भ्रमपूर्ण सन्देश रोकौं

सम्पादकीय

यति बेला सिंगो विश्व समानान्तर गतिमा फैलिरहेजस्ता देखिने दुई संक्रमणबाट गुज्रिरहेको छ– कोरोना भाइरस (कोभिड–१९) र सामाजिक सञ्जालमार्फत फैलिने अफवाह, भ्रम र तोडमोड गरिएका तथ्यहरू । यी दुवैको संक्रमण तीव्र गतिमा विस्तार भइरहेको छ र त्यसको असर नेपालजस्ता अविकसित देशहरूमा सघन रूपमा महसुस हुँदै छ । विषम परिस्थितिमा सूचना प्रसार कसरी गर्ने भन्ने ज्ञान नभएको, सरकारी तहबाट व्यवस्थित सूचना प्रसार नभइरहेको, अनि सामाजिक सञ्जालमार्फत प्रसारित अपुष्ट सूचनामा छिट्टै विश्वास गर्ने समाज रहेको कारण अफवाहको संक्रमण झनै तीव्र हुने खतरा छ । 

अहिले नेपालसँग सिमाना जोडिएका छिमेकी भारतका विभिन्न राज्यमा कोरोना संक्रमण द्रुत गतिमा फैलिरहेको छ । खुला सीमा र सीमावर्ती नाकामार्फत भइरहेको हजारौंको सहज आवागमनले सम्भावित जोखिमतर्फ संकेत गरिरहेको छ । यो पृष्ठभूमिमा राज्यका तर्फबाट आसन्न विषम परिस्थितिबारे आम जनतालाई नियमित रूपमा सुसूचित गराउने प्रणाली नहुँदा भ्रमपूर्ण विवरणहरूको तीव्र प्रसार भइरहेको छ । विश्व स्वास्थ्य संगठनले भनेझैं कोरोनाझैं गलत सूचनाको संक्रमण तीव्र बन्दै जाँदा अफवाह फैलिने र सत्यभन्दा त्रासदीपूर्ण खबरहरू शक्तिशाली भई आम मानिसमा मनोवैज्ञानिक असर पार्ने खतरा उत्तिकै छ ।


कोरोनाको सम्भावित संक्रमण रोक्न केही दिनयता राज्यस्तरबाट केही राम्रा प्रयासहरू भइरहेका छन्, तर ती पर्याप्त छैनन् । खासगरी संकटसँग जुध्ने तयारी, त्यस क्रममा देखापर्न सक्ने अप्ठ्यारा र हाम्रो सीमितताबारे जनतालाई राम्रोसँग सुसूचित गराउने काम हुन सकेको छैन । औषधि पत्ता नलागिसकेको र उपचारको सर्वमान्य विधिसमेत निर्क्योल नभइसकेको यो महामारीहाम्रा निम्ति बिल्कुलै नयाँ हो । यसको प्रारम्भिक रोकथाम र संक्रमण फैलिसकेपछि राज्यले निर्वाह गर्नुपर्ने भूमिकाको विषयमा सार्वजनिक वृत्तमा ठूलो चासो छ । यस्तो जनचासोलाई सम्बोधन गर्न स्वास्थ्य मन्त्रालय वा मन्त्रालयसम्बद्ध विभागहरूले आफ्नो आधिकारिक वेबसाइट वा फेसबुकमा सन्देश छाडेरमात्रै पुग्दैन ।


