दिगो विकासका चार तगारा- विचार - कान्तिपुर समाचार

दिगो विकासका चार तगारा

कृषिप्रधान मुलुक भइकन पनि कृषिजन्य वस्तुको आयात हाल आएर कुल आयातको १७ प्रतिशत पुग्नु दिगो विकासका लागि सम्भवतः सबैभन्दा ठूलो तगारो हो ।
मधुकर उपाध्या

दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका विषयबारे सरोकारवालालाई बुझाउन सकिएन भने तीप्रति अपेक्षित जनचासो हुँदैन । जनचासो नभएमा महत्त्वपूर्ण विषय पनि औपचारिकतामा मात्र सीमित हुन्छ । झन्डै चार वर्षअघि लगभग एकै समयमा सुरु भई अहिले संसारभर चर्चामा रहेका दिगो विकास लक्ष्य र जलवायु परिवर्तन न्यूनीकरणका लागि राष्ट्रिय रूपमा निर्धारित योगदान अर्थात् एनडीसी हाम्रो दैनिकीसंँग प्रत्यक्ष जोडिएका विषय हुँदाहुँदै पनि यी चियापसल र चौतारोका गफ बन्न सकेका छैनन् । 

सन् २०३० सम्म गरिबी हटाउने र कोही भोको नरहने भनी दिगो विकास लक्ष्यले लिएको अठोट ती समुदायको विषय हो, जो एक्काइसौं शताब्दीमा पनि गरिबी र भोकको चक्रबाट मुक्त हुन सकेका छैनन् । यस अर्थमा दिगो विकास लक्ष्य घरेलु मामिला हो, हामीले आफ्नै लागि गर्नुपर्ने हो । उता एनडीसी भने जलवायु परिवर्तनलार्ई न्यून गर्न कार्बन उत्सर्जन कम गर्ने विषय हो । हाम्रो कार्बन उत्सर्जन नगण्य नै भए पनि विश्वसमुदायको एक सक्रिय सदस्यका हैसियतले जलवायु परिवर्तनको गतिलार्ई मन्द गर्न आफ्नो पनि सहभागिता रहने यस कार्यमा २०१६ मा न्यून कार्बन सम्बन्धी केही लक्ष्य निर्धारण गरिएका थिए । तर जलवायु परिवर्तनको असर पूर्वानुमानभन्दा व्यापक, बढी नकारात्मक र द्रुत गतिमा देखा पर्न थाल्यो, जलवायु संकटका रूपमा । तसर्थ जलवायु परिवर्तनको प्रमुख कारक मानिएको कार्बन उत्सर्जनको क्रमलाई सोही अनुपातमा तीव्र गतिमा घटाउन आवश्यक भएकाले एनडीसी अन्तर्गत २०१६ मा निर्धारण गरिएको लक्ष्यलाई थप परिमार्जन गर्ने काम हुँदै छ ।


एनडीसीको लक्ष्य दिगो विकासको जसरी किटिएको छैन । एनडीसी अन्तर्गत कार्बन उत्सर्जन घटाउन कहिलेसम्म केकति गर्ने, यो हरेक मुलुकले आफ्नो अनुकूलता हेरी निर्णय गर्ने विषय हो । त्यसैले यसलाई राष्ट्रिय रूपमा निर्धारित योगदान भनिएको हो । लक्ष्य जे लिए पनि विकासका सबैजसो मोर्चामा धेरै काम गर्न बाँकी रहेको, तर स्रोतसाधन सीमित भएको हाम्रो सन्दर्भमा दिगो विकास वा एनडीसी अन्तर्गत गरिने कार्य हाम्रा अन्य आवश्यकतासँग जोडिनैपर्छ । कम्तीमा अर्को एक दशकका विकासका कुरा यी दुवैको सेरोफेरोमा केन्द्रित हुने हुँदा अब निम्नलिखित चार विषयलाई सम्बोधन गर्नैपर्छ :


