१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

कोरोना संकटकाल

निश्चय नै कडाइका साथ नियम पालन गरे–गराइए भाइरस संक्रमण रोकथाम हुन्छ नै र होला निर्मूल पनि, तर यति नराम्ररी थलिएको विश्व फेरि कसरी उठ्छ र पहिलाकै अवस्थामा फर्किन्छ भन्ने विषय र यसबारे आकलनचाहिं अहिले नै कुनै पनि अर्थशास्त्रीका वशको गणित होइन ।

अलि विलम्बले नै सही, सरकारले कोरोना प्रकोपविरुद्ध सही कदम चालेको छ । मुलुकलाई बाह्य सम्पर्कबाट विच्छेद गरेर महामारीको प्रभावबाट बचाउन लिइएको पछिल्लो निर्णय निश्चय नै सराहनीय छ । साथै बचावका स्वास्थ्यसम्बन्धी उपायहरू अवलम्बन गर्ने विषयमा जारी निर्देश नागरिक स्तरबाट पनि पालना भएमा निश्चय नै जोखिम धेरै कम हुनेछ ।

कोरोना संकटकाल

अन्य मुलुकका तुलनामा नेपालले संकटसँग जुध्ने पर्याप्त समय र अवसर पाएको हो । भलै यो उतिखेर चीनमा सीमित थियो तर यहाँ पनि पुसदेखि नै चर्चा–परिचर्चा हुन थालेको हो । त्यतिबेला सरकारले कति सुन्यो र तयारी गर्न थाल्यो, त्यो सरकारी मानिसलाई नै थाहा होला । तथापि, यी हरफ लेखिँदै गर्दाको समयसम्म प्राप्त आधिकारिक सूचनाअनुसार एकजनाबाहेक अरूमा संक्रमण नदेखिएको र संक्रमित पनि निको भएको भनिएकाले धेरैले नेपालमा कोरोना नभित्रिएको भनेर पत्याएका छन् ।


विश्व त्रस्त छ आज । आतंकित, भयभीत छ । यस अदृश्य शत्रुले समस्त विश्वलाई आक्रान्त पारेको छ । यो शत्रु कुनै बन्दुकधारी आतंककारी होइन, तर हजारौं बन्दुकधारीभन्दा धेरै खतरनाक छ, अत्यन्त सूक्ष्म अत्यधिक संक्रमणशील विषाणु । यो शत्रु सम्पर्कमा आउनासाथै पौराणिक ग्रन्थहरूमा वर्णित रक्तबीज दानवझैं हजारौंहजारको संख्यामा गुणित हुँदै फैलिन्छ । चिकित्सकहरू भन्छन्, हुनलाई यो प्रतिवर्ष सक्रिय हुने फ्लुकै सगोत्री हो तर ती फ्लुहरूभन्दा धेरै शक्तिशाली छ ।


मैले ठीक डेढ महिनापूर्व आफ्नो नियमित स्तम्भमा ‘कोरोना कहर’ लेख्दा, यो भाइरस चीनमा सीमित रहेको बताइँदै थियो । विज्ञहरूले गरेका अध्ययन विवरण अनिश्रव्य–दृश्यहरू नियमित रूपमा पछ्याइरहेको हुँदा चीनमा उत्पन्न भएको यो विषाणु ज्यादै संक्रमणशील छ भन्ने जानकारी मिलेको हो, अरूलाईजस्तै मलाई पनि । त्यतिबेलै विज्ञहरू सतर्कता अपनाइएन भने यसले विश्वव्यापी रूप लिन सक्छ भन्ने आशंका गरिरहेका थिए । तर सरकारहरू, विशेष गरी ताइवान, सिंगापुर जस्ता केही अपवादबाहेक, सुस्त थिए । यताकाको विषयमा त के भन्नु, कतिपय मन्त्री र सांसदहरू नै विदेश भ्रमणको तालिका पछ्याइरहेका थिए ! उन्नत मानिएको युरोपमै समेत त्यतिखेर महामारी यतिविधि फैलिन्छ भनेर नपत्याएकै फलस्वरूप उनीहरू चीन आवतजावत गरिरहे । चिनियाँहरूले पनि युरोपलाई आफ्नो गन्तव्य बनाइरहे ।


