१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

सुष्मा समर्पित जीपी

बाहिर देखिएभन्दा विपरीत मायालु स्वभाव, पारिवारिक सामिप्यता, नारीप्रति सम्मानभाव, पारिवारिक अनुशासनको पालना आदि गुणसहित बनेको जीपीको नीजि व्यक्तित्व राजनीतिक व्यक्तित्वकै छायामा परेको हो कि जस्तो लाग्छ ।
उषा थपलिया

नेपाली कांग्रेस पार्टी प्रमुखको हैसियतले ४ पटकसम्म देशको कार्यकारी प्रमुख बनेका पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला हेर्दा रूखो, निरस र दम्भी देखिन्थे । तर उनको जीवनबारे खोतल्ने हो भने अनुमानभन्दा विपरीत तथ्य भेटिन्छ । अझ उनले आत्मसात् गरेको वैवाहिक जीवनलाई नियाल्दा उनको उचाइ जत्तिकै उच्च श्रद्धा जाग्छ ।

सुष्मा समर्पित जीपी

२८ वर्षमा सन् १९५२ मा सुष्मासँग उनले भागी विवाह गरेका थिए । तत्कालीन समाज मात्र पुरातनवादी सोचले ग्रसित थिएन, राजनीतिक र शैक्षिक चेतनाले क्रान्तिकारी ठानिएको कोइराला परिवारसमेत बाहिर देखिएजस्तो क्रान्तिकारी बन्न नसकेका कारण सुष्मासँग विवाहकालागि जीपी (गिरिजाप्रसाद) स्वयम्ले भने क्रान्तिकारी ‘जम्प’ नहानी सुख पाएनन् ।

उनको पुस्तक ‘आफ्नै कुरा’ मा उल्लेख भएअनुसार २००७ सालपछि उनकी भाउजु नोना कोइरालालगायत महिलाले विराटनगरमा नारी जागृती स्कुल खोलेका थिए । सोही स्कुलको प्रशासकको पदमा काम गर्न बनारस हिन्दु विश्वविद्यालयबाट बीए उत्तीर्ण गरेकी सुष्मालाई बोलाइयो । उनी जीपीकै घरमा बसेर स्कुलमा काम गर्थिन् ।

एकदिन सुष्माले नै जीपीसँग विवाहको प्रस्ताव राखिन्, जीपीले केही समय पर्खन आग्रह गरे । प्रेम बाक्लिंदै जाँदा भारत स्वतन्त्र भएको दिन विवाह गर्ने निर्णय भयो तर सुष्माको पहिल्यै विवाह भैसकेको कारण देखाउँदै आमालगायत पारिवारिक सदस्यबाट बिहेको स्वीकृति जुटेन ।

त्यसपछि केही आफन्तको साथ जुटाएर जीपीभागी विवाहकोलागि कलकत्ता हानिए । त्यहींको एक बोटानिकल गार्डेनमा सामान्य ढंगले बिहे गरेर सुष्मालाई आफ्नी सहयात्री बनाउनु त्यतिबेला जीपीको प्रगतिशील कदम थियो ।

जिन्दगीको उर्वर समय जेलमै बिताएका जीपीले श्रीमतीको साथ २ वर्षभन्दा बढी सँगै गुजार्न पाएनन् । उनका अनुसार २००७ सालमानेपालमा प्रजातन्त्र आयो, भुटानमा पनि ल्याउनु पर्‍यो भन्दै भुटानीहरू आएर जीपीलाई उता जान आग्रह गरे । भर्खर बिहे भएकोले श्रीमतीलाई छाडेर जाने मन उनको थिएन तर भुटानीहरूको आग्रहलाई टार्न नसकेर उनी भुटान हानिए ।

त्यहाँ चलेको आन्दोलनका क्रममा गोली लागेर प्रदर्शनकारी घाइते भएको खबर सुन्दा सुष्मालाई जीपी पनि परे कि भन्ने चिन्ता । उता, आफू भुटान लागेपछि जन्मिएकी बालख छोरी सुजातालाई लिएर घरमा रहेकी पत्नी सुष्माप्रति जीपीको गहिरो ममता र अनुराग । दुवैतर्फ अवस्था सहज थिएन । जसोतसो भुटानको अवधि व्यतित गरेर नेपाल फर्केपछि २०१७ सालको तरंगमा जीपी जेल परे, छुटेपछि बीपीलाई छुटाउन राजासँग चरण चरणको वार्ता गर्ने धुन प्रधान भैदियो । त्यही कालखण्डमा घरभित्रकै हृदयविदारक दुर्घटनाका कारण सुष्मा वियोगको अनन्त पीडा क्रूर नियति बनेर जीपीमाथि बज्रियो ।

