अपाङ्गतामैत्री सूचना- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अपाङ्गतामैत्री सूचना

लक्ष्मणप्रसाद ज्ञवाली

नेपालका संविधान र कानुनहरूले पनि अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकतामा राखी उनीहरूको सर्वोपरि हितको परिकल्पना गरेका छन् । यति हुँदाहुँदै पनि समग्र अपाङ्गता भएको वर्ग नै हरेक प्रकारको प्रकोपको चपेटामा पर्ने गरेको छ । यसै कुरालाई ध्यानमा राखी सीआरपीडीको धारा ११ मा ‘....सशस्त्र द्वन्द्व, मानवीय संकट तथा प्राकृतिक प्रकोपको अवस्था लगायत जोखिममा अपाङ्गता भएका व्यक्तिको संरक्षण र सुरक्षा सुनिश्चित गर्न आवश्यक सम्पूर्ण उपाय अवलम्बन गर्नेछन्’ उल्लेख छ । संख्यामा थोरै भए पनि जोखिमका दृष्टिले अति खतरामा अपाङ्गता भएको वर्ग हुन्छन् । अहिले महामारीको रूपमा देखापरेको कोरोना भाइरसबाट अपाङ्गता भएका व्यक्तिलाई जोगाउन राज्यले विशेष व्यवस्था गर्नुपर्छ ।




अपाङ्गता भएका बाहेक पनि गर्भवती महिला, बालबालिका, ज्येष्ठ नागरिक, मधुमेह तथा उच्च रक्तचापका बिरामी आदिलाई उच्च सतर्कताका साथ जोखिमबाट सुरक्षित गरिनुपर्छ । नेपाली ऐन–कानुनहरूमा दैवी प्रकोपबाट नागरिकलाई कसरी संरक्षण गर्ने भन्ने बारेमा नसोचिएको होइन । दैवी प्रकोप उद्धार ऐन–२०३९ मा ‘दैवी प्रकोपबाट प्रभावित व्यक्तिलाई उद्धार तथा पुनःस्थापनाका लागि आवश्यक स्रोतसाधनको समेत अनुमान गरी... विभिन्न निकायमा पेस गर्नुपर्ने’ सम्मको व्यवस्था छ । तर अपाङ्गता भएका व्यक्तिकै लागि भनेर विशेष व्यवस्था उक्त ऐनले गर्नसकेको छैन । तर, जोखिममा रहेका अपाङ्गता भएका व्यक्तिलाई विशेष सेल्टरको व्यवस्था गर्न सकिने बाटो यो ऐनमा खोलिएको छ । यो ऐनले कोरोना भाइरसको महामारीको अवस्थामा के गर्ने भन्ने विषयलाई दिशानिर्देश गरेको छ । त्यस्तै प्राकृतिक प्रकोप पूर्वसूचना रणनीति २०६७ मा ‘अपाङ्गता, जनजाति, सिमान्तकृत लगायत अन्य विशेष अवस्थाका समुदायलाई लिङ्ग र उमेरको आधारमा तथ्यांकको वर्गीकरण गर्नुपर्ने’ प्रावधान छ । राज्यको प्राथमिकतामा अपाङ्गता भएका व्यक्ति पनि छन् । त्यसैगरी यो रणनीतिमा धेरै जसो संकटापन्न व्यक्तिमा बालबच्चा, वृद्धवृद्धा, गर्भवती महिला तथा अपाङ्गता भएका व्यक्ति पर्छन् । अनि व्यक्ति केन्द्रित पूर्वसूचना प्रणालीको व्यवस्था यो रणनीतिले गरेको छ । सरकारले जोखिममा रहेका वर्गका लागि पूर्वसूचनाको विशेष व्यवस्थाको आवश्यकता पनि बुझेको छ । अहिलेको कोरोना आतंकको समयमा पूर्वसूचना अपाङ्गतामैत्री ‘फर्म्याट’ को हुनुपर्छ । र, सबै प्रकारका अपाङ्गता भएका व्यक्तिको पहुँचमा सहजै पुर्‍याउन राज्यको भूमिका जरुरी छ । आम नागरिकको संरक्षणको तयारी मात्रैले विपत् व्यवस्थापनको कार्य हुँदैन । अपाङ्गता भएका व्यक्तिको आवश्यकता पूरा गर्नुपर्ने हुन्छ । राज्यका सबै कार्यक्रम अपाङ्गतामैत्री हुनुपर्नेमा कुनै द्विविधा छैन । राज्यले कोरोना संकट विरुद्धको तयारीमा धेरैको आशंका छ । तर, हामीले सरकारले आफ्नो क्षमता अनुसार तयारी गरिरहेको छ भन्नेमा विश्वास गर्नुपर्छ ।


