महाव्याधि कालमा माया

‘मसँग पीपीई छैन र यही अवस्थामा कोही संक्रमित आए कसरी जाँच्ने ? गाउन र एन–९५ फाइभ मास्क नभए म कसरी बिरामी जाँच्न जान्छु ? म मेरा कर्मचारीलाई कसरी बिरामी जाँच भनेर निर्देशन दिन सक्छु ? एम्बुलेन्स चालकले आफ्नो सुरक्षाको ग्यारेन्टीबिना कसरी बिरामी ल्याउँछ ?’
लसकुस
राजेन्द्र महर्जन

कोभिड–१९ को महाव्याधिको काललाई धेरैले मौन अवधिका रूपमा बुझेका छन् भने कमले शून्य समयका रूपमा । कोरोना–कालमै हेरिएको ‘लभ इन द टाइम अफ कोलेरा’ फिल्मले भने माया शब्दको खेल, शब्दको अनुपस्थिति वा मौनताको संस्कृतिबारे सोच्न बाध्य तुल्याएको छ ।

यो मायावी यथार्थले भरिएको साहित्य कोर्ने शब्दकर्मी ग्याब्रियल गार्सिया मार्खेजको उपन्यासबाट बनेको फिल्म हो । यसमा मायाका पनि अनेक आयाम देखिन्छन्, फ्लोरेन्तिनो अरिजाका लागि आधा शताब्दीभन्दा लामो पर्खाइपछि पाइएको प्रेम, उनकी प्रेमिका फरमिना दाजाका लागि श्रीमान् जुवेनल उर्बिनोको मृत्युकै दिन जुरेको पहिलो खाँटी माया । वृद्ध अवस्थाका कारण कालको नजिक पुगिसकेका पुराना प्रेमी–प्रेमिकाको माया–प्रेमले कोलेरा–कालमा पनि जीवनप्रति आशा जगाउँछ ।


हामीले सामान्यतः हैजाका रूपमा बुझ्ने ‘कोलेरा’ स्पेनिसमा अनेक अर्थ लाग्ने शब्द हो, जसको एक अर्थको हैजा हो भने अर्को— जोस, आवेग, हुटहुटी । कोलेराले केहीका लागि ज्यान जाने खतरनाक रोगको संकेत गर्छ भने कसैका लागि मायाको वापसी । त्यसो त भनिन्छ, चीनमा एकाक्षरी मन्डारिन भाषामा ‘संकट’ (क्राइसिस) शब्द दुई अक्षरमा लेखिन्छ, जसको एउटा अर्थ खतरा हुन्छ भने अर्को— अवसर । चिनियाँहरूको व्याख्या र बुझाइमा, जहाँ संकट आइलाग्छ, त्यहाँ खतरा र अवसर दुवै हुन्छन् ।


कोभिड–१९ का कारण विश्व–संकट आइलागेका बेला विभिन्न देशमा मायाप्रेमसँगै आचरणलाई आत्मकेन्द्रित बनाइराख्ने कि जनता र प्रकृतिकेन्द्रित गर्ने भन्ने प्रश्नमा चिन्तन हुन थालेको छ । यसैबीच कुनै देशमा चिन्तक एवं इतिहासकार युवल नोआ हरारीका शब्दमा ‘कोरोना डिक्टेटरसिप’ अर्थात् व्यक्तिकेन्द्रित तानाशाही लाद्ने क्रम बढेको छ भने, कतै समाजकेन्द्रित सार्वजनिक स्वास्थ्य प्रणाली र राजनीतिक व्यवस्थाको बहस सुरु भएको छ । नेपाली शासकहरूले पनि कोरोना महाव्याधिलाई आमजनताको ज्यान, स्वास्थ्य र सुरक्षाका लागि संकटले ल्याएको अवसरका रूपमा उपयोग गर्छन् कि आफ्नो सत्ताको स्वास्थ्य, आसेपासेको सुरक्षा र आफ्नै सुविधा–विस्तारका लागि दुरुपयोग गर्छन्, विचारणीय छ । यसको अर्थ— प्रकृति, संस्कृति र राजनीतिको निजीकरणको यस युगमा हाम्रो मायाप्रेमसँगै चिन्तन र आचरणलाई ‘स्व’ बाट ‘पर’ सम्म, ‘आत्म’ बाट ‘अन्य’ सम्म, ‘व्यष्टि’ बाट ‘समष्टि’ सम्म अर्थात्् ‘व्यक्ति’ बाट ‘समाज’ सम्म विस्तार गर्ने कि नगर्ने भन्ने प्रश्न महत्त्वपूर्ण बनेको छ ।


