२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

कोरोना कहर : जनताले के गर्ने, सरकारले के गर्ने ?

गौरीबहादुर कार्की

काठमाडौँ — अहिले कोरोना भाइरस (कोभिड–१९) को सन्त्रास विश्वव्यापी भइरहेको छ । दुई महिनाअघि नेपालमा कोरोनाबाट संक्रमित एकजना भेटिएका थिए । उपचारपछि ठीक भयो । 

कोरोना कहर : जनताले के गर्ने, सरकारले के गर्ने ?

अहिले फ्रान्सबाट चैत ४ गते फर्केकी १९ वर्षीया नेपाली विद्यार्थीमा संक्रमण फेला परेको छ । उनीसंँगै फ्रान्सबाट कतारको दोहासम्म सँगै आएका भियतनामी साथीले आफूलाई कोरोनाको संक्रमण भएको भनी फोन गरेर बताएछन् । साथीको कोरोना संक्रमणको खबरले झस्केपछि लगत्तै परिवारसाथ चैत ७ गते टेकू अस्पतालमा नमूना जँचाउन छाडिछन् । आइसोलेसनमा बस्ने गरी घर फर्काइएछ ।


९ गते आइतबार उनमा संक्रमण देखिएपछि टेकू अस्पतालको क्वारेन्टाइन कक्षमा भर्ना गरिएछ । उनका संसर्गमा आएका परिवार समेतलाई क्वारेन्टाइनमा भर्ना गरिएको भन्ने सरकारी भनाइ आएको छ । आजै फेरि युएइबाट आएका अर्का युवामा पनि संक्रमण भेटिएको सरकारले बताएको छ ।


संक्रमणको सन्त्रास

कतारको दोहा हुँदै फ्रान्सबाट आएको जहाजमा चालक दलबाहेक दुई जर्मन, एक फ्रान्सेली र बाँकी नेपाली गरी १ सय ५८ यात्री रहेछन् । संक्रमित युवतीबाहेक १ सय ५७ नेपाली कहाँ छन् भन्ने प्रश्न उठ्छ । ती यात्रीहरु धेरैजसो वैदेशिक रोजगारबाट फर्केका तराईबासी भन्ने सुनिन्छ । विभिन्न जिल्लाका हुन सक्छन् । भियतनामीसहित नेपालीहरुले विमान भित्र नै शौचालय प्रयोग गरे । विमानको भित्री भाग र ओर्लेपछि अध्यागमन, भन्सार हुँदै गाडीमा नचढुन्जेल विमानभित्रका र बाहिरका विभिन्न व्यक्तिहरुसँंग संसर्गमा रहे ।


संक्रमित नेपाली युवतीले विमानस्थलबाट घर नपुग्दासम्म आफन्त, स्वागतार्थी र सवारीसाधनमा विभिन्न नयाँ मानिससँग संसर्ग गर्न पुगिन् । घर पुगेपछि आफ्नै परिवारका सदस्यलगायत साथीभाइ र अन्यत्र कसैकहाँ वा बजार गएको भए विभिन्न नयाँ मानिसहरुसँग सम्पर्क र संसर्ग हुन पुग्यो । त्यसपछि टेकू अस्पतालमा नमूना जँचाउन छाड्दा र घर फर्कंदा तथा संक्रमित ठहरिएपछि ९ गते क्वारेन्टाइनमा भर्ना नहुन्जेलसम्म उनको सम्पर्क र संसर्ग को को र कतिसँग भयो भन्ने हिसाब र यकीन उनलाई नै नहुन सक्छ ।