. एक्काइसौं शताब्दीमा नयाँ पुस्ताको आवश्यकतालाई पहिचान गरी सम्बोधन गर्नुपर्छ । राष्ट्रसंघीय मानव विकास प्रतिवेदन–२०१९ ले यसलाई एउटा चिन्ताको विषयका रूपमा औँल्याएको छ । प्रतिवेदन अनुसार विगतका विकास प्रयासका कारण विश्वका थुप्रै मानिस गरिबीको चक्रबाहिर त आए, तर समाजमा व्यक्तिको स्थान अझै पनि प्रायः लिङ्ग, जात र बाबुआमाको सम्पत्तिले निर्धारण गर्ने गरेकाले, आफ्नो जीवनलाई दिशानिर्देश गर्न आवश्यक अवसर र स्रोतमा पहुँच नभएका मानिसको संख्या गरिबीबाट उम्केकाको भन्दा बढी छ । फलतः धेरै मुलुकका धेरै मानिसका लागि उन्नत भविष्यको सम्भावना कम भएको छ । योग्यता र क्षमता कम नभए पनि उनीहरू लैङ्गिक, जातीय र बाबुआमाका सम्पत्तिबाट लाभ लिएकाहरूले द्रुत गतिमा गरेका प्रगति टुलुटुलु हेर्न बाध्य छन् । यस अवस्थामा दिगो विकास वा एनडीसी अन्तर्गत गरिने लगानी र विकासे क्रियाकलापले कम्तीमा नयाँ पुस्ताको आवश्यकता पूरा गर्ने जग बसाल्न सक्नुपर्छ ।


. विगतको विकासशैलीले दूरदराजका समुदायलाई ५० वर्षमा पनि छुन नसकेको स्पष्टै छ । त्यसमाथि विद्यमान नीतिहरूका कारण बढ्दो आर्थिक असमानताका कारण तिनको जीवनयापन झनै कष्टकर बनेको छ । यस्तो अवस्था अब स्वीकार्य हुन सक्दैन । दिगो विकास वा एनडीसी अन्तर्गत गरिने क्रियाकलापले विकासका सन्दर्भमा पछाडि परिरहेका त्यस्ता समुदायलाई छुन सक्नुपर्छ र यो विषय छलफलको केन्द्रमा रहनुपर्छ ।


. बढ्दो व्यापारघाटाले हाम्रो उत्पादन क्षेत्र कमजोर बन्दै गएको छ । कृषिप्रधान मुलुक भइकन पनि कृषिजन्य वस्तुको आयात हाल आएर कुल आयातको १७ प्रतिशत पुग्नु दिगो विकासका लागि सम्भवतः सबैभन्दा ठूलो तगारो हो । तसर्थ अब गरिने दिगो विकास वा एनडीसी लगायतका कुनै पनि विकास क्रियाकलापले आयात प्रतिस्थापन गर्दै आर्थिक वृद्धिमा केकति योगदान गर्न सक्छ भन्ने पनि सुनिश्चित गर्नुपर्छ ।


. जलवायु परिवर्तनको जोखिमले आगामी दिनमा आर्थिक क्रियाकलाप प्रभावित हुने हुँदा जोखिम घटाउने विषय विकासको केन्द्रमा रहनेछ । एनडीसीको उद्देश्य नै जलवायु परिवर्तन न्यूनीकरण भएकाले यसका क्रियाकलापले त्यसमा योगदान गर्छन् नै । दिगो विकासका सत्र लक्ष्यमध्ये झन्डै आट वटा जलवायु परिवर्तनबाट प्रभावित हुने खालका छन् । त्यसैले दिगो विकासका क्रियाकलापले त्यस्ता सम्भावित असरलाई सम्बोधन गर्दै समुदायको जोखिम घटाएको यकिन गर्ने आधार स्थापित गर्न सक्नुपर्छ ।


उपर्युक्त चारमध्ये कुनै एक वा दुई विषयलाई मात्र सम्बोधन गरेर गरिने दिगो विकास वा एनडीसीका कार्यबाट प्रगति योयो भयो भन्न सकिए पनि तिनको प्रयोजन आधिकारिक मात्र हुनेछ । बदलिँदो सामाजिक परिवेशमा विकासको विषय पनि जेलिँदै र जटिल बन्दै गएकाले माथिका चार बुँदालाई सम्बोधन गर्दा अन्य केही पक्षलाई पनि ध्यान दिनुपर्ने हुन्छ । पारम्परिक ढाँचाका हाम्रा संस्थागत संरचनाहरू अबको विकास आकांक्षा र तिनको जटिलतालाई सम्बोधन गर्न निभाउनुपर्ने नेतृत्वदायी भूमिकामा कमजोर हुँदै गएका छन् । संस्थागत नेतृत्वको अभावमा कतिपय विषय औपचारिकतामा सीमित भएका छन् । उदाहरणका लागि विकासमा लैङ्गिक समानता कायम गर्नुलाई लिन सकिन्छ । सहभागिता र उपस्थितिभन्दा अघि बढेर महिलाका सरोकारलाई सम्बोधन नगरी न दिगो विकास लक्ष्य हासिल हुन्छ, न त एनडीसी नै । तसर्थ यसमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको अगुवाइ हुन सके मात्र संस्थागत बल मिल्ने अपेक्षा गर्न सकिन्छ ।