आत्मकेन्द्रित सत्ताकै प्रदर्शन

इतिहासमा आत्मकेन्द्रित शासकहरूले संकट वा महामारीलाई आफ्ना लागि अवसरका रूपमा उपयोग गरेका उदाहरणको कमी छैन । यहाँ आमजनतालाई त्राहिमाम् पार्ने गरी सताएको महाभूकम्पलाई समेत सत्ता–साझेदारी र विभेदकारी संविधानका लागि सुवर्ण मौकामा रूपान्तरण गर्न सक्ने शासकहरूले नाकाबन्दीलाई पनि अन्य–घृणा र परायाकरण (अदराइजेसन) का लागि भरपूर प्रयोग गरेकै थिए । कोरोना महाव्याधिलाई पनि निजी सत्ता–शक्ति–सम्पत्तिको सुदृढीकरणका निम्ति, व्यक्तिगत पुरुषार्थको प्रदर्शनका लागि, एक सनातनी सभ्यताको परम्परागत वर्चस्वकै हेतु ‘सदुपयोग’ हुने खतरा बढ्दै छ । आफ्नो दलमा फैलिएको गुटगत विभाजन तथा पद र शक्तिका लागि भएको अन्तर्द्वन्द्वलाई माथ गर्ने काइदा कोरोना महाव्याधिले निम्त्याएको संकटमा पनि प्रभावकारी देखिँदै छ । कोरोनाको महाव्याधिले संसार आक्रान्त रहेका बेला प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले जुन शारीरिक हाउभाउ (जेस्चर) देखाए, जुन संकथन (डिस्कोर्स) बनाउन खोजे, त्यो आत्मकेन्द्रित सत्ताकै प्रदर्शनबाहेक अरू हुन सक्दैन ।


जनता, देश र सरकार नै अस्पतालको शय्यामा बन्धक हुने गरी मृगौला प्रत्यारोपण र उपचारमा लागेका प्रधानमन्त्री ओलीले अस्पतालदेखि सिंहदबारसम्म हठी शासकको व्यवहार देखाए । त्यसबाट शरीर जीर्ण भए पनि उच्च मनोबल र दृढ इच्छाशक्ति भएका नेता नै विकल्पहीन शासक रहेको सन्देश दिन खाजेको बुझ्न कठिन छैन । त्यसैको निरन्तरतामा उनले राष्ट्रका नाममा सम्बोधनमा आमजनतालाई पनि शासित वा अनुशासित गर्न खोजे, ‘मृगौला प्रत्यारोपण र उपचारपछिको शीघ्र स्वास्थ्यलाभमा यहाँहरूले मेरो इच्छाशक्ति र उच्च मनोबल प्रमुख कारक रहेको चर्चा गर्दै आउनुभएको मैले सुनेको छु । यस घडीमा मुलुकले हामी सबैको दृढ इच्छाशक्ति र उच्च मनोबलको माग गरेको छ ।’


