कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

अंग्रेजी सिक्न मातृभाषा अपरिहार्य   

दानराज रेग्मी

संविधानले मातृभाषामा शिक्षालाई मौलिक हकको रूपमा स्थापित गरे पनि मातृभाषी समुदायहरू यो हकको उपयोग गर्ने कुरामा खासै उत्साहित हुन सकेका छैनन् । आधारभूत तहको शिक्षालाई गुणस्तरीय र समयसांपेक्ष बनाउन सुरूमा मातृभाषालाई माध्यमको रूपमा प्रयोग गर्नु पर्छ भन्ने अवधारणाप्रति मातृभाषी समुदाय ढुक्क हुन सकेका छैनन् ।

अंग्रेजी सिक्न मातृभाषा अपरिहार्य   

भाषाप्रति समानताको नीति लिएको करिब तीन दशक हुन लाग्दा पनि मातृभाषा संरक्षण र उपयोगबारे सफलताको कथा बन्ने कुनै काम हुन सकेका छैनन् । स्थिति निराशजनक छ । दिनप्रतिदिन मातृभाषाहरू नेपाली भाषातिर अपसरित हुँदै गएका छन् । सरकारी कामकाजको भाषा भएकाले नेपाली भाषा जान्नु आवश्यक मानिन्छ ।


चिनियाँ, कोरियन, जापानी र जर्मनजस्ता विदेशी भाषाहरूप्रति नेपाली समाजको मोह बढ्दैछ । तैपनि नेपाली समाजमा सबैभन्दा बढी मोह अंग्रेजी भाषातिर नै छ । यसको महत्वलाई कसैले चाहेर पनि नकार्न सक्ने अवस्था छैन । निजी तहमा खोलिएका विद्यालयमा पूर्वप्राथमिक तहदेखिनै अंग्रेजीलाई शिक्षण माध्यमको भाषाको रूपमा प्रयोग गर्दै आएका छन् । सामुदायिक विद्यालयमा पनि एक कक्षादेखि अंग्रेजी पढाइ हुँदै आएको छ । अब सरकार एकीकृत पाठ्यक्रम लागू गर्ने तयारीमा छ । केही सामुदायिक विद्यालयले विद्यार्थीको आकर्षणका लागि भनेर अंग्रेजीलाई माध्यमको रूपमा प्रयोग गर्ने प्रयास गरिरहेका छन् । मातृभाषी समुदाय आधारभूत तहमा मातृभाषामा पढाउने मनस्थितिमा विल्कुलै छैनन् । सक्नेले बसाइँसराइ गरेर भए पनि निजी विद्यालयमा पढाइरहेका छन् । अंग्रेजी पढाइ रोकिँदैन, रोक्न पनि हुँदैन । रोकिएमा हामी अझ पछाडि धकेलिन्छौं । यसमा हाम्रो ठूलो लगानी भएको छ । यति भनेर पनि हाम्रो दायित्व पूरा हुन सक्दैन । के हाम्रो लगानीअनुसार प्रतिफल आएको छ ? यो विचारणीय प्रश्‍न हो ।


अंग्रेजी जान्नुको अर्थ सामान्य बोलीचाली मात्र जान्नु होइन । गणित, विज्ञान, सामाजिकजस्ता विषयका मूलभूत कुरा यस भाषामा पनि बुझ्नु र बुझाउन सक्नु हो । आजका अधिकांश विद्यार्थी यी विषयमा निकै कमजोर देखिन्छन् । बरू व्याकरणका नियमहरू रट्न लगाइएका र अनुवाद पद्धतिबाट ४/५ कक्षाबाट अंग्रेजी सिकेकाहरू परिस्थिति अनुकूलको भाषा प्रयोगमा कमजोर भए पनि बुझाइ र लेखाइमा राम्रा थिए । अंग्रेजी माध्यममा पढेकाहरू परिस्थिति अनुकूलको भाषा प्रयोगमा राम्रा देखिए पनि लेखाइ र बुझाइमा कमजोर हुन्छन् ।