विकासमा जेलिएको अर्को विषय हो— निजी क्षेत्रको भूमिका । मुलुकको विकासमा मात्र होइन, हाम्रो दैनिक जीवनमा पनि निजी क्षेत्रले प्रत्यक्ष–अप्रत्यक्ष अहम् भूमिका खेलेको हुन्छ । जस्तो— खाद्य प्रणाली, जसले दिगो विकास लक्ष्य–२ सम्बद्ध हाम्रो खाद्य सुरक्षा सुनिश्चित गर्छ, सम्पूर्ण रूपमा निजी क्षेत्रबाटै सञ्चालित छ । एकाध अपवादलाई छाड्ने हो भने एनडीसीसम्बद्ध यातायात क्षेत्र पनि निजी क्षेत्रकै जिम्मामा छ । तसर्थ दिगो विकास र एनडीसीको सफलताका लागि सम्भाव्य सबै विषयमा निजी क्षेत्रको भूमिकाको पहिचान गरी त्यसलाई प्रभावकारी रूपमा परिचालन गर्नेबारे चर्चा थाल्न आवश्यक छ ।


दिगो विकासमा सर्वसाधारण प्रत्यक्ष चासो राख्न सक्छन्, तर एनडीसी सरकारको बढी सरोकारको विषय हो । किनकि कार्बन न्यूनीकरणलाई सरकारले लिने नीति र गर्ने सहजीकरणले बढी निर्धारण गर्छ । तैपनि दिगो विकास र एनडीसीबीच कतिपय सन्दर्भमा प्रत्यक्ष सम्बन्ध हुने भएकाले यी दुवैलाई एकैसाथ लानुपर्ने हुन्छ । नेतृत्वदायी संस्थाहरूले यी दुवैलाई रणनीतिक रूपमा कुन–कुन क्षेत्रमा जोड्न सकिन्छ भन्नेबारे निरन्तर संवाद गरी आवश्यक समन्वय गर्न जरुरी छ ।


दिगो विकास र एनडीसीको कार्यान्वयन प्राविधिकभन्दा बढी सामाजिक–आर्थिक विषय हुन् । संविधानले सुनिश्चित गरेको सफा र स्वच्छ वातावरणमा बाँच्न पाउने, खाद्य सुरक्षा, समानता लगायतका अधिकारका विषयहरू दिगो विकास र एनडीसीसँग जोडिएका छन् । तसर्थ सामाजिक–आर्थिक विकास र अधिकारबारे आवाज उठाउने खास गरी गैरसरकारी क्षेत्रमा कार्यरत संस्थाहरूको सहयोगलाई पनि दिगो विकास र एनडीसीको कार्यान्वयनको महत्त्वपूर्ण अंग बनाउनु वाञ्छनीय हुन्छ ।

प्रकाशित : फाल्गुन ३०, २०७६ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्

लोडसेडिङपछिको ६६ प्रतिशत शुल्क नतिर्ने उद्योगीको अडान

करिब १६ करोड रूपैयाँ महसुल असुल गर्न उद्योगलाई प्राधिकरणको दबाब 
२० महिनापछि माग नै नगरेको विद्युत्को उच्च महसुल असुल गर्न खोजेको भन्दै नतिर्ने पक्षमा उद्योगी
माधव ढुंगाना

भैरहवा — औद्योगिक सहर भैरहवालाई लोडसेडिङ मुक्त बनाउने विषयमा ०७४ चैत १२ मा विद्युत् प्राधिकरणका बुटवल र भैरहवाका कार्यालय प्रमुखको बैठक बस्यो । उक्त बैठकमा प्राधिकरणको बुटवल क्षेत्रीय कार्यालय प्रमुख भानुभक्त भट्टराई, बुटवल ग्रिड महाशाखाका श्रीराम पोखरेल, क्षेत्रीय कार्यालयका उपप्रबन्धक युवराज आचार्य, भैरहवा वितरण केन्द्रका प्रमुख उमेशकुमार झा सहभागी थिए ।

बैठकपछि बुटवल ग्रिड महाशाखाबाट भैरहवा हुँदै अमुवा सबस्टेसनसम्म पुर्‍याइएको न्यु–१ सर्किट काटियो । भैरहवा वितरण केन्द्रबाट अमुवालाई अलग बनाइयो । त्यस सर्किटबाट अमुवामा आपूर्ति हुँदै आएको १ सय ३० एम्पियर विद्युत् त्यसपछि भैरहवामै वितरण गर्न मिल्ने भयो । लगत्तै यो क्षेत्र लोडसेडिङमुक्त बन्यो ।

