कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११७

यो मानव जातिको पहिलो दुःख होइन

यादव देवकोटा

काठमाडौँ — उपोद्घात- आजका आधुनिक मानिसका पुर्खाहरूले बितेको ७० हजार वर्षमा अनेकन महामारी खेप्दै, त्यससँग जुध्दै, बाँचेका केही संख्याले जनसंख्या बढाउँदै र अघि बढ्दै गए । र, हामी आजको समयमा आइपुगेका छौं ।

यो मानव जातिको पहिलो दुःख होइन

यो क्रममा मानिसका कैयौं थरी पुर्खाको कुनै समूह समुल नष्ट भएको छ । एउटा वातावरण, हावापानी, परिवेशमा अभ्यस्त समूह एक ठाउँबाट अर्को ठाउँमा पुग्दा त्यहाँको हावा, पानीसँग अन्तर्घुलन हुन नसकेर महामारीको संकटबाट गुज्रिएको छ, मासिएको छ या उसले अकल्पनीय क्षति व्यहोरेको छ ।

विशाल संख्यामा आफ्नो समूहका सदस्यको मृत्युको मूल्य चुकाएर केही मानिस उक्त हावा, पानी, वातावरणमा टिक्न सक्ने भएका छन् । एक ठाउँबाट अर्को ठाउँ, एउटा समयबाट अर्को समय, एउटा समूहबाट अर्को समूहको सम्पर्कमा जाँदा बितेका हजारौं हजार वर्षमा हाम्रा पुर्खाहरूले नजाने कति महामारी, प्रलय र ध्वंसको सामना गर्दै बलै बचेर यहाँसम्म आइपुगेको छ, त्यसको ठीक ठीक हिसाबसमेत आजका हामीसँग छैन ।

प्राचीन फिरन्ते युग र सिकारी युगमा मानवका पुर्खाहरूले के कस्ता सरुवा महामारीको सामना गरेर अघि बढ्यो भन्ने तथ्यहरूको खोजी अकंटक जारी छ । कैयौं सामूहिक चिहान, सभ्यता विनाशमा अनेकन महामारीहरूको निर्णायक भूमिकाको वास्तविकतामा पुग्न तथ्यहरूको संकलन चली नै रहेको छ । केही प्रमाण फेला परेका पनि छन् ।

फिरन्ते सिकारी युगमा मानिसका पुर्खाहरूले जिन्दगी चलाउने मेसो मिलाउन अनेकन ज्ञात–अज्ञात बोटबिरुवा र जनावरहरूको मासु काँचो या पोलेर खाने क्रममा त्यसबाट उत्पन्न प्रकोपले महामारीको रूप लिँदा कैयौं सिकारी समूह सखाप भएका छन् । रोगको निश्चित कारण र तथ्यहरूबाट अनभिज्ञ मानिसका पुर्खाहरूले तिनै दिनदेखि देवता, सैतान, राक्षस, वायु, जादू, बोक्सी, धामी, झाँक्रीको चेतना आफूमा अभिसारित गराएका हुन् । तन्त्र, मन्त्र, बलि, पूजा, आराधनालाई त्यस्तो प्रकोप, महामारी शान्त गराउने सहारा बनाएका हुन् ।

टर्की, इरान, लेभान्तबाट लगभग बाह्र हजार वर्षअघि सुरु भएको मानिने कृषि युगको आरम्भपछि जब मानिस सामूहिक बसाइको अभ्यासमा अभिसारित भयो, त्यसयता यो जातिले तीव्र रूपले अनेकन प्रलय खेप्यो । एघार हजार वर्षजति अघि जंगली गहुँ र बाख्रालाई मानिसले घरेलु बनायो । त्यसक्रममा बाख्रासँगको निकट सम्पर्कका कारण मानिसले अवश्यै सरुवा महामारी खेप्यो होला भन्ने अनुमान गर्न सकिन्छ । दाल र अरुलाई दस हजार वर्षअघि घरेलु बनाएपछि मानिसले जंगली घोडालाई ६ हजार वर्षअघि घरेलु बनायो (हरारी, युवल नोआ–स्यापियन्स, पृ ८७) ।

घोडालाई घरेलु बनाएर दैनिक जीवनमा जोडेपछि मानिसले एथेन्सदेखि चीनसम्म संक्रामक महामारीको सामना गर्नुपरेको देखिन्छ । इशा पूर्व २२०० को हिउँदमा सिन्धु उपत्यकामा र इशा पूर्व १२०० तिर इजिप्टमा बिफरको महामारी तिनै जंगली जनावरलाई घरेलु बनाउने क्रममा भित्रिएको त थिएन भन्ने कोणबाट अनुसन्धानहरू चलिरहेका छन् । आठ हजार वर्षअघि मानिसले तिनै महामारीबाट बच्ने औषधिका रूपमा अंगुरको वाइन बनाएको पाइन्छ जर्जियामा, लेवनान, इरानमा सात हजार वर्षअघि, सिसिलीमा छ हजार वर्षअघि, ग्रिसमा पैंसट्ठी सय वर्षअघि । बितेको दस हजार वर्षमा बिफर, दादुरा, ठेउला, झाडापखला, प्लेग, जण्डिस, एड्स, कुष्ठरोग, मलेरिया, इन्फ्लुएन्जाजस्ता प्राणघातक महामारीमा परेर कम्तीमा ५० करोडदेखि ७५ करोड मानिसले जीवन निखारे । केही बलै बाँचे । अनेकन महामारीसँग जुध्दै, शरीरको प्रतिरोध क्षमतालाई त्यस रोगको सामना गर्न सक्ने मात्रै बनाएनन्, निश्चित भूमिलाई आवाद गराएर सभ्यताको पदचाप छाडे । दरसन्तानहरूलाई खेतीयोग्य विशाल जमिनलाई मानव आवादीका लागि योग्य बनाएर हस्तान्तरण गरे ।

