बेलायतबाट हेर्दा नेपाली लकडाउन

सुविना श्रेष्ठ

काठमाडौँ — म अहिले बेलायतको एउटा कुनामा छु । परिवारसहित ‘आइसोलेसन’मा बसेको एक हप्ता भयो । जब म फागुन २९ गते काठमाडौंबाट जहाज चढें तब युरोपलाई कोरोना (कोभिड–१९) भाइरसको केन्द्रविन्दु घोषणा गरिसकिएको थियो ।

बेलायतबाट हेर्दा नेपाली लकडाउन

बेलायतमा भाइरसको कारणले मर्नेको संख्या केवल १० थियो । यो लेख लेखिरहँदा बेलायतलगायत नेपालमा पनि ‘लकडाउन’ लागु भइसकेको छ ।

बेलायतले कोभिड–१९ को संक्रमण पहिलो चरणमा बढ्न दिने सोचाइ राखेको थियो । यो निर्णय अरु देशका वैज्ञानिकहरुको विचारभन्दा ठीक विपरीत थियो । यहाँको सरकारका अनुसार भाइरसको संक्रमण समाजमा पहिले बढ्न दियो भने स्वास्थ्य सेवामा तुरुन्त भार नपर्ने र अगाडि नै समाजमा रोग प्रतिरोधात्मक क्षमता बढ्छ भन्ने थियो । हामी यहाँ आइपुग्दा सबै अवस्था सामान्य नै देखिन्थ्यो । विद्यालयहरु सुचारु थिए । रेलमा खाँदिएर मानिसहरु काममा जाने, साँझमा रेस्टुरेन्ट र पब जाने क्रम रोकिएको थिएन ।

बेलायत सरकारले आफ्नो पुरानो निर्णय फेरेको एक साता जतिमात्र भयो । एक साताअघि अति आवश्यक अवस्थामा बाहेक अन्य कारणले घर नछोड्न आदेश दिइएको थियो । दुःखको कुरा, बेलायतमा अहिलेसम्म सयौं मानिसको मृत्यु भइसकेको छ । संक्रमणको आशंकामा जाँच गर्दा करिब ६ हजार मानिसमा कोभिड–१९ पोजेटिभ देखिएको छ ।

मलाई लाग्छ, जब विश्व यो संकटबाट बाहिर निस्कनेछ, तब यो संसारले अर्कै रुप लिइसकेको हुनेछ । यो संक्रमणले हामीलाई अनेकन परीक्षा लिने र दिनेछ । हामी कोसँग बस्न सक्छौं, कोबिना बाँच्न चाहन्छौं भन्ने जबाफ पनि छिट्टै पाउनेछौं ।

यहाँ म बसेको वरपर धेरैलाई कोरोना भाइरस लागिसकेको छ । तर नेपालमा अहिले ३ जनालाई मात्र भाइरस लागेको, तीमध्ये एकजना पहिल्यै निको भएर घर फर्किसकेको र बाँकी दुईको चाहिँ हाल काठमाडौंमा उपचार भइरहेको सरकारले बताएको छ । यसरी हेर्दा कोरोनाको मारमा नेपालभन्दा बढी बेलायत परेको देखिन्छ । तर मलाई भने धेरै चिन्ता आफ्नै देशको लागिरहेको छ । किनभने नेपालको राजनीतिक नेतृत्वमा दूरदर्शिताको कमी देखिन्छ ।

अहिले मात्र होइन, पहिलादेखि नै यस्तो देखिंदै आएको छ । भनिन्छ नि, बिहानीले दिनको संकेत गर्छ । हाम्रो नेतृत्व चाहेर हो वा नचाहेर, भोलि आउनसक्ने संकटबारे पहिल्यै योजना बनाउने पक्षमा कहिल्यै देखिदैन । मलाई त देशको नेतृत्व मेरा एक पूर्वकर्मचारी मानबहादुरभन्दा फरक लाग्दैन । १०/१२ वर्ष अघिको कुरा हो, उनलाई मैले भूकम्प आउनुभन्दा पहिला अत्यावश्यक सामानसहितको एउटा झोला तयार गरौं भन्दा उनले मलाई एकोहोरो हेर्दै भने, ‘बच्चा पाउने कहिले–कहिले, भोटो सिलाउने अहिले !’