भाइरससँग गरिएको लापरबाही र यसको प्रभावको अवमूल्यनका कारण यसलाई फैलिन सजिलो भयो । पन्ध्रदिनपहिला यसै विषयमा ‘महामारीविरुद्ध युद्ध’ आलेख तयार गरिरहँदा कोरोनाले चीनको सरहद पार गरेर सुदूर इटालीलाई गाँज्न थालेको र अमेरिका हान्न सुरु गरेको थियो । फ्रान्स, जर्मनी, स्विटजरल्यान्ड र बेलायतलाई स्पर्शमात्रै होइन, गाँज्न थालेको थियो । संयुक्त राज्य अमेरिकामा कतिपय संक्रमितको मृत्यु भइरहेको थियो । भारतलाई भर्खर–भर्खर छुँदै थियो । आजका मितिमा यसको केन्द्रविन्दु चीनबाट इटालीमा स्थानान्तरित भएको छ । पश्चिम एसिया (मध्यपूर्व) ले पनि युरोपलाई पछ्याइरहेको छ ।


तात्पर्य के भने, विश्वभर र मुलुकभित्रै नागरिक स्तरमा यतिका चर्चा–परिचर्चा भइरहँदा सरकारकाकानसम्म सूचना पक्कै पुगेका थिए । त्यति हुँदाहुँदै पनि अन्तर्राष्ट्रिय विमानस्थल, सीमानाकाहरूमा भरपर्दो ढंगले जाँच नभइरहेको यथार्थ भोग्नेहरू बताइरहेका छन् । क्वारेन्टाइनमा पर्याप्त ध्यान दिइएको छैन । संक्रमण भित्रिन नदिन र भित्रिहाले फैलिन नदिन एकान्तवास (आइसोलेसन) कक्षहरूको पर्याप्त प्रबन्ध भइसक्नुपर्ने हुन्थ्यो र हुन्छ । कामना गरौं, पछिल्लो समयमा भने यावत् प्रबन्ध गरिएको छ ।


विज्ञहरूका अनुसार यसबाट बच्ने उपाय हात धुने, सरसफाइमा ध्यान दिने एवं आइसोलेसन हो र आइसोलेसन नै हो । तर, यहाँ कतिपय जानकारीमा आएका सूचना हेर्दा पर्याप्त प्रबन्ध भएको पाइँदैन । साथै जानिफकारहरूसमेत यथार्थ परिदृश्य भनेअनुसारको छैन भनिरहेका छन् । विभिन्न समाचार माध्यमका अनुसार सीमानाकामा जाँचको यथोचित प्रबन्ध गरिएको छैन । विमानस्थलमा समेत भरपर्दो ढंगले चेकजाँच भइरहेको छैन । ख्याल रहोस्, सरकार निर्णय गर्ने तर कार्यान्वयन गर्ने निकायहरूमा तत्परताका साथसाथै सेवाभाव भएन भने कार्यसम्पादन भरपर्दो हुँदैन । एक कानले सुन्यो अर्का कानले उडायो भनेजस्तै हुन्छ । एउटा सानो चूक भएमा संक्रमण देशव्यापी हुन कत्तिबेर पनि लाग्नेछैन ।


कुनै पनि विषयको सही जानकारी सम्बन्धित विषयका विज्ञहरूसँग हुन्छ । यहाँ विज्ञहरूलाई आदर गर्ने प्रथा छैन । सरकारमा पुग्नेहरू त्यहाँ पुग्दैमा आफू आफै विज्ञ ठान्छन् (विज्ञ हुन कहाँ त्यति सजिलो छ र ! विषयगत ज्ञानमा उमेर पकाएको हुनुपर्छ) । त्यसैले सम्बन्धित विषयका विज्ञलाई सुनियोस् । किनभने विषयविज्ञ नै यस्तो कुरामा भरपर्दा हुन्छन् । साथसाथै यस्ता विषयमा ‘अविज्ञ’हरूको पनि प्रशस्तै भूमिका हुन्छ । जस्तोकि, सञ्चार माध्यमहरूकै भूमिका सरकारको भन्दा कम हुँदैन, किनभने जनस्तरमा सूचना पुग्ने र जनस्तरको सूचनालाई नीति–निर्मातालगायतका सम्बन्धित अख्तियारवालासम्म पुर्‍याउने काम यिनैले गरिरहेका हुन्छन् । फेरि विज्ञहरूलाई प्रकाशमा ल्याउने पनि सञ्चार माध्यम नै हुन् ।


