नेपाल कति कोरोना-संवेदनशील ?

सिंगापुरले हरेक दिन ५० लाख जनाको शरीरको तापक्रम निगरानी मात्र गरेको छैन, विमानस्थलदेखि सीमानाकासम्मै कोरोनाको परीक्षण गरिरहेको छ ।
अंगराज तिमिल्सिना

सुरुमा चीनको मात्र समस्या देखिएको नोवेल कोरोना भाइरसको विश्वव्यापी फैलावटले यसको प्रभावकारी रोकथाम कसरी गर्ने, यसले अर्थतन्त्रमा पार्ने असर कसरी कम गर्ने जस्ता बहस निम्त्याएको छ । विकासशील देशको त कुरा छोडौं, संकटका बेला यथाशीघ्र राज्यका संरचना प्रभावकारी रूपले परिचालन गर्न सक्ने क्षमता नभए कोरोना महामारी वा अरू कुनै दैवी विपत्ति धान्न सरकारलाई धान्न गाह्रो हुने यथार्थ महाशक्ति अमेरिकादेखि इटाली, स्पेन, फ्रान्स, जर्मनी र बेलायत जस्ता सम्पन्न देशसम्मको अनुभवले देखाउँछ ।

नेपाल कति कोरोना-संवेदनशील ?

सन् २००३ मा फैलिएको सार्स भाइरसबाट सिकेर आपत् धान्ने बलियो संरचना बनाएका ताइवान र सिंगापुर अनि कोरोना संक्रमण दुईचार दिनमै ह्वात्तै बढे पनि महामारी नियन्त्रण गर्न सफल दक्षिण कोरियाले विश्वलाई ठूलो शिक्षा दिएका छन् । चीनले सुरुमा सूचना लुकाएको र लापरबाही गरेको आरोप लागे पनि त्यति धेरै जनसंख्या भएको देशले छोटो समयमा प्रभावकारी नियन्त्रण गर्न सक्नु सराहनीय छ ।


सुरुका दिनमा चीनको महामारी हेरिबसेका धेरै देशमा अहिले आआफ्ना सिमाना बन्द गर्ने होड चलेको छ । यद्यपि यी देशमा यसअगाडि नै कोरोना फैलिसकेको छ । उसो त प्रख्यात समाजशास्त्री जेरी डायमन्डले ‘गन्स, जर्म्स एन्ड स्टिल’ किताबमा ‘इतिहासका विभिन्न कालखण्डमा कुनै सभ्यता फस्टाउनु त कुनै सभ्यता नष्ट हुनुको एउटा कारण भाइरस जस्ता कीटाणुको फैलावट र यसले समाजविशेषलाई पार्ने असर पनि हुन्छ’ भन्नु साँचो हो कि भन्ने देखिएको छ । यद्यपि विगतमा प्लेग जस्ता रोगले लाखौं मान्छे मर्नुपरे पनि एक्काइसौं शताब्दीको प्रविधि, विज्ञान अनि चेतनामा हासिल भएको उल्लेख्य उपलब्धिका कारण अहिले त्यस्तो ठूलो मानवीय क्षति हुने देखिँदैन ।


अर्कातिर विश्व यातायात, पर्यटन र व्यापार आदिले जेलिएका कारण पूर्ण रूपले सिमाना बन्द गर्न सकिने अवस्था पनि छैन । युरोप, उत्तर अमेरिका, अफ्रिका लगायतका महादेशमा कोरोनाको महामारी भर्खर सुरु भएको छ । विभिन्न ‘इपिडेमिओलजिकल मोडेल’ हरूले यी देशको जनसंख्याको ४० देखि ७० प्रतिशतसम्म संक्रमण हुन सक्ने देखाएको छ र भविष्यमा के हुने भन्नेबारे तीनवटा अडकलबाजी गरिएको छ । पहिलो, खोप (भ्याक्सिन) वा प्रभावकारी इलाजको आविष्कार नहुन्जेल यो समस्या विश्वमा रहिरहनेछ । दोस्रो, गर्मी लागेपछि रुघाखोकी र अरू रोग जस्तै यो निष्क्रिय हुँदै जानेछ । तेस्रो, गर्मीमा निष्क्रिय भए पनि अर्को जाडोयाम लाग्दा फेरि फर्किनेछ ।


ठूलो महामारी देखिएको देशमा या त जाँच (स्क्रिनिङ) राम्रो छ या महामारी नै धेरै फैलिएको छ । जस्तो कि, चीन र इटालीपछि तेस्रो नम्बरमा रहेको दक्षिण कोरियाले एकै दिनमा १० हजारजतिको कोरोनाको परीक्षण गरिरहेको छ । सिंगापुरले त हरेक दिन ५० लाख जनसंख्याको शरीरको तापक्रमको निगरानी मात्र गरेको छैन, विमानस्थलदेखि सीमानाकासम्मै कोरोनाको परीक्षण गरिरहेको छ ।


