कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

युरोपबाट सिक्न नेपाल तयार छ ?

अनुराधा पौडेल

फ्रान्स — युरोपमा अहिले कोरोना आतंक छ । स्वास्थ्यसेवा पाउनु नागरिक अधिकारभित्र पर्ने युरोपमा ठूलठूला संक्रमणहरु आउँदा भने स्वास्थ्य प्रणालीमा हलचल आउने रहेछ र कामै गर्न नसक्ने अवस्थामा पुग्दोरहेछ भनी छर्लङ्ग भएको छ ।

युरोपबाट सिक्न नेपाल तयार छ ?

अरु त अरु युरोप आँफैले आँफैलाई पुग्ने मास्क पनि बनाउँदो रहेनछ । यति मानिस जन्मन्छन्, यति मानिस मर्छन् र यतिसम्म आकस्मिक सेवामा मानिसहरु आउँछन् भन्ने तथ्यांकलाई आधार बनाएर युरोपमा स्वास्थ्यसेवा सुनिश्चित गरिएको रहेछ ।

तर, युरोपको यो आँकडामा कोरोना संक्रमणले व्यापक फेरबदल ल्याइदिएको छ । केही पनि तयारी नभएजस्तो अवस्थामा देखिँदैछ र स्वास्थ्यक्षेत्रलाई सहाराविहीन अवस्थामा पुर्‍याइदिएको छ ।

युरोपमा कोरोना भाइरसको केन्द्रविन्दु हो– इटाली । इटालीको बक्ररेखा लगभग अहिले टुप्पोमा पुगिवरी तेर्सो लागिरहेछ । ठीक यही समयमा स्पेन र फ्रान्सको ब्रकरेखा ऽूत गतिमा उकालो लागिरहेको छ । फ्रान्समा कोरोना परीक्षण गर्ने कीटहरु अपुग रहेको भन्दै सरकारले व्यापक रुपमा कोरोना परीक्षण नै गरेको छैन । जतिजना बिरामी निश्चित भएर उपचारमा आए तिनको मात्रै दैनिक तथ्यांक सरकारले दिने गरेको छ । अहिले आएको तथ्यांकभन्दा कयौँ गुणा बढी कोरोना संक्रमितहरु फ्रान्समा छन् ।

युरोप पुरै ‘लकडाउन’मा छ । हरेक देशका नाकाहरु बन्द छन् । युरोपका यतिबेला कुनै पनि देश कोरोनाबाट अछुतो छैन र समाजमा एकखालको अनिश्चितता र भय मिसिएको छ । अक्सर शान्त परिवेश र शान्त खालको समाचार सुनिने युरोपमा अहिले कोरोना कोलाहल सुनिन्छ । अझ कोरोना संक्रमितहरु औषधि नै नपाएर अस्पताल पुर्‍याएकाहरु पनि चिकित्सकले छुनसमेत नपाउँदै भकाभक मरिरहेछन् ।

मर्नेहरु एक्लै अस्पतालमा मरेका छन् । युरोपमा मानिसको मृत्यु अस्पतालमा हुन्थ्यो र मृत्युवरण गर्दा परिवारका मानिसहरु साथमै हुन्थे । अहिले उनीहरुको मृत्यु वृद्धाश्रममा हुन्छ र रेखदेख गरिरहेका नर्स या स्वास्थ्यकर्मीलाई अन्तिम वाक्य छाडेर उनीहरु परलोकको यात्रा गरिरहेको दर्दनाक दृश्य टेलिभिजनमा देखिन्छ ।

मृत्युपछिको दाहसंस्कार परिवारका सदस्यका सट्टा सरकारले गरिरहेको छ । इटाली र स्पेनमा सेनाका ट्रकहरुमा भरेर मृतकहरुलाई जलाउन टाढा लगिएको छ किनभने चिहान घरहरुमा ठाउँको अभाव छ । मृत्युपछि चर्चमा प्रार्थनाका लागि कफीनहरु लाने काम बन्द भएको छ । फ्रान्सले त कोरोना संक्रमितबाट मरेकाहरुलाई जलाउने निर्णय गरेको छ ।

