कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

उपचार पर्खिनुभन्दा रोग लाग्नै नदिनु राम्रो

नेपालमा अहिले संक्रमितको संख्या निकै कम देखिनुको एउटा कारण भारतमा जस्तै थोरै मात्रामा परीक्षण गरिनु पनि हुन सक्छ साथै फल्स नेगेटिभ रिजल्टका कारण पनि यस्तो देखिएको हुन सक्छ ।
चेतना दाहाल

कोरोना एक प्रकारको भाइरस परिवारको नाम हो । यसका कारण सामान्य रुघाखोकी मात्रै होइन, मिडिल इस्ट रेस्पिरेटोरी सिन्ड्रोम र सिभियर अक्युट रेस्पिरेटोरी सिन्ड्रोमजस्ता गम्भीर रोग पनि लाग्छन् । अहिले देखिएको कोभिड–१९ स्ट्रेन पनि यही कोरोना भाइरस परिवारभित्र पर्छ, जुन यसअघि मान्छेमा देखा परेको थिएन । चीनको वुहानबाट पहिलो पटक मान्छेमा देखिएको यो भाइरस अहिले संसारका छ वटै महाद्वीपमा फैलिसकेको छ ।

उपचार पर्खिनुभन्दा रोग लाग्नै नदिनु राम्रो

संक्रमण

अहिले संसारभरि महामारीका रूपमा फैलिएको कोभिड–१९ बाट करिब ३ लाख ९० हजार मानिस संक्रमित भइसकेका छन् । हालसम्म १६ हजार ६ सयभन्दा बढीको ज्यान गइसकेको छ ।

कोभिड–१९ पहिलो पटक वुहानको सी फुड मार्केटबाट फैलिएको भए पनि अहिले यो व्यक्ति–व्यक्ति हुँदै सबैजसो देश तथा महादेशमा पुगिसकेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र हालसम्मका विभिन्न अध्ययनअनुसार यो भाइरस विशेषतः थुकबाट सर्छ । कुनै संक्रमित मानिस बोल्दा, खोक्दा र हाच्छिउँ गर्दा थुकमार्फत नजिकको स्वस्थ मान्छेमा सर्ने गर्छ । संक्रमित मानिसले कसैको नाक, आँखा र मुख अथवा शरीरका कुनै भाग छुँदा पनि यो भाइरस सर्छ । नेसनल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेक्सन डिजिजले मार्च १७ मा प्रकाशित गरेको अध्ययन प्रतिवेदनअनुसार उक्त भाइरस केही घण्टादेखि केही दिनसम्म जस्तोसुकै ठाउँमा पनि सक्रिय अवस्थामा रहन सक्छ । उदाहरणका लागि कुनै स्प्रेमा ३ घण्टा, तामाको वस्तुमा ४ घण्टा, कारबोर्डमा २४ घण्टा तथा प्लास्टिक र स्टिलको वस्तुमा २ देखि ३ दिनसम्म रहन सक्छ ।

विभिन्न स्रोतका अनुसार कोरोना भाइरसको ‘इन्क्युबेसन पिरियड’ (शरीरमा भाइरस भए पनि कुनै लक्षण नदेखिने अवस्था) ५ देखि २१ दिनसम्म हुन्छ । ‘इन्क्युबेसन पिरियड’ अथवा लक्षण नदेखिने अवस्था (असिम्पोमेटिक फेज) मा पनि यो रोग गर्ने गर्छ ।


लक्षण

यो संक्रमण जुनसुकै उमेरका व्यक्तिलाई लाग्न सके पनि मध्यम आयुका वयस्क र वृद्धमा भने बढी देखिएको छ । चाइनिज सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले फेब्रुअरी ११ सम्मका केस र मृत्युको अध्ययन गरेर प्रकाशित गरेको तथ्यांकअनुसार यो रोगका कारण विशेष वृद्धमा मृत्युदरको संख्या बढी देखिएको छ । मृत्युदर ९ वर्षसम्मका बालबालिकामा शून्य प्रतिशत, १०–१९ वर्ष उमेर समूहमा ०.२ प्रतिशत, २०–२९ वर्ष उमेर समूहमा ०.२ प्रतिशत, ३०–३९ वर्ष उमेर समूहमा ०.२ प्रतिशत, ४०–४९ वर्ष उमेर समूहमा ०.४ प्रतिशत, ५०–५९ वर्ष उमेर समूहमा १.३ प्रतिशत, ६०–६९ वर्ष उमेर समूहमा ३.६ प्रतिशत, ७०–७९ वर्ष उमेर समूहमा ८ प्रतिशत र ८० वर्षभन्दा माथिको उमेर समूहमा १४.८ प्रतिशत छ ।