कोरोनाको कहरले विश्वमा कति क्षति पुर्‍याउला भन्ने कुरा भविष्यले बताउला, तर सापेक्षित रूपमा अहिले यसको फैलावट रोक्न सफल भएका देशहरूबाट नेपालले सिक्न जरुरी छ । ताइवानमा अहिलेसम्म ५९ जनामा कोरोना देखिएको र १ जनाको मात्रै मृत्यु भएको छ भने, २०० भन्दा बढीमा संक्रमित देखिएको सिंगापुरमा अहिलेसम्म १ जनाको पनि मृत्यु भएको छैन ।

अर्थतन्त्रमा कोरोनाको असरलाई लिएर अमेरिकादेखि युरोपेली समुदायसम्म, ताइवानदेखि अस्ट्रेलियासम्म, चीनदेखि भारतसम्म, जापानदेखि सिंगापुरसम्मले मौद्रिक र वित्तीय साधनको प्रयोग गरेर विभिन्न खाले नीतिहरूको घोषणा गर्ने होडबाजी चलेको छ ।

चीनमा कोरोना देखिनेबित्तिकै सिंगापुर र ताइवानले आफ्नो आपत्कालीन संरचना (रेस्पोन्ड कमान्ड सेन्टर र मन्त्रीस्तरीय समन्वय समिति) सक्रिय बनाए । ताइवानले त कोरोनाबारे बुझ्न एउटा टिम नै चीन पठायो भने, चीनमा कोरोना फैलिएलगत्तै यात्रामा प्रतिबन्ध लगाउने, चीनबाट आएकालाई ‘क्वारेन्टाइन’ गर्ने र फेस मास्कको निर्यातमा रोक लगाउने काम गर्‍यो । समयमै यात्रामा रोक लगाउनु चानचुने कुरा थिएन, किनभने लाखौं मान्छे हरेक महिना चीन र ताइवानबीच यात्रा गर्छन् । एक महिनामा ५ हजारभन्दा बढी चीन जाने फ्लाइटहरू छन् ।


कोरोनाको रोकथाम र नियन्त्रणका लागि सिंगापुरले केही नीति अपनाएको छ । पहिलो, अफवाह, बजार हल्ला र गलत सूचना प्रवाह गरेर समाजमा आतंक र त्रास फैलाउने काम रोक्न र समग्र समाजको मनोबल उच्च राख्न स्वास्थ्य मन्त्रालयले हरेक दिन दुई चोटि नयाँ केस, सरकारको तयारी र सचेतनाबारे वेबसाइट र टेक्स्ट म्यासेजमार्फत नागरिकलाई सुसूचित गर्ने, अफवाह र सोधिएका प्रश्नको तथ्य र प्रमाणमा आधारित जवाफ दिने गरेको छ । दोस्रो, विश्वको र आफ्नो देशभित्रको अवस्था अनि सरकारले लिएको नीतिको प्रभावकारिता र गर्नुपर्ने नयाँ कामबारे छलफल गर्न हरेक दुई दिनमा मन्त्रीस्तरीय बैठक राखेर छलफल गर्ने गरेको छ ।


तेस्रो, समुदायको निगरानी (कम्युनिटी सर्भिलेन्स) बढाउने, ताकि निमोनियादेखि रुघाखोकीसम्म र ३८ डिग्रीमाथिको शरीरको तापक्रम भएका सबैको कोरोनाको परीक्षण गर्न सकियोस् । यसका लागि सबै सरकारी र निजी अस्पतालमा कोरोनाको परीक्षण हुने प्रबन्ध मिलाउने । ठूलो समूहमा हुने भेटघाट तथा स्कुलका खेलकुददेखि अन्य कार्यक्रमसम्म रोक्ने, हरेक कार्यालयका कर्मचारीलाई आलोपालो घरबाटै काम गर्न लगाउने, भीड घटाउन कार्यालय समयभन्दा बाहिर यात्रा प्रोत्साहन गर्ने र हरेक रेल स्टेसन, कार्यालय र रेस्टुरेन्टमा ‘ह्यान्ड स्यानिटाइजर’ व्यवस्थाका अलावा हरेक व्यक्तिको तापक्रम मापन गर्ने ।