आमसंकट वा महामारी वा महाव्याधिको बेला व्यक्तिको इच्छाशक्ति र उच्च मनोबलको अर्थ महत्त्वपूर्ण हुनेमा कुनै शंका छैनÙ तर आमनागरिकमा इच्छाशक्ति र मनोबल ‘राष्ट्रको नाममा सम्बोधन’ बापत फोस्रो आश्वासन र ‘नेपालीहरूसँग रोगसँग लड्ने क्षमता बेसी भएको’ गफले बढ्ने होइन । राष्ट्र अर्थात् नागरिकका चिन्ता, दुःख, पीडा र संघर्षलाई ठोस रूपमा सम्बोधन गर्नुको सट्टा ‘आफ्नो जीउज्यानको सुरक्षा आफैं गर’ भन्दा, एकान्तबासको सल्लाह दिँदा कुनै खर्च लाग्दैन । ‘नेपालीसँग रोगसँग लड्ने क्षमता बेसी भएको’ गफ दिँदै, दुईचार रुपैयाँ र एकाध मास्क बाँड्दै हिँड्दा मन्त्रीको जिम्मेवारी पूरा गरेको भान पनि हुन सक्छ । एकाध थान मास्क बाँड्दै र चर्पी उद्घाटन गर्दै हिँड्ने मन्त्रीहरूका पनि मन्त्रीमा हर्कुलस शैलीमा अनेक आदेश–निर्देश दिएपछि, कागजमा निर्णय गरेपछि सरकार प्रमुखको दायित्व निर्वाह भएको महान् मिथक पैदा हुन सक्छ, जबकि आवश्यक चाहिँ हो— आममान्छेहरूसँग एकाकार हुनु, उनीहरूसँगै उनीहरूका संघर्षको नेतृत्व गर्नु ।


भयावह अवस्थाको चेतावनी

भन्ने गरिएको छ— कोरोनाले धनी–गरिब, जातभात र देश भन्दैन । तर, यतिखेर सबैभन्दा चिन्ताको विषय हो— दैनिक ज्यालादारीमा खानुपर्नेÙ एउटै कोठामा कोच्चिएर बस्नुपर्नेÙ धारा, पानी, शौचालय, साबुन, खाना, उपचार र रकमको अभावमा जिउनुपर्नेÙ विदेशबाट लखेटिनुपर्ने वा त्रस्त भएर स्वदेश भाग्नुपर्ने गरिखाने मान्छेका सरोकारलाई कसरी सम्बोधन गर्ने ? ती सरोकारलाई सम्बोधन गर्ने सरकार नहुँदा स्वदेश, सरकार र नागरिकतामाथि नै सवाल उठ्न सक्छ । ती आमनागरिक–केन्द्रित हुने गरी राज्यका सबै स्रोत–साधन–शक्तिको परिचालनबाट मात्रै नागरिकताको भाव बढाउन सकिन्छ । त्यसैले सबैभन्दा महत्त्वपूर्ण पक्ष हुन्छ, राज्यका सबै स्रोत–साधन–शक्तिको परिचालनसँगै राज्यका प्रमुख वा सरकारका प्रधानबाट सामूहिक इच्छाशक्ति र नागरिक मनोबलको अगुवाइ । जबकि यहाँ त राज्यका स्रोत–साधन–शक्ति आफैंमा केन्द्रित गरी दृढ इच्छाशक्ति र उच्च मनोबलधारी प्रधानमन्त्रीको उपचार गरिएको निकट विगत छ, जुन आत्मकेन्द्रित मायाकै अभिव्यक्ति हो । खासमा सबै स्रोत–साधन–शक्तिलाई आममान्छेमा केन्द्रित गर्ने गरी कोरोनाविरुद्ध युद्ध छेड्न सके मात्रै इच्छाशक्ति र मनोबलको अर्थ रहन्छ । यसका लागि सबैभन्दा महत्त्वपूर्ण पक्ष हो— देश र राज्यको मुटुका रूपमा रहनुपर्ने नागरिकप्रति मायाप्रेम, प्रतिबद्धता र जवाफदेहिताÙ नागरिकका प्रश्न र आलोचनाप्रति सहिष्णुता र संवेदनशीलता ।


