्गै राखेर कम्तीमा एक मिटरको दूरी कायम गर्नु अनिवार्य मानिन्छ । शंकास्पद व्यक्तिलाई र घरका अन्य सदस्य बेग्लाबेग्लै कोठामा राखिनुपर्दछ । शंकास्पद व्यक्तिलाई स्याहारसुसार गर्ने मानिसले उक्त व्यक्तिको नजिक जाँदा नाक तथा मुखलाई टम्म छोपिने गरी भरपर्दो मेडिकल तथा सर्जिकल मास्क अनिवार्य लगाउनुपर्छ । नधोएको हातले बीचबीचमा मास्क छुनु हुँदैन ।


डब्लूएचओले त शंकास्पद तथा संक्रमित व्यक्तिको नजिक जाँदा पनि प्लास्टिकको एप्रोन लगाउन सल्लाह दिएको छ । मास्क फुकालेपछि शंकास्पद व्यक्तिले प्रयोग गरेको कुनै पनि सामान छुनेबित्तिकै साबुन–पानीले हात धुनुपर्छ । यस अतिरिक्त उक्त निर्देशिकाले भान्सामा काम गरिसकेपछि, शौचालय गएर आएपछि र अन्य काम गरिसकेपछि पटकपटक हात धुनुपर्ने बताएको छ । स्याहारसुसार गर्ने मानिसले पनि खोकी वा हाच्छ×्युँ लाग्नेबित्तिकै हात धोइहाल्नुपर्छ । धोएको हात सुकाउन एकपटक प्रयोग गरेपछि फाल्न मिल्ने कागज तथा रुमालको प्रयोग गर्नुपर्छ । भान्साकोठा, शौचालय तथा शंकास्पद व्यक्तिहरू राखिएको कोठामा झ्यालबाट हावा ओहोरदोहोर राम्रोसँग हुनुपर्छ ।


सकेसम्म एक जनाले मात्र शंकास्पद व्यक्तिको हेरविचार गर्नुपर्छ र उसको स्वास्थ्य अवस्था राम्रो हुनुपर्छ । कोही बिरामी भएमा लस्कर लागेर फलफूल लिएर भेट्न जाने नेपालीको चलन छ तर यस रोगको सवालमा अन्य व्यक्तिको भ्रमणमा पूर्ण बन्देज लगाउनुपर्छ । शंकास्पद व्यक्तिले नाक तथा मुखमा लगेर प्रयोग गरेका रुमाल, तौलियाजस्ता सामग्रीको सही तरिकाले व्यवस्थापन गर्नुपर्छ ।


एकपटक प्रयोग गरिएको मास्क तथा हाते पञ्जा दोहोर्‍याएर प्रयोग गर्नुहुँदैन । लक्षण नदेखिएकै अवस्थामा शंकास्पद व्यक्तिको मुख तथा नाकबाट निस्कन सक्ने र्‍याल, खकार, थुक तथा हाच्छ्युँ गर्दा आएको छिटासँग मात्र नभई उसको दिसापिसाबबाट पनि सतर्क रहनुपर्दछ । यस कार्यमा लगाएको हाते पञ्जाको प्रयोगउपरान्तको व्यवस्थापनमा भने विशेष ध्यान पुर्‍याउनुपर्ने हुन्छ । शंकास्पद व्यक्तिले प्रयोग गरेको दाँत माझ्ने ब्रस, सुत्ने ओछ्यानदेखि उसले खाना खाएका थालहरूलाई समेत स्याहारसुसार गर्ने मानिसले प्रत्यक्ष छुनुहुँदैन । आफूलाई पूर्णरूपमा रोग नभएको ग्यारेन्टी नभएसम्म पनि शंकास्पद व्यक्तिले घर छोड्नु हुँदैन ।