अमेरिकी विद्वान् डेभिडले भाषा सिकाइलाई विद्युतीय चुलोमा केक पकाउने कुरासँग दाँजेका छन् । १५० डिग्री सेल्सियस तापक्रममा एउटा केक पाक्न एक घण्टा लाग्छ, त्यही केकलाई आधा घण्टामा पकाउन ३०० डिग्री सेल्सियसमा चुलो तताइयो भने केकको हालत के होला ? केक बाहिर डढेको तर भित्र काँचो नै हुन्छ । अहिलेको पद्धतिबाट अंग्रेजी सिकेकाहरू लगभग ३०० डिग्री सेल्सियसमा पकाइएका केकजस्ता नै हुन् । विद्यार्थीले बुझ्न नसकेको कुरा सिक्न सक्दैनन् । यो सबैले मानेको कुरा हो । केटाकेटीहरूले विद्यालयमा केही अंग्रेजी शब्द वा अंग्रेजी सरल वाक्यहरू भनेको वा पढेको सुनिन्छ, तर तिनीहरूले पढेका कुरा बुझेका भने हुँदैनन् । गणित, विज्ञान, इतिहास, भूगोलजस्ता विषयहरू जान्न आवश्यक पर्ने सूचनाहरू बुझ्न सक्दैनन् । सही अर्थमा सिकाइ भएकै हुँदैन । यसको प्रमुख कारण के हो ? यसबारे सोच्नु आवश्यक छ । यसको प्रमुख कारण शिक्षण पद्धति नै हो । पद्धतिमा नै कमजोरी भएपछि शिक्षक, विद्यार्थी र अभिभावकले मरिमेटे पनि वास्तविक सिकाइमा सुधार भएको छैन । जिनतिन विद्यालय तह पूरा गरे पनि उच्च शिक्षामा भने उनीहरूले खासै प्रगति गर्न सकेका छैनन् । यो चिन्ताको विषय हो ।

नेपालजस्ता बहुभाषिक देशमा स्थानीय भाषा वा घरको भाषा, क्षेत्रीय वा राष्ट्रिय भाषा र अंग्रेजीजस्ता अन्तर्राष्ट्रिय भाषाको आ–आफ्नै महत्व र भूमिका छ । त्यसैले युनिसेफ, युनेस्को, शिक्षा मन्त्रालय र गैरसरकारी संस्थाहरूले अफ्रिका, दक्षिण एसिया र पूर्वी एसियाका बहुभाषिक देशमा सफल शिक्षाको जग विद्यार्थीको मातृभाषा हुने कुरामा जोड दिएका छन् । त्यसको जगमा नै विद्यार्थीको राष्ट्रिय वा क्षेत्रीय भाषामा उपयुक्त पहुँच पुग्न सक्छ । मातृभाषाको जगमा नै अंग्रेजीजस्तो अन्तर्राष्ट्रिय भाषा सिक्न र सिकाउने सर्वोत्तम उपागम हुने कुरालाई पनि स्वीकार गरेका छन् । बालक विद्यालयमा छिर्दाखेरी आफ्नै बलियो वा समृद्ध भाषिक सञ्चय बोकेर गएको हुन्छ । यसको मतलब बालकले आफ्नो मातृभाषामा स्थानीय विश्वास, संस्कृति, वातावरण, इतिहास, जीविकाका उपाय र सुरक्षाजस्ता कुराबारे मातृभाषामा व्यक्त गर्न सक्ने भइसकेको हुन्छ । उसलाई आफूले बोल्ने भाषाबारे पनि जानकारी हुन्छ । कसैले यसलाई ज्ञानकोष पनि भन्ने गरेको पाइन्छ । यही ज्ञानकोषमा टेकेर दिइएको शिक्षा नै प्रभावकारी हुन्छ ।


नेपालको सन्दर्भमा सरकारी कामकाज र सम्पर्क भाषाको रूपमा नेपाली सिक्नैपर्ने हुन्छ । त्यसबाहेक अन्तर्राष्ट्रिय भाषाको रूपमा अंग्रेजी सिक्नुपर्ने आवश्यकता छ । यसलाई सबै भाषिक समुदायका मानिसले बुझेका छन् । यसमा कसैको पनि विमति देखिँदैन । तर अंग्रेजी पढाउने तौरतरिकाबारे भने अभिभावक न विद्यालय वा शिक्षा अधिकारीहरू सजग रहेको पाइन्छ । सबै अभिभावक आफ्ना बालबालिकाले छिटो र छरितोसँग अंग्रेजी सिकून्, प्राज्ञिक जीवनमा प्रभावकारी रूपले यसलाई प्रयोग गरून् भन्ने कुरामा भने अति नै चिन्ता लिएको पाइन्छ ।