संक्रमित यी युवतीमा कोभिड–१९ भाइरस सर्ने अवस्थामा थियो, थिएन कसैले भन्न सक्ने अवस्था छैन । सर्ने अवस्था थियो भने विमानदेखि नै विमानभित्र, स्कालेटर भर्‍याङ, अध्यागमन कक्ष, गाडी, घर, अस्पताल सबैतिर फलामे बार डण्डी आदि समेतमा समात्नु, छुनु स्वाभाविक हुन्छ । फलामसँगको संसर्ग धेरै दिनसम्म रहने हुनाले कोरोना संक्रमण बढी फैलिने सम्भावना व्यापक छ । तसर्थ अस्पताल आउँदा जाँदाका संसर्गितहरुलाई समेत क्वारेन्टाइनमा राखिनु पर्छ ।


विमानमासँगै आएकाहरुको यात्रुसूची, पासपोर्ट र आइसोलेसनमा बस्ने कागज लगायतबाट ठेगाना तुरुन्त पत्ता लगाउनु पर्छ । जसको लागि उनीहरुको नाम–नामेसी ठेगाना खुलाएर स्थानीय तह र प्रहरीबाट पत्ता लगाउन सहयोग लिनु पर्छ । उनीहरुका परिवार र संसर्गका व्यक्तिहरुलाई समेत क्वारेन्टाइनमा राखिनु पर्छ । यो काममा जति ढिलो हुन्छ संक्रमण फैलिने सम्भावना उति नै बढी हुन्छ ।


यही कुरा तेस्रो संक्रमितमा पनि लागु हुन्छ । उनी आएर होटलमा बसेको भनिएको छ । उनीसँगै आएका, होटलमा गएका, बसेका र होटलका अन्य कर्मचारी सबैको पहिचान गरी क्वारेन्टाइनमा राख्नुपर्छ ।


मानिसमा कोरोना १४ दिनसम्म सुरक्षित रहन्छ । कोरोना पचाउन सक्ने शक्तिले गर्दा कसैमा कोरोना संक्रमण देखिएन भन्दैमा उसबाट अन्यमा सर्न सक्दैन भन्न नसकिने रहेछ । यस्तो अवस्थामा कोरोनाको संक्रमण बढ्न र फैलिन सक्छ ।


संक्रमणतर्फ सजगता

सम्भावित अवस्थाको लागि सरकारले आइसोलेसन वार्डहरु थपिरहेको छ । विभिन्न अस्पताल, शिक्षण संस्था आदिलाई प्रयोगमा ल्याउन लागेको छ । हजारौंँ शैयाहरु खडा हुँदैछन् । आइसोलेसन र क्वारेन्टाइन बेड र वार्ड थपेर मात्र हुँदैन ।

नयाँ परिस्थितिमा संक्रमण फैलिएमा के गर्ने भन्ने प्रश्न उठेको छ । त्यो अवस्थाको सामना गर्न नेपाल तयारमात्र होइन सक्षम पनि हुनु पर्छ ।


विदेशबाट आएकालाई क्वारेन्टाइनमा नराखेर सेल्फ आइसोलेसन भन्दै हिँडडुल गर्न छोड्दा संक्रमण बढ्ने सम्भावना देखिन्छ । नेपालगन्जमा आइसोलेसनमा राखेका भारतबाट आएका ५ सय बढी नेपाली भागेकोमा संक्रमण नहुनेमा विश्वस्त हुन सकिँदैन । अन्यत्र सीमानाबाट भित्रिएकाहरु पनि सुरक्षित रुपमा राखिएका छैनन् ।


स्वास्थ्यकर्मीहरुलाई कोरोना भाइरससम्बन्धी उचित तालिम दिनु पर्छ । एउटा पालमा जरो नापेको भरमा संक्रमण रोक्न सकिँदैन । कोरोनासम्बन्धी प्राथमिक परीक्षणको अवस्था देखिनै स्वास्थ्यकर्मीलाई ‘पर्सोनेल प्रोटेक्टिभ इक्वीपमेन्ट’ (पीपीई) गाउन र ‘एन ९५ मास्क’ अनिवार्य रुपमा उपलब्ध गराइनु पर्छ । आफू सुरक्षित छु भन्नेमा स्वास्थ्यकर्मी ढुक्क नभईकन उपचार हुन सक्दैन । स्वास्थ्यकर्मीले सेवा दिन बन्द गर्ने अवस्था आउन दिन नहुनेतर्फ सरकार सचेत हुनु पर्छ । सुरक्षाका उपायहरु विमानस्थलदेखि शंकास्पद संक्रमितलाई बोक्ने सवारी साधन तथा एम्बुलेन्सका चालक र सहयोगी समेतलाई उपलब्ध गराइनु पर्छ ।