चौथो, समुदायमा कोरोना फैलिन रोक्न संक्रमितलाई ‘आइसोलेसन वार्ड’ मा राखेर उपचार गर्ने र उक्त बिरामीको सम्पर्कमा आएकाहरू पत्ता लगाई परीक्षण गरेर निगरानीमा राख्ने । पाँचौं, आफ्नो सीमामा कडाइका साथ रोकथाम लागू गर्ने । जस्तो कि, कोरोना धेरै देखिएका देशका नागरिकलाई सिंगापुर आउन प्रतिबन्ध लगाइएको छ भने, आफ्ना नागरिक यी देशबाट फर्केपछि अनिवार्य रूपले चौध दिन क्वारेन्टाइनमा बस्नुपर्ने नियम लागू गरिएको छ । विमानबाट ओर्लिनेबित्तिकै शरीरको तापक्रम मात्र जाँच्ने नभएर शंका लागेकालाई विमानस्थलमै कोरोनाको चेक गरेर दुईतीन घण्टामै परिणाम बताउने र कोरोना भए एम्बुलेन्समा राखेर सीधै ‘आइसोलेसन वार्ड’ मा पुर्‍याई उपचार गर्ने गरिन्छ ।


सरुवा रोग सम्बन्धी सिंगापुरको कानुनले विदेशी र स्वदेशीलाई सरुवा रोगको निःशुल्क उपचार गराउने गर्छ । तर ढाँटेर अर्को देशबाट उपचारका लागि आउनेलाई उपचारको पैसा तिराउने र जरिवाना पनि गर्ने गर्छ । कोरोनाका कारण सबैभन्दा खराब अवस्था आए अस्पतालमा कति ‘आइसोलेसन बेड’ चाहिने, बेडले धान्न नसके युवा र तन्नेरीलाई घरमै बसाएर उपचार गर्ने अनि बूढो उमेरका, साना केटाकेटी अनि पहिलेदेखि नै स्वास्थ्य समस्या भएकालाई अस्पतालमा प्राथमिकता दिने दूरदृष्टि सिंगापुरले राखेको छ ।


कोरोना रोकथाम र उपचार सम्बन्धी नेपालको संरचना हेर्दा नीतिगत निर्णयहरू ढिला आएको, सक्नेजति समन्वय गर्न नसकिएको, जनतामा कोरोना सम्बन्धी अफवाह फैलिएको र विश्वभरि बढ्दै गएको समस्याको परिवेशमा विभिन्न परिदृश्यमा के गर्ने भन्ने तयारीको कमी छ । सार्कका सरकार प्रमुख स्तरीय भिडियो कन्फरेन्समा प्रधानमन्त्री ओलीले नेपालमा कोरोना छैन भनेर आश्वस्त पार्न खोजेको देखिन्छ । पशुपतिनाथको कृपाले नेपालमा अरू देशमा जस्तै कोरोना नदेखिएको भए पनि ‘स्क्रिनिङ’ निकै कम भएकाले नदेखिएको हुन सक्छ अनि आगामी दिनमा विदेशबाट फर्किनेहरूबाट संक्रमण बढ्न सक्छ ।


नेपाल फर्केकाहरूको विमानस्थलमा परीक्षण व्यवस्था वा अस्पतालमा परीक्षण हुन्जेल ‘आइसोलेसन’ को नीति छैन । स्मरणीय छ, धेरै युवायुवतीमा कोरोनाका लक्षण प्रत्यक्ष देखिँदैनन् । नेपाल फर्किंदा आफ्नै घरमा ‘आइसोलेसन’ मा रहन भनिए पनि हामीकहाँ प्रायः संयुक्त परिवारको चलन भएकाले घरभित्रै संक्रमण फैलिने अवस्था आउनेछ । एकअर्कामा कति दूरीमा रहनेबारे समाजलाई सुसूचित गराउन जरुरी छ । प्रधानमन्त्रीकै नाममा विभिन्न विज्ञसहितको राष्ट्रिय समिति बनाएर हरेक दुईतीन दिनमा कोरोनाको अवस्था र तयारीबारे जनतालाई सुसूचित गर्न सकिए समाजमा व्याप्त भयको वातावरणलाई सम्बोधन गर्न सकिने र अरू देशमा जस्तै सरकार प्रमुखले नै सम्बोधन गर्दा सरकारप्रतिको विश्वास बढ्नेछ ।


अरू देशले बूढो पुस्ताका नागरिकलाई कोरोनाको संक्रमणबाट जोगाउन मस्जिद, चर्च र मन्दिर जान रोक लगाएका छन् । नेपालका मन्दिरमा पनि भीडभाड घटाउन अत्यन्त जरुरी छ । अस्पताल, विमानस्थल, यातायात सेवा, सरसफाइ आदि क्षेत्रमा काम गर्नेहरूमा बढी संक्रमणको खतरा हुने भएकाले सतर्कता बढाउन जरुरी छ । ‘आइसोलेसन वार्ड’ बाट संक्रमण डाक्टर, नर्स र अरू बिरामीमा सर्न नदिन धेरै सतर्कता चाहिन्छ । नेपालमा भेन्टिलेटरसहित धेरै मेडिकल उपकरणको अभाव छ । एकै चोटि धेरै जनालाई आईसीयुमा राख्नुपर्ने अवस्था आए नेपालको संरचनाले धान्नै नसकिने देखिन्छ ।


अहिले नेपालको ध्यान कोरोना रोकथाममा छ । कोरोनाको कहर कम भएपछि कसरी नेपालको अर्थतन्त्र माथि उठाउने भन्नेबारेको बहस त्यति सुनिँदैन । धेरै अर्थशास्त्रीका अनुसार, नेपालको अर्थतन्त्रमा कोरोनाको असर यसअघिको नाकाबन्दी वा भूकम्पले पारेभन्दा ठूलो हुन सक्छ । अर्थतन्त्रमा कोरोनाको असरलाई लिएर अमेरिकादेखि युरोपेली समुदायसम्म, ताइवानदेखि अस्ट्रेलियासम्म, चीनदेखि भारतसम्म, जापानदेखि सिंगापुरसम्मले मौद्रिक र वित्तीय साधनको प्रयोग गरेर विभिन्न खाले नीतिहरूको घोषणा गर्ने होडबाजी चलेको छ । ब्याजदर कम गर्नेदेखि कर छुट दिनेसम्म, प्रत्यक्ष असर परेका क्षेत्रलाई सहुलियत दिनेदेखि आम्दानी गुमाएका कामदारलाई राहत दिनेसम्मका प्याकेज ल्याएर आफ्नो अर्थतन्त्रलाई कोरोनाको कहरबाट उकास्ने तयारीमा छन् ती देश । हाम्रो अर्थतन्त्र धेरै हिसाबले भारत–निर्भर भएकाले विश्वको अर्थतन्त्रका कारण नेपालमा आउने झट्कालाई भारतको अर्थतन्त्रले ‘कुसन’ (प्रतिरक्षा प्रणाली) का रूपमा काम गर्ने गर्छ भनिन्छ, तर यस पालि चौतर्फी असर पर्ने देखिन्छ ।


होटल, रेस्टुरेन्ट, यातायात, पर्यटनमा त प्रत्यक्ष असर पर्ने नै भयो । यो अवस्था महसुस गर्नुपरे बन्द हुँदै गएको हवाई सेवा र १५ प्रतिशत पनि ‘अकुप्यान्सी’ नभएका होटललाई हेरे हुन्छ । तर, चीन र भारत दुवैतिरको आयात र निर्यातमा कमी आए राजस्व संकलनका अलावा देशको उत्पादन घट्ने नै भयो । डलरको भाउ बढेर यसै पनि नेपालको निर्यातमा असर परेको छ । विदेशी मुद्रा सञ्चितिमा आउने कमी वा विश्वबजारमा आएको मन्दीले खाद्य पदार्थ लगायतका अत्यावश्यक वस्तुको अभाव हुने परिस्थिति पनि आउन सक्छ ।


आर्थिक मन्दीका कारण उद्योगी र व्यापारीहरूले बैंकको कर्जा तिर्न नसक्ने अवस्था आए वित्तीय क्षेत्रमा संकट आउन सक्छ । वैदेशिक रोजगारीमा रोकावट, नेपालमा रेमिटान्स आउने देशहरूको अर्थतन्त्रमा आएको मन्दी, भ्रमणमा लागेको रोक र विदेशमा बस्ने नेपालीले संकटका बेला आफ्नो सामाजिक सुरक्षाका लागि पैसा जम्मा गर्दा रेमिटान्स घट्न सक्ने देखिन्छ । सेवा क्षेत्र र रेमिटान्सले धेरै मात्रामा धानेको नेपालको अर्थतन्त्रमा सेवा क्षेत्रको उत्पादन आगामी चारपाँच महिनामा घट्दै जाँदा वा रेमिटान्सको मात्रामा २० प्रतिशत कमी आउँदा आर्थिक र वित्तीय स्थायित्व खलबलिनेछ भने, विश्व मन्दीले नेपालको आर्थिक वृद्धि फेरि ३–४ प्रतिशतमा झरे हाम्रो विकास र समृद्धि धेरै पछाडि धकेलिनेछ ।


समग्रमा के भने, अर्थ मन्त्रालय, राष्ट्र बैंक र राष्ट्रिय योजना आयोगले विभिन्न ‘सिनारियो’ को विस्तृत अध्ययन गरेर अहिलेदेखि नै कोरोनाबाट अर्थतन्त्रमा पर्ने असरलाई न्यूनीकरण गर्न कस्तो खालको राहत प्याकेज ल्याउने भन्नेबारे सोच्न आवश्यक छ ।


नोट : उपर्युक्त विचारसँग लेखकसम्बद्ध संस्थाको कुनै सम्बन्ध छैन ।

प्रकाशित : चैत्र ६, २०७६ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?