अबचाहिँ स्थानीय, क्षेत्रीय वा राष्ट्रिय र अन्तर्राष्ट्रिय सन्दर्भमा सरकार र अभिभावकको अपेक्षाअनुसार कसरी अंग्रेजीलाई प्रभावकारी रूपमा पढाउन सकिन्छ भन्ने बहस चलाउन थालिएको छ । परम्परागत मानसिकताले जकडिएको समाजमा यस बहसलाई सजिलै अगाडि बढाउन भने सजिलो छैन । नेपालमा अंग्रेजीलाई निजी विद्यालयमा विषय र माध्यमको रूपमा पढाइँदै आइएको छ । जुन गलत छ । माथि भनिएजस्तै अंग्रेजीजस्ता अन्तर्राष्ट्रिय भाषा निश्चित अवधिसम्म विषयको रूपमा नपढाइकन माध्यमको रूपमा जसरी नेपालमा प्रयोग गरिएको छ, यो सही छैन ।


निकै कम विद्यार्थीले मात्र अहिले निजी विद्यालयमा चलेको पद्धतिबाट छिटो र प्रभावकारी रूपमा अंग्रेजी सिकेका छन् । नेपालजस्ता मुलुकमा हरेक अभिभावकले विद्यालयमा गएपछि घरमा मातृभाषामा सिकेका कुरा अंग्रेजीमा सिकून् भन्ने चाहन्छन् । त्यसैले महँगो शुल्क तिरेर निजी विद्यालयमा बालबालिकालाई पठाएका छन् । बिहान–बेलुका सकिनसकी बालबालिकालाई घरमा पनि सिकाइरहेका छन्, कतिले त विद्यालय समयअघि वा पछि विशेष कक्षामा पठाइ पनि रहेका छन् । के सबै अभिभावक लगानीको प्रतिफलप्रति खुसी छन् त ? सबैले सोच्नुपर्ने यो विषय होइन र ? नेपालमा गुणस्तरीय उच्च शिक्षा र रोजगारी असंभव प्रायः सोचेर दस जोड दुई उत्तीर्ण नगर्दै विदेश छिरेका हजारौं हाम्रा युवाको अवस्था साँच्चै राम्रो छ त ? यसको समीक्षा गर्नुपर्ने बेला भएन र ? अझ नेपालजस्तो अल्पसंख्यक भाषिक समुदायका बालबालिकाले त नेपाली र अंग्रेजीजस्ता भाषाहरू जबरजस्ती नै सिक्नु परेको छ । यस्ता समुदायका बालबालिकाले नेपाली पढ्न सके पनि बुझ्न सकेका हुँदैनन् । जबर्जस्ती आधारभूत तह उत्तीर्ण गरेपछि माथिल्लो तहमा एकाध विद्यार्थीबाहेक पढाइलेखाइ निकै कमजोर देखिन्छ । न त उनीहरूको नेपाली नै राम्रो छ, न अंग्रेजी नै ।


जसरी कोरियन भाषा उत्तीर्ण गरेकाहरू पनि यन्त्रमा लेखिएका सावधानीका उपायहरू बुझ्न नसक्दा दुर्घटना भोगेका समाचारहरू आइरहेका छन्, लगभग त्यस्तै अवस्था अंग्रेजीको पनि छ । हालसालै गरिएका अध्ययनले के देखाएको छ भने अति नै राम्रो स्रोत सामग्रीले सम्पन्न भएका विद्यालयमा कम्तीमा पनि ६ वर्षसम्म आधारभूत तहमा विषयको रूपमा अंग्रेजी पढाइएका बालबालिकाले मात्र अरू विषय अंग्रेजी माध्यममा पढ्न सक्छन् । यदि विद्यालय साधन सम्पन्न छैन भने त कम्तीमा पनि ८ वर्ष अंग्रेजी विषयको रूपमा पढ्नै पर्छ । बल्ल उनीहरू अंग्रेजीमा साक्षर हुन्छन् । साक्षर नभएसम्म शिक्षण माध्यमको रूपमा अंग्रेजीलाई प्रयोग गर्नु हुन्न । यही कुरालाई हृदयंगम गरी ब्रिटिस काउन्सिलले सन् २०१३ मा बहुभाषिक समुदायमा अंग्रेजी पढाउने नयाँ नीति घोषणा गरेको छ ।