इटाली, स्पेन र फ्रान्समा मृतकहरु बढ्नुको पछाडि वृद्धाश्रमममा कोरोना भाइरस पुग्नु हो । भेनिस सहरमा भएको जात्रा नै कोरोना फैलने माध्यम बन्यो इटालीमा भने फ्रान्समा मलुज सहरमा रहेको चर्चमा सहभागीहरुको प्रार्थनासभा मुख्य कारण बन्यो ।

हरेक वर्ष युरोपले मौसमी रुघाखोकीको सामना गर्छ र मौसमी रुघाखोकीले पनि मानिसहरुको मृत्यु सजिलै हुन्छ । तर मौसमी रुघाखोकी नियन्त्रणको अवस्थामा रहने र अरुलाई सरे पनि घातक हुँदैनथ्यो । सरकार र नागरिक दुवैले यसलाई सामान्य रुपमा नै लिन्थे । तर, अहिले त यस्तो भयो कि एक देशले अर्को देशलाई सहयोग गर्‍यो भने आˆनो देशलाई नपुग्ला कि भन्ने डर देखियो ।

असल छिमेकीका नाताले जर्मनीले स्पेन र फ्रान्सका कोरोना रोगीहरुलाई आˆना अस्पतालमा उपचारको लागि ठाउँ दिएको छ । यसैगरी लक्जम्बर्गले फ्रान्सका र स्विजरल्यान्डले फ्रान्स र इटालीका कोरोना संक्रमितहरुलाई सेवा दिइरहेको छ ।

युरोपेली युनियनका दुई मुख्य खम्बा फ्रान्स र जर्मनीमध्ये जर्मनी अत्यन्त व्यवस्थित देखिएको छ । ठूलो संख्यामा जर्मनीले कोरोना परीक्षण गरिरहेको छ । उसले युवाहरुमा कोरोनाको संक्रमण ज्यादा रहेको र कम्युनिटी इम्म्युन सिस्टम बढिरहको पाएको छ । वृद्धाश्रमहरुमा कोरोना नछिरोस् भनी बहुतै ध्यान दिएको छ । त्यसैले जर्मनीमा कोरानाका कारण मृत्यु दर निकै कम देखिएको छ । जर्मनीले वद्धहरु मात्र जोगाएको छैन त्यहाँ व्यवस्थित सघन उपचार कक्षहरु अरु देशका भन्दा ज्यादा चुस्त र छरितो स्वास्थ्यकर्मीहरुको समूह राखेको रहेछ भन्ने पनि देखाएको छ ।

इटालीलाई चीनबाट मद्धत भएपछि त्यहाँको कोरोना बक्ररेखा अब बिस्तारै झर्ने हो कि भन्ने देखिएको छ तर स्पेनमा अवस्था दर्दनाक छ । २४ मार्चका दिन स्पेनको मेड्रिडमा रहेको एक वृद्धाश्रममा बहुतै हृदयविदारक अवस्था देखियो । त्यहाँ कार्यरत कर्मचारी तथा स्वास्थ्यकर्मीहरुले मास्कसमेत नभेटेपछि रातारात कोरोनाले संक्रमित वृद्धाश्रम त्यतिकै छाडेर हिँडे र कोरोना संक्रमित वृद्धाहरु त्यहीँ भित्रै मृत्युवरण गर्न पुगे ।

पछि सेनाले हस्तक्षेप गर्‍यो र सेनाले नै वृद्धाश्रम रित्याउने र सरसफाइ गर्ने जिम्मा लियो । ठीक यही समयमा स्पेनका आकस्मिक कक्षमा मानिसहरु ठाउँ नपाएर भुइँमा सुतिरहेको र चिकित्सकको पर्खाइमा रहँदारहँदै उपचारै पाउन नसकेको कारुणिक दृश्य पनि देखिँदैछ । उता इटालीमा भने चिहान भरिएपछि यो चिहानमा मानिसको अन्तिम संस्कार हुन सक्दैन, कृपया अन्तै ठाउँ खोज्नुहोला भनी सूचना टाँसिएको सम्म देखियो ।

इटाली र स्पेनको जस्तै दर्दनाक अवस्था फ्रान्समा पनि आउन सक्छ भन्ने कुरामा फ्रान्सेली सरकार चनाखो बनेको देखिन्छ । यसैले फ्रान्स बचाउन सकिने संभावना रहेका कोरोना रोगीहरुका लागि औषधि परीक्षण गर्नतिर जबरजस्त लागेको छ ।