वुहानको रोग नियन्त्रण तथा रोकथाम केन्द्रका चिकित्सकहरूका अनुसार लक्षण देखिएका सवालहरूमा पनि दुईपटकसम्म कोरोना नभएको पुष्टि गरेरमात्र संक्रमित व्यक्तिहरू ढुक्क हुन सक्छन् । डब्लूएचओका अनुसार कोभिड–१९ रोग लागिकन निको भइसकेका बिरामीहरू थप दुई साता आइसोलेसनमा बस्नुपर्छ । साथै, संक्रमितलाई उपचार गर्न खटिएका स्वास्थ्यकर्मीले पनि उच्च सतर्कता अपनाउनुपर्छ, अर्को दुई सातासम्मै । वुहानका रोग नियन्त्रण तथा रोकथाम केन्द्रको निर्देशिकाअनुसार केही गरेर लक्षण देखिएमा अस्पताल जाँदा मेडिकल तथा सर्जिकल मास्क लगाउनुपर्छ भने सार्वजनिक यातायात चढ्नुहुँदैन, नेगेटिभ एयर प्रेसर भएको विशेष किसिमको एम्बुलेन्स प्रयोग गर्नुपर्छ । अन्य व्यक्तिमा रोगको संक्रमण नहोस् भन्नका लागि यस्ता एम्बुलेन्समा व्यक्तिगत सुरक्षा साधन राम्रोसँग लगाएका मानिस बसेर संक्रमितलाई अस्पताल पुर्‍याउने व्यवस्था गरिनुपर्छ । नेपालमा भने जनप्रतिनिधिहरूले नै मिडिया स्टन्टका लागि निजी सवारीसाधन एम्बुलेन्सका रूपमा प्रयोग गर्न दिने घोषणा गरेका छन्, जसले जोखिम बढाउन सक्छ ।


डब्लूएचओ र वुहानको रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार घरायसी तवरमा कोभिड–१९ का बिरामीको स्याहारसुसार गर्न निकै गम्भीर हुनुपर्छ । सरकारले विभिन्न ठाउँहरूमा लाखभन्दा धेरै मानिस अटाउने क्वारेन्टाइनहरू बढाउँदै लैजाने घोषण गरेको छ । तर त्यस्ता क्वारेन्टाइनमा आमसर्वसाधारणले नै सेवा दिने हो या दक्ष जनस्वास्थ्यकर्मीले ? यसबारे केही बताइएको छैन ।

कोठाले वा रित्तो वार्डले मात्र बिरामीको उपचार हुँदैन । उपचार गर्ने स्वास्थ्यकर्मीहरूको दक्षता र उपलब्धता महत्त्वपूर्ण पक्ष हो । अन्य रोगमा जस्तो साधारण किसिमको व्यवस्थापनले कोभिड–१९ को शंकास्पद तथा संक्रमित बिरामीको हेरचाह गर्न सकिँदैन । यस्तो अवस्थामा ‘ननफर्मास्युटिकल इन्टरभेन्सन’ अर्थात् जनस्वास्थ्यको मान्यता प्रभावकारी मानिन्छन् ।


सत्ताको अदूरदर्शिताको भोकमरीमा बाँचेको कुपोषित घोडाले युद्धको बेला जति कोर्रा बर्साए पनि द्रुत गतिमा रथ हाँक्न सक्दैन । इतिहासको यस कठिन मोडमा जति नै आलोचना गरे पनि रातारात यो देशको स्वास्थ्य व्यवस्था मजबुत हुन सक्दैन । तसर्थ, आमजनताले भौतिक दूरी कायम गरेर सरकारले अनुरोध गरेको पूर्ण लकडाउनलाई समर्थन गर्नु नै वर्तमान अवस्थामा जिम्मेवार नागरिकको दायित्व हो । कोरोना भाइरसको यस नयाँ अवतारलाई एक ठाउँवाट अर्को ठाउँमा फैलिनबाट रोकेर नै यस विषम घडीमा प्रकृतिले दिएको चुनौतीबाट पार पाउन सकिन्छ ।

प्रकाशित : चैत्र १६, २०७६ १०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?