नेपालका सन्दर्भमा थारू जातिका पुर्खाले जसरी मलेरियाको सानदार सामनाका क्रममा आफ्ना हजारौं–लाखौं सदस्य निखारेर मैदानी भेगलाई आवादी जमिनका रूपमा जोगाए र हस्तान्तरण गरे त्यस्तै उदाहरण संसारभर अनेकन छ । यो बेग्लै कुरा हो कि मलेरियाको सामना गर्ने दिनमा एक्लै परेको थारू जाति आफैंले आवाद गरेको जमिन मलेरिया उन्मूलनपछिका दिनमा त्यही रोगबाटै बच्न भागेकाहरूबाटै खोसिएर भूमिहीन बन्न पुग्यो । मानव जातिले श्रेष्ठताको होडमा यस्तो अन्याय आफ्नै मानव जातिको घेरामा मात्रै सीमित राखेको छैन, दोहन र शोषणको यो क्रूर लम्बे अभियानमा कैयौं आदिवासी जनावर, चराचुरुंगी, बोटबिरुवासमेत सखाप पारिएका छन् ।

जब मानिसले आफूलाई सभ्य भएको ठान्न थाल्यो, त्यसलाई पुष्टि गर्न ठूला सहर बसायो । एउटा सहरबाट अर्को सहर जोड्न व्यापारिक मार्ग निर्माण गर्न थाल्यो । सँगै, तिनै मार्गमा भएको आवागमनको अडेस लागेर अनेकन रोगहरू, महामारीहरू भित्रिन थाले । एउटा निश्चित हावापानी, वातावरण र त्यहाँको प्रकोपमा अभ्यस्त मानव शरीरको प्रतिरोध क्षमताले नयाँ हावापानी, वातावरणमा हुर्किएको रोगको कीटाणुसँग लड्न, जुध्न र सामना गर्न नसकेर मानवको विशाल रैथाने जाति सखाप भयो । त्यस्तो महामारीको प्रलयले अनेकन मानव सभ्यता र शासनसत्ताहरूको जगै हल्लाइदिएको छ । नयाँ स्थानबाट गएकाहरूद्वारा पुरानो स्थानका आदिवासीहरू नै कसरी सखाप पारिए भन्ने विवरण यथाक्रममा उल्लेख हुने नै छ ।

प्रकृति र परम्पराको दोहन, शोषण र विनाशको जगमा आधुनिक मानव सभ्यताको आधार अडिएको तथ्य हामीले भुल्नु हुँदैन । जसको मूल्य कुनै न कुनै रूपमा मानव जातिले चुकाउनुको विकल्प छैन । त्यसैको उत्कर्षमा संकटको अनेकन निलडाम आजको मानव समाजको टाउकोमाथि बजारिएको छ तारन्तार अनेकन महामारीको स्वरूपमा । जस्तो आजै मानव समाजले ‘कोभिड–१९’ भनिने संक्रामक कोरोना महामारीको विश्वव्यापी सामना गरिरहेको छ । तर, आजको दिनमा मानव जातिले व्यहोरिरहेको यो दुःख न त मानव जातिको इतिहासको पहिलो हो न अन्तिम । न यो इतिहासको पहिलो ठूलो दुःख हो न अन्तिम ।

संकटको इतिहास

बिफरको जीवाणु कृषि युगको आरम्भका दिनमै विशाल नदी किनारहरूबाट अस्तित्वमा आएको अनुमान गरिएको छ । सबैभन्दा पहिलो बिफर संक्रमणको संकेत तीनवटा इजिप्सियन ‘राम्सेस’ का ‘ममी’ हरूमा देखिएको पाइन्छ । इशा पूर्व ११५७ मा ४० वर्षे उमेरमा मृत्यु भएको राम्सेसको अवशेष जब सन् १८९८ मा उत्खनन भयो, त्यसमा बिफरको प्रस्ट संकेतहरू भेटिए । त्यसैगरी ११४६ इपूको हैटीको अवशेष, ५९५ इपूको स्याराकस, ४९० इपूको एथेन्स, सन् ४८ को चीन, सन् ५८३ को कोरियन, सन् ५८५ को जापानका मानव अस्थिशेषहरूमा प्लेग, बिफरजस्ता महामारीको प्रस्ट संकेत देखिएको छ (ओल्डस्टोन, माइकल–भाइरस, प्लेग्स एन्ड हिस्ट्री) । सिन्धु घाँटीको सभ्यता विनाशमा प्राकृतिक प्रकोप, युद्ध या अन्य केहीजस्तै संक्रामक महामारी पनि एउटा सम्भाव्य कारण हुन सक्ने देखिन्छ (नोररी, फिलिप–ए हिस्ट्री अफ इन्फेक्सियस डिजिजेज इन एनिसन्ट टाइम्स) ।

