डेन्जर जोनमा क्यान्डी क्रस

युग पाठक

काठमाडौँ — 'कोरोना महाव्याधिको आयतन धेरै खतरनाक ढंगले सूक्ष्म, गहिरो, फराकिलो र कठोर छ । यसले युरोप–अमेरिकालाई पनि थला पारिसकेको छ ।'

डेन्जर जोनमा हुनुहुन्छ तपाईं
र, खेलिरहनुभएको छ क्यान्डी क्रस
यो असाध्यै खतरनाक कुरा हो
– विनोदविक्रम केसी

फ्रन्टलाइन : टेकु अस्पताल । लकडाउनको दोस्रो दिन । तेस्रो व्यक्तिमा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको खबरले मुलुक तरंगित भयो । फ्रन्टलाइनमा खटिरहेका टेकु अस्पतालका पदाधिकारी र डाक्टरहरू अचानक आत्तिए । ती बिरामी टेकु अस्पतालकै आइसोलेसन वार्डमा छन् तर उपचारमा संलग्न अस्पतालले भने उक्त सूचना सञ्चारमाध्याममा आएपछि मात्र थाहा पायो । पत्रकार–सम्मेलनमै घोषणा गर्ने प्रयोजनका लागि मन्त्रीले सूचना लुकाएका हुन् ? संकटको यस्तो हास्यास्पद व्यवस्थापन कति महँगो पर्ला ? टेकु अस्पतालका निर्देशकदेखि डाक्टरसम्म सबै असन्तुष्ट र त्रसित छन् । सरकारलाई मन नपरेको होला तर उनीहरूले ठीक समयमा सत्य बोल्ने हिम्मत गरेका छन् ।

कोरोना महाव्याधिको आयतन धेरै खतरनाक ढंगले सूक्ष्म, गहिरो, फराकिलो र कठोर छ । यसले युरोप–अमेरिकालाई पनि थला पारिसकेको छ । अहिलेसम्म नेपालमा कोरोना–विस्फोट भैसकेको छैन । तर हामी लकडाउनमा किन छौं ? किनभने जुनसुकै बेला यो विस्फोट हुन सक्छ । त्यो विस्फोट सामना गर्न फ्रन्टलाइनमा भिडिरहेको किल्ला हो— टेकु अस्पताल । यो किल्लामा तयारी कस्तो छ त ? अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूसँग न पीपीई छ, न टेस्टिङ किट नै । आइसोलेसन वार्ड औंलाको गन्ती बराबर पनि छैन, भेन्टिलेटर र अरू उपकरणको त कुरै छाडौं । अर्थात्, फ्रन्टलाइनका योद्धालाई सरकारले हातमा सिप्किनो थमाएर बाघको मुखमा धकेलिदिएको छ ।

अनि स्वास्थ्यमन्त्री भानुभक्त ढकाल भन्छन् : पीपीईबिना घरमा भात पकाउन पनि खतरा हुन्छ भन्ने मनोविज्ञान स्थापित भयो । यो कुन स्तरको ठट्टा हो ? पीपीई फेसन शोका लागि चाहिएको हो कि स्वास्थ्यकर्मी, एम्बुलेन्स चालकलगायत फ्रन्टलाइनका योद्धाको सुरक्षाका लागि ? गतिलो पीपीई हुँदाहुँदै पनि चीन, इटाली, स्पेनजस्ता देशमा थुप्रै डाक्टर, नर्सलगायतले ज्यान गुमाइसकेको तथ्य मन्त्रीलाई थाहा नभएको हो ? बाघको कान निमोठेर जोरी खोज्नु बुद्धिमानी होइन । कोरोना भाइरसको महाव्याधिसँग ठट्टा गर्नु त झनै खतरनाक कुरा हो । डेन्जर जोनमा बसेर क्यान्डी क्रस खेल्ने आत्मघाती रहर व्यक्तिले त पाल्न सक्छ, तर जिम्मेवार पदाधिकारीले त्यसो गर्नु भर्त्सनायोग्य छ । महामारीको मुखमा स्वास्थ्यकर्मीलाई बिनातयारी धकेलेर सम्पूर्ण जनताको स्वास्थ्यसँग भद्दा मजाक गर्नु क्षम्य हुन सक्दैन । तर, हाम्रो सरकारले ठीक यसै गरिरहेको छ ।