जम्माजम्मी १५ वर्ष वैवाहिक जीवन बिताएका जीपीले पत्नी बिनाको ४३ वर्ष (सन् १९६७—२०१०) एक्लै गुजारे । मातृवियोगको बेला किशोरावस्थाको प्रारम्भिक खुट्किलो मात्र टेकेकी छोरीको अभिभावकत्व बाबुकै एकल दायित्वभित्र खुम्चियो ।

उनलाई राजनीतिक क्रियाशीलता र व्यवहारिक तादात्म्य मिलाउन सजिलो थिएन । राजनीतिक र घरायसी दुवै अवस्था हेर्दा अर्को विवाह उनका लागि जरूरी थियो तर अर्को बिहेको लागि उनलाई पारिवारिक दबाब आयो आएन, आएको भए त्यसलाई कसरी पाखा लगाउँदै उनी अघि बढे, त्यो उनको पुस्तकमा उल्लेख छैन ।

अर्को विवाहबारे उनको आफ्नै दृष्टिकोणसम्वन्धी जानकारी कतै भेटिन्न तरसबैलाई जानकारी भएको कुरा चाहिंके हो भने उनले अर्को विवाह नगरी एकल जीवन गुजारेर यस धर्तीबाट विदा भए ।

पत्नी अभावमा एकल पुरुषका जिन्दगी अव्यवस्थित, अस्तव्यस्त र कारूणिक देखिन्छ । त्यो सहानुभूति बटुल्न देखाउने नियत हो या उनीहरूभित्रको स्वाभाविक नियति, किटान गर्न अली गाह्रै छ ।

एकल भएको १५ दिन बित्न नपाउँदै अर्को घरजम बसाउने हुटहुटी जुनसुकै उमेरका पुरुषहरूमा देखिन्छ ।आफ्नो अन्तरमनको चाहनालाई समाजले उपलब्ध गराइदिएको लाभको जलप लगाउँदै दोस्रो घरबार बसाउन पुरुषहरू ढिला गर्दैनन्तर जीपी कोइरालाले पत्नी मृत्युपछिका सारा जीवन एकल निर्वाह गरे ।

उनको रुटिनबद्ध सक्रिय दैनिकी, व्यक्तित्व र पहिरनमा देखिने स्मार्टनेस, सकारात्मक सोच यी सबै कुरालाई नियाल्दा अन्य पुरुषहरूका कमजोरीबाट उनी मुक्त देखिए । हरेक दिन आफ्नो रुटिनमा चल्ने, सफाचट रहने, सफा र चित्ताकर्षक पोशाकमा सजिने, शरीरलाई लाभ पुग्ने खानपान अपनाउने, भेटघाट/जमातमा मन्द मन्द हाँसो र आक्कल–झुक्कल ठट्यौली पनि गर्ने, अरूप्रति मायाममता वर्षाउने लगायतका सकारात्मक गुणबाट उनी कहिल्यै विमुख नभएको उनलाई नजिकबाट चिन्नेहरू बताउँछन् ।निरन्तर बढेको राजनीतिक जिम्मेवारी निर्वाहमा समेत एक्लोपनले शिथिलता ल्याएको देखिएन ।

पत्नीसहित पारिवारिक सदस्य गुमाउँदै एक्लो भएको एक पुरूषले जीवनभर आफूलाई सँधै ‘फिट एन्ड फाइन’ राख्न सक्नु सामान्य कुरा थिएन ।

एकान्तै प्यारो वा त्यसैमा रमाउने व्यक्तिभित्र पनि पर्दैनथे जीपी । यति सम्मकि एक्लै खाना खान पटक्कै मन नलाग्ने आफ्नो बानीबारे उनले ‘आफ्नै कुरा’मा उल्लेख गरेका छन् । सपरिवार जम्मा भएर एकसाथ खाने पहिलादेखिकै चलनका कारण एक्लाएक्लै खाएको उनलाई मन पर्दैनथ्यो तर प्रधानमन्त्री निवासमा भूताहा खानाजस्तो एक्लै खानुपर्ने अवस्थाप्रतिको उकुसमुकुस सोही पुस्तकमा उनले यसरी पोखेका छन्, ‘ए कसैलाई बोलाओ न ! बाटोमा हिँडेको मानिस भए पनि हुन्छ । सँगै बसेर खाउँ । कमसेकम टेबल त भरियोस् ।’