चीनमा सञ्चारका माध्यम स्वतन्त्र नहुँदा तथा सार्वजनिक भएका सूचना सुरुमै दबाइएका र सूचकमाथि नै कारबाही गरिएका कारण आज यस प्रकोपले पूरै ग्रहलाई गाँजेको अवस्था छ । यसबाट सिकियोस्, सूचनाको निर्बाध प्रवाहका साथै सूचनाहरूमाथि नजर र तिनको लगातार विश्लेषण गरियोस् । निश्चय नै यसबीच चिनियाँ संयन्त्रले आफ्नो देशभित्र भाइरसलाई अरू फैलिन दिएको छैन, तर त्यहाँको शासनको दमनकारी नीतिले गर्दा विश्व नै आक्रान्त हुनाका साथै यो दर्दनाक अवस्थामा पुगेको हो । निश्चय नै नियन्त्रणका मामिलामा चीनले सराहनीय काम गरेको छ, तर यो पनि बिर्सन मिल्दैन, यस्तो अवस्था उपस्थित हुनाकोकारण चीनकै स्वतन्त्र सञ्चारविरोधी निरंकुश पद्धति हो ।


मध्य मंसिर अर्थात् डिसेम्बर २०१९ मा चीनको हुवेई प्रान्तको वुहानमा यो भइरस देखा परेको थियो र आफ्नो आशंकासहित यस सम्बन्धमा सर्वप्रथम सूचना सार्वजनिक गर्ने डाक्टर ली वेनलियाङ नै स्थानीय शासनबाट कारबाहीमा परेका थिए । पछि गएर डाक्टर लीको कोरोनाकै कारण मृत्यु भयो । चीनको शासनले रोगलाई गुपचुप राख्ने गरी देश र विश्वलाई सूचनाको अधिकारबाट वञ्चित गरेको हुँदा समस्त विश्व नै आज बन्दीतुल्य भएको छ । भाइरस संक्रमणका कारण हजारौंको ज्यान गएको छ ।यसले अरू कति मानवीय क्षति गर्छ, त्यो अनुमानबाहिर छ । अर्थतन्त्रको हालत के हुन्छ, त्यो झन् अनुमानभन्दा परै छ । पूरै गणित गडबड भएको छ । अर्थतन्त्रको मेरुदण्ड भनेको प्रकारान्तरमा मानवीय गतिविधि नै हो र गतिविधि नभएपछि उत्पादन हुँदैन, आयआर्जन हुँदैन । लाल बुझक्कडहरूले जेसुकै भनिरहे पनि थेगिन्छ कसरी, यस विषयमा आज कुनै पनि प्रकाण्ड अर्थशास्त्रीले सटिक केही पनि भन्न सक्दैन ।


निश्चय नै कडाइका साथ नियम पालन गरे–गराइए भाइरस संक्रमण रोकथाम हुन्छ नै र होला निर्मूल पनि, तर यति नराम्ररी थलिएको विश्व फेरि कसरी उठ्छ र पहिलाकै अवस्थामा फर्किन्छ भन्ने विषय र यसबारे आकलनचाहिं अहिले नै कुनै पनि अर्थशास्त्रीका वशको गणित होइन । किनभने उन्नत भनिएका राष्ट्रहरू नै आज ठप्प छन् र राज्यव्यवस्थाहरू झनै त्रस्त छन् । अत्यन्त उत्तम भनी मानिआइएको व्यवस्थाले पनि काम गरिरहेको छैन ।