चाइनिज सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले फेब्रुअरी १७ मा ‘जर्नल अफ इपिडिमियोलोजी’ मा प्रकाशित गरेको अध्ययन प्रतिवेदनअनुसार ७२ हजार ३१४ जनामा अनुसन्धान गर्दा ८१ प्रतिशतलाई माइल्ड अर्थात् सामान्य संक्रमण थियो । उनीहरूमा सामान्य रुघाखोकी मात्रै देखिएको थियो । १४ जनालाई निमोनिया र श्वासप्रश्वासमा समस्या देखिएको थियो । ५ प्रतिशत भने गम्भीर अवस्थामा थिए, जसमा श्वासप्रश्वास बन्द हुने, हृदयघात तथा विभिन्न अंगले काम गर्न छोड्ने लक्षण देखिएको थियो । २ प्रतिशतको मृत्यु नै भएको थियो ।

मार्च १२ मा ‘इन्टरनेसनल जर्नल अफ इन्फेक्सन डिजिज’ मा प्रकाशित एउटा प्रतिवेदनका लागि ४६ हजार २४८ जनामाथि अध्ययन गरिएको थियो । त्यसअनुसार सबैभन्दा बढी देखिने पहिलो लक्षण भनेको ज्वरो नै हो । यो ८६ देखि ९६ प्रतिशत संक्रमितहरूमा देखा परेको थियो । खोकी दोस्रो लक्षण हो, जुन ५९ देखि ७६ प्रतिशत संक्रमितमा देखा परेको थियो । तेस्रो लक्षण थकान ३८ देखि ६८ प्रतिशतमा भेटिएको थियो । चौथो लक्षण भनेको श्वासप्रश्वासमा गाह्रो हुनु हो, जुन २१ देखि ४० प्रतिशतमा देखिएको थियो ।

कोरोना भाइरसका संक्रमितमा १४ देखि २२ प्रतिशतमा उच्च रक्तचाप, ६ देखि ११ प्रतिशतमा सुगर, ४ देखि ७ प्रतिशतमा मुटु तथा रक्तसञ्चारमा समस्या र १ देखि ३ प्रतिशतमा श्वासप्रश्वाससम्बन्धी रोग देखिएको थियो ।

कोरोना भाइरस कस्तो दरले बढिरहेको छ भन्ने विषय अहिले प्रमुख चासो बनेको छ । यो भाइरस इटालीमा हरेक चार दिनमा दोब्बर भएको देखिन्छ भने स्पेन र अमेरिकामा हरेक तीन दिनमा दोब्बर भइरहेको छ ।


परीक्षण

अहिले जति जना संक्रमित देखिए भन्दै आइएको छ, त्यो सम्पूर्ण संक्रमितको नभई थाहा भएका अथवा निश्चित गरिएकाको संख्या मात्रै हो । त्यसैले अहिलेको अवस्थामा संक्रमित भएका तर परीक्षण नगरिएकाको संख्या धेरै हुन सक्ने अनुमान डब्लूएचओले गरेको छ । त्यस्ता व्यक्तिबाट संक्रमण अझै फैलिन सक्ने हुनाले डब्लूएचओले सकेसम्म बढी परीक्षण गर्नुपर्नेमा जोड दिँदै आएको छ । यकिन तथ्यांक आएमा यो रोगबारे बुझ्न अझै सजिलो हुनेछ र रोकथामका लागि प्रामाणिक जनस्वास्थ्य उपायको प्रयोगमा सघाउ पुग्छ ।

दक्षिण कोरियामा कोरोना भाइरस फैलिएपछि धेरै परीक्षण गरिएको थियो । प्रतिदिन १० हजारका हिसाबले करिब २ लाख ६० हजारको परीक्षण गरिएको थियो । तीमध्ये ८ हजार जनामा संक्रमण पाइएको थियो र तिनलाई तुरुन्तै क्वारेन्टाइनमा राखिएको थियो ।

छिमेकी राष्ट्र भारतमा भने इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चका अनुसार मार्च १३ सम्म कोरोना भाइरसको आशंकामा जम्मा ५ हजार ९ सय जनामा परीक्षण गरिएको थियो । तीमध्ये ७८ जनामा संक्रमण भेटिएको थियो । विश्वको दोस्रो ठूलो जनसंख्या (१.३ अर्ब) रहेको देशमा यति थोरैको परीक्षण हुनु भनेको नगण्य हो । यसै कारण अहिलेसम्म भारतमा कमै मात्रामा संक्रमित भएको अनुमान गरिएको छ । यसले गर्दा धेरै संक्रमित अझै पनि स्वतन्त्र रूपमा घरबाहिर हिँडडुल गरिरहेको अनुमान लगाउन सकिन्छ ।