अंग्रेजीलाई मातृभाषाको सट्टामा नभई मातृभाषाको अतिरिक्त भाषाको रूपमा पढाउने नीति लिइएको छ । अंग्रेजीलाई आधिपत्य भाषाको रूपमा नभई बहुभाषिक सन्दर्भमा प्रवर्धन गर्ने नीति लिइएको छ । यसअनुसार मातृभाषा, सरकारी कामकाजको भाषा र अंग्रेजीजस्तो अन्तर्राष्ट्रिय भाषामा विद्यार्थीलाई राम्रो बनाउन उद्देश्यपरक रूपमा कोड परिवर्तन (एउटा भाषामा बोल्दा बोल्दै अर्को भाषाको प्रयोग गर्नु), अनुवाद र सावधानी र योजनावद्ध रूपमा दुई भाषाको प्रयोगजस्ता विधिको प्रयोग गर्नुपर्ने सिफारिस गरिएको छ । यसअनुसार शिक्षकले कहिले पाठको पहिलो भाषा मातृभाषामा सुरू गर्ने, कहिले दोस्रो भाग अंग्रेजीमा र तेस्रो भाग पुनः मातृभाषामा दिने गर्छन् । अर्को दिन यो क्रमलाई परिवर्तन गर्न सकिन्छ । यस्तो विधिबाट पढाउँदा बालबालिकाले भाषा मिश्रण गर्न, कोड परिवर्तन गर्न, व्याख्या गर्न वा अनुवाद गर्नका लागि दुई वा दुईभन्दा बढी भाषाहरू सजिलै बुझीबुझी प्रयोग गर्न सक्छन् । बालकले आफ्नो भाषामा जानेका कुरा पनि अरू भाषा सिक्न सजिलै र प्रभावकारी रूपमा प्रयोग गर्न सक्छन् । यसबाट मातृभाषाको पनि विकास हुन्छ ।


शिक्षक, अभिभावक र शिक्षक निर्माताले के कुरा जान्नु आवश्यक छ भने बालकले जान्ने र बुझ्ने भाषामा मात्र सिक्न सक्छन् । अर्को जान्नैपर्ने कुरा के हो भने, मातृभाषामा उच्चस्तरको दक्षता प्राप्त नगरेको मानिसले अंग्रेजीमा उच्चस्तरको दक्षता प्राप्त गर्न सक्दैन । यो सबैले महसुस गरेको कुरा हो । अझ अर्को, जबसम्म बालबालिकाले आफ्नो भाषामा बलियो दक्षता प्राप्त गर्न सक्दैनन्, त्यतिबेलासम्म अंग्रेजीलाई सफलतापूर्वक शिक्षण माध्यमको रूपमा प्रयोग गर्न सकिन्न ।

अंग्रेजीलाई माध्यम भाषाको रूपमा प्रयोग गर्नुपूर्व बालबालिकाले अंग्रेजी र मातृभाषा दुवैमा साक्षरता विकास गरिसकेको हुनु पर्छ । यी कुरालाई ध्यान नदिई छिटो र राम्रो अंग्रेजी सिकाउने ध्येयले आधारभूत तहमा नै अंग्रेजीलाई माध्यम भाषाको रूपमा प्रयोग गरिएमा भित्र काँचा र बाहिर डढेका हुने छन् । यस्ता जनशक्तिले वैदेशिक बजारमा अदक्ष वा अर्धदक्ष कामदारका रूपमा जीवन बिताउनुपर्ने बाध्यतामा कमी आउने छैन । यस कुरामा बेलैमा सरकार, अभिभावक र समुदायले सोच्नुपर्ने छ । बालकको मातृभाषाको जगलाई अझ मजबुत बनाउँदै सरकारी कामकाज र अंग्रेजीजस्ता भाषामा उच्चस्तरको दक्षता दिनसक्ने शिक्षण पद्धतिको विकास गर्नु पर्छ ।


[email protected]


प्रकाशित : चैत्र ४, २०७६ १६:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?