राज्यले जेजति गरेको छ, सक्ने जति गरेको छÙ यसमा कुनै खोट छैन— सरकार प्रमुखलाई यस्तो लाग्नु स्वाभाविकै हो । आफ्नो क्षमता, शक्ति र बुद्धिको सीमाभित्र आफूले गरेका कामको वस्तुगत समीक्षा गरियो भने कहाँ–कहाँ कमजोरी भएको छ, थाहा हुन्छ । ‘कोरोनामुक्त देश’ मा भ्रमणका लागि निम्तो दिन देश–देशावर घुम्ने अति उत्साहमा हवाई र स्थल मार्ग बन्द गर्नमा ढिलो भएको तथ्यलाई छोप्न हुँदैन । ‘नेपालीहरूसँग रोगसँग लड्ने क्षमता बेसी भएको’ गफ दिँदै हिँड्दा कोरोना संक्रमण र संक्रमितलाई भित्रिन नदिने उपाय अँगाल्न चुकेको सत्य स्विकार्न लाज मान्नु हुँदैन । त्यस्तै, जनस्वास्थ्यका जानकार शरद वन्तले भनेझैँ, ‘स्थल र हवाई मार्गबाट आएका, उनीहरूको सम्पर्कमा रहेका मानिसको व्यापक मात्रामा परीक्षण गर्नमा, परीक्षणको क्षमता, जनशक्ति र दायरा बढाउनमा, महामारीको व्यवस्थापनका लागि संरचना बनाउनमा भएका कमी–कमजोरीलाई बेवास्ता गर्न सकिँदैन ।’


त्यस्तै, त्रिवि शिक्षण अस्पतालको क्रिटिकल केयर (आईसीयू) विभागका प्रमुख एवं प्रधानमन्त्री ओलीको उपचारमा संलग्न चिकित्सक सुवास आचार्यले कटु सत्य औंल्याएका छन्, ‘मसँग पीपीई छैन र यही अवस्थामा कोही संक्रमित बिरामी आयो भने उसलाई कसरी जाँच्ने ? मसँग गाउन र एन–९५ फाइभ मास्क छैन भने म कसरी बिरामी जाँच्न जान्छु ? म मेरा कर्मचारीलाई कसरी बिरामी जाँच भनेर निर्देशन दिन सक्छु ? एम्बुलेन्स चालकले आफ्नो सुरक्षाको ग्यारेन्टीबिना कसरी बिरामी ल्याउँछ ? सत्य बोल्दा नराम्रो सुनिएला, तर यही अवस्था रहिरह्यो भने भयावह अवस्था आउँछ, स्वास्थ्यकर्मीहरूको भागाभाग हुने स्थिति हुन्छ ।’ यसको निहितार्थ हो— कदाचित् महामारी फैलिएमा यिनै कमी–कमजोरी आपराधिक बेवास्ताका रूपमा लाञ्छित हुने खतरा छ । यस तथ्यप्रति अलिकति मात्रै गम्भीर भए पनि विज्ञजनका प्रश्न र आमजनताका चिन्तालाई दुत्कार्ने काम हुँदैन ।


बफादारी होइन, आलोचना जरुरी

यसरी कमी–कमजोरी उठाइयो भने, गल्ती गर्ने सरकारको आलोचना गरियो भने सरकारका आज्ञाकारीहरूलाई निको लाग्दैन र उनीहरू सरकारलाई हरतरहले साथ दिनुपर्ने उपदेशको वर्षा गर्न पुग्छन् । ‘सरकारसँग कोरोना परीक्षण गर्ने किट नभएको र भएका जति सबै भीआईपीको परीक्षणमा सकिएको’ आरोप लगाएका सुन्दरमणि दीक्षितमाथि कारबाही गर्न दबाब दिएर आज्ञाकारीहरूले सरकारलाई साथ दिएका छन् । त्यस्तै, कोरोनाको निहुँमा आपत्कालीन स्थिति पैदा गर्दै बेन्जामिन नेतान्याहुले इजरायलका सबै लोकतान्त्रिक संस्थाको घाँटी निमोठ्दै ‘कोरोना डिक्टेटरसिप’ थोपर्न खोजेको आरोप लगाएपछि अचेल युवल नोआ हरारीलाई पनि पाठ सिकाउने काम हुँदै छ, ‘यस्तो संकटको बेला लोकतान्त्रिक प्रश्न उठाउने होइन, सरकारको हात मजबुत बनाउने हो’ भन्दै ।


वास्तवमा जजसले सरकारका कमजोरीलाई छोप्दै, बेवास्ता गर्दै, आलोचकहरूको मुख थुन्न खोज्दै छन्, उनीहरूले नै सरकारलाई कमजोर पार्न खोजेका छन् । सन्देह, प्रश्न र आलोचनाले होइन, आज्ञाकारिता र वफादारीले नै सरकार र व्यवस्थालाई कमजोर पार्ने गर्छन् । यसैको ज्वलन्त उदाहरण हो— चीनमा सन् २०१९ को अन्तिमतिरै देखिएको कोरोनाबारे ली वेनलियाङको चेतावनीप्रतिको बेवास्ता ।