मैले भनेको कुरालाई उनले सुनेको नसुन्यैजस्तो गरी निस्केर गए । हो, यस्तै मानसिकता अहिलेको हाम्रो नेतृत्वमा पाइन्छ । यो मानसिकता एक–दुई जनामा होइन, केन्द्रदेखि गाउँ तहसम्म जरा गाडेर बसेको छ ।

पर्यटनमन्त्रीले केही समयअघि ‘नेपाल कोरोना–फ्रि देश हो’ भनेको प्रसंगदेखि स्वास्थ्यमन्त्रीले ‘हाम्रो देश कोरोना ग्रीन जोनमा परेको छ’ भन्दै सामाजिक सञ्जालमा लेखेको देखियो । यस्तो नाटक देख्दा त हाम्रो नेतृत्वले कोरोना भाइरसको प्रकृति कस्तो हो भन्ने कुरा बुझ्नै कोसिस नगरेजस्तो लाग्छ । देशमा महामारी फैलियो भने कसरी रोक्ने भन्नेबारे गम्भीर नै नभएको वा त्यसको तयारी गर्न नचाहेको भन्ने कुरा पनि प्रष्ट हुन्छ ।

केही दिनयता दुबईमा जागिर गुमाएका नेपालीहरुसँग कुराकानी गरिरहेको छु । उनीहरु आफ्नो घर फर्कन चाहन्छन् तर उनीहरुको घर फर्कने बाटो सबैतिरबाट बन्द गरिएको छ । यिनै नेपाली कामदारहरुको पसिनाबाट राज्यको अर्थतन्त्र धानिएको छ । अहिले उनीहरु गम्भीर मर्कामा छन्, तर राज्य साथमा छैन, उनीहरु घरमा फर्कन सकेका छैनन् । पहिला चीनको वुहानबाट सबै नेपालीलाई सरकारले नै उद्धार गरेर नेपाल ल्यायो तर अहिले देशको अर्थतन्त्र धान्ने आफ्ना नागरिकहरुलाई ठ्याक्कै उल्टो व्यवहार गरिएको छ ।

हाम्रो नेतृत्वको अदूरदर्शितालाई केही दिनअघि स्वास्थ्यमन्त्रीले गरेको पत्रकार सम्मेलनले पनि राम्रोसँग देखाइदिएको छ । देशमा कोरोनाका नयाँ संक्रमित फेलापरेको जानकारी दिन आयोजित प्रेस ब्रिफिङमा दर्जनौं पत्रकारलाई एउटै कोठामा खाँदेर जुन दशा देखाइयो त्यसले पनि प्रष्ट हुन्छ– सम्भावित महामारीसँग जुध्नका लागि नेतृत्वसँग कुनै योजना नै छैन । अझ दूरदर्शिताको त एकदमै कमी छ ।

अत्यन्तै तीव्र रुपमा संक्रमण हुने कोरोना भाइरसको संक्रमण रोक्न मुलुकभरि लकडाउन गर्ने कुरा सराहनीय हो । किनभने, यही बाटोबाट मात्र सयौंको जीवन बच्न सक्छ । एकजनाबाट तीनजना, तीनबाट नौजना र नौ जनाबाट ८१ जनामा यो सर्नसक्छ । यस्तो अवस्थामा एकजनालाई भएको सुरुकै संक्रमण रोक्न सकियो भने यो संख्या निकै न्यून भएर जाने सम्भावना छ । तर, जुन परिवार एउटै कोठामा बसिरहेका छन्, जसको घरमा पानी छैन, धारा भए पनि पानी आउँदैन, धेरै जनाको एउटै ‘ट्वाइलेट’ छ, यी मानिसहरुको बारेमा के सोचिरहेको छ सरकारले ?