क) यताका दिनमा भएको एउटा महत्त्वपूर्ण पुरातात्त्विक उत्खननमा चीनको प्राचीन गाउँ ‘हामिनमंगा’ र ‘मिओझिजाव’ मा करिब ५ हजार वर्ष पुरानो मानव अस्थिहरू फेला परेका छन्, जसमा बिफर महामारीका चिह्नहरू पाइएका छन् ।

मानवशास्त्रीहरूका अनुसार महामारीका कारण मृत मानिसका शरीरहरू घरभित्रै थुप्रिएका थिए, जसलाई बचेकाहरूले पछि सामूहिक तवरले व्यवस्थापन गरेका थिए, कति जलाइएका थिए ।

ख) इशा पूर्व ४३० मा ग्रिक सभ्यताको केन्द्र एथेन्समा प्लेगको महामारी फैलिएको थियो । जसबाट एक लाख मानिस मरेका थिए । टाउको, आँखा, घाँटी र जिब्रोमा पीडा दिने र अन्ततः मानिसको ज्यान लिने उक्त प्लेग महामारीलाई ‘प्लेग एन एथेन्स’ नामकरण गरिएको छ । एथेन्स र स्पार्टाबीच युद्ध सुरु भएको केही समयमै फैलिएको उक्त प्लेगको महामारी नै एथेनियनहरूको स्पार्टाकसहरूबाट पराजित हुने कारण बन्यो (क्राउली, रिचर्ड–दी हिस्ट्री अफ दी पिलोपोन्नेसिएन वार) ।

ग) सन् १६५ मा रोमन साम्राज्यका सिपाहीहरू साम्राज्य विस्तारको अभियानमा पार्थियासम्म पुगेका थिए । पार्थियाबाट फर्कंदा तिनले विजयको खुसी मात्रै ल्याएनन्, हुणहरूबाट प्लेगको संक्रमण पनि ल्याए । मिनोर, इजिप्ट, ग्रिस, इटालीका पचास लाख बढी मानिस उक्त महामारीमा परेर निख्रिए (पुड्से, एप्रिल–डिसएक्विलिटी इन् एन्ट्रिक्विटी) ।

घ) सन् २०१४ मा भएको रोमको पुरातात्त्विक उत्खननमा सामूहिक दाहसंस्कार स्थलहरू भेटिएका थिए, जहाँ ठूलो संख्यामा मृतकहरूको सामूहिक अस्थि फेला परेको थियो । ती शरीर कागतीको बाक्लो पत्रले लेपिएको पाइएका थिए । उक्त अस्थिहरू ट्युनिसियाका पादरी साइप्रियन (जसले उक्त महामारीलई विश्वको अन्त्यको घोषणा गरेका थिए) का नामबाट नामकरण गरिएको साइप्रियन प्लेग भनिने महामारीबाट सन् २५० देखि २७१ को बीचमा मरेका मानिसको भएको प्राक–मानवशास्त्रीहरूले निर्क्यौल गरेका छन् (स्काफ, फिलिप–फादर्स अफ दी थर्ड सेन्चुरी) ।

ङ) पूर्वी रोमको व्याजेन्ताइन साम्राज्यबाट फैलिएको प्लेगको महामारीले इस्तानबुल केन्द्र बनाएर विश्वभरका ३ देखि ५ करोड मानिसको ज्यान लिएको थियो । जुन तत्कालीन विश्व जनसंख्याको १० प्रतिशत थियो । उक्त महामारीका कारण थाहा नपाएका मानिसमा रोमन पादरीहरूले प्रभु येशुले यस्ता संकटबाट मुक्ति दिलाउने भ्रम छर्दै बाइबलको प्रचार गरेका थिए, जसरी आज पनि हामीकहाॅ केही धर्मान्ध मतको प्रचारका लागि यस्ता महामारी र संकटलाई अवसर बनाउने गर्छन् । यसरी उक्त महामारी नै विश्वभर तीव्र गतिमा क्रिस्चियन धर्म र बाइबलको प्रचार, प्रसार, फैलावटको कारण बन्यो ।