जनवरीमै उनको चेतावनीलाई वास्ता गरिएको भए, हल्ला फैलाएको आरोपमा उनको कडा आलोचना नगरिएको भए सयौं मानिसको मृत्यु हुने थिएन र चिनियाँ सरकारको आलोचना पनि कमै हुने थियो । त्यही गल्तीबाट सिकेर चिनियाँ सरकारले कोरोनाविरुद्ध युद्ध छेडेर अहिले विजय हासिल गर्दै छ । त्यसबाट पाठ सिक्ने हो भने जुनसुकै सरकारले सन्देह, प्रश्न र आलोचनालाई निम्तो दिनुपर्छ र गल्ती–कमजोरीलाई हटाउँदै कोरोनाविरुद्ध युद्ध छेड्नुपर्छ । र, खाना, नाना, छानाका निम्ति, स्वास्थ्य, शिक्षा, रोजगार र सम्मानका लागि दैनिक रूपमा युद्धरत आममान्छेका हितलाई केन्द्रमा राख्नुपर्छ । लेखक नोमी क्लेनका शब्दमा, ‘कोरोना क्यापिटलिजम’ को जमानामा, आममान्छेसँग होइन, साहुजीहरूसँग मायामोह गाँसेर स्वास्थ्य र शिक्षालाई सुम्फने सरकारहरूबाट यस्तो आस गर्नु ठट्टा ठहरिन्छ कि ? प्रकाशित : चैत्र ११, २०७६ १५:३५

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

परीक्षण क्षमता बढाउन जरुरी

निरञ्जन पराजुली

कोरोना भाइरस (कोभिड–१९) ले आर्थिक, सामाजिक र मनोवैज्ञानिक रूपमा संसारलाई हल्लाइरहेको छ । नेपालमा सम्भावित संक्रमण रोकथामका लागि सरकारले आम मानिसको भीडभाड नियन्त्रण, क्वारेन्टाइन र आइसोलेसनमा जोड दिए पनि प्रयोगशालाको परीक्षण क्षमता वृद्धि गर्नेतर्फ पटक्कै ध्यान पुर्‍याएको देखिँदैन ।


दक्षिण कोरिया छोटो समयमा २ लाख ७० हजारभन्दा बढी सम्भावित सङ्क्रमितको प्रयोगशाला परीक्षण गरी कोरोना भाइरस फैलने दर नियन्त्रण गर्न सफल भएको छ । तर नेपालमा यस अवधिमा करिब ६ सय व्यक्तिको मात्र कोरोना भाइरसको प्रयोगशाला परीक्षण भएको बुझिन्छ । यसले गर्दा नेपालमा कोरोना सङ्क्रमितको पहिचान कठिन देखिन्छ ।

विश्वव्यापी भाइरसको परीक्षण ‘रियलटाइम पीसीआर’ बाट गरिन्छ । नेपालमा हाल टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा यसको परीक्षण हुँदै आएको छ । त्यसबाहेक सरकारले पाटन अस्पताल, वीर अस्पताल र बीपी कोइराला मेमोरियलमा पनि यसको परीक्षण सुरु गर्ने भएको छ । रोग परीक्षणका लागि विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार उच्च बायोसेफ्टीसहितको ‘बीएसएल थ्री’ स्तरको प्रयोगशाला चाहिन्छ । यस्तो प्रयोगशाला देशका विभिन्न स्थानमा यसअघि नै खोल्नुपर्नेमा सरकारले समयमा सोच नपुर्‍याएका कारण नेपालमा ‘मलिक्युलर बायोलोजी’ सिस्टमबाट रोगको परीक्षण गर्ने क्षमता विस्तार हुन नसकेको हो ।