ग्राउन्ड जिरो

हामीसँग समय प्रशस्त थियो, फगत गुजार्नका लागि भयो । टेकु अस्पताललाई ग्राउन्ड जिरो मान्ने हो भने समग्र अस्पतालहरू अग्रपंक्तिमा आउँछन् । उनीहरूलाई उपकरणहरूले सुसज्जित पार्ने काममा अबचैं थप ढिलाइ नहोस् भन्ने आग्रह गरूँ । अझैसम्म अस्पतालहरूमा संकट आइसकेको छैन । त्यसैले कोरोना संक्रमण फैलिनबाट रोक्ने ‘प्रिभेन्सन’ स्जेटमै छ नेपाल । र, लकडाउनले स्वतः जीवनमा संकट ल्याएको छ । यस हिसाबले समग्र मुलुकलाई नै ग्राउन्ड जिरो मान्नुपर्ने अवस्था हो । समग्र जनसंख्या घरमा बन्दी छ र जिम्मेवार निकायहरूको जिम्मामा देश छ । देश फगत सरकारी निकायले मात्रै चल्दैन, जनताले दैनन्दिन मिहिनेत गरेर देशको इन्जिन चलाउँछन् । इन्जिन बन्द हुनासाथ आर्थिक, सामाजिक, मनोवैज्ञानिकलगायत तमाम समस्याहरू कोरोनाभन्दा डरलाग्दो गरी प्रकट हुन्छन् ।

लकडाउनको आदेश दिने प्रत्येक सरकारले आश्वासन नै सही केही न केही राहत प्याकेज घोषणा गरेका छन् । केवल हात धुने र भौतिक दूरी बनाउने उपदेशले यो अभूतपूर्व संकट पार लाग्दैन । भूकम्पको बेलाजस्तो विभिन्न मुलुक र एजेन्सीहरूको सहयोग परिचालन हुने अवस्था पनि अहिले छैन । एक त नेपाललाई हालसम्म ठूला पुँजीवादी मुलुक र तिनीहरूका एजेन्सीको उपग्रह बनाइएको छ, अर्कोतिर तिनै धनी र शक्तिशाली मुलुक यतिबेला कोरोनाको प्रकोपसँग हतप्रभ अवस्थामा जुधिरहेका छन् । त्यसैले रेमिट्यान्स र अन्य कथित् वैदेशिक सहायता प्रवाह हुने स्थितिमा अचानक ब्रेक लागेको यथार्थ यहाँनेर बुझ्नु जरुरी छ । त्यसैगरी जनताको दैनन्दिन रोजगारी ठप्प हुनासाथ उत्पादकत्व स्वतः ओरालो लाग्ने नै भयो । नेपाल पनि भयानक आर्थिक संकटको मुखैमा छ ।

सरकारले नदेखेजस्तो गरेर टार्ने विषय होइन यो । दैनिक ज्यालादारीमा गुजारा गर्ने मजदुरका अलावा अत्यन्त न्यून आय भएको समाजमा छाक टार्न नै समस्या पर्न सक्छ । यसका निम्ति सरकारले ‘हामी छौं’ भनेको खै ? स्थानीय निकायमा निर्वाचन नहुँदासम्म दशकौंसम्म मिलीजुली संयन्त्र चलाउने राजनीतिक दलहरूले यतिबेला आपत्कालीन सर्वदलिय संयन्त्र बनाउन किन नहुने ? स्थानीय निकाय आफैं निरीह भैरहेका र क्यारेन्टाइनमा बस्नसमेत मानिसहरूले अवाज्ञा गरिदिएको स्थितिमा यस्तो संयन्त्र स्थनीय स्तरमा प्रभावकारी हुन सक्छ । कम से कम कोही भोकै नपरून् र न्यूनतम आवश्यकता पूरा नभएरै थप संकटमा नपुरून् भन्ने स्थिति सुनिश्चित गर्न सरकारले बृहत्तर राहत प्याकेज घोषणा गरिहाल्न ढिला गर्न हुन्न ।

सामाजिक सञ्जालमा हात धुने सल्लाह प्रसारित गरेर बसेका सबै दलका शीर्षस्थ नेताले तुरुन्त यो पहल लिन आवश्यक छ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको प्रकोपलाई ‘पेन्डेमिक’ घोषणा गरेसँगै हजारौंको संख्यामा विदेशमा रहेका नेपाली घर फर्किएका छन् । त्यसैगरी काठमाडौंबाट गाउँ फर्कने जनसंख्या पनि ठूलो छ । भारतबाट पनि ठूलो संख्यामा नेपालीहरू घर फिर्ता आएका छन् । गाउँमा चहलपहल छ र कैयौं मेरा मित्रहरूले दिएको जानकारीअनुसार ठाउँठाउँमा भेला हुने, भोजभतेर गर्ने र समूहमा खेलकुदलगायत गतिविधि गर्नेको संख्या उल्लेख्य छ । मुख्य सहरबाहेक अन्यत्र हेलचेक्र्याइँ गर्नेको संख्या उल्लेख्य हुनु खतराको संकेत हो । टेकु अस्पतालकै यो हालत, कुनै दूरदराज गाउँबाट कोरोना–विस्फोट भयो भने स्थिति थाम्न गाह्रो पर्नेछ । त्यसैले शीर्ष नेतृत्वपंक्तिले तुरुन्त संयन्त्रसहितको सक्रिय आह्वान गर्न जरुरी छ ।