मेक्सिको र ल्याटिन अमेरिकामा क्रिस्चियानिटीको प्रवेश र फैलावटमा यस्तै महामारीको भूमिका छ । अमेरिकामा अफ्रिकी ल्याएर दास बनाउने क्रमको इतिहास यस्तै महामारीसँग जोडिन्छ । अफ्रिकनहरूले यल्लो फिवर भनिने जण्डिसलाई पचाइसकेका थिए । तर ककेसियन र अमेरिकी मूलका दास शैलीका कामदारहरूको विशाल संख्या भने त्यही पितज्वरबाट सखाप हुन गयो र खानीमा काम गर्ने केही मानिस मात्र बचे । त्यसपछि ती खानीमा काम गर्ने ‘दास मजदुर’ हरूको खाली ठाउॅ भर्न अफ्रिकीलाई ल्याएर दासताको पाइनमा ढालियो । कालान्तरमा तिनै अफ्रिकीमाथि अमेरिकी गोराहरूले पुस्तौं पुस्ता दासता लादे । अझैं पनि अमेरिकामा काला जातिमाथिको विभेद व्यवहारतः सकिएको छैन ।

च) सन् १३४७ बाट १३५३ सम्म युरोपमा फैलिएको महामारीका कारण युरोपको परम्परागत व्यवस्था मात्रै बदलिदिएन, आजका दिनमा निकै प्रचलनमा रहेको ‘क्वारेन्टाइन’ को अवधारणा अभ्यासमा आयो । एसियाबाट युरोपमा छिरेको मानिने यार्सिनिया पेन्टिज भाइरसले युरोपको मात्रै आधा जनसंख्या सिध्याएको थियो ।

विशाल जनसंख्याको मृत्युपछि युरोपको श्रमबजारले कामदारको उच्च संकटको सामना गर्नुपर्‍यो । जो बचेका थिए तिनले पहिलेभन्दा उच्च ज्यालादर मात्रै पाएनन् सजिलोसँग मासु र पाउरोटीमा समेत पहुँच पाए । आकासिँदो श्रममूल्यका कारण युरोपलाई प्राविधिक आविष्कारको बाध्यतामा लग्यो । कालान्तरमा त्यही चौधौं शताब्दीको महामारीले साँढे सात करोडदेखि बीस करोड मानिस सिध्याएपछि श्रमशक्तिको अभाव भएकै कारण मानव जाति विज्ञान, प्रविधिको बाध्यकारी बाटोमा अभिसारित भयो ।

छ) सन् १५४५ देखि १५४८ बीचमा मध्य अमेरिकामा फैलिएको बिफरको महामारीमा परेर मेक्सिको र मध्य अमेरिकाका ९० प्रतिशतभन्दा बढी आदिवासीहरू मारिए । त्यही शताब्दीको विभिन्न कालखण्डमा युरोपबाट अमेरिका पुगेका यात्रीहरूबाट फैलिएको ठेउला, प्लेगको महामारीले इन्का र एज्टेक सभ्यता नै सखाप पारिदियो ।

सन् १५२० मा क्रिस्टोफर कोलम्बस हिस्पनिओला द्वीपमा पुग्दा ६० हजार जनसंख्या रहेको टायनो आदिवासी सन् १५४८ को महामारीमा परेर ५०० को संख्यामा आइसकेका थिए । तिनै कोलम्बसको समयमा बिफरको जीवाणु लिएर गएका फ्रान्सिस्को डे एघिया नामका एक जनाबाट मेक्सिकोमा बिफर फैलिएको थियो ।

जसबाट, भनिन्छ कि ९० प्रतिशतभन्दा बढी पश्चिमी हेमिस्फेयरका आदिवासी मारिए र त्यो भूमिमा कालान्तरमा स्पेनिसले आधिपत्य जमाए । पछिबाट ब्रिटेन, फ्रान्स, पोर्चुगल र नेदरल्यान्डबाट गएका फिरन्ताहरूले लगेको आगन्तुक रोगबाट रैथाने आदिवासी समाप्त पारिए र तिनको भूमि तिनै अतिक्रमणकारीको कब्जामा गयो । आज अमेरिकामा जसले आफूलाई खास अमेरिकी भनिरहेका छन्, तिनलाई तिनको पुर्ख्यौली इतिहासको जग सोधियो भने त्यही सोह्रौं शताब्दीमा आदिवासी सिध्याएर जमिन हत्याउने युरोपेली फिरन्ताहरूमा पुगेर ठोक्किएको पाइन्छ ।

सन् १६६५ मा लन्डनमा फैलिएको प्लेगको महामारीबाट उक्त सहरका २० प्रतिशत मानिस मरेका थिए । मुसा, बिरालोबाट प्लेग फैलिएको भन्दै त्यसबखत लाखौंलाख मुसा, बिरालो र कुकुर मारिएका थिए ।

ज) सन् १७२० मा मार्सेलीको पानीजहाजबाट सुरु भएको प्लेगको महामारीले त्यहाँ एक लाख मानिस मारेका थिए । ग्रान्ण्ड–सेन्ट–एन्टोनी नामक पूर्वी मेडिटेरानियमबाट कार्गो बोकेर आएको पानीजहाज मार्सेली आईपुगेपछि त्यसलाई क्वारेन्टाईनमा राखिएको थियो । यसकारण कि त्यो प्लेगको महामारी पचाएको स्थानबाट गुज्रिएर आएको थियो । त्यसका बाबजुद पनि मुसाजस्ता जनावरबाट उक्त पानीजहाज हुँदै आएको भाइरस मार्सेलीमा फैलियो । सन् १७७० मै रूसमा प्लेगका कारण एक लाख मानिस मरेका थिए भने सन् १७९३ मा अमेरिकाको तत्कालीन राजधानी फिलाडेल्फियामा दैनिक पाँच हजारका दरले मानिस मरेका थिए ।