यद्यपि नेपालमा केही शैक्षिक संस्था र निजी स्वास्थ्य अनुसन्धानशालामा पनि ‘बीएसएल’ स्तरको प्रयोगशाला सञ्चालनमा आएका छन् । त्यसैगरी काठमाडौंमा विभिन्न ल्याबमा दस–बाह्र वटा ‘रियलटाइम पीसीआर’ भएको अनुमान छ । जहाँसम्म यो उपकरण चलाउन सक्ने जनशक्तिको कुरा छ, बायोटेक्नोलोजी र माइक्रोबायोलोजी अध्ययन गरी ‘रियलटाइम पीसीआर’ र भाइरसमा आधारित अनुसन्धानमा थेसिस वा शोध प्रकाशन गरेका व्यक्ति र निजी क्षेत्रमा भएका साधनस्रोतलाई प्रयोगमा ल्याई दक्षिण कोरियाको जसरी परीक्षणलाई व्यापकता दिन आवश्यक छ ।

सरकारले तत्काल १ लाख परीक्षण किट विदेशबाट खरिद गर्नुपर्छ र दैनिक कम्तीमा १ हजार स्याम्पल परीक्षण गर्नुपर्छ । आवश्यक परे ‘प्लेन चार्टर्ड’ गरेर भए पनि सरकार उक्त किट र उपकरण खरिद गर्न विशेष संवेदनशील हुनुपर्छ । ‘लकडाउन’ ले तत्कालका लागि केही राहत दिए पनि भाइरसको संक्रमण नियन्त्रण गर्ने उपयुक्त विकल्प होइन । स्मरण रहोस्, नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले त्रिविबाट मेडिकल माइक्रोबायोलोजी र बायोटेक्नोलोजी अध्ययन गरेकालाई स्वास्थ्य क्षेत्रमा काम गर्ने अनुमति दिएको छैन । नेपालमा पढाइ हुने एमबीबीएस शैक्षिक कार्यक्रममा ‘मलिक्युलर बायोलोजी’ पढाइ नहुने भएका कारण कतिपय चिकित्सक भाइरस जेनेटिक्स र आधुनिक परीक्षण विधिबारे जानकार छैनन् ।

आम जनतालाई कोरोना भाइरसको परीक्षणमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कुनकुन जिन, प्राइमर, प्रोब अर्थात् विस्तृत प्रोटोकल प्रयोग गरेको हो, सो सार्वजनिक गर्नुपर्छ । किनकि बिरामीबाट ‘स्वाब’ लिँदा भाइरस टाँसिएर आएन भने परीक्षण ‘फल्स नेगेटिभ’ आउँछ । यस्तो अवस्थामा बिरामीको स्वास्थ्य अवस्था र लक्षण हेरी पुनः परीक्षण गर्नुपर्छ । भुटानमा तीन पटक परीक्षण गर्दा नेगेटिभ रिजल्ट आएकामा चौथो पटकको परीक्षणमा कोरोना भाइरस पोजेटिभ रिजल्ट आएको थियो । त्यसबाहेक हालै वैज्ञानिकहरूले रगतमा एन्टिबडीको परीक्षण गरेर पनि कोरोना भाइरसको संक्रमण निश्चित गर्न सकिने बताएका छन् । यो दोस्रो विकल्पमा पनि स्वास्थ्य अधिकारीहरूले ध्यान दिन आवश्यक छ ।

झट्ट हेर्दा, सङ्क्रमितको सङ्ख्या युरोप र अमेरिका जस्ता आधुनिक जीवनशैली भएका देशहरूमा बढी र नेपाल लगायत अल्प विकसित मुलुकमा कम देखिएको छ । भाइरसको संक्रमण प्रत्येक व्यक्तिको रोगविरुद्ध लड्ने प्रतिरोधात्मक क्षमतामा निर्भर हुने भएकाले फरक भूगोल र वातावरणमा व्यक्तिविशेषमा यसको असर पृथक् हुन सक्छ । इतिहास हेर्ने हो भने नेपाललगायत कम विकसित मुलुकमा लामखुट्टेको टोकाइबाट सर्ने डेंगी भाइरसको संक्रमण बढी भेटिएको थियो । अर्थात्, कोभिड–१९ र डेंगी भाइरस तुलना गर्दा धनी र गरिब देशको जीवनशैली, वातावरण र मानिसको रोग प्रतिरोधात्मक क्षमतालाई पनि विश्लेषण गर्नुपर्छ । तथापि यसलाई पुष्टि गर्ने वैज्ञानिक आधार भने छैन ।