म जे छु ठीकै छु

यो महाव्याधिले विश्वको राजनीतिक समीकरणमा व्यापक फेरबदल ल्याउने संकेत देखिएको छ । सुरुमै कोरोनाको चपेटामा परेको चीन अहिले तंग्रिने क्रममा छ । युरोप र अमेरिका कोरोना–विस्फोटको डरलाग्दो परिस्थितिसँग जुधिरहेका छन् । युभल नोहा हरारीले भनेझैं यो पेन्डेमिकसँग लड्नका लागि विश्वसँग कुनै नेतृत्व छैन । उनको आशा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग थियो, तर व्यापारी ट्रम्पको ‘अमेरिका बन्द हुनका लागि बनेको मुलुक होइन’ भन्ने दम्भपूर्ण अभिव्यक्तिले अमेरिकालाई थप संकटमा धकेलिरहेको प्रतीत हुन्छ । प्रशस्त समय पाएर पनि नेपालले झैं अमेरिकाले पनि पर्याप्त तयारी गरेन र अहिले संकटको भुमरी त्यहाँ त्रासदस्तरमा फन्को मारिरहेको छ । अधिकांश युरोप लकडाउनमा छ । युरोप र अमेरिका कोरोना–संकटबाट निस्केर आर्थिक संकटमा फँस्ने बेलासम्म चीनले आफूलाई बलियो आर्थिक प्रगतिका साथ विश्व रंगमञ्चमा उभ्याउने संकेत देखिन्छ ।

यसप्रकार विश्वको शक्ति सन्तुलन फेरबदल हुने स्पष्ट दृश्य क्षितिजमा प्रकट भैसकेको छ । पश्चिमा मुलुकको ‘स्याटेलाइट’ सरह रहेको नेपालको अर्थतन्त्र पनि संकटको भुमरीमा फँस्ने निश्चित छ । नयाँ विश्व शक्ति सन्तुलनमा नेपालका शासकले फेरि पनि ‘अवसरवादी’ बाटो रोज्लान् । त्यो आफ्नो ठाउँमा छ । तर, विश्वले यो महाव्याधिबाट सिक्नुपर्ने एउटा महत्त्वपूर्ण पाठ के हो भने सबै लडाइँ खर्बौं डलर खर्च गरेर बनाइने हतियारबाट मात्र लड्न सकिने रहेनछ । इटाली र स्पेनजस्ता जनस्वास्थ्यमा अत्यन्त सचेत र सबल संरचना भएका मुलुक त संकटमा फँसे, अमेरिकाजस्तो आफूलाई विश्वको एक नम्बर शक्तिशाली ठान्ने मुलुकमा ‘मास्क छैन, पीपीई छैन’ भन्ने अवस्था आयो भने नेपालको हालत त भनिरहनुपरेन ।

पटकपटक अनशन बसेर डा. गोविन्द केसीले कसलाई घुर्क्याएका रहेछन् त ? यो प्रश्न अब सर्वाधिक महत्त्वको प्रश्न हुनेछ । वर्णव्यवस्थाको जातजस्ता राजनीतिक दल र एकअर्कालाई छुवाछूत र गालीगलौज गर्ने नेता–कार्यकर्ताले चलाएको नेपालको राजनीतिमा खास राजनीति त छलफलमा कमै आउने गर्छ । खास राजनीतिको दृश्य यो हो : लकडाउनपछि ज्वरो आएका बिरामी अस्पताल पुगे र निजी अस्पतालले गेटै खोलेनन् । टेकु अस्पतालले मात्र एक्लै यो महामारीसँग लड्न सक्दैन भन्ने सबैलाई थाहा छ । अरू बेला गर्नु नपर्ने टेस्ट गरेर र गर्नु नपर्ने अपरेसन गरेर पैसा कुम्ल्याउने निजी अस्पतालहरू संकटमा ढोका बन्द गरेर किन बस्छन् ? यो क्षणिक कारबाहीको कागज उठाएर पार लाग्ने समस्या होइन । स्वास्थ्य र शिक्षाजस्ता आधारभूत जिनिसलाई निजीकरण गर्ने राजनीतिको परिणाम हो यो ।