सन् १८५२ मा भारतबाट सुरु भई गंगा नदीको तट हुॅदै एसिया, युरोप, उत्तरी अमेरिका, अफ्रिकामा फैलिएको प्लेगको महामारीमा परेर १० लाख मानिस मरेका थिए भने सन् १८८९ मा तुर्किस्तानको बुखराबाट फैलिएको प्लेगको महामारीमा १० लाख नै मानिस मरेका थिए ।

झ) पहिलो विश्वयुद्ध लगत्तै सन् १९१८ देखि फैलिएको स्प्यानिस फ्लु भनिने महामारीले ५० करोड मानिस संक्रमित भएका थिए भने दक्षिणी महासागरदेखि उत्तरी ध्रुवसम्मका कैयौं आदिवासी समुल नष्ट भएका थिए । उक्त महामारीमा कम्तीमा दुई करोडदेखि पाॅच करोड मानिसको निधन भएको थियो । सन् १९५७ मा चलेको एसियन फ्लु भनिने महामारीका कारण चीन, सिंगापुर, हङकङ, अमेरिकालगायतका देशमा २० लाख मानिसको मृत्यु भएको थियो । सन् १९६८ मा हङकङबाट सुरु भएको हङकङ फ्लुबाट हङकङ, सिंगापुर, भियतनाम, फिलिपिन्स, भारत, अमेरिका, अस्ट्रेलिया, युरोपमा दस लाख मानिसको मृत्यु भएको थियो ।

ञ) सन् १९८१ देखि फैलिएको संक्रामक एचआईभी एड्सको महामारीबाट आजसम्म विश्वमा कम्तीमा चार करोड मानिसको मृत्यु भइसकेको छ । सन् २००९ मा मेक्सिकोबाट सुरु भई संसारभर फैलिएको स्वाइन फ्लुबाट विश्वभर डेढ अर्ब मानिस प्रभावित भएका थिए भने लगभग ६ लाख मानिसको मृत्यु भएको थियो ।

जसरी समय क्रममा भएको महाप्रलयका कारण अन्तरिक्ष, पृथ्वी, हावा, पानी, वातावरणमा अनेकन उत्परिवर्तन आए उसैगरी अनेकन प्राकृतिक प्रकोप, संक्रामक महामारीका कारण मानव जातिले आफैंभित्र अनेकौं उत्परिवर्तन गरेको छ । सँगै संक्रामक महामारी फैलाउने जीवाणुहरूले पनि आफूमा अनेकपल्ट उत्परिवर्तन गराएर मानिसलाई सताउन छाडेका छैनन् । नयाँनयाँ महामारीविरुद्ध मानिसले उसैगरी डटेर लड्ने र सामना गर्ने र लडाइँलाई पार लगाउने सामर्थ्य पनि विकास गरिरहेको छ ।

आजको पुस्ताले व्यहोरिरहेको आफ्नो समयको सबैभन्दा गम्भीर संकटबाट पार पाउन विकसित प्रविधिको उपयोग धेरै हदसम्म सहयोगी बनेको छ । फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जालका प्रयोगकर्ताहरूमा संक्रमणप्रतिको संवेदनहीनता या अज्ञानताका कारण झूटा खबरहरू प्रवाह गरी तटस्थ चेतनाका मानिसलाई आतंकित बनाउने प्रवृत्ति देखिए पनि यिनै सामाजिक सञ्जालका माध्यमबाट मानिसले सचेतनाका प्रस्ट उपाय आदानप्रदानलाई सहज बनाएका छन् । समयमै सचेत हुने र सुरक्षाका उपाय अवलम्वन गर्ने मौका पाएका छन् । एकअर्काका अनुभवहरूको आदान प्रदानबाट कसरी सुरक्षित रहने भन्ने विकल्पको संकथन गर्न भ्याएका छन् ।


क्रमभंग

कोरोनाको संक्रमण विश्वव्यापी फैलावटकै क्रममै रहेकाले यसले भौतिक हिसाबले मानव समुदायमा पार्ने बज्रपातको संख्यात्मक हिसाब यो आलेख तयार गरिरहेको दिनमा आँकलन गरिहाल्नु अतिशयोक्ति ठहरिनेछ । तर, यतिचाॅहि निश्चित छ, हर महामारीका दिनपछि मानव समाज निरन्तरताबाट फड्के मारेर अघि बढ्ने गरेको इतिहास कायम छ । मानव समाजले यो संकटको मानवीय मूल्य त चुक्ता गरिरहेकै छ तथापि यसको मूल्यको जगमा महामारीले शिथिलताको सिरक ओढेपछि आज चलिरहेको विश्व व्यवस्थाको विषयसूची फेरबदल हुनेछ ।