किनभने यस प्रकारका शत्रुको सामना गर्ने हिसाबले प्रचलित प्रणालीहरू नबनेका हुँदा व्यवस्थाहरू जरैदेखि हल्लिएका छन् । यो शत्रु भयानक छ र भविष्यका गर्भमा यस्ता अरू शत्रु पर्खिरहेका होलान् । शत्रु पनि कस्तो शत्रु भने, देखिँदैन तर मानिसलाई गाँजिसकेको हुन्छ । अत्यन्त तीव्र गतिका साथ गाँज्दै–गाँज्दै फैलिन्छ । आज पृथ्वीमा जति पनि जीवित मानिस छन्, यतिखेर उनीहरू पहिले कहिल्यै नभोगेको अवस्था भोग्दै छन् । आजका जीवितहरू कुनै पनि महामारी यति व्यापक रूपमा र विश्वभर फैलिएको पहिलो पटक भोग्दै छन् । धनी देशहरू, गरिब देशहरू सबैको बेहाल छ । संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियादेखि नेपालको कावासोतीसम्म सबैका अनुहारमा त्रास छ ।


धेरै सडक निर्जन, बजार र आधुनिक मलहरू सुनसान छन् । विदेशका तस्बिरहरू, श्रव्य–दृश्यहरू हेर्दा, कुनै चहलपहल छैन, गतिविधि ठप्प । सडकमा जति पनि मानिस देखिन्छन्, धेरैजसो संक्रमणबाट बच्न मास्कले मुख छोपेका । रूपै बदलिएको छ मान्छेको । काला, गोरा सबै एकछत्र भएका छन् तर एकअर्कासँग त्रसित । सामाजीकरण, परस्पर हेलमेल, जो मानिसका स्वाभाविक गुणहरू हुन्, आज वर्जित हुन पुगेका छन् । के थाहा, कसले बोकेको छ कोरोना! आफू आफैं र आफ्नैसित त्रसित छन् मानिस । किनभने यो विषाणु डरलाग्दो गरी फैलिन्छ, अत्यन्तसंक्रमणशील छ भन्ने व्यापक प्रचार हुनाका साथै यसको खोप नै नभएको हुँदा आतंकको मात्रा अरू वृद्धि भएको छ । नियन्त्रणमा आइसकेपछि पनि यसका कारण चुकाउनुपर्ने सामाजिक मूल्य निश्चय नै सानो हुनेछैन । यसले अर्थतन्त्र, अर्थतन्त्रमात्र नभनौं, कतिपयको मानसिक स्वास्थ्यमा समेत दूरगामी असर पार्नेछ । जीवनको हरेक क्षेत्र प्रभावित हुनेछ र यसको प्रतिध्वनिले अहिले बाँचिरहेको पुस्तालाई निकै परसम्म पछ्याउनेछ ।


अझ गहिरिएर सोच्ने हो भने, विश्वले अवलम्बन गरिरहेका पद्धतिहरूमाथि नै पुनर्विचार गर्नुपर्ने अवस्था आएको प्रतीत हुन्छ । किनभने विषयविज्ञहरू सचेत गराइरहेका हुन्छन्, तर शासनाधिकारीहरू खतरालाई गम्भीरतापूर्वक लिँदैनन् । प्रशासन कछुवातालले काम गर्छ । नेताहरू गम्भीरतापूर्वक लिनुसट्टा आरोप–प्रत्यारोपमा रमाउँछन् । सुरुका अवस्थामा विज्ञमाथि मजाक नै गर्छन् । विशेषज्ञ, वैज्ञानिकहरूका कुरा सुन्दैनन् । चीनमा महामारी फैलिरहँदा र यसको विस्तार हुन्छ र यो चीनको सरहदभित्रै सीमित रहँदैन भनिरहँदा संयुक्त राज्य अमेरिकाका कतिपय पदाधिकारी त्यस्ता कथनलाई हाँसोमा उडाइरहेका थिए ।


यसर्थ, अरूका र आफ्ना गल्तीबाट सिक्दै नेपालले आज स्वास्थ्य सम्बन्धी विज्ञहरूबाट सल्लाह, सुझाव र सेवा लिँदै यो विश्वव्यापी संकटकालको सामना गर्नुको विकल्प छैन । पूर्ण तयारीका साथ प्रस्तुत हुनुको विकल्प छैन र विकल्प छैन जोगिनु र जोगाउनुको ।

प्रकाशित : चैत्र ७, २०७६ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?