कतार प्रकरणबाट सिक्नुपर्ने पाठ

सम्पादकीय

कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी संकटका कारण नेपालले मुलुकभित्र मात्र होइन, बाहिर रहेका आफ्ना नागरिकहरूप्रति पनि उत्तिकै चासो राख्नुपर्ने देखिएको छ । सोमबार कतारबाट एकैचोटि अढाई सय नेपाली कामदार काठमाडौं ‘डिपोर्ट’ गरिएपछि यस्तो आवश्यकता टड्कारो देखिएको हो ।

विदेशमा बस्ने हरेक नेपालीको स्वास्थ्य र सबैखाले सुरक्षा अवस्थाबारे जानकारी राख्नु सरकारको दायित्व हो । खासगरी, वैदेशिक रोजगारीमा गएका कामदारहरू जो हरेक हिसाबले निरुपाय छन्, तिनीहरूको अवस्थाबारे सरकारले विशेष चासो राख्नुपर्छ । र, उनीहरूलाई कुनै सहयोगको खाँचो देखिएमा आवश्यक कूटनीतिक पहल गर्नुपर्छ ।


नेपाली कामदारहरूको प्रमुख गन्तव्य मुलुक मलेसिया र खाडीमा यो विषाणुको संक्रमण फैलिसकेकाले सरकार विशेष चनाखो हुन आवश्यक छ । अहिलेसम्म मलेसियामा साढे ६ सय व्यक्तिमा संक्रमण देखिएकोमा एकजनाको निधन भइसकेको छ । यस्तै, कतारमा साढे ४ सय, संयुक्त अरब इमिरेट्समा १ सय, कुवेतमा १ सय ३० र बहराइनमा २ सय ३६ जनामा संक्रमण भएको पुष्टि भइसकेको छ । यीमध्ये नेपाली कामदारका दृष्टिले कतारको स्थिति अलि बढी संवेदनशील देखिन्छ । त्यहाँ संक्रमण बढी देखिएको औद्योगिक क्षेत्र सनैया आसपासमात्रै दुई लाख जति नेपाली छन् । मंगलबार कतार सरकारले उक्त क्षेत्रको केही भागमा दुई साताका लागि आवतजावत गर्न रोक लगाएको छ, जहाँ मात्रै ५० हजारभन्दा बढी नेपाली बस्छन् ।


कतारमा ३ लाख ५१ हजार नेपाली कार्यरत छन् । त्यहाँको सरकारले कोरोना भाइरसको संक्रमणबाट जोगाउन सबैलाई सुरक्षित राख्ने नीति लिएको छ । त्यसैले नेपाली दूतावासको बुझाइमा कतारले योजनाबद्ध रूपमा नेपालीलाई डिपोर्ट गरेको होइन । तर, सनैया क्षेत्रमा शुक्रबार दिउँसो तरकारी किन्न जाँदा पक्राउ परेकाहरूलाई कसैले पनि बाहिर निस्किनु हुँदैन भनेको थिएन । आफूहरू डिपोर्टमा पर्नुको कारणबारे काठमाडौं ल्याइएकाहरूको ठूलो जमात अझै अलमलमा छ । सचेत नगराई एकैपटक उनीहरूलाई नेपाल फिर्ता पठाइएको छ । यो क्रम जारी रह्यो भने यसले छुट्टै किसिमको जटिलता सिर्जना गर्न सक्छ ।


त्यसैले कतार सरकारले संक्रमणबाट जोगिन अपनाएका उपायबारे नेपाली कामदारहरू सुसूचित छन् कि छैनन् भन्नेमा त्यहाँस्थित नेपाली दूतावासले विशेष ध्यान दिनुपर्ने देखिएको छ । किनभने, त्यहाँ तल्लो तहमा कार्यरत कतिपय नेपालीहरू सरकारले अपनाएका रणनीतिबारे सुसूचित नभएकाले अन्योलमा छन् । केहीसँग त स्मार्टफोन पनि छैन, सामान्य मोबाइल सेटबाटै घरमा कुराकानी गरिरहेका उनीहरू इन्टरनेटको दुनियाँबाट टाढा छन् । हरेक सूचनाका लागि उनीहरू रोजगारदातामाथि भर पर्नुपर्ने स्थिति छ । उता, रोजगारदाता भने अझै सही सूचना समयमै कामदारमाझ पुर्‍याउन असफल देखिन्छन् । यसले गर्दा कतारले नेपाली भाषामा जारी गरिएका सन्देशसमेत सबै कामदारमाझ पुग्न सकेको पाइँदैन ।


हालै मात्र कतारले सनैयास्थित निषेधित क्षेत्रमा नजान र भीडभाड नगर्न सूचना जारी गरेको छ । नेपाली कामदारमाझ यस्तो सूचना प्रवाहमा नेपाली दूतावासले पनि भूमिका खेल्नुपर्ने देखिन्छ । कतिपय कामदार बस्ने क्षेत्रमा त सञ्चारमाध्यमबाट भन्दा पनि ‘माइकिङ’ गरेरै सूचना दिनुपर्ने अवस्था छ । यसका लागि दूतावासले बढी नेपाली काम गर्ने कम्पनीका रोजगारदातासित सम्पर्क गरी आवश्यक प्रबन्ध मिलाउन लगाउनुपर्छ । साथै, त्यहाँका सामाजिक संस्थालाई पनि यसबारे अनुरोध गर्न सकिन्छ ।