उदारवादको जामा पहिरेको व्यक्तिमुखी नाफाखोर विश्व व्यवस्थाले संकटको दिनमा जसरी दायित्व पूरा गर्ने सार्वजनिक मञ्चबाट सुइकुच्चा ठोकेको छ र बदलामा सामाजिक संघसस्था या सामूहिक, राष्ट्रिय संरचना संकटको दृढ सामना गर्दै नेतृत्वदायी जिम्मेवार भूमिकामा उभिएका छन्, यसले व्यक्तिगत कम्पनी मोटाउने र सार्वजनिक या राष्ट्रिय संरचना विघटन गर्ने पुँजीवादी अर्थव्यवस्थाको विकल्पलाई अपरिहार्य बनाएको छ ।

हतियार र मुनाफालाई केन्द्रमा राखेर विकासको होडमा बत्तिएको पुँजीवादी व्यवस्थाले कोरोना जस्तो विश्वमञ्चमा फैलिएको संक्रमणविरुद्धको सामना गर्ने आजको दिनको लडाइँमा आफ्नो नेतृत्व पूरै गुमाएको मात्रै छैन, त्यसका लागि आफ्नो अयोग्यताको नग्न दृश्य प्रदर्शन गरेर पछारिएको छ ।

पश्चिमा शक्तिकेन्द्र यसको नेतृत्वबाट विमुख हुनासाथ उसले आफ्ना सार्वजनिक बौद्धिक चेहरामार्फत विश्वमा नेतृत्व संकट परेको निवन्धको खपत बढाएको छ । उसलाई क्युबली डाक्टरहरू युरोपियन शिविरहरूमा स्वास्थ्य सहायताको नेतृत्व गर्दै मार्च गरिरहेको दृश्य पचाउन सकस परिरहेको छ । समाजवादी शिविरहरूले नयाँ संकटको दिनमा विश्व नेतृत्व गरिरहेको दृश्य पत्यार गर्न नसकी तिनीहरूले आफ्नो विचार धुरीको खोजीमा नेतृत्व संकटको निबन्ध तीव्र बनाएको देखिन्छ ।

सन् नब्बेको आरम्भमा इतिहासको अन्त्यको घोषणा गरेर एकछत्र इतिहासको ढलिमलीको घोषणा गरेको पुँजीवादको पर्खाल तीस वर्षमै मक्किएर नयाँ संकटलाई थेग्न नसक्ने टिठलाग्दो अवस्थामा पुगेको छ । लोकतन्त्र, उदारता, मानवियताको चर्को लैबरी फलाकेर अरूलाई अर्तिउपदेश दिने र आफ्नो अर्ति नमान्नेलाई तानाशाही, अलोकतान्त्रिक करार गर्ने पुँजीवादी विश्व व्यवस्थाले संकटको चरम दिनमा आफ्नो स्वरूप कायर अनुहारमा प्रकट गरेको छ ।

लोकतन्त्रवादी, मानवतावादी भनिनेहरूले कोरोना संक्रमणमा रहेका यात्रुवाहक ब्रिटिस पानीजहाजलाई आफ्नो भूमिमा उत्रन नदिने र तानाशाही, अनुदारवादी भनेर पुँजीवादी व्यवस्थाले प्रतिबन्ध लगाएको क्यबाले त्यसलाई आफ्नो भूमिमा उतारेर चिकित्सकीय सेवा प्रदान गर्नुले कसले लोकतन्त्र र मानवताको खोल ओढेको छ र को साँच्चै मानवताको विश्व भाइचारामा विश्वास गर्छ भन्ने प्रस्ट हुन गएको छ ।

युरोपभर (खासगरी इटाली र स्पेन) मात्रै होइन, संसारभर आक्रामक तवरले फैलिएको कोरोना संक्रमणविरुद्धको लडाइँमा चिकित्सकीय, मानवीय, भौतिक सहायताको नेतृत्व गर्दै चीन, रूस, क्युबाजस्ता समाजवादी विश्व व्यवस्थामा विश्वास गर्नेहरू अगाडि आएका छन् कि पुँजीवादी मुनाफाखोर विश्व व्यवस्थामा विश्वास गर्ने युरोपियन युनियन, अमेरिका, बेलायत या अरू भनेर अब प्रश्न गर्नुको कुनै तुक छैन ।

अमेरिकी–बेलायती–युरोपियन युनियनजस्ता शक्तिराष्ट्र भनिनेहरूको गर्जन सजिलो दिनमा मुनाफा सोहोर्ने त्यस्तो कायर व्यापारीको जस्तो भएको छ जो संकटले घन बजारेको दिनमा मैदान छोडेर भाग्छ र भकारीभित्र लुकेर श्वास दबाएर बस्छ ।