ललितपुर, मंगलबजारनजिक मेरो घर वरपर धेरै नै यस्ता मानिसहरु बस्ने गरेका छन् । उनीहरुको पूरै परिवार एउटै कोठामा बस्ने गरेको र बिहानै लामो लाइन बसेर उनीहरुले पानी भरिरहेको म देख्ने गर्थें । घरमा गएर एक कोठामा बस्नुपर्दा घरेलु हिंसामा पर्ने महिलाहरुलाई के हुन्छ ? उनीहरुको बालबच्चाको के हालत होला ? खासमा खानेपानी, खुल्ला आकाश र दुई–तीन कोठा– काठमाडौंजस्तो सहरमा बस्ने धेरैका निम्ति ‘विलासिता’का वस्तुहरु हुन् ।

अहिलेको विषम परिवेशमा बिहान–साँझ काम गरेर छाक टार्ने मानिसहरुले के खालान् भन्ने राज्यले सोचेको छ कि छैन ? त्यत्तिमात्र होइन, कम पैसामा काम गर्ने र साँझ–बिहान एक किलो चामल किनेर छाक टार्ने मानिसहरुले घरभाडा कसरी तिर्ने ? जीवनयापन गर्ने स–साना व्यापार–व्यवसाय बन्द भइरहेका छन्, उनीहरुले के गर्ने ? ऋण लिएर काम गर्ने साना व्यवसायीहरुका लागि ब्याजदर घटाउने कि नाइ ? यो बारेमा राज्य कत्तिको गम्भीर बनेको छ ? जनताको हिँड्डुल रोकेर महामारीबाट बचाउन त सकिन्छ, तर बाँच्न त खानु पर्‍यो नि ?

जब यो महामारी फैलिएर जान्छ तब हाम्रो जीवन स्वास्थ्यकर्मीहरुको हातमा हुन्छ । ती स्वास्थ्य सेवकहरुसँग महामारीसँग जुध्न चाहिने व्यक्तिगत उपकरणहरु छैनन् । मानिसलाई बचाउन ‘भेन्टिलेटर’ छैन । आईसीयूको सुविधा एकदमै कम छ । तैपनि उनीहरुले नै हाम्रो जीवन बचाउनुपर्ने हुन्छ । यस्तो अवस्थामा तिनलाई कसरी परिचालन गर्ने ?

जुनबेला राज्यले कोरोनाको संक्रमण भित्रिने जोखिम बढिरहेका थियो त्यो बेला समेत ‘भिजिट नेपाल’ मनाउन आफ्ना पर्यटक पठाउ भन्दै विदेशी मुलुकलाई अनुरोध गरिरहेको थियो, यदि त्यहीबेला अलिकति पनि सोचेको भए, स्वास्थ्यकर्मीहरुका लागि उपकरण मागेको भए, बिरामीका लागि भेन्टिलेटर मागेको भए, बरु स्थिति अर्कै हुन्थ्यो होला ।

मेरा मानबहादुरको भनाइसँग सोच मिल्ने नेतृत्वले बल्ल अहिले आएर स्वास्थ्यकर्मीका लागि उपकरण, भेन्टिलेटर चाहियो भनेर मागिरहेका छन् । तर मानबहादुरले भनेझैं ‘बच्चा त जन्मिसक्यो π’ समय हुँदा काम नगर्ने, समय बितिसकेपछि मात्र तात्तिने नेपाली स्वाभाव फेरि पनि देखापरेको छ ।

नेपालीहरु सजिलै भनिरहेका हुन्छन्– हामीलाई त श्री पशुपतिनाथले बचाइरहेका छन् ! यदि नेतृत्वले जनताको बारेमा गम्भीर भएर तर्कसंगत तरिकाले सोचेन भने पशुपतिनाथ त के, तेत्तीस कोटी देवी–देवता सबैलाई थकाइ लाग्नसक्छ । नेपालले एक हप्ताको लागि लकडाउन भनेको छ । तर, भाइरसको प्रभाव सामान्यतः दुई हप्ता रहने भनिएको छ । लकडाउन नै गर्ने हो भने यस विषयमा पनि ध्यान दिने कि ?

प्रकाशित : चैत्र १२, २०७६ १९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?