‘नोना र सुशीला दुई भाउजुको निधनपछि कोइराला निवास विराटनगर पुग्दा सुनसान र खिन्न महसुस हुने अनि पहिलाजस्तो जाउँजाउँ लाग्न छाडेको’ उनकै कथनले पनि उनी एकान्तप्रेमी होइनन् भन्ने देखाउँछ । अरू पारिवारिक सदस्यको अभावमा त त्यती संवेदनशील हुने जीपीले पत्निबिनाको ४३ वर्ष कति रिक्ततामा काटे होलान् ?

त्यस्तै, खाना बनाउन महाभारत लाग्ने उनीबारेको अर्को खुलासाले समेत परिवारबिनाको उनको दैनन्दिन कष्टबारे अनुमान गर्न सकिन्छ । श्रीमहल बन्दीगृहमा रहँदा बन्दीहरूले पालैपालो भात पकाउनुपर्ने नियम रहेछ । भात पकाउनमा रूची नभएकोले पकाउनुको साटो भाँडा मोलिदिने विचार उनले व्यक्त गरेछन् । साथीहरूले नमानेपछि दुई दिन खाना पकाउँदै जीपी हायलकायल भएछन् र पकाउने कामबाट छुटकारा पाउने उपाय रच्न थालेछन् ।

भात पकाउँदा झ्यालबाट माड बाहिर पोख्ने चलन रहेछ तर जीपीले आफ्नो पालोमा भातसहितको भाँडो नै जानाजान तल फ्याँकिदिएछन् र साथीहरूलाई चिप्लिएर झर्‍यो भनेछन् । त्यही घटनाबाट खाना बनाउने मेलोमेसो जीपीको ठीक रहेनछ भन्ने साथीहरूले बुझेपछि आफूले पकाउने कामबाट मुक्ति पाएको उनले व्यक्त गरेका छन् । यसरी खानपानमा आफ्नो मनमौजीपना साँध्न नसक्ने अनि एकान्तमा रमाउन नसक्ने स्वभावका जीपीको एक्लो र निस्सार जिन्दगी कति बोझिलो थियो होला ?

यौनका मामिलामा बीपीको स्पष्टताउनका कृतिहरूमा पाइन्छ तर जीपीका यस्ता खाले धारणा कतै उल्लेख छैनन् । पत्नीको मृत्युपछि बिहे नगरेपनि यौनको व्यवस्थापनतिर उनी लागे कि लागेनन् यात्यस सन्दर्भमा कुनै महिलासँग उनको निकटता कायम भयो कि भएन, त्यो प्रष्ट छैन । यद्यपि, आफ्नै दल भित्रका केही महिलाहरूसँग उनको भावनात्मक निकटता थियो भन्ने चर्चा यदाकदा बाहिर नआएको होइन । तर आमचासो मुखरित हुनेगरी तीसम्बन्धी उनका कुनैपनिक्रियाकलाप कतै छरपस्टिएनन् ।

पिता कृष्णप्रसाद कोइरालाले दुईटा बिहे गरेको दृष्टान्त उनकै आँखा अघि थियो । परिस्थितिले श्रृजना गराएको राजनीतिक दायित्वबाट श्रृजित तनाव अनि घरपरिवारमा छाउँदै गएको एक्लोपना दुवैबाट त्राण पाउने उपायको रूपमा दोस्रो विवाह स्वाभाविक हुनसक्थ्यो तर त्यतातिर ध्यान नदिनुको कारण पत्नी सुष्माप्रतिको उनको लगाव र समर्पण नै हो कि भनेर अड्कल काट्न सकिन्छ ।

५ पटकसम्म प्रधानमन्त्रित्व सम्हालेका महिलाअधिकारमुखी प्रधानमन्त्री भनेर इतिहासमा नाम लेखाउने अवसर भने उनले पाएनन् । अर्थात् महिलाहरूको स्तरोन्नतिका खातिर उनीबाट त्यस्तो विशेष काम हुन सकेन तर महिलाप्रति उनीभित्र उच्च सम्मानभाव रहेको उनको कृति र अभिव्यक्तिबाट थाहा हुन्छ ।