फ्रान्सको सरकारले लिएको यो निर्णयमा फ्रान्स भित्रकै विज्ञहरुले असहमति जनाए भने औषधि विज्ञानका क्षेत्रमा काम गरिरहेका वैज्ञानिकहरुले समेत तीव्र आलोचना गरे । यतिसम्म असहमति प्रकट भयो कि राष्ट्रपतिलाई स्वास्थ्यसम्बन्धी सल्लाह र सुझाव दिने समितिका बहुसंख्यक सदस्यहरुको मत बाझाबाझ भयो ।

यो समितिसँग फ्रान्सेली राष्ट्रपतिको मार्च २४ मा दिनभरजसो प्रत्यक्ष बैठक भएको थियो । राष्ट्रपतिले उनीहरुको विरोधाभास मत सुने तर औषधिलाई परीक्षणमा लाने आˆनो निर्णय उल्टाउन टसमस भएनन् । फ्रान्सेली राष्ट्रपति यतिबेला आˆनै देशका संक्रामक रोग अनुसन्धान तथा वैज्ञानिक दिदिए राउलोले दिएको सुझाव र निर्देशनको पालना गरिरहेका छन् ।

के फ्रान्सेली राष्ट्रपतिले लिएको यो निर्णय सही छ ? आउने दिनहरुमा फ्रान्सले अपनाएको विधि के अरु देशले पनि अपनाउन सक्छन् ? आउने दुई हप्तामै यसको नतिजा थाह हुँदैछ ।

यस्तो कुन औषधि बजारमा उपलब्ध छ जहाँ फ्रान्सेली राष्ट्रपति संसारभरको विरोधको वावजुद कम्मर कसेर परीक्षणमा लग्न आतुर छन् ? यो दुई हप्तामै किन कम्तिमा पनि ८ सय फ्रान्सेली बिरामीमा यो परीक्षण गर भनेर प्रत्यक्ष निर्देशन दिएका छन् ? किन फ्रान्सेली सरकार फ्रान्ससहित जर्मनी, लक्जम्बर्ग, स्पेन र बेलायतमा समेत औषधी परीक्षण गर्न चाहन्छ ?

फ्रान्सेली सरकारको आँखामा परेको औषधि हो– मलेरिया रोगको नियन्त्रणमा यसअघि नै प्रयोगमा आइसकेको । क्लोरोकिन मल्टिपल ड्रग सिस्टम अपनाएर फ्रान्सको मार्सेइ सहरका सरकारी अस्पतालकै संक्रामक रोग वैज्ञानिक दिदिए राउलोले यसको सफल परीक्षण गरिसकेका छन् । उनले कम्तिमा २४ कोराना संक्रमित बिरामीहरुमा क्लोरोकिन र अरु थप तीन सहायक औषधिहरुको परीक्षण गरे र सकारात्मक नतिजा पाए । यो सकारात्मक नतिजा सरकारसामु प्रस्तुत गरे र यो औषधि नै कोरोनाविरुद्धको औषधिको विकल्प हो भनी दावी गरे ।

उनको यो रिपोर्ट बाहिरिएपछि नागरिकस्तरमा यस्तो उत्साह जाग्यो कि थप परीक्षण आवश्यक भए म पनि उपलब्ध हुन्छु भन्नेहरुको भीड लाग्यो ।

क्लोरोकिनले कोरोनाको फैलावट रोक्ने होइन । क्लोरोकिनले कोरोनाले गरेको संक्रमण घटाउने हो ।

फ्रान्सको आभनिर भन्ने स्वास्थसम्बन्धी एक बुलेटिनमा प्रकाशित रिपोर्टअनुसार यो औषधि यसअघि नै चीनमा करिब एक सय बिरामीमा परीक्षण भएको थियो तर चीनले यसको नतिजा सकारात्मक निकाल्न सकेन र यसको अध्ययनतिर नभुली एचआइभी एड्समा प्रयोग हुने एन्टिरेट्रो भाइरल उपचार प्रणाली प्रयोगमा ल्यायो ।

प्रोफेसर दिदिए चीनमा यसको सफल प्रयोग नहुनुमा डोज र योसँग अरु सहायक औषधिहरुको कम्बिनेसन नमिल्नु या प्रयोगमा नल्याइनु हुनसक्छ भन्छन् ।