सरकारले गत फागुन २७ देखि नेपाल प्रवेश गर्ने विदेशीहरूले सेल्फ क्वारेन्टाइन र नेपाली नागरिक तथा गैरआवासीय नेपालीले होम क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था लागू गरेको थियो । त्यसबीच भारत र अन्य देशबाट नेपाल प्रवेश गरेका लाखौं मानिस कहाँ र कसरी बसेका छन्, यसको लेखाजोखा सरकारले गरेको छैन । यसमा विशेष चासो दिन आवश्यक छ, किनभने संक्रमण फैलिएका मुलुकबाट नेपाल प्रवेश गरेका केही व्यक्तिमा उक्त भाइरसको जोखिम नकार्न सकिँदैन ।

स्यानिटाइजर र मास्कको हल्ला
शोधकर्ताका अनुसार, हाल महामारीका रूपमा देखा परेको कोरोना भाइरस प्लास्टिक र स्टेनलेस स्टिलको सतहमा तीन दिनसम्म बाँच्न सक्छ । तामामा भने करिव चार घण्टा बाँच्ने अनुसन्धानले पुष्टि गरेको छ । वैज्ञानिकका अनुसार, नयाँ कोरोना भाइरसको प्रसारण ‘एरोसोल’ र भौतिक सामग्रीबाट हुन्छ । त्यसैले संक्रमण फैलिन नदिन स्यानिटाइजर र मास्कको प्रयोग विश्वव्यापी बढ्दो छ । नेपालमा पनि ललितपुर महानगरपालिकाले रक्सीबाट स्यानिटाइजर र कपडाको मास्क बनाउने तालिम सञ्चालन गरेको थियो । केही सञ्चार माध्यम योसँग जोडिएका वैज्ञानिक तथ्यलाई नहेरी ‘रक्सीबाट स्यानिटाइजर’ बन्ने भन्दै गलत प्रचारमा उत्रिए ।

विश्व स्वास्थ्य संगठनका अनुसार, स्यानिटाइजरमा इथानोल ८० प्रतिशत, हाइड्रोजन पेरोक्साइड शून्य दशमलव १२५ प्रतिशत, ग्लिसेरोल १ दशमलव ४५ प्रतिशत हुनुपर्छ । इथानोलको बदलामा ७५ प्रतिशत ‘आइसोप्रोपाइल अल्कोहल’ प्रयोग गर्न पनि सकिन्छ । त्यसै गरी अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार, स्यानिटाइजरमा कम्तीमा ६० प्रतिशत अल्कोहल हुनुपर्छ । स्मरण रहोस्, स्यानिटाइजरमा हाइड्रोजन पेरोक्साइडको मात्रा बढी हुनु हितकर हुँदैन । र, यसरी बनाएको स्यानिटाइजरलाई बजारमा ल्याउनुअगाडि फिल्टर गर्नुपर्छ, माइक्रोअर्गानिज्मबाट मुक्त गर्न । भारतमा गरिएको एउटा अनुसन्धानले प्रस्ट्याए अनुसार, विभिन्न बहुराष्ट्रिय कम्पनीले बनाएका स्यानिटाइजरले फरकफरक ‘एन्टी–माइक्रोबियल’ गुण देखाएका थिए । यसको अर्थ बजारमा पाइने सबै स्यानिटाइजरलाई एउटै कोटिमा राख्न मिल्दैन ।