संकटको दिनमा इटालीको गुहारउपर युरोपियन युनियन र त्यससम्बद्धहरूको लाचारी र बेवास्ताले त्यसको असलियत उदांगो पारेको छ । बदलामा चीन कोरोना संक्रमणको आरम्भको दिनमा बाकी विश्वबाट छिछिः र दुर्दुर मात्रै होइन उपेक्षा गरेर एक्ल्याउने र चिनियाँ सर्वोच्च नेता माओमाथि समेत मास्क पहिर्‍याएर समाजवादी व्यवस्थामाथि राजनीतिक हमला गर्ने पश्चिमा योजनाबद्धताको सामनासमेत गरिवरि कोरोना संक्रमणबाट तंग्रिएर आफ्नो अनुभवसहित विश्वभर मानवीय, चिकित्सकीय, भौतिक सहायता लिएर उत्रिएको छ । पुँजीवादी ध्रुवले यो संकटको सामना गर्न नेतृत्व दिन अक्षम देखिएपछि चीन विश्व संकटको सामना गर्न आफ्नो अनुभवको सुविधासहित नेतृत्व गर्दै अघि बढेको छ । दशकौंको प्रतिबन्ध, अपमान र एक्ल्याउने पुँजीवादी ध्रुवको कसरतका बाबजुद चिकित्सा शिक्षामा विश्व उत्कृष्ट अभ्यास गरेका क्युबाली डाक्टरहरू कोरोना संकटले आर्तनाद गरिरहेका युरोपका स्वास्थ्य क्याम्पहरूमा चिनियाँ डाक्टरसँगै चिकित्सकीय सेवा पुर्‍याउन लामबद्ध भएका छन् ।

कोरोना संक्रमणको सामना गरेर विश्व मानव समाज अघि आउँदा यसले हतियार केन्द्रित मुनाफाखोर विश्व व्यवस्थाको विकल्पमा चिकित्साकेन्द्रित मानवकल्याणकारी विश्व व्यवस्थाप्रति विश्वासको जग खडा गर्न सक्नेछ । निश्चित मानिस मोटाउने पुँजीवादले संकटको दिनमा पसिना बेचेर खाने मानिस कसरी प्रताडित हुन्छन् र धन थुपार्ने बेलगाम धनाढ्यहरू सार्वजनिक मानवीय दायित्वबाट कसरी बिमुख हुन्छन् भन्ने तथ्य उद्घाटित गरिदिनेछ । चिनियाँ समाजवादी आवरणमा रहेका ज्याक माँ (अलिबाबा) जस्ता पुँजीवादीहरूसमेत कसरी मानवीय मूल्यका लागि विश्वभर मानवीय सहायता लिएर दगुरिरहेका छन् र मानवअधिकार, लोकतन्त्र, उदारवाद, सामाजिक उत्तरदायित्वको सुगा–रटान गर्ने पश्चिमा मुनाफाखोर खर्बपतिहरू संकटको दिनमा कसरी लापत्ता भएका छन् भन्ने दृश्यले व्यक्ति मोटाउने र समाज दुब्लाउने विश्व व्यवस्थाप्रति मानिसमा देखिने स्तरमा सचेतना बढाइदिने निश्चित छ ।

अब व्यापार, विनिमय र धनसंचयको वर्तमानको निरन्तरताको विकल्पको खोजी सुरु हुनेछ र विश्वभर ‘राजनीतिक राष्ट्रवाद’ को व्यापार गरिरहेका उन्मादीहरू असान्दर्भिक हुॅदै जानेछन् । सँगै अर्को खतरा पनि छ, जसरी निर्वाचनमा पराजित नेतान्याहुले इजरायलमा महामारीको अवसर छोपेर आफ्नो तानाशाही लादेका छन् र प्रजातन्त्र, जनमत र निर्वाचनको दुहाई दिने पश्चिमा शिविर त्यसप्रति मौन छ । यसर्थ संकटको आवरणमा अघि सर्न सक्ने यस्ता तानाशाही संक्रमणप्रति सचेतताको जरुरी छ ।

अरू कुरामा जतिसुकै बदलाब आए पनि इतिहासको एउटा निरन्तरता भने कोरोना महामारीका सवालमा पनि स्थिर रहनेछ, त्यो हो— महामारीहरूले तलबितलमा पार्ने गरेको निर्णायक उलटफेरको चेतना यसपटक पनि प्रकट भएर आउनेछ । जतिसुकै संकट आइपरे पनि र त्यसको मूल्य चुकाउन परे पनि आजको मानव समाज यो दुःखबाट बाहिर निस्कने नै छ । र, फेरि पनि संकटको रुडी मानव जातिमाथि अर्कै स्वरूपमा खसिरहनेछ ।

सवाल मानव जाति त्यसलाई कुन स्तरमा सामनाका लागि तयार हुन्छ, प्रकृतिको दोहन र शोषणलाई घटाएर पृथ्वीलाई अनुकूलनमा रहन दिन कति प्रयत्नशील रहन्छ भन्ने हुनेछ । यही स्तरमा विकास, सुविधा र समृद्धिको नाममा प्राकृतिक स्रोत, जमिन, जल, वातावरण, बोटबिरुवा र अन्य जनावरको दोहन र विनाश जारी राखेमा मानव जातिले योभन्दा भयानक महामारीको लागि आजै मानसिक तयारी गरे हुन्छ । अन्यथा इतिहासबाट सिक्नु नै आजका मानव जातिको विकल्पहीन विकल्प हो ।