नेपालमा कोरोना भाइरस

नेपालमा अहिलेसम्म जम्मा दुई जनामा मात्रै कोरोना भाइरस देखा परेको छ । सुरुका संक्रमितले सामान्य क्वारेन्टाइनमा बसेपश्चात् स्वास्थ्यलाभ गरिसकेका छन् । दोस्रो संक्रमित अहिले क्वारेन्टाइनमै छिन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मार्च १६ सम्म जम्मा ४७७ जनामा संक्रमण परीक्षण गरिएको छ । नेपालमा अहिले संक्रमितको संख्या निकै कम देखिनुको एउटा कारण भारतमा जस्तै थोरै मात्रामा परीक्षण गरिनु पनि हुन सक्छ साथै फल्स नेगेटिभ रिजल्टका कारण पनि यस्तो देखिएको हुन सक्छ ।

फल्स नेगेटिभ रिजल्ट भनेको सुरुको परीक्षणमा नकारात्मक नतिजा आउनु र पुनः दोहोर्‍याएर गर्दा सकारात्मक नतिजा आउनु हो । चीनमा गरिएको डिफिकल्ट इन फल्स नेगेटिभ डाइग्नोसिस अफ कोरोना डिजिज–२०१९ को केस रिपोर्टको अध्ययनअनुसार पनि कोभिड–१९ बाट संक्रमितहरूमा फल्स नेगेटिभ आउनुका कारण विभिन्न हुने गर्छन् । पहिलो कारण हो— संक्रमणको पहिलो चरणमा भाइरसको संख्या एकदमै कम (लो भाइरल लोड) हुनु । दोस्रो, श्वासप्रश्वाससम्बन्धी समस्या कम हुनाले रोगीको घाँटी र मुखमा भाइरसको संख्या थोरै हुन सक्छ । तेस्रो, नमुना संकलनमा समस्या, जस्तै— नमुनाको मात्रा एकदमै कम हुनु  चौथो, नमुना तथा परीक्षण सामग्रीलाई राम्रोसँग परीक्षण र ढुवानी गर्न नसक्नु हो र पाँचौं कारण हो— परीक्षणमा प्राविधिक समस्या हुनु ।

डब्लूएचओले मार्च १५ मा प्रकाशित गरेको ‘फ्याक्ट सिट फर हेल्थ केयर प्रोभाइडर्स’ मा माथि उल्लिखित कारणले पनि फल्स नेगेटिभ आउन सक्ने भन्दै हरेक रोग र रोगीको वैज्ञानिक अवस्थाअनुसार थप परीक्षण गर्न सल्लाह दिइएको छ । डब्लूएचओकै ‘गाइड फर ल्याबरेटरी टेस्टिङ अफ कोभिड–१९’ मा पनि एउटा र थप नेगेटिभ रिजल्ट आउँदैमा कोरोना भाइरस संक्रमणको सम्भावनालाई खारेज गर्न नमिल्ने भनिएको छ ।

नेपालको जनसांख्यिक वितरण हेर्ने हो भने वयस्क र वृद्धभन्दा युवा उमेरको जनसंख्या धेरै छ । यसकै आधारमा पनि नेपालमा अरू देशका तुलनामा कम संक्रमण र मृत्यु हुन सक्ने अनुमान लगाउन सकिन्छ । चीनमा वयस्क र वृद्धको जनसंख्या तुलनात्मक रूपमा नेपालको भन्दा बढी छ । त्यस्तै, मार्च १९ सम्म कोरोना भाइरसका कारण सबैभन्दा बढीको मृत्यु भएको इटाली संसारकै दोस्रो ठूलो वृद्ध जनसंख्या भएको देश हो ।


नेपालको स्वास्थ्य तथ्यांक

विश्व बैंकको तथ्यांकअनुसार सन् २०१७ सम्म प्रत्येक १० हजार नेपालीका लागि ७ डाक्टर छन् भने २७ नर्स र ३ वटा हस्पिटल वेड छन् । २०१५ मा प्रकाशित भएको ‘मर्थी इट अल’ को अध्ययनका आधारमा प्रत्येक १ लाख नेपालीलाई १.६७ प्रतिशत आईसीयू बेड उपलब्ध छ । त्यसका साथै राम्रो ‘सर्भिलेन्स सिस्टम’ को कमी हुनाले रोगीको सम्पर्कमा आएका मानिसको ट्र्याकिङ गर्न अप्ठ्यारो पनि छ । यसका साथै प्रदूषण, खाना पकाउन दाउराको प्रयोग, धूमपानका कारण धेरै नेपाली जनसंख्या सीओपीडी, दम, क्षयरोग र श्वासप्रश्वाससम्बन्धी अन्य रोगबाट पहिलेदेखि नै पीडित भएका हुनाले कोरोना भाइरसबाट अझ बढी सचेत हुनुपर्ने देखिन्छ । नेपालको कमजोर स्वास्थ्य प्रणाली हेर्दा रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु कता हो कता राम्रो हो ।