विश्वको राजनीतिक समीकरणमा जुनसुकै स्तरको परिवर्तन आओस्, नेपालको राजनीतिमा अहिलेकै अवस्थामा कुनै परिवर्तन हुनेछैन । यो स्वार्थमुखी, धनीमुखी र सत्तालिप्साको राजनीतिले कोरोना–संकट धान्न सक्दैन । डेन्जर जोनमा उभिएर क्यान्डी क्रस खेल्ने अहिलेको सरकारको मूर्खताले चिच्याईचिच्याई यो यथार्थ सम्झाइरहेको छ । हामी भोग्न बाध्य छौं । कथंकदाचित कोरोना–विस्फोट भैहाले हाहाकार हुने स्थिति अहिल्यै आकलन गरेर समुदायको स्तरमा समेत तयारी सुरु गर्नु जरुरी भएको छ । अनि भविष्यमा शिक्षा र स्वास्थ्यको राजनीति कम से कम जनमुखी बनाउने वैचारिक तयारी पनि थाल्नुपर्ने भएको छ । प्रकाशित : चैत्र १५, २०७६ १६:४६

ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

गायिका अन्जु पन्तको लकडाउन डायरी 

कान्तिपुर संवाददाता

काठमाडौँ — कोरोनाको महामारी फैलिएपछि अन्य देशले ‘लकडाउन’ र ‘कर्फ्यू’ लगायो । तर, हाम्रो सरकारलाई किन चिन्ता भएन भन्ने भइरहेको थियो । तर, सरकारले चैत ११ देखि ‘लकडाउन’ गरेपछि खुशी भएँ ।

त्यतिखेर नयाँ गीत रेकर्डिङ गर्ने तयारीमा थिएँ। लकडाउनपछि सबै ठप्प भयो ।
काममा धेरै व्यस्त हुन्छु । अहिले परिवारका लागि समय पाएकी छु । हर समय परिवारसँगै हुन्छु । यसअघि त म बिहान ७ बजे निस्कन्थे, कहिले १२ बज्थ्यो घर आइपुग्दा । गीत रेकर्डिङ, सुटिङ अनि मिटिङमै व्यस्त हुन्थें ।

डिभोर्स भइसकेपछि कहिल्यै एक्लै बसिनँ । परिवारका सदस्य एकजना सधैं मसँग बस्नहुन्छ । घरमा एकलकाँटे भएर बस्न मन लाग्दैन । बरु फुर्सदको बेला आफैं सबैलाई घरमा आउन निम्तो दिन्थें । त्यही भएर मेरो दिदीहरु घर आइरहनुहुन्छ । अहिले घरमा दिदीको छोरा, जेठी दिदीको छोरा, बहिनी, जेठी दिदी, मेरी छोरी परितोसिका अनि म छौं ।

अरुबेला घर बस्दा उपलब्धिमूलक काममा व्यस्त हुन्थें । छुट्टीको दिन सबैलाई मिठो पकाएर खुवाउने गर्थें । अहिले त दिदी र बहिनीले मिठो पकाएर खुवाउनुहुन्छ । अब पकाउने–खाने त हो, अरु के नै गर्नु छ र !

मेरो घर भैसेंपाटीमा छ । घर वरपर फाँट नै फाँट छ । बगैंचा, करेसाबारी छ । कुखुराको खोर बनाउन खोजिरहेको छौं । कसैले करेसाबारीमा काम गर्ने, कसैले खाना पकाउने, कोही सपिङ गर्न जाने, एकदम रमाइलो हुन्छ । आज चौथो दिनमा पनि केही फरक छैन । दिनहरु उस्तै छन्, नौलो खास छैन ।

बिहान उठेपछि नित्यकर्म । त्यसपछि प्रभुसँग प्रार्थना गर्छु । छेउमा डाँडा छ मर्निङवाक जान्छु । त्यसपछि घरको सजावटमा ध्यान दिन्छौ । युट्युबबाट विभिन्न कुरा सिकिरहेका हुन्छौं । हामी घर परिवार केही न केही उपलब्धिमुलक काम नै गरिरहेका छौं ।