कोरोना संक्रमण र यसबाट सिंगो अर्थ–सामाजिक व्यवस्था र मनोविज्ञानमा पार्ने गम्भीर प्रभावलाई बुझेरै संक्रमणको जटिल प्रभाव झेलिरहेका अमेरिका र युरोपका मुलुकहरूले एकद्वार प्रणालीमार्फत नागरिक र सञ्चार माध्यमसँग निरन्तर संवाद जारी राखेका छन् । राज्यका जिम्मेवार पदाधिकारीहरूले प्रत्येक दिनजसो पत्रकार सम्मेलनमार्फत आफूले गरेका काम र विकसित परिस्थितिबारे बताउँदै नागरिकलाई आश्वस्त पार्ने प्रयास गरिराखेका छन् । यी देशहरूले फेसबुक, ट्वीटर, इन्स्टाग्राम, ह्वाट्सएप, भाइबर आदिमार्फत पनि सक्रियताका सूचना प्रवाह गरिरहेको देखिन्छ । तर हामीकहाँ त्यस्तो अवस्था छैन । यहाँ अफवाह र भ्रमको तीव्र प्रसार सामान्य मानिसबाट मात्रै भइरहेको छैन, जिम्मेवार तहसमेत त्यसको स्रोत बनेको देखिन्छ ।


पछिल्ला दिनमा सामाजिक सञ्जालमार्फत भ्रम र अफवाह फैलाउने केही व्यक्तिको पहिचान गरेर प्रहरीले नियन्त्रणमा लिन थालेको छ । तर त्यतिले मात्रै अफवाह र तथ्यहीन तर्कहरूको प्रसार रोकिँदैन । खासगरी सरकारका मन्त्री, दलका नेताहरूले भाइरस संक्रमणबारे जसरी सार्वजनिक अभिव्यक्ति दिइरहेका छन्, त्यसले आम मानिसलाई आश्वस्त पार्नेभन्दा पनि भ्रम फैलाउने काम गरिरहेको छ । केही साताअघि मात्रै पर्यटनमन्त्री योगेश भट्टराईले आसन्न परिस्थितिको सामान्य ख्याल पनि नगरी कोरोनामुक्त देश भनेर प्रचार गर्दै पर्यटक भित्र्याउन सकिन्छ भन्ने अभिव्यक्ति दिएका थिए । शनिबारमात्रैस्याङ्जा पुगेर भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारीअर्यालले नेपालीको रोगसँग लड्न सक्ने क्षमता रहेकाले कोरोनाले केही गर्दैन भन्ने आशयको अभिव्यक्ति दिइन । यस्ता भनाइ वैज्ञानिक आधारसम्मत थिएनन् । तर दूरदराजसम्म फैलिएको सामाजिक सञ्जालमार्फत यस्ता भ्रम–प्रसार तुरुन्तै भयो ।


आफूले गरेको प्रयास र भइरहेका कामबारे सार्वजनिक जानकारी दिन सरकारले कुनै मन्त्री वा अधिकारीलाई ‘फोकल पोइन्ट’ बनाउनुपर्छ र उनैमार्फत सबै सूचना प्रवाह हुने व्यवस्था मिलाउनुपर्छ । सरकारले एकद्वार नीतिबाट सूचना सम्प्रेषण गर्न नसक्दा सामाजिक सञ्जालमा सरकारप्रति अविश्वास त पोखिएको छ नै, सरकारी कमजोरीको फाइदा उठाउँदै सस्तो लोकप्रियता कमाउन व्यक्तिगत तवरबाट अफवाह फैलाउने काम पनि भइरहेको छ । झन् महामारीजस्तो विषम परिस्थितिमा त भ्रमपूर्ण सूचनाकै बलमा कालोबजारी मौलाउने, सर्वसाधारणलाई गुमराहमा राखेर सार्वजनिक शान्ति खलबल्याउने खतरासमेत छ ।


संक्रमणको महामारीमा राज्यले गरेका प्रयासमा नागरिकस्तरबाट सहयोग जुट्न जरुरी छ । तर त्यसका निम्ति राज्यले आफूले गरेको प्रयास र सम्भावित परिस्थितिबारे नागरिकलाई निरन्तर सूचित गरिराख्नुपर्छ, जसका लागि सरकारका अनेकन मुखबाट आपसमा बाझिने तथ्यहीन अभिव्यक्तिहरू दिने कार्य मन्त्री र जिम्मेवार पदाधिकारीले तुरुन्त बन्द गर्नुपर्छ । प्रकाशित : चैत्र १०, २०७६ ०७:५२