मंगलबार बेलुका फ्रान्समा कोरोनासम्बन्धी प्रस्तुत गरिएको टेलिभिजन च्यानल एलसेइमा जानकारी दिइएअनुसार क्लोरोकिन अहिले संसारभर परीक्षण भइरहेको छ । कुनै पनि देशले यसको प्रयोगमा खुलेर अनुमति दिएका छैनन् किनभने क्लोरिकनले कोभिड–१९ को पनि उपचार गर्छ भनी अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छैन । त्यसो त क्लोरोकिनको साइड इफेक्ट मुटु, कलेजो र मृगौलालाई असर गर्ने खालको छ भनी वैज्ञानिकहरुले दाबी गर्दै आएका छन् ।

क्लोरोकिनका साथसाथ एजिथ्रोमाइसिन र अरु थप दुई सहायक औषधिहरु परीक्षणमा लगेको फ्रान्स साउदी अरबले यसको प्रयोग गरेको सकारात्मक रिपोर्टबाट निकै आशावादी छ । इरान, भारत हुँदै इटाली, स्पेनदेखि अमेरिकामासमेतले यसलाई प्रयोगमा ल्याएको छ । कुनै पनि देशका चिकित्सकले यसलाई सरकारी अनुमति पाइएला र चलाउँला भनी कुरेका छैनन् । फ्रान्समात्रै यस्तो देश हो जसले सरकारीस्तरमा परीक्षणको अनुमति पाएको छ, त्यो पनि चिकित्सकहरुको सघन निगरानी र सामूहिक निर्णयका आधारमा । कुनै पनि चिकित्सकले एकल निर्णयका आधारमा क्लोरोकिन सिफारिस गर्न मिल्दैन ।

आलोचनाका बाबजुद राष्ट्रपति तथा प्रधानमन्त्रीको यो निर्णयलाई फ्रान्समा स्वागत पनि गरिएको छ । उनले जोखिम मोलेर बहुतै ठूलो निर्णय लिएका छन् ।

फ्रान्सका स्वास्थ्यमन्त्रीका अनुसार क्लोरोकिनको परीक्षण कोरोना संक्रमित सबैमा हुने होइन । कोरोना संक्रमति ८५ प्रतिशत बिरामी स्वतः निको हुन्छन् । बाँकी बिरामी अस्पतालमा भर्ना हुन्छन् । यिनै भर्ना भएका बिरामीमध्ये मृगौला, मुटु र कलेजोको रोग नभएका तर स्वास्थ दिन प्रतिदिन उच्च जोखिम्तर्फ धकेलिँदै गएका बिरामीहरुमा यो परीक्षण गर्ने निर्णय भएको छ । जसअनुसार क्लोरोकिन जम्मा एक हप्तामात्र दिइनेछ र दिनको २० मिलीग्रामभन्दा बढी डोज दिइने छैन ।

फ्रान्सबाट नतिजा आउँछ भन्ने पक्का चाहिँ छैन तर केही गरी आयो भने नेपालले पनि फ्रान्सको अनुसरण गर्न सक्छ । अहिलेदेखि नै प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीले कोरोना नियन्त्रणको लागि मेडिकल टीम बनाउन सक्छन् । कुन अवस्थामा औषधि प्रयोग गर्ने र कति डोज चलाउने भनी प्रोटोकल तयार पार्न सक्छन् किनभने नेपाललाई प्रोटोकल बनाउन केही हप्ताको समय बाँकी छ र कुन देशले के गरिरहेको छ सिक्न पाउने समय पनि छ ।

नेपालमा पनि क्लोरोकिनको उत्पादन हुन्छ । देउराली जनता फर्मास्युटिकल कम्पनीले क्लोरोकिनको उत्पादन बढाउन इच्छुक रहेको र सरकारलाई निःशुल्क मद्धत गर्न तयार रहेको भनी सबैका सामु प्रस्तुत भैसकेको छ । यदि नेपाल सरकारले बेलैमा उचित निर्णय लियो भने औषधि व्यवसायीहरुबाट मद्दत पाउन सक्छ । तर, यसका लागि फ्रान्सको परीक्षण कस्तो हुन्छ, यसको नतिजा भने हेर्नैपर्ने हुन्छ ।

प्रकाशित : चैत्र १४, २०७६ १३:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?