१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

संक्रमणपछि अपनाउनुपर्ने सतर्कता

सम्पादकीय

मुलुकमा अर्को एक व्यक्ति पनि कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएको आइतबार पुष्टि भएसँगै प्रकोप फैलन नदिन थप सतर्कता अपनाउनुपर्ने देखिएको छ । फ्रान्सबाट कतार हुँदै आएकी ती युवती शंका लागेपछि अस्पताल पुगेकी थिइन् ।

संक्रमणपछि अपनाउनुपर्ने सतर्कता

त्यस क्रममा ‘स्वाब’ परीक्षण गर्दा कोरोनाको संक्रमण पाइएको हो । यस्तो अवस्थामा अब सरकारले प्राथमिकताका साथ ती युवतीको सम्पर्कमा आएका व्यक्तिहरू पहिचान गरी उनीहरूलाई पनि निगरानीमा राखी परीक्षण गर्ने व्यवस्था मिलाउनुपर्छ । र, कसैलाई संक्रमण पाइएमा उचित उपचारको बन्दोबस्त मिलाउनुपर्छ ।


ती युवती नेपाल आएको विमानमा को–को थिए ? विमानस्थलमा ओर्लिएपछि उनी त्यहाँ कस–कसको संसर्गमा रहिन् र त्यतिबेला अध्यागमन प्रक्रियामा संलग्न अधिकारीहरू को–को थिए ? त्यहाँबाट घर आउँदा चढेको गाडीका चालक को थिए, साथमा अरू थिए कि थिएनन् ? र, यसबीचमा उनले घरमा परिवारका सदस्य र अन्य कस–कसलाई भेटिन् ? सरकारले यी सबै व्यक्तिको खोजबिन गरी उनीहरूलाई निगरानीमा राख्नुपर्छ । परिवारका सदस्य र उनलाई भेटेका जति सबैले अविलम्ब आफूलाई अरूबाट अलग्गै राखी कुनै लक्षण देखिएमा परीक्षण गराउनुपर्छ । सरकारले उनीबाट संक्रमण सरेको हुन सक्ने व्यक्ति जति छिटो पहिचान गरेर ‘क्वारेन्टाइन’मा बस्न लगाउने र संक्रमित पाइए उपचार गर्ने व्यवस्था मिलाउँछ, यो प्रकोप फैलिने जोखिम पनि त्यति नै कम हुन्छ ।


यो प्रकोप फैलिएको झन्डै चार महिना भइसक्दा पनि यसअघि नेपालमा संक्रमणको एकमात्र घटना पाइएको थियो । संक्रमण फैलिन सुरु भएको चीनको वुहानबाट फर्किएका ती युवा उपचारपछि निको भएर माघ पहिलो साता नै घर फर्किसकेका थिए । यसबीचमा संक्रमणका अन्य घटना नदेखिँदा नेपालको रोकथामको तयारी मन्द थियो भने परीक्षण पनि तुलनात्मक रूपमा निकै कम भएका थिए/छन् । अब भने यो विषयलाई नयाँ दृष्टिकोणबाट हेर्ने र त्यसैअनुसार व्यवहार गर्नुपर्ने देखिन्छ । पछिल्लो चरणमा संक्रमणबाट प्रभावित अन्य मुलुकमा देखिएका र नेपालमै पाइएका दुइटा घटनाबाट के प्रमाणित हुन्छ भने तीव्र रूपमा संक्रमण फैलिएका देशहरूबाट स्वदेश फर्किएकाहरूले यो रोग भित्र्याइरहेका छन् । भारतलगायतका मुलुकमा उनीहरूबाट सरेर स्थानीय व्यक्ति पनि संक्रमित भएका धेरै घटना देखिइसकेका छन् । नेपालमा पनि स्थानीय व्यक्तिहरूमा यसको संक्रमण नफैलिएको होला भन्न सकिँदैन । त्यसैले, जोखिमपूर्ण यात्रा गरेका र उनीहरूको सम्पर्कमा आएका जति सबै व्यक्तिले आफूलाई घरमै अलग्गै राखेर केही लक्षण देखिएमा अनिवार्य परीक्षण गराउनुपर्छ ।