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

संकटमा नागरिकको दायित्व

सम्पादकीय

यतिखेर सम्पूर्ण विश्व ठूलो संकटबाट गुज्रिरहेको छ । ११ हजारभन्दा बढी मानिसको ज्यान लिइसकेको कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावित नभएका देश विरलै छन् । अहिलेसम्म विश्वभर झन्डै तीन लाख मानिस यसबाट संक्रमित भएको पुष्टि भइसकेको छ । जानकारहरू भन्दै छन्, यो स्तरको सर्वव्यापी त्रासदी पहिलो र दोस्रो विश्वयुद्धमा पनि थिएन ।

पश्चिमा विकसित मुलुकहरूसमेत विषाणुको संक्रमणसँग जुध्न र जनजीवन सामान्य राख्न कायल भइरहेको अहिलेको अवस्थामा साधनस्रोतले कमजोर नेपालजस्ता मुलुकका निम्ति प्रकोपको सम्भावित जोखिमसँग जुध्ने कार्य निकै चुनौतीपूर्ण छ । सरकारले आफ्नो ठाउँबाट कतिपय प्रयत्नहरू गरेको देखिन्छ । निश्चय पनि, सरकारी तयारीमा कमी होला, आलोचना गर्ने ठाउँ होलान्, तर सत्य के हो भने यो स्तरको संकटसित जुध्न सरकार एक्लैले सक्दैन । निजी क्षेत्र र नागरिक तहबाट पनि सबैले आफूले सकेको पहल गर्न आवश्यक छ । सरकारलाई सघाउन तथा मुलुकको अवस्था सामान्य राख्न मात्र होइन, आफू, आफ्नो परिवार र समुदायलाई जोगाउन पनि यसबेला नागरिकहरू स्वयं सचेत हुन जरुरी छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा पनि नागरिकहरूलाई सावधान रहन आग्रह गरेका छन् । सरसफाइमा उचित ध्यान दिन, साबुन पानीले पटकपटक हात धुन र स्यानिटाइजर प्रयोग गर्न भनेका छन् । भीडभाडबाट टाढै रहन, सकेसम्म घरमै बस्न, अत्यावश्यक वस्तुको अधिक सञ्चय नगर्न, हल्ला र अफवाहहरूबाट भ्रमित र प्रभावित नहुन र चिकित्सक, विज्ञ तथा प्राविधिकहरूको सल्लाह पालना गर्न सुझाएका छन् । धैर्यवान र सावधान हुन, संयम अपनाउन र आतंकित नहुन अनुरोध गरेका छन् । प्रधानमन्त्री ओलीले संक्रमित मुलुकबाट नेपाल आएका सबैले आफू बच्न, आफ्नो परिवारलाई बचाउन र समुदायलाई संक्रमणबाट जोगाउन १४ दिन घरमा क्वारेन्टाइन बसी ‘सबै दिदीबहिनी तथा दाजुभाइहरूले यस अप्ठ्यारो घडीमा जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्ने’ विश्वास व्यक्त गरेका छन् । संक्रमणबाट जोगिन अरू चिकित्सक तथा विज्ञहरूले दिएका सुझाव पनि यस्तै छन् । त्यसैले नागरिकहरूले यस्तो अनुरोधको जति पालना गर्छन्, मुलुकमा संक्रमणले घर गर्ने सम्भावना त्यति नै कम हुन्छ ।

खुसीको कुरा, नागरिक सचेतनाका केही राम्रा उदाहरणहरू देखिन थालिसकेका छन् । केही जागरुक युवाले सीमा नाकाहरूमा भारतबाट आउनेको स्वास्थ्य जाँचमा सघाइरहेको खबर आएका छन् । सहरका कतिपय पसल तथा चोक/दोबाटोमा सर्वसाधारणले नै साबुन पानीले हात धुने व्यवस्था गर्न थालेका छन् । यस्तो कार्यलाई अझ व्यापक बनाउँदा सबैको हित हुन्छ । यसका लागि सरकारकै मुख ताक्नु पनि पर्दैन । यस्तै सावधानी सार्वजनिक यातायातमा पनि अपनाउन जरुरी छ । सार्वजनिक यातायात सञ्चालकहरूले आफ्ना चालकलाई मास्क र यात्रुका लागि ह्यान्ड स्यानिटाइजरको अनिवार्य व्यवस्था गर्नुपर्छ । चालक तथा यात्रुहरूलाई संक्रमण नसरोस् भन्नेमा विचार पुर्‍याउनुपर्छ ।