परीक्षण किट राजधानीलगायत प्रारम्भिक परीक्षण केन्द्रहरुमा आवश्यक मात्रामा उपलब्ध हुनु पर्छ । कोरोना नमूना परीक्षण केन्द्र र उपचारकको छुट्टै टिम खडा गरिनु पर्छ । उपचारकर्मीहरुलाई समेत निश्चित अवधिसम्म परिवारबाट समेत आइसोलेसनमा राखिनु पर्छ । चीनको वुहानमा उपचारकर्मीहरु संक्रमित भएका घटनाबाट पाठ सिक्नु पर्छ । संक्रमित तथा उपचारकर्मी सबैको ज्यान बचाउनेतिर लाग्नु पर्छ । जोखिम व्यहोर्ने उपचारकर्मी र सहयोगीहरुका लागि ५० लाख देखि १ करोड रुपैयाँसम्मको बीमा गरिनु पर्छ ।


सम्भव भएसम्म कोरोना संक्रमित र आइसोलेसनका लागि प्रत्येक प्रदेश र ठूला सहरमा छुट्टै अस्पतालको व्यवस्था गरिनु पर्छ । संक्रमित र शंकाका व्यक्तिलाई भीडभाडमा लैजानु र राखिनु हुँदैन । मेडिकल कलेजका अलग वार्डहरुसमेत संक्रमित र आइसोलेसनका लागि प्रयोगमा ल्याइनु पर्छ । शंकास्पदको परीक्षणसमेत गर्न ग्राण्डी र अल्काजस्ता ठूला अस्पतालले नमानेको खबर आयो । ठूला अस्पतालमा सम्पूर्ण बेडको चौथाई बेडको वार्ड खाली गराएर संक्रमित र आइसोलेसनका लागि तयारी हालतमा राख्न सरकारले ढिलो गर्न हुँदैन ।


आपूर्ति सहज हुनुपर्छ

खाद्यान्न, ग्यासलगायत अत्यावश्यक सामान, औषधिको अभाव हुन दिनु हुँदैन । खाद्यान्न, औषधिलगायत अत्यावश्यक वस्तुहरुको प्रत्येक दिनको सञ्चयको अभिलेख सरकारसँग हुनु पर्छ । जसरी सीमाको भन्सारबाट सामान छुटेपछिको ढुवानी साधनको लोकेसन सरकारलाई थाहा हुने प्रणाली विकास गरिएको छ । व्यापारीको प्रत्येक गोदाम र कारखानाको उत्पादन र सञ्चयको अभिलेख पनि सरकारसँग रहनु पर्छ । त्यसो भएमा आपूर्ति सहज बनाउन सजिलो हुन्छ ।


लकडाउन थप्दै लगेमा ग्यासको सिलिण्डर सेनाको रेखदेखमा गाडीबाट वितरण गरिनु पर्छ । जुनसुकै कम्पनीको खाली सिलिण्डर लिएर भरिएको सिलिण्डर दिलाई दिनु पर्छ । नयाँ सिलिण्डर बिक्री गर्ने होइन । २५ वा ३० केजीका चामलका बोरा, ५ र १० किलोका आलुका पोका बनाएर बिक्री गर्ने प्रबन्ध गर्नु पर्छ । मुटु, रक्तचाप, मधुमेह आदि निरन्तर सेवन गर्नुपर्ने औषधि पनि फोन गरेपछि सेना वा स्थानीय प्रशासनले मोल लिएर दिलाई दिने प्रबन्ध गरिनु पर्छ । त्यस्तै खानेपानीको जार वा कार्टुनमा बसोबास क्षेत्रमै उपलब्ध गराइ दिने प्रबन्ध स्थानीय सरकारसमेतले गर्नु पर्छ । साबुनलगायत दैनिक उपभोग र प्रयोगका अन्य सामानको पनि आवश्यकतानुसार बसोबास क्षेत्रमा उपलब्ध गराउने प्रबन्ध गरिनु पर्छ ।