विमानस्थल हुँदै तेस्रो मुलुकबाट आएकाहरू मात्र होइन, नेपालले विशेष ध्यान भारततर्फबाट भित्रिएकाहरूमा पुर्‍याउनुपर्ने देखिन्छ । पछिल्ला दिनहरूमा भारतसितका मुख्य नाकाहरूबाट दिनकै दसौं हजार नागरिक व्यवस्थित परीक्षणबिनै स्वदेश आएका छन् । दुई सातायता मात्रै भारतबाट झन्डै ६ लाख मानिस भित्रिएको जनाइएको छ । सीमाबाट भित्रिनेहरूको संख्या यति बाक्लो देखिन्थ्यो कि, तीमध्ये कसैलाई संक्रमण भएको रहेछ भने सजिलै अरूलाई सर्न सक्ने अवस्था थियो । त्यसैले उनीहरूबाट संक्रमण नफैलियोस् भनेर विचार पुर्‍याउन पनि उत्तिकै आवश्यक छ । उनीहरू सबैलाई सरकारले अनिवार्य रूपमा दुई साता घरमै क्वारेन्टाइनमा बस्न भनेको छ । सरकारको यो अनुरोधलाई अनुशासित भएर पालना गरी उनीहरूले रोगका कुनै लक्षण देखिएमा परीक्षण गराउनुपर्छ । आफ्नो परिवार र समुदायलाई संक्रमणको जेखिमबाट जोगाउनु उनीहरूको ठूलो दायित्व हो ।


गृह मन्त्रालयले शनिबार ७७ वटै जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई भारतबाट विभिन्न नाका हुँदै नेपाल भित्रिएका नागरिकको संक्षिप्त परिचय, जान लागेको जिल्ला, स्थानीय तह र वडाको समेत विवरण संकलन गरेर क्वारेन्टाइनमा बसे–नबसेको अनुगमन गर्न निर्देशन दिएको छ । मन्त्रालयले यस्तो निर्देशन धेरै पहिले नै दिनुपर्थ्यो । नाकाहरूमा पनि धेरैवटा स्वास्थ्य जाँच डेस्क राख्नुपर्थ्यो र उनीहरूको ठेगाना, फोन नम्बरलगायत आवश्यक विवरण टिप्नुपर्थ्यो । ढिलै भए पनि मन्त्रालयको निर्देशन सकारात्मक छ । सम्बन्धित सबै निकायले यसको गम्भीरतापूर्वक पालना गरी जोखिमको सम्भावना न्यून गर्न भूमिका खेल्नुपर्छ ।


खासगरी, सम्बन्धित पालिका र वडाहरूको यसमा महत्त्वपूर्ण भूमिका हुन सक्छ । राजनीतिक दलका स्थानीय कार्यकर्ताहरूले पनि रचनात्मक योगदान पुर्‍याउन सक्छन् । उनीहरू सबै मिलेर आफ्नो वडा तथा गाउँ–ठाउँमा विदेशबाट आएका व्यक्तिको अभिलेख राखी क्वारेन्टाइनमा बसे–नबसेको अनुगमन गर्न सक्छन् । किनभने, यति बेला सरकारी संयन्त्र र नागरिकले सबैले ध्यान दिनुपर्ने विषय एउटै छ– विदेशबाट फर्किएकालाई दुई सातासम्म अन्य व्यक्तिको सम्पर्कमा जान जति रोक्न सकिन्छ, संक्रमण फैलने सम्भावना त्यति कम हुन्छ । यसका लागि स्थानीय समुदाय र नागरिक तहले समेत सरकारी संयन्त्रलाई सक्नेसम्मको सहयोग पुर्‍याउनुपर्छ ।

प्रकाशित : चैत्र ११, २०७६ १५:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?