संक्रमणबाट जोगिने प्रमुख उपाय, सकेसम्म घरबाट बाहिर ननिस्किनु हो । वृद्धवृद्धा वा जोखिममा भएका समूह यसमा बढी सावधान हुनुपर्छ । सरकारले अत्यावश्यकीय सेवा बाहेकका कार्यालयहरू केही दिनका लागि बन्द गर्नुको कारण पनि यही हो । हामी नागरिकहरूले यसको अर्थ बुझ्न सक्नुपर्छ । बाहिरफेर निस्किनुपर्ने घरका सदस्यले परिवारमा जोखिममा भएका व्यक्तिसित निश्चित दूरी कायम गर्नुपर्छ । बाहिर निस्कँदा पनि सकेसम्मकहीँ भीडभाड गर्नुहुँदैन, त्यस्तो स्थानमा जाँदा अनिवार्य मास्कपहिरिनुपर्छ । सामाजिक दूरी जति कायम गर्न सक्यो, संक्रमणको जोखिम त्यति नै कम हुन्छ ।

खासमा, कोरोना प्रभावित बाह्य मुलुकबाट आएकाहरू बढी नै सतर्क भई दुई सातासम्म घरमै ‘क्वारेन्टाइन’ मा बस्नुपर्छ । किनभने, कसलाई संक्रमण छ, कसलाई छैन भन्ने सजिलै थाहा हुँदैन । कुनै व्यक्तिलाई संक्रमण भएको लक्षण देखिँदासम्म उसमार्फत धेरैलाई रोग सरिसकेको हुन सक्छ । त्यही भएर आफू, आफ्नो परिवार र समुदाय सबैलाई जोखिमबाट टाढा राख्न बाह्य मुलुक तथा सीमा पारबाट आएका नागरिकहरू अत्यन्त सचेत हुन आवश्यक छ । संकटको यो घडीमा यस्ता व्यक्तिले आफूलाई कडा अनुशासनमा राख्नैपर्छ । सबैले बुझ्नुपर्छ– सरकारी अनुरोध नटेर्नु वा कसैको आँखामा छारो हाल्नु कुनै गर्वको विषय होइन, आफू र आफ्नो परिवार, साथीभाइ र समाजलाई धोका दिनु हो ।

साथै, अहिलेको संकटमा नागरिकहरूले पसल नै रित्तिने र बजारको आपूर्ति प्रणाली प्रभावित हुने गरी अनावश्यक खाद्यान्न सञ्चय गर्नु हुँदैन । सबै जनाले उस्तै संकट बेहोर्नुपरेको यो घडीमा कसैले पनि ‘मै मात्र खाऊँ’ भन्ने लालच राख्नु उचित हुँदैन । कदाचित लामो समयसम्म संकट लम्बियो भने यस्तो प्रवृत्तिका कारण भोलि कसैकोमा घरभरी खाद्यान्न हुने, कसैले हातमा पैसा हुँदा पनि पसलमा किन्न नपाउने परिस्थिति सिर्जना हुन सक्छ । त्यसैले अहिले हरेक नेपालीमा जिम्मेवारीबोध र मानवीय भावनाको खाँचो छ । आसन्न संकटसित जुध्ने तयारीका लागि सरकारलाई आग्रह गर्दैगर्दा हामी सबै जनाले आ–आफ्नो नागरिक दायित्व निर्वाह गर्न पनि नभुलौं ।

प्रकाशित : चैत्र ९, २०७६ ०८:४७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×