राष्ट्रिय अपाङ्ग महासंघले हालै महामारीको उच्च जोखिममा अपाङ्गता भएका व्यक्तिहरू छन् र उनीहरूको आवश्यकतालाई प्राथमिकतामा राख्नुपर्छ भन्दै विज्ञप्ति जारी गरेको छ । अपाङ्गता भएका व्यक्तिको अवस्था विविधतापूर्ण छ । त्यसैले आवश्यकता पनि उत्तिकै फरक हुन्छ । केही अपाङ्गता भएका व्यक्तिका प्राकृति आम अपाङ्गताभन्दा फरक हुन्छ । र, उनीहरू उच्च जोखिममा हुन्छन् । कुनै खास प्रकारको शारीरिक वनाबटकै कारण पनि रोग प्रतिरोध क्षमताको कमी हुने गर्छ । अरू अपाङ्गता भएकाको तुलनामा यस्ता व्यक्ति शारीरिक रूपमा कमजोर हुन्छन् । यसले कोरोना भाइरस संक्रमणको जोखिम तुलनात्मक रूपमा बढी हुन्छ । र, त्यस्ता अपाङ्गता भएका व्यक्तिलाई विशेष संरक्षणको रणनीतिक योजना बनाएर अघि बढ्नुपर्छ । आम नागरिकको संरक्षण योजनामा अपाङ्गता भएका व्यक्तिको सुरक्षा पार्नु स्वाभाविक हो । तर, आम नागरिकसँगै राखेर अपाङ्गता भएका व्यक्तिको सरोकारलाई सम्बोधन गर्न सकिन्न । अपाङ्गता भएका व्यक्तिका लागि विशेष प्याकेज बनाउनुपर्छ । यसरी बनाइने विशेष सुविधायुक्त व्यवस्थालाई विभेदकारी व्यवस्थाका रूपमा लिइनु हुँदैन । जनचेतना र सचेतनाका कार्यक्रम र विशेषगरी पूर्वसूचनाका कार्यक्रम अपाङ्गता भएका व्यक्तिलाई बढी महत्त्वपूर्ण हुन्छन् । सबै सूचनाका स्रोत अपाङ्गतामैत्री हुनुपर्छ । र, आम अपाङ्गता भएका व्यक्ति शिक्षाको अवसरबाट समेत बञ्चित रहेको यस अवस्थामा पूर्वसूचना अति नै महत्त्वपूर्ण हुन्छ । कानुन अघि सबै नागरिक बराबर हुन्छन् । समान संरक्षणबाट कसैलाई पनि बञ्चित गरिने छैन भन्ने कुरा संविधानको मूलमर्म हो । तर अपाङ्गता भएका व्यक्तिको आवश्यकता विशेष हुन्छ । अनि प्रकोप र महामारीमा सबैभन्दा बढी जोखिमको वर्गलाई राज्यले प्रमुख प्राथमिकताका राख्नुपर्छ ।


सरकारले विपत् जोखिम न्यूनीकरणका लागि नियमित सचेतनाको व्यवस्था मिलाएकै छ । वार्षिक बजेटमा प्राकृतिक प्रकोप न्यूनीकरणका लागि विनियोजित बजेट कति छ कति । बजेटको व्यवस्था त्यति ठूलो होइन, सरकारले तत्काल निर्णय गरी समावेशी सिद्धान्तका आधारमा अति जोखिमयुक्त व्यक्तिहरूलाई विशेष व्यवस्था गरी सम्भावित खतराबाट जोगाउने निर्णय गर्नु ठूलो हो । २०७२ सालको भूकम्पका बेला नेपाल टेलिकमले दिएको सुविधा होस् वा यातायात व्यवसायीले पुर्‍याएको सेवा ती सबैको महत्त्व थियो । चाहे राजनीतिक संकटमा होस् वा प्राकृतिक प्रकोप, सबै नेपाली एक भई सामना गरेका इतिहास हाम्रा अगाडि ताजै छन् । भूकम्पमा होस् वा नाकाबन्दीको समयमा, नेपालीले एक भएर विषम परिस्थितिको सामना र समाधान गरेका थिए । अहिलेको कोरोना समस्यालाई पनि सहजै सामना र परास्त गर्ने तयारी गरेर अगाडि बढ्नुको विकल्प छैन । तयारी गर्ने क्रममा अपाङ्गता भएका व्यक्तिको माग र सरोकारलाई पनि सम्बोधन गरियोस् ।