‘महिला र पुरूष बग्गीका दुई चक्का हुन्, दुवैलाई सँगसँगै लिएर जानुपर्छ’ आमाको यही वचनका कारण जीवनभर महिलाको सम्मान गर्नुपर्छ भन्ने मान्यता आफूले नछोडेको उनले आफ्नो पुस्तकमा व्यक्त गरेका छन् ।

आफूलाई रमाइलो चाहिने मान्छेको रूपमा प्रस्तुत गर्न पनि उनी चुकेका छैनन् । ‘तपाइँ राजनीतिक गर्नुहुन्छ कि के गर्नुहुन्छ ? के राजनीतिमा परिवारलाई हेरिंदैन ?’ पत्नी सुष्माको यस्तै असन्तुष्टि बेलाबेला पोखिंदा जीपीलाई भने कोठाबाट आफूलाई निकालीदिने हुन् कि भन्ने डर लाग्थ्यो रे । त्यसैको निप्टाराकोलागि हप्ताको एकपटक बजार गएर, पिकनिक गएर मनोरञ्जनको माहोल तयार गर्ने गरेको उनले सोही पुस्तकमा उल्लेख गरेका छन् ।

राजनीति छोडेर सामान्य पारिवारिक जीवन बिताउन पनि उनले नचाहेका हैन रहेछन् तर त्यसो गर्न समयले नदिएको उनको गुनासो छ । यी प्रसंगका कारण उनी बाहिर देखिएजस्तो निरस र एकान्तप्रेमी नभएको प्रष्ट हुन्छ । बाहिर देखिएभन्दा विपरीत मायालु स्वभाव, पारिवारिक सामिप्यता, नारीप्रति सम्मानभाव, पारिवारिक अनुशासनको पालना आदि गुणसहित बनेको जीपीको नीजि व्यक्तित्व राजनीतिक व्यक्तित्वकै छायामा परेको हो कि जस्तो लाग्छ ।

नेपाली समाजका अधिकांश पुरूषभन्दा अलग रहेर जिन्दगीका ४३ वर्ष एकल पुरूषकै रूपमा निर्भिकतापूर्वक आफ्नो जिन्दगीलाई अघि बढाउने आदर्श व्यक्तित्वको रूपमा उनको चर्चा हुन सकेन । जिन्दगीमा आइपरेको परिस्थितिसँग सामना गरेर त्यसको असर व्यवहारमा झल्कन नदिई आफ्नो जीवन सार्थक ढंगले जिउने उनको कलाको विवेचना कतैबाट भएन ।

थोरै समय एकल हुनुपर्दा समेत अनेक बहाना तेर्साएर आफ्नो आत्मबल आफै कमजोर बनाउने र समाजको सहानुभूति बटुल्ने पुरुषहरूका लागि उनको जीवन गतिलो जबाफ हो र शिक्षा लिन चाहनेका लागि अथाह प्रेरणा पनि । अहिले राजनीतिक वृत्तका उच्चस्तरकै नेताहरूबहुविवाह, परस्त्रीगमन तथा बलात्कारजस्ता आपराधिक गतिविधिमा संलग्न भएर आफ्नो वैवाहिक तथा पारिवारिक मर्यादाबाट जसरी च्यूत भइरहेका छन्, त्यसको अगाडि जीपीको व्यक्तित्व स्तुत्य ठहर्छ ।

प्रधानमन्त्रीको हैसियतले उल्लेखनीय महिलामुखी काम गर्न नसकेपनि आफ्नो व्यक्तिगत जीवनकालमा महिलाको सम्मान उँचो बनाउन भने उनी सफल रहे । बिहे भैसकेकी महिलासँग बिहे गर्न घरपरिवारसँग संघर्ष गर्नु, तत्कालीन समयमा एक छोरीबाटै सन्तानसुखको अनुभूति तृप्त गर्नु अनि पत्नी वियोगको पीडा सहँदै उनैप्रतिको समर्पणभाव जीवनभर कायम राख्नसक्नु जीपीको सबैभन्दा ठूलो नारीसम्मान् भाव हो । व्यवहारिक कसीमा घोटिएर नारी सम्मानकाखातिर आफ्नो उच्च पहिचान स्थापित गर्न सफल उनै जीपीप्रति हार्दिक श्रद्धासुमन ।

प्रकाशित : चैत्र ७, २०७६ ११:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?