३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

आत्मरक्षाका तालिम र अप्रत्यक्ष लैंगिक हिंसा

सावित्री गौतम

यतिखेर पोखराका स्कुलहरूमा कुनै संस्थाले पालैपालो आत्मरक्षाको दुईदिने तालिम दिँदैछ । उक्त तालिम ‘छात्राहरूका लागिमात्रै अनिवार्य हो’ भनेर स्कुलहरूले भनेका छन् । त्यतिमात्र होइन, ‘यो तिमीहरूकै सशक्तीकरणका लागि हो र ज्वरो नै आए पनि तालिममा सहभागी हुन स्कुल आउनैपर्छ’ भनेर शिक्षकहरूले छात्राहरूमाथि मौखिक दबाब पनि दिइरहेका छन् ।

आत्मरक्षाका तालिम र अप्रत्यक्ष लैंगिक हिंसा

एक त कोरोना भाइरसको कारण मानसिक रूपमा आतंकित र दिनदिनै स्कुल नै जान हिचकिचाइरहेका उनीहरू शुक्रबार र शनिबार हुलमुलमा लिनुपर्ने यस्तो तालिमको उर्दीले यसै पनि असमञ्जसमा परेका छन् । अर्कोतिर जतासुकै आफ्ना उमेरका बालिका बलात्कृत भएको र मारिएको समाचार सुने–पढेका छन् ।


उनीहरूले आफ्ना ‘सर’ले नभनेको वाक्यमा यस्तो कुरा सुनेका छन्, ‘तालिम लिनु र सम्भावित बलात्कारबाट जोगिनु, नत्र आफूमाथि भैपरी आउने जेसुकैको जिम्मेवार तिमीहरू आफै हुनेछौ ।’ कुनै संस्थाले दिने कथित ‘महिला सशक्तीकरण’को दुईदिने तालिमले कति ‘सशक्त’ बनाउँछ भन्ने लागेर स्कुलहरूले आफ्ना छात्राहरूलाई कडा स्वरमा उर्दी दिइरहेका र अभिभावकले आँखा चिम्लेर छोरीहरूलाई तालिम लिन पठाइरहेका होलान् भनेर बुझिनसक्नु छ । छात्राहरूका लागिमात्र अनिवार्य भनिएको यस्तो तालिम लैंगिक विभेदलाई नै सदर गरिएको हो भनेर ठूलठूला शैक्षिक संस्था चलाउने व्यक्तिहरू र अभिभावकहरूलाई नै थाहा नहुनु दु:खद पनि छ ।


‘सर’ले आउनैपर्छ भनेर कडा स्वरमा दिएको उर्दीबारे गफ गरिरहेका एउटा स्कुलका केही बालिकाको नजिकै गएर सुटुक्क उनीहरूको गफ सुन्दा थाहा भयो, उनीहरूलाई मनोवैज्ञानिक रूपमा लागिसकेको छ, ‘भोलि कदाचित बलात्कारको सिकार भएँ भने म यही तालिम नलिएको कारण हुनेछु ।’ सतहबाट हेर्दा ‘यस्ता तालिमको विरोध गर्नुपर्ने नै के छ र बालिका वा महिलाका लागि सहायक नै त हुन्छ नि’ भनेजस्तो लाग्छ । पहिलो त एक वा दुईदिने यस्ता तालिम कुनै पनि व्यक्तिलाई आत्मरक्षामा पोख्त बनाउन पर्याप्त हुँदैनन् । दोस्रो, जानेर होस् वा नजानेर ‘छात्रा वा महिलाका लागिमात्र आत्मरक्षाको तालिम जरुरी हुन्छ’ भन्ने गलत मान्यतालाई पछ्याउँदै स्कुल, कलेज शिक्षक, अभिभावक वा संघ–संस्थाले लैंगिक विभेदलाई प्रश्रय दिइरहेका छन् ।


आत्मरक्षाका तालिम भनेको कुनै पनि लिंग वा उमेरका व्यक्तिले आफूमाथि हुने वा हुनसक्ने आक्रमणबाट बच्न लिने तालिम हो । यो कुटपिट, लुटपाट, यौन आक्रमण वा अरु कुनै पनि खालको आक्रमणबाट जोगिन जोसुकैका लागि पनि सहयोगी हुनसक्ने तालिम हो । सम्भव भए र रुचि भए यस्तो तालिम सबै लिंग र उमेरका व्यक्तिले लिन सक्छन् । स्त्री, पुरुष, तेस्रोलिंगी, अन्तरलिंगी, पारलिंगी सबैले । साँझ कामबाट घर फर्किरहेको वयस्क पुरुषलाई लुटेराहरूले घेर्लान्, त्यतिबेला उसलाई आत्मरक्षाको तालिम काम लाग्ला वा कुनै वयस्क महिलाले सम्भावित यौनहिंसा गर्ने मान्छेमाथि आत्मरक्षाका उपाय अपनाउन सक्ली । यद्यपि तालिमले नै शतप्रतिशत सुरक्षाको ग्यारेन्टी गर्दैन । जुनसुकै उमेर वा लिंगको व्यक्ति भए पनि एक वा दुईदिने तालिमले उनीहरूलाई आत्मरक्षामा पोख्त बनाउने पनि होइन । यो लामो समय लिनुपर्ने तालिम हो । त्यसमाथि दुईदिने तालिम त्यो पनि छात्राका लागिमात्र आत्मरक्षाको तालिम भनेर अनिवार्य गरिनु भने अत्यन्त गलत धारणा हो ।


शारीरिक शक्ति र कौशल देखाउनुपर्ने यस्ता तालिमले अत्यन्त कम उमेरका बालिका, सत्तरी नाघेका महिला, बौद्धिक र जटिल खालका शारीरिक अपांगता भएका महिलालाई समेट्दैनन् । जो महिला ह्विलचियरबाट उठेर आत्मरक्षाका कौशल अपनाउन सक्दैनन्, उनीहरूले यस्ता तालिम लिन सक्ने कुरै भएन । बौद्धिक अपांगता भएका किशोरी वा महिलाले पनि यस्ता तालिम लिन सक्दैनन् । अझै शारीरिक र बौद्धिक गरी दुबै थरीको अपांगता भएका महिला पनि हुन्छन् । दुई वर्षजति अगाडिमात्र एकजना बौद्धिक रूपमा अपांग पन्ध्र वर्षकी बालिकालाई बसका सहचालकले बन्दी बनाएर साथीहरूसँग मिलेर पालोपालो बलात्कार गरेको, उद्धार गर्दिन्छु भनेको व्यक्तिले पनि त्यही काम दोहोर्‍याएपछि लगातार पन्ध्र दिनसम्म बालिकाले बलात्कार भोग्नुपरेको समाचार आएको थियो । त्यसैगरी आठ महिनाकी शिशु र सय वर्ष पुगेका महिलाको पनि बलात्कार भएको समाचार हामीले पढिसकेका छौँ । उनीहरूका लागि पनि यस्ता आत्मरक्षाको तालिमको कुनै उपयोगिता हुने भएन ।


तालिम दिनेहरूले तेह्र–चौध वर्षका किशोरीदेखि जवान महिलालाई मात्र जम्मा गरेर तालिम दिइरहेको पाइन्छ । यस्ता जवान र तुलनात्मक रूपमा बलिया महिला आफैं पनि ठूलो समूहले गर्नसक्ने र सांघातिक भौतिक आक्रमणपछि हुने सम्भावित बलात्कारको जोखिमबाट तालिम लिएकै आधारमा जोखिममुक्त हुँदैनन् । सबैभन्दा खतरनाक कुरा के भने आत्मरक्षाका यस्ता तालिम लिन नसक्ने महिलामाथि यौनहिंसाको जोखिम अहिले नै बढी छ । यस्ता तालिम व्यापक हुँदै गएपछि झन् बढी जोखिम हुनसक्ने सम्भावना छ । सबै हट्टाकट्टाहरू आत्मरक्षाको तालिम लिएका हुन्छन् भनेपछि सजिलै लक्ष्य कसलाई बनाउने भन्दा जसले यस्ता कौशल अपनाउन सक्दैनन् । त्यसैले यस्ता तालिमले अप्रत्यक्ष रूपमा शारीरिक बौद्धिक अपांग, बालिका र वृद्धाहरूमाथिको सम्भावित जोखिमलाई झन् बढाउँछ ।


संसारभरि भौतिक हिंसाको सिकार हुने संख्या पुरुषहरूको ठूलो छ । कुटपिटमा पर्ने र मारिनेमा पुरुषहरू धेरै छन् र लैंगिक हिंसाको अनुपात भने महिलामाथि हुने हिंसाको ठूलो छ । त्यसैले आत्मरक्षाको तालिम बालक, किशोर वा पुरुषहरूलाई पनि उत्तिकै जरुरी हुन्छ । आत्मरक्षाका यस्ता तालिम दिनेहरूमा त यति ज्ञान भएन–भएन, तर कम्तीमा ज्ञान उत्पादनको जिम्मा लिएर बसेका शिक्षकहरूले चाहिँ बारम्बार लेखिएका–पढिएका यी कुरा बुझ्नुपर्ने हो । यस्ता तालिम छात्राहरूका लागि वा महिलाका लागिमात्रै अनिवार्य गरिनुले बालक, किशोर वा जवान कुनै हिंसामै पर्दैनन्, उनीहरू पहिल्यै बलिष्ठ र सुरक्षित छन् भन्ने गलत सन्देश पनि दिन्छ । जबकि प्रशस्तै बालक र किशोरहरूले बाल यौन दुराचारीबाट लामो समय यौनहिंसा भोगेका तथ्यांक छन् । बरु स्कुल वा यस्ता संस्थाले वर्षभरि वा लामो छुट्टीमा रुचि हुने छात्र र छात्रा दुबैका लागि आत्मरक्षाका तालिम दिन सक्छ । कम्तीमा सशक्तीकरणको नाममा दुई दिन यस्ता औचित्यहीन तालिमको प्रस्ताव राख्ने यस्ता संस्थालाई ‘हाम्रा छात्र र छात्रा दुबैलाई तालिम देऊ, नत्र यस्तो खालको अधुरो र विभेदकारी तालिम दिन नआऊ, जाऊ’ भन्न सक्नुपर्छ ।


महिलाका लागिमात्र आत्मरक्षाका तालिम भनिनुले उनीहरूलाई ‘तिमीहरू बलात्कारको सम्भावित सिकार हौ’ भनेको प्रस्ट हुन्छ । यो भनेको ‘तिमीहरूको वरिपरि जतासुकै बलात्कारी छन् र तिमीहरूले बच्ने उपाय भनेको यही तालिममात्र हो’ भनेर बालिकाहरूको मनमा भय सिर्जना गर्ने काममात्रै हो । स्कुलमा छात्रहरूलाई आत्मरक्षाका तालिम अनिवार्य नगरी छात्राहरूलाई मात्रै अनिवार्य गरिनु भनेको अप्रत्यक्ष रूपमा छात्रहरूले आफ्ना स्त्रीलिंगी सहपाठीहरूलाई ‘तिमीहरू कमजोर, अशक्त, आत्मरक्षाका तालिम लिनुपर्ने खालका मान्छे हौ र हामी बलिया हौँ’ भन्ने तरिकाले हेर्न सिकाउनु पनि हो ।


यौन हिंसाको विरुद्ध सचेतना जगाउने, बालक र पुरुषहरूलाई संवेदनशील बनाउने काम अभिभावकदेखि विद्यालय र समाजका विभिन्न सरोकारवालाको हो । हिंसा गर्नेहरूमाथि प्रभावकारी र कार्यान्वयनमुखी दण्डको व्यवस्था गर्ने काम कानुनको हो । यी सबै काम गरेर हामी ठूला मान्छेले बालिकाहरूलाई हौसला दिने, भयमुक्त वातावरणमा पढ्न–लेख्न र अरु गतिविधिका लागि घरबाट निस्कने स्थितिको लागि कोसिस गर्ने हो । बालिका वा किशोरीहरूलाई ‘यस्ता तालिम लिइस् भने सशक्त बन्छेस्, नत्र गइस्’ भन्ने खालको त्रास देखाउनु मनोवैज्ञानिक हिंसा हो । एकैथरी लिंगका व्यक्तिले आत्मरक्षाका तालिम लिएनन् भने यो समाजमा उनीहरूका लागि बाँच्न गाह्रो छ भनेर दिइने यस्ता तालिम औचित्यहीन र आपत्तिजनक छन् ।

प्रकाशित : फाल्गुन २९, २०७६ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?