रोकथामका उपाय

आफू र अरूलाई बचाउने सबैभन्दा प्रभावकारी रोकथामको तरिका भनेको साबुन–पानीले बारम्बार हात धुनु, खोक्दा र हाच्छिउँ गर्दा कुहिना अथवा रुमालले मुख छोप्नु र मुख छोपेको रुमाल सकेसम्म परिर्वतन गरिहाल्नु अथवा सफा गरेर राख्नु नै हो ।

माथि नै भनियो, यो संक्रमण मुख्यतः थुकबाट सर्ने गर्छ । थुक एक मिटरसम्म फैलिने हुनाले दुई जनाबीच कम्तीमा एक मिटरको दूरी राख्नुपर्छ । हातले संक्रमित ठाउँ छोएको हुन सक्ने हुनाले सकेसम्म बाहिर हिँड्दा आँखा, मुख र नाक छुन हुन्न । भीड, सभा, सम्मेलन र भोजभतेरलगायतमा जानु हुन्न । यसो गर्नाले आफू मात्रै सुरक्षित रहने नभई आफ्नो परिवार र अरूलाई पनि रोग लाग्नबाट बचाउन सकिन्छ । ज्वरो आए, खोकी लागे, श्वासप्रश्वासमा अप्ठ्यारो भए अथवा सन्चो नभए जस्तो भए घरै बस्ने र स्वास्थ्यकर्मीको सल्लाह लिइहाल्ने गर्नुपर्छ ।

मास्कको प्रयोगले संक्रमण रोक्छ भन्ने तथ्यांक अहिलेसम्म एकदमै कम पाइएको हुनाले, डब्लूएचओले मास्कको जथाभाबी प्रयोग रोक्न भन्दै बिरामी भएको अवस्थामा मात्रै उपयोगमा ल्याउन सुझाएको छ । त्यसो गर्नाले बजारमा बिरामी र स्वास्थ्यकर्मीका लागि मास्कको कमी हुन पाउँदैन । मास्कको प्रयोग गरे पनि हरेक पटक फेर्ने र प्रयोग गरेको मास्क राम्ररी फाल्ने अथवा सफा गरी राख्ने गर्नुपर्छ ।

ढोका, बत्तीको स्विच, भर्‍याङको रेलिङ जस्ता प्रायः छोइरहने ठाउँ बारम्बार सफा गर्ने गर्नुपर्छ । काँचो मासु र दूध संक्रमित हुन नपाऊन् भन्नेमा सचेत हुनुपर्छ । काँचो वा राम्ररी नपाकेको मासु नखान डब्लूएचओले सचेत गराएको छ ।

अन्त्यमा, सकेसम्म डब्लूएचओ, स्वास्थ्य मन्त्रालय जस्ता भर पर्दा स्रोतबाट आएको खबरमा मात्र विश्वास गरौं । अफवाह फैलाउने खालका समाचारमा ध्यान नदिऔं । यसो गर्न सके जनमानसमा त्रास कम हुन्छ र सबैले भरपर्दो समाचार पाउन सक्छन् ।

विभिन्न ‘क्लिनिकल ट्रायल’ भइरहे पनि आजको दिनसम्म कोरोना भाइरसको उपचारका लागि औषधि बनिसकेका छैनन् । भ्याक्सिनको पहिलो चरणको ‘ह्युमन ट्रायल’ सुरु भएको छ, जुन सबैका लागि खुसीको कुरा हो तर यो भ्याक्सिनको ‘सेफ्टी टेस्ट’ राम्रोसँग भए पनि यसलाई जनमानससम्म पुर्‍याउन १८ महिनासम्म लाग्छ भनिरहेका छन्, भ्याक्सिन निर्माताहरू ।

कोरोना भाइरस सरुवा रोग भएकाले एन्टिबायोटिक्सको प्रयोगले निको हुँदैन तर पनि संक्रमित व्यक्तिलाई अरू ब्याक्टेरियल इन्फेक्सन भएमा एन्टिबायोटिक्सको प्रयोग गरिन्छ । लसुन, अदुवा र बेसारलगायत स्वास्थ्यका लागि राम्रो मानिँदै आए पनि अहिले यिनको प्रयोगले कोरोना संक्रमणको सम्भावना कम हुन्छ भन्ने कुनै वैज्ञानिक प्रमाण छैन । यसैगरी, कोरोना भाइरस लामखुट्टेको टोकाइबाट सर्छ भनेर अहिलेसम्म कुनै अध्ययनले देखाएको छैन । अहिलेसम्मको प्रमाणअनुसार यो भाइरस सबैखाले मौसममा हुन्छ ।

-जनस्वास्थ्यविज्ञ दाहाल जर्मनीमा महामारीविद्का रूपमा अनुसन्धानरत छिन् ।

प्रकाशित : चैत्र १२, २०७६ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?