सानो जग्गा भए पनि गोडमेल गरेरै दिन दिन बित्छ । गोडमेल गर्ने, केही रोप्ने गर्छौं । करेसामा मेथीको साग, चम्सुर, पालुगों, धनियाँ, लसुन, रायो, तोरीको साग रोपेका छौं । घरको पछाडिको भागमा हिजोमात्रै मल राखेको छु । अब त्यहाँ मकै छर्ने तयारी छ ।

१० बजे उठे पनि ५ बजे उठे पनि, नो प्रबलम । कतै समयमै पुगिहाल्नु पर्ने तनाव नहुने । बिहानको साँढे पाँच बजेतिर कागले उठाउँछ । काग पनि क्वारेन्टाइन मनाउन आउँछ । मेरो घरको चारैपट्टी ऐना छ । आफ्नै प्रतिरुप देखेर होला, बिहानै सिसा ठुङ्न आउछन् । दिउसोसम्म यस्तै गरिरहन्छ । हाम्रो दिन त त्यही काग धपाएरै जान्छ ।

जस्तो परिस्थिति छ त्यही परिस्थितिमा खुशी अनि सकरात्मक हुने मेरो बानी छ । त्यसैले के गरौं, कसो गरौं, कहाँ जाऔं, अत्यास लागेको छैन । छटपटी भाको छैन । मेरा विभिन्न एल्बम अनि फिल्मका गीतहरु आउँदैछन् । त्यही गीतहरुको अभ्यास गर्छु । माइक लिएर गीत गाउन बस्नुमात्रै पर्छ । सब परिवार मेरो गीत सुन्न आउनुहुन्छ । उहाँहरु दर्शक बनिदिनुहुन्छ । साथ दिनुहुन्छ । घरलाई नै स्टेज बनाइरहेको छु अहिले त । म त जहाँ जान्छु, त्यही नै स्टेज बनाउँछु नि ।

अहिले छोरीसँग पनि समय बिताउन पाएर खुशी छु । तर नानीलाई चाहिँ घरमा दिन–दिनै बसेर अल्छीलाग्दो हो । अलिकति चिन्ता पनि हुन्छ । तर अर्कोतर्फ सोच्छु हातैमा नेट छ । त्यहीबाट उसलाई इन्स्ट्रुमेन्ट अनि डान्स सिक्न उत्साह दिन्छु । नानीले युट्युबमा हेरेर के–के पकाउँछिन् । उनलाई कस्तो राम्रो आउँदो रहेछ । म त छक्क परेको । सबै सिकिसकेकी रहिछन् । गीत सुन्छिन्, गाउँछिन् । यो खाली समयमा उसका यस्तै स्वभावहरुसँग रमाउँदैछु ।

कहिले फिल्म हेर्छु । ऐतिहासिक फिल्महरु, यस्तै महामारीसम्बन्धि फिल्महरु हेर्छु । बिहानदेखि उठेर यो–यो गर्ने भनेर सेड्यूल छैन । मुडी खालको छु । जतिखेर गीत गाउन मन लाग्यो, गाइदिन्छु । गीत गाउन मन लाग्यो भने १२ बजे पनि गाइदिन्छु । साबुनपानीले पटक–पटक हात धुन्छु ।

म त जस्तो अवस्थामा हुन्छु, त्यसलाई अर्थपूर्ण र रमाइलो बनाउन खोज्छु । ७ दिन होइन १ महिनासम्म एउटै कोठामा लगेर थुनिदिनुभयो भने त्यो पनि ठीकै छ। वनमा लगेर राखे पनि ठीकै छ। गोठमा लगेर राखे पनि ठीकै छ । चन्द्रमा लगेर राखे पनि त्यो पनि ठीक छ ।

भैसेंपाटी पहिलाभन्दा शान्त भएको छ । लकडाउन त खासमा मेरो लागि एकदम विशेष बनिरहेको छ । हुन त भयावह स्थिति छ, भोलि के हुन्छ कसैलाई थाहा छैन । कोरोनाले केही गर्ला कि भन्ने चिन्ता त लाग्छ तर एक किसिमको निर्धक्कता पनि छ । कोरोनाले धेरै तहसनहस नगर्ला भन्ने लाग्छ । अन्य देशका खबर सुन्दा मन चसक्क घोच्छ । प्रार्थना गर्छु ।

म फ्रेन्ड्ली भएर होला, सबैजना मसँग खुलस्त हुनुहुन्छ । दिक्दार लागेको छैन । राती डाँडामा टहल्न जान्छौं अनि ११ बजेभित्रमा सुतिसक्छु ।

(प्रस्तुति : रीना मोक्तान)

प्रकाशित : चैत्र १५, २०७६ १६:३१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×