नेपाल सन्दर्भ

नेपालजस्ता देशले भने तीन महिना भन्दा लामो समय सम्भाव्य कोरोना संकमणबाट बच्ने उपायमा लगाउन पाए पनि सत्तासीनहरूका अकर्मन्यता, लाचारी र गैरजिम्मेवार भूमिकाका कारण आज चिकित्सकहरू आधारभूत सुरक्षा सामग्री र रोग निर्क्योल गर्ने किटको अभावमा तड्पिनुपर्ने दुःखद अवस्था आइलागेको छ । कहिले देशलाई ‘कोरोना फ्री देश नेपाल, सबै विदेशी घुम्न आऊ’ भन्ने स्तरको घृणित ठट्टामा लपेट्ने त कहिले स्तरहीन दुर्वचनहरूले सरोकार उजागर गर्नेलाई लाञ्छित गर्ने बहुलट्ठीपूर्ण दुर्मुखा प्रवृत्ति सत्ताधारीले देखाउँदा नेपालमा युरोपेली देशहरूकै स्तरमा कोरोना संक्रमण फैलिए के हालत होला भनेर तर्सनुपर्ने अवस्थामा छ ।

आजै पनि युद्धस्तरमा तयारी संकेन्द्रित गरेर चिकित्सकीय सामग्री जुटाउने, दैनिक ज्याला मजदुरी गरेर जीविका निर्वाह गर्ने श्रमजीवीहरूलाई भरथेग गर्ने योजना बनाउने, घरघरमा रोगभन्दा पहिले भोक छिर्न नदिन उपभोग्य सामग्रीको व्यवस्थापन गर्ने, विश्वव्यापी महामारीले अर्थव्यवस्था ध्वस्त हुन नदिनेजस्ता उपाय अवलम्वन गर्ने बाटोमा अभिसारित नभए सत्ताधारीसँग अभाव, नियन्त्रण, भोकमरी, उपचारहीनताले छटपटिने भोका जनताको प्रतिरोधबाट बढारिने घडीको प्रतीक्षा सबैभन्दा सहज विकल्प हुनेछ ।

भैंसी पूजनदेखि बालबाबा आदित्यनाथसम्मका लागि करोडौं राज्यको थैली समपर्ण गर्ने कथित मार्क्सवादीहरू र तिनका बफादारहरूले वैज्ञानिक शोध र अनुसन्धानका लागि राज्यसँग सहयोगको याचना गरेका राष्ट्रिय आविष्कार केन्द्र र महावीर पुनहरूलाई लाञ्छित गर्ने कर्म गरे तर आजको संकटमा बालबाबा र भैंसीपूजा गराउने बाबाहरू लापत्ता छन् । देशका अस्पतालहरू चिकित्सकीय सुरक्षाका लागि आवश्यक सामग्रीको प्रबन्धका लागि समेत महावीर पुनहरूलाई गुहार्न अभिसप्त छन् । ‘समाजवादी’ हरूबाट संरक्षित व्यापारिक घराना ‘यति’ हरूले संकटको दिनमा नागरिकलाई प्रताडित गर्न तिनका हवाई मूल्य यही बेला बढाएर तिनको खास चरित्र प्रकट गरेका छन् र कथित समाजवादीहरूले कसका लागि राज्य लुटाइरहेका छन्, खुलस्त हुने अवसर दिएका छन् ।

गुणस्तरीय र उच्चस्तरीय सेवा दिने विज्ञापन बजाएर नाफा कुम्ल्याउने होडबाजी गरेका नेपाली निजी अस्पतालहरूले कोरोना संक्रमणमा परेका बिरामी उपचार गर्न असमर्थता देखाएर आफ्नो असली हैसियत प्रस्ट देखाएका छन् । अयोग्य, बेकामे भनेर लाञ्छित गरिएका सार्वजनिक/सरकारी अस्पताल र चिकित्सकहरू संक्रामक महामारीको रैथाने सामना केन्द्रको रूपमा सानदार ढंगले उभिएका छन् र सही समयमा नाफाखोरहरूको छद्मयुद्धलाई नांगेझार पारेका छन् । अनेकन पदका लागि गुट र सार्वजनिक भेला, भाषण गर्दै हिँड्नेहरू संकटको खास दिनमा संकटको नेतृत्व गर्ने सार्वजनिक मञ्चबाट जसरी बेपत्ता भएका छन् त्यसले नेपाली समाजसँग मौजुद सही नेतृत्व अभावको प्रस्ट तस्बिर देखिएको छ ।

कोरोना महामारीको आँधी थामिएपछि बाँकी विश्व त बदलिने नै छ । तर यो संकटको समयमा नेपाली जनतालाई लाचारी, अभाव, अव्यवस्था दिने तमाम सरकारी, गैरसरकारी, निजी संघसंस्था, संगठन, राजनीतिको ठीक–ठीक मूल्यांकन र हिसाब नउतारेर नेपाली समाज भने फेरि पनि बाँकी विश्वको गतिशील परिवर्तनबाट पछाडि छुटिरहनेछ ।

प्रकाशित : चैत्र १४, २०७६ १८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?