लकडाउनको बेला एम्बुलेन्स चाहिएमा वा स्वास्थ्य समस्या आइपरेमा प्रहरीको १०० नम्बर र अन्य सम्पर्क नम्बर नागरिकलाई उपलब्ध गराइनु पर्छ ।


बन्दको अवस्थाः कष्ट सहनुपर्ने

कोरोना संक्रमणबाट सुरक्षित हुन सरकारले यही ११ गते १८ गतेसम्म देश नै लकडाउन अर्थात् बन्द गरेको छ । कतार, दुबईलगायत विभिन्न देशले पनि लकडाउन गर्न थालेका छन् । भारतले तीन हप्ताको लागि लकडाउन गरेको छ ।


विश्व र छिमेकी भारतमा फैलिरहेको भयावह स्थिति, आफ्नै देशमा आइपरेको संक्रमणको अवस्थालाई समेत हेर्दा लकडाउनको अवधि एकएक हप्ता गर्दै आवश्यकतानुसार थप्दै लैजानु पर्छ ।


लकडाउनले आम जनजीवनमा अवश्य नै असर पारेको छ । जनजीवन कष्टकर हुँदै गएको छ । अहिले मनोरञ्जन र भोजभतेर गर्ने बेला होइन । कोरोना संक्रमणबाट देशलाई बचाउने बेला हो । मर्नुभन्दा बहुलाउनु निको भने जस्तै रोगबाट बच्नको लागि आवश्यक परे केही महिना दुःखकष्ट सहन सबै तयार हुनु पर्छ । हामी नेपालीलाई संक्रमणबाट बचाउनकै लागि सरकारले देश नै बन्द गरेको हो ।


जर्मनीमा दुईजना बढी जम्मा हुन नपाउने गरिएको छ । चान्सलर एन्जेला मर्केल नै क्वारेन्टाइनमा हुनु हुन्छ । तर नेपालमा लकडाउनमा पनि जथाभावी निस्कने, डुल्ने क्रम चलिरहेको छ । कर्फ्यू होइन भनेर लक डाउनलाई गिज्याउने काम भएको छ । कडाइ नगर्नु सरकारको कमजोरी हो ।


कोरोना भाइरसको खोप पत्ता लागिसकेको छैन । संक्रमण कम गराउन हाम्रो व्यवहार नै प्रभावकारी उपाय हो । राष्ट्रिय संकटको बेला केही दुःख सहन हामी तयार हुनु पर्छ । यो संकटबाट बच्न घरमै बस्नु पर्छ । अन्यको सम्पर्कबाट टाढा बस्नु पर्छ ।


रुघा, ज्वरोबाट सुरु हुने कोरोनाको कहरबाट बच्न केही समय धैर्य गर्नु पर्छ । अन्यको छिउँ र खोकीबाट टाढा हुनु पर्छ । हातले नाक, आँखा र मुहारमा छुनु हुँदैन । मास्क लगाएमा केही सुरक्षित हुन सकिन्छ । अन्य व्यक्तिको सम्पर्क र बाहिरबाट घर आउँदा साबुनले हात धुनु पर्छ । कसैसँग हात मिलाउनु र छुनु हुँदैन । टाढैबाट नमस्कार गर्नु पर्छ । संक्रमणबाट बच्न हल्लाको पछि नलागी स्वास्थ्यकर्मी र विज्ञका भनाइ मान्नु पर्छ ।

प्रकाशित : चैत्र १२, २०७६ २०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?