दुई वर्षअघि प्राधिकरणले मुलुक नै लोडसेडिङ मुक्त घोषणाको तयारी गरिरहेको थियो । त्यसबेला भैरहवाले लोडसेडिङ खेपिरहेको थियो । त्यसैले सहरलाई लोडसेडिङ मुक्त गराउन आवश्यक थप बिजुली बुटवलस्थित ग्रिड महाशाखाबाट यहाँसम्म आपूर्ति गर्ने बाटो (सर्किट) थिएन । ग्रिड महाशाखाबाट भैरहवालाई आपूर्ति गराइएको न्यु–१ नाम दिइएको सर्किट पूर्ण क्षमतामा थियो । उक्त सर्किटले थप लोड धान्ने स्थिति थिएन । त्यसैले भैरहवा हुँदै अमुवा सबस्टेसन पुग्ने बिजुली काटियो ।

अमुवा क्षेत्रमा बिजुली आपूर्तिका लागि ग्रिड महाशाखाबाट भरौलिया ग्राउन्ड वाटर सबस्टेसन पुर्‍याइएको सर्किटको प्रयोग गरियो । भरौलिया सबस्टेसनबाट बुटवल–भैरहवा सडक खण्डअन्तर्गतका १७ वटा उद्योग हुँदै अमुवासम्म विद्युत् सर्किट जोडियो । त्यही बेलादेखि भरौलिया सबस्टेसन सर्किटमा जोडिएका १७ उद्योग ट्रंक विद्युत् लाइनको मारमा परे । उद्योगीले ट्रंक लाइन माग गरेका थिएनन् । यस्तो लाइन जडान भएको पत्तै पाएनन् । प्राधिकरणले ट्रंक लाइनअनुसारको महसुल जोडेर बिल पठाएपछि उनीहरू झस्किए ।

चर्को महसुल भुक्तानी गर्नुपर्ने भएपछि विरोधमा उत्रिएका हुन् । बुटवल–भैरहवा प्रसारण लाइनअन्तर्गतका थप पाँच उद्योगलाई पनि प्राधिकरणले ट्रंक लाइनअन्तर्गत समावेश गर्‍यो । एउटा सबस्टेसनबाट अर्काको बीचबाट ग्राहकले जडान गर्ने विद्युत्लाई ट्रंक विद्युत् प्रसारण लाइनअन्तर्गत मानिन्छ । महसुल निर्धारण आयोगले ०७२ सालपूर्व पारित गरेको नियम र परिभाषाअन्तर्गत ती उद्योग परे । ट्रंक लाइनअन्तर्गत प्राधिकरणले निर्धारण गर्ने महसुल साधारणभन्दा ६६ प्रतिशत महँगो हुने गरेको छ । ‘अहिले पनि पहिलाको जस्तै लाइन जोड्ने हो भने भैरहवा लोडसेडिङ मुक्त हुँदैन,’ भैरहवा वितरण केन्द्रका सहायक प्रशासकीय अधिकृत कमलप्रसाद लम्सालले भने, ‘भैरहवालाई आवश्यक बिजुली ग्रिड महाशाखाबाट ल्याउने अर्को बाटो छैन ।’

उनका अनुसार निर्माणाधीन मैनैया र धकधही सबस्टेसन पूरा भएपछि मात्र आवश्यक बिजुली पुर्‍याउने बाटो तयार हुनेछ । ट्रंक विद्युत् प्रसारण लाइनको माग नगरेको उद्योगीको दाबी छ । विद्युत् प्राधिकरणले एकतर्फी ढंगले दुई वर्षअघि ट्रंक विद्युत् लाइन जोडेको उनीहरूको भनाइ छ । अहिले महसुलको विषयलाई लिएर २२ वटा उद्योग र प्राधिकरणबीच चरम विवाद छ । प्राधिकरणले ती उद्योगमा ०७४ चैत १४ देखि ट्रंक विद्युत् प्रसारण लाइन जडान गरेको थियो ।

त्यसअघि साबिककै साधारण विद्युत्अन्तर्गत बिल जारी गर्दै आएको थियो । २० महिनापछि प्राधिकरणले ट्रंक विद्युत् प्रसारण लाइनअन्तर्गत तिर्नुपर्ने महसुल बक्यौता रहेको जनाउँदै सबै उद्योगलाई तिर्न सूचना जारी गरेपछि व्यवसायीले विरोध जनाएका हुन् ।