नेत्रहीन अधिवक्ता ज्ञवाली अपांगतासम्बन्धी कानुनका विद्यावारिधि हुन् ।

प्रकाशित : चैत्र १०, २०७६ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्

लन्डनमा एक नेपालीलाई कोरोना संक्रमण

नवीन पोखरेल

लन्डन — लन्डनमा  एक नेपाली महिलालाई कोरोना भाइरस(कोभिड-१९) को संक्रमण भएको छ । कोभिड-१९ पोजिटिभ देखिएपछि लन्डनमा सामाजिक अभियन्ताको कामसमेत गर्दै आएकी  भगवती रानाभाट अस्पताल भर्ना भएकी छन् ।

शुक्रबारदेखि उनी लन्डनको ह्यारोस्थित नर्थविक पार्क अस्पतालको क्रिटिकल केयर युनिटमा उपचार गराइरहेकी छन् । ‘१० दिनको सेल्फ आइसोलेसनपछि कोभिड-१९ सँग लड्दै छु’, आइतबार बेलुका उनले आफ्नो फेसबुकमार्फत भनेकी छिन् ।

फेसबुकमा आफ्नो संक्रमणबारे राख्ने सोच नभए पनि आफन्त एवं साथीभाइलाई थप भयावह बनाउला भन्ने सोचेर पूर्व सतर्कताका लागि पोस्ट गरेको उनको भनाइ छ । उनले सबैलाई विशेष सावधानी अपनाउन पनि अनुरोध गरेकी छन् । उनलाई सयौंले आत्मबल बढाउन र शीघ्र स्वास्थ्यलाभका लागि कामना गरेका छन् ।

पारिवारिक श्रोतका अनुसार, गत ८ तारिख दिउँसो उनी लन्डनको भेन्यू फाइभमा आयोजित अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रममा सहभागी भएकी थिइन् । त्यसको भोलिपल्ट ९ तारिख मध्यरात १२ बजेदेखि उच्च ज्वरोले समात्यो । छोरी फर्मासिस्ट भएकाले सिटामोल र आइबुप्रोफिन लिन सुझाइन् ।

औषधिले निको नभएपछि गत १८ तारिख बुधबार हस्पिटल गएर एक्सरे गरेपछि एन्टिकायोटिक लिइरहेकी उनलाई शुक्रबार घरैमा एम्बुलेन्स आएर अस्पताल लगेको बताइएको छ । उनलाई संक्रमण भएपछि श्रीमान् मीन रानाभाटसहित एक छोरा र छोरी अहिले घरमा सेल्फ आइसोलेसनमा छन् ।
कोभिड १९’ का कारण बेलायतमा आइतबारसम्म २८१ जनाले ज्यान गुमाएका छन् भने ५ हजार ६ सय ८३ मा संक्रमण पाइएको छ ।

‘कोभिड १९’ संक्रमण फैलिएसँगै बेलायतको नेपाली समुदाय पनि सतर्कता अपनाउन लागेको छ । कोरोनाभाइरस संक्रमण तीव्र भइरहँदा नेपालीमाझ सूचना आदानप्रदान, आवश्यक सहयोग र समन्वय कायम गर्न लन्डनस्थित नेपाली दूतावासले राजदूत दुर्गाबहादुर सुवेदीको अध्यक्षतामा कोरोना प्रकोप सूचना आदानप्रदान, समन्वय तथा सहयोग समिति र अन्य विषयगत समितिहरु गठन गरेको छ ।

दूतावासले जनस्वास्थ्य तथा सचेतना सहयोग समिति, स्वयंसेवक सहयोग समिति, वृद्धवृद्धा तथा भूतपूर्व गोर्खा सहयोग समिति, युवा तथा विद्यार्थी सहयोग समिति र सूचना संकलन सहयोग समिति गठन गरेको हो । गैर आवासीय नेपाली संघ बेलायतले पनि कोरोना हेल्पलाइन सुरु गरेको छ ।

प्रकाशित : चैत्र १०, २०७६ ०८:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×