सञ्चार माध्यमले चर्चा गरे जस्तो रक्सीबाट स्यानिटाइजर बनाउने काम अवैज्ञानिक नै हो । विश्व स्वास्थ्य संगठनले पनि रक्सीको प्रयोग गरेर स्यानिटाइजर बनाउन कसैलाई सल्लाह दिए जस्तो लाग्दैन । अप्रशोधित नेपाली रक्सी (तीनपाने) मा वास्तवमा एथाइल अल्कोहल मात्र हुँदैन । यसमा विभिन्न अल्कोहल फरकफरक परिणाममा हुन्छन् । अझ कसैले त रक्सी बनाउन अवैधानिक किसिमले युरिया मलसमेतको प्रयोग गर्ने गरेको सुनिएको छ । र, मिथाएल अल्कोहल लगायत रसायनका कारण विषालु रक्सीले मानिस मरेको समाचार आइरहेकै छ । यसरी गलत किसिमले स्यानिटाइजर बनाउने सन्देश प्रवाह गर्न आवश्यकै थिएन, किनकि नेपाली बजारमा एथाइल अल्कोहलको अभाव छ जस्तो लाग्दैन । संक्रमणको जोखिम कम गर्न ३० सेकेन्ड साबुनपानीले हात मिचेर धुँदा पनि हुन्छ, स्यानिटाइजर नै खोज्नुपर्ने पनि होइन ।

यसै गरी सञ्चार माध्यममा मास्कको कालोबजारीको कुरा निकै आयो । मास्कमै अनुसन्धान गरेका रसायनशास्त्री भानुभक्त न्यौपानेका अनुसार, कपडाबाट बनेको मास्क (अर्थात्, तीन तहको फिल्टर नभएका सर्जिकल मास्क) ले सडकको धूलो र ‘ड्रपलेट’ छेके पनि माइक्रोअर्गानिज्म रोक्न सक्दैन । मास्कमा कोरोना भाइरस नछिर्न त्यसको छिद्रको साइज कम्तीमा शून्य दशमलव ३ माक्रोन हुनुपर्छ । र, ‘एन–९५’ मास्कमा मात्र यो मापदण्ड पुग्छ । तर अन्तर्राष्ट्रिय स्वास्थ्य निकायका अनुसार, ‘एन–९५’ मास्क आम सर्वसाधारणलाई दैनिक प्रयोगका लागि डिजाइन गरेको होइन । अतः सरकारले आम जनतालाई मास्कको गुणस्तरमा आश्वस्त तुल्याउन आवश्यक छ । मास्कमा रहेको छिद्रको साइज किटान गरी माइक्रोअर्गानिज्म निर्मलीकरण गरेर मात्र मास्क बजारमा ल्याउनुपर्ने थियो । ‘युज एन्ड थ्रो’ प्रयोजनका लागि बनेको सर्जिकल मास्कको पुनर्प्रयोगले संक्रमण रोक्छ कि बढाउँछ ? अमेरिकाले स्वस्थ नागरिकहरूलाई मास्कको प्रयोगमा जोड दिएको छैन ।

अर्को पक्ष, भाइरसको संक्रमण रोक्न यसको क्यारियर (इन्टरमिडियट होस्ट) को सफाइमा जोड दिनुपर्छ । आम मानिसले दैनिक प्रयोग गर्ने सामग्रीको सरसफाइमाध्यान दिई संक्रमणको जोखिम कम गर्न सकिन्छ । सरकारले ‘क्लिनिङ प्रडक्ट’ वा ‘डिसइन्फेक्टेड’ मा प्रयोग हुने रसायन र त्यसको परिणाम र गुणस्तरमा पनि अब ध्यान दिनुपर्छ ।

अन्तमा, सरकारले कोरोना भाइरसको ‘मलिक्युलर बायोलोजी’ परीक्षण क्षमतामा वृद्धि गर्न निजी प्रयोगशाला र शैक्षिक संस्थासँग तत्काल सहकार्य गर्न आवश्यक छ । यसका लागि ‘मलिक्युलर बायोलोजी’ र ‘भाइरोलोजी’ को ज्ञान भएका नेपाली वैज्ञानिक वा प्राविधिकको पहिचान र परिचालन राज्यले गर्नुपर्छ । संक्रमणको जोखिम कम गर्न तत्काल ‘लकडाउन’ ले केही सहयोग गरे पनि यो दिगो समाधान होइन ।

पराजुली रसायनशास्त्र केन्द्रीय विभाग, त्रिविका प्राध्यापक हुन् ।

प्रकाशित : चैत्र ११, २०७६ १५:२५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×