ट्रंक लाइनअन्तर्गत त्यस क्षेत्रका उद्योगबाट करिब १६ करोड रुपैयाँ महसुल असुली गर्न प्राधिकरणले उद्योगलाई दबाब दिँदै आएको छ । व्यवसायी भने माग नै नगरेको उच्च महसुल पर्ने विद्युत् लाइन प्राधिकरणले एकतर्फी रूपमा जोडेर २० महिनापछि जबर्जस्ती असुल गर्न खोजेको भन्दै तिर्ने पक्षमा छैनन् । बरु उद्योग नै बन्द गरेर ताला–चाबी सरकारको हातमा थमाएर आन्दोलनमा उत्रिने उनीहरूको चेतावनी छ । ‘साधारण विद्युत् प्रसारण लाइनबाटै सञ्चालन हुँदै आएका उद्योगलाई बिनाजानकारी र व्यवसायीको मञ्जुरीबिना जोडिएको अति महँगो पर्ने विद्युत् महसुल व्यवसायीले कुनै पनि हालतमा तिर्न सक्दैनन्,’ भलबारीस्थित भलबारी स्वचालित चामल कारखानाका सञ्चालक चन्द्रमान श्रेष्ठले भने, ‘विद्युत् प्राधिकरणको यो शैलीले यस क्षेत्रका कुनै पनि उद्योग सञ्चालन हुन सक्दैनन् । सबै धराशायी हुनेछन् ।’

व्यवसायीका अनुसार पहिला प्र्रतियुनिट ८ देखि १० रुपैयाँ पर्ने विद्युत् महसुल अहिले ट्रंक लाइन भनिएपछि १८ रुपैयाँका दरमा बिलिङ गर्ने गरिएको छ । ट्रंक लाइनबाट विद्युत् लिनका लागि सम्बन्धित उद्योगले प्राधिकरणसमक्ष निवेदन दिई स्वीकृत भएपछि मात्र जडान भई त्यसै दरअनुसार महसुल भुक्तानी हुनुपर्ने हुन्छ । ट्रंक लाइनको मााग नै नगरेका उद्योगमा कसरी ट्रंक लाइन जोडियो भन्नेबारे आफैंमा खोजी र प्रश्नको विषय भएको व्यवसायी बताउँछन् ।

भैरहवा–बुटवल ओद्योगिक क्षेत्रमा रहेका १७ वटा उद्योगलाई ०७६ मंसिरबाट र थप पाँच वटा उद्योगलार्ई माघबाट विद्युत् प्राधिकरणले ट्रंक लाइनको दरमा महसुल बिलिङ गरी पठाएको छ । प्राधिकरणले ०७५ वैशाखदेखि ०७६ कात्तिकसम्मको छुट रकम (बक्यौता) बुझाउन भनी सबै उद्योगलाई फागुन ८ गते ३५ दिने पत्राचार गरी दबाब दिएको छ । प्राधिकरणले माग गरेको छुट रकमअनुरूप साना उद्योगले ६० लाखदेखि ठूला उद्योगलाई ३ करोड रुपैयाँसम्म बक्यौता देखाई माग गरिएको व्यवसायीले बताए ।

सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपानेले उद्योगीले माग नै नरेको विद्युत् लाइन प्राधिकरणले जबर्जस्ती जडान गरेर महँगो विद्युत् दर असुल्न खोजेको आरोप लगाए । ‘सरकारले उद्योगीलाई सहयोगको वातावरण तयार गर्नुको साटो आफ्नो खर्च धान्न जसरी पनि कर संकलन गर्ने उद्देश्यले व्यवसायीलाई निचोर्न थालेको छ,’ उनले भने, ‘यो प्राधिकरणको दादागिरी हो ।’

नेपाल विद्युत् प्राधिकरण भैरहवा वितरण शाखाले भने ती उद्योगका विद्युत् ट्रंक लाइनमा परिणत भएपछि सबै उद्योगलाई प्राधिकरणले पत्राचार गरी जानकारी गराएको र ट्रंक लाइन विनियमावली र प्राधिकरणको बोर्ड बैठकले निर्णय गरेअनुरूप विद्युत् महसुल लगाइएको जनाएको छ । ‘उद्योगमा ट्रंक लाइन विद्युत् जडान भएको पत्र सबै उद्योगले बुझेका छन्,’ भैरहवा वितरण शाखाका प्रमुख जितेन्द्रकुमार झाले भने, ‘भैरहवा क्षेत्रको विद्युत्को लोड व्यवस्थापन गर्ने क्रममा त्यस क्षेत्रका उद्योग ट्रंक लाइन प्रसारणमा पर्न गएका हुन् ।’

प्रकाशित : फाल्गुन ३०, २०७६ ०८:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×