यति ठूलो संख्यामा नागरिकहरू एकैपटक डिपोर्ट भएकाले यस्तो अवस्था फेरि आउन नदिन दूतावास अग्र–सक्रिय हुनुपर्छ । अकस्मात् घर फर्काइएका नेपालीले कम्पनीसँग गर्नुपर्ने हरहिसाब टुंग्याउन पनि उसले सहजीकरण गर्नुपर्छ । यसका लागि डिपोर्टमा परेका कामदारले काठमाडौंस्थित वैदेशिक रोजगार बोर्ड वा कन्सुलर विभागमा गएर उजुरी दिनुपर्ने छ । र, सम्बन्धित कम्पनीमार्फत तलब र बोनस दिलाउन दूतावास लाग्नुपर्छ । यसका साथै, संक्रमणबाट प्रभावित मुलुकस्थित नेपाली दूतावासहरूले त्यहाँ भइरहेका हरेक घटनाक्रमको सूचना अविलम्ब नेपाल सरकारलाई उपलब्ध गराउनुपर्छ, ताकि आवश्यक पर्दा नेपाल सरकारको उच्च तहबाटै पनि कूटनीतिक पहलहरू गर्न सकियोस् । र, नेपाल सरकारले यहाँ प्रभावित मुलुकहरूबाट आएका नेपालीलाई क्वारेन्टाइनमा राखेर परीक्षण गर्ने व्यवस्था मिलाउनुपर्छ । प्रकाशित : चैत्र ५, २०७६ ०८:२५

ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

प्रधानमन्त्रीको क्रियाशीलता र स्वास्थ्य-संवेदनशीलता

सम्पादकीय

कोरोना भाइरस (कोभिड–१९) का कारण पूरै विश्व असामान्य परिस्थितिमा छ । यो विश्वव्यापी संकटसित जुध्न हरेक मुलुक खरो रूपमा उत्रनुपर्ने अवस्था छ । यही समय हाम्रा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य छैन ।

दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएर त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालबाट गत शुक्रबार घर फर्किएका उनको सक्रियता र भेटघाट भने असामान्य छ । भर्खरै ठूलो शल्यक्रिया गरेर अस्पतालबाट फर्किएको एउटा बिरामीका रूपमा ओलीको यस्तो क्रियाशीलता अस्वाभाविक देखिन्छ ।

सर्वप्रथम त, प्रधानमन्त्री ओली अस्पतालबाट ‘डिस्चार्ज’ भएको दिन जसरी निवास फर्किए, त्यो नै निकै असामान्य थियो । उनी ठूलो शल्यक्रिया गरेर घर फर्किने आम बिरामीजस्तो ‘ह्विलचेयर’मा थिएनन् ।

चिकित्सकहरूले डोर्‍याएरै उनलाई गाडीसम्म ल्याएका थिए । त्यस क्रममा कतिसम्म लापरबाही भएको देखिन्थ्यो भने संक्रमणको उच्च जोखिममा रहेका ओली ठूलो भीडबाट घेरिएका थिए र अनुहारमा मास्कसमेत लगाएका थिएनन् । उता, उनलाई डोर्‍याउने चिकित्सक टोली र सँगैको भीडमा पनि मास्क नलगाउनेहरू उत्तिकै थिए । अरू बेला त जटिल शल्यक्रियाबाट गुज्रिएको बिरामीलाई संक्रमण हुने जोखिम बढी हुन्छ, झन् अहिले त नयाँ विषाणुको त्रास सर्वत्र भएका बेला प्रधानमन्त्री र उनको सहयोगी टोलीको त्यो हेलचेक्र्याइँ आफैंमा अशोभनीय देखिन्थ्यो । प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण सफल भएको र उनको शारीरिक अवस्था सामान्य रहेको सकारात्मक सन्देश दिन यस्तो शैली अपनाइएको हुन सक्छ, तर यसले मुलुकका कार्यकारी प्रमुखको स्वास्थ्यप्रति आवश्यक संवेदनशीलता दर्शाउन नसकिएजस्तो देखियो ।

दोस्रो, प्रधानमन्त्री ओलीले निवास फर्केको भोलिपल्टैबाट भेटघाट थालेका छन् । शनिबार पहिले आफ्नो सचिवालयका कर्मचारीलाई भेटेका उनले त्यसपछि आफ्नो पार्टीका केही शीर्ष नेताहरूसँग अनौपचारिक बैठक गरे । चिकित्सकहरूका अनुसार मिर्गौला प्रत्यारोपण गरेका बिरामीले कम्तीमा तीन महिनासम्म अरू मानिसलाई भेटघाट नगर्नु उत्तम हुन्छ । अनावश्यक हिँडडुल र भेटघाटले संक्रमणको जोखिम बढाउने डर हुन्छ । त्यसमाथि प्रधानमन्त्रीको यो प्रत्यारोपण दोस्रो हो, उमेर र अरू स्वास्थ्य समस्याका कारण पनि उनमा संक्रमणको जोखिम स्वाभाविक रूपमा बढी छ । यो संवेदनशीलतालाई प्रधानमन्त्री स्वयं, उनको परिवार तथा आफन्त र सल्लाहकार टोलीले विशेष ख्याल गर्नुपर्छ ।

तेस्रो, प्रधानमन्त्री ओली आइतबार सार्क राष्ट्रका सरकार, राष्ट्रप्रमुख र प्रतिनिधिहरूको भिडियो कन्फरेन्समा दुई घण्टा सिंहदरबारमा बसे । केही गलेको अनुहारमा देखिएका उनले उक्त अवधिमा झन्डै पाँच मिनेट लिखित मन्तव्य राखे । मन्तव्यपछिको छलफलमा पनि झन्डै १० मिनेट बोले । यति ठूलो शल्यक्रिया गरेको एघारौं दिनमै यति लामो कन्फरेन्समा स्क्रिनसामु बस्नु अस्वाभाविक मात्र होइन अनावश्यक पनि थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा भएको उक्त भिडियो कन्फरेन्स आफ्नो ठाउँमा महत्त्वपूर्ण थियो, त्यसमा नेपालले सक्रिय रूपमा भाग लिनु पनि पर्थ्यो । तर, प्रधानमन्त्रीकै अनिवार्य सहभागिता जरुरी थिएन । प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री वा अन्य कसैलाई प्रतिनिधिका रूपमा सहभागी गराउँदा कसैले अन्यथा मान्ने थिएन । त्यहाँ परराष्ट्रमन्त्री वा स्वास्थ्यमन्त्रीलाई मुलुकको तर्फबाट प्रतिनिधित्व गराउँदा पनि अनर्थ हुँदैनथ्यो । आखिर, प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थितिबारे सार्क मुलुकका सरकार प्रमुखहरू अनभिज्ञ थिएनन् । यस्तो अवस्थामा उनको अनुपस्थितिलाई लिएर कसैले औंला ठड्याउँदैनथे । बरु ओली त्यहाँ सहभागी भएकामा देशभित्रै सामाजिक सञ्जालमा प्रश्न उठेका छन् । उक्त भिडियो कन्फरेन्समा पाकिस्तानका तर्फबाट प्रधानमन्त्रीको साटो स्वास्थ्य राज्यमन्त्री सहभागी भएको दृष्टान्तले पनि यस्तो प्रतिक्रिया जन्माएको हुन सक्छ ।

चिकित्सकीय मापदण्डहरू पूरा गरेर र निजी चिकित्सकहरूको परामर्श लिएरै प्रधानमन्त्री ओली कन्फरेन्समा सहभागी भएको भन्ने सरकारी बयानबाजी कुनै हिसाबबाट जायज देखिन्न । प्रधानमन्त्रीको आत्मबल प्रशंसनीय छ तर त्यसलाई आत्मघाती हुने बाटोतर्फ अघि बढ्न दिनु हुँदैन । यस्तो अवस्थामा प्रधानमन्त्री ओली एउटा बिरामीका रूपमा पालना गर्नुपर्ने चिकित्सकीय नियमहरूको परिधिभित्रै रहनुपर्छ । रोग र स्वास्थ्यले कहिल्यै प्रधानमन्त्री भन्दैन । तसर्थ, संक्रमण हुन सक्ने अनावश्यक जोखिम मोल्ने काम उनले गर्नु हुँदैन । र, चिकित्सकहरू पनि प्रधानमन्त्रीको मनोभवनाअनुसार भन्दा पनि चिकित्सा विज्ञानको मान्यताअनुसार चल्नुपर्छ । चिकित्सकहरू यस्तो तथ्यबारे जानकार नभएका होइनन्, तर कहिलेकाहीँ ‘प्रधानमन्त्रीले चाहना देखाइहाल्नुभयो, मान्दिऊँ न केही नहोला’ भन्ने जस्तो मानवीय कमजोरी उनीहरूमा देखिनुहुँदैन ।

प्रधानमन्त्री ओलीलाई संक्रमण हुन नदिन बालुवाटार निवास र उनी आवतजावत गर्ने जुनसुकै स्थानमा विशेष सावधानी अपनाइनुपर्छ । यो सबै कुरामा जोड दिन किन परेको हो भने अहिले ओली एक सामान्य नागरिकमात्र होइनन्, देशका कार्यकारी प्रमुख हुन् । उनको स्वास्थ्य स्थिति पूरै देशसँग जोडिएको छ । सकारात्मक सोचका धनी प्रधानमन्त्रीसित ‘म सकिहाल्छु नि’ भन्ने भावना हुन सक्छ, तर उनको आनीबानी कुनै हठबाट निर्देशित हुनु हुँदैन । सुझबुझपूर्ण र देशप्रतिको जिम्मेवारीबोधबाट उनी सञ्चालित हुनुपर्छ ।

प्रकाशित : चैत्र ४